२०८२ श्रावण १० शुक्रबार
LATEST NEWS
२०८२ श्रावण १० शुक्रबार

एप्पलले इरानी प्रयोगकर्तालाई भन्यो- ‘तपाईंको आईफोनमा सरकारी जासुसी भइरहेको छ’

काठमाडौँ । एप्पलले ​एक दर्जनभन्दा बढी इरानी नागरिकलाई उनीहरूको आईफोन सरकारी स्पाइवेयरको निशानामा परेको भनी सूचित गरेको छ । हालै ‍‍सुरक्षा अनुसन्धानकर्ताहरूले यो जानकारी बाहिर ल्याएका हुन् ।

इरानमा केन्द्रित डिजिटल अधिकार संगठन ‘मियान ग्रुप’ (Miaan Group) र स्विडेनमा बस्ने इरानी साइबर सुरक्षा अनुसन्धानकर्ता हमीद काशफीले गत वर्ष एप्पलबाट यस्तो सूचना प्राप्त गर्ने धेरै इरानीहरूसँग आफूले कुराकानी गरेको बताएका छन् । यो खबर पहिलोपटक ब्लुमबर्गले प्रकाशित गरेको छ ।

मियान ग्रुपले मंगलबार इरानको नागरिक समाजको साइबर सुरक्षा स्थितिबारे एक प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदनमा अनुसन्धानकर्ताहरूले इरानी नागरिकहरूविरुद्ध सरकारी स्पाइवेयर आक्रमणका तीन ओटा घटना पहिचान गरेको उल्लेख छ । यसै वर्षको अप्रिल महिनामा सचेत गराइएका मध्ये दुई जना इरानभित्र र एक जना युरोपमा रहेका थिए ।

मियान ग्रुपका डिजिटल अधिकार एवं सुरक्षा निर्देशक अमिर रशिदीले टेकक्रन्चलाई भनेका छन्, “इरानमा रहेका दुई व्यक्ति इस्लामिक गणतन्त्रविरुद्ध लामो समयदेखि राजनीतिक सक्रियतामा संलग्न परिवारका हुन् । उनीहरूको परिवारका धेरै सदस्यलाई मृत्युदण्ड दिइएको छ र उनीहरूले कहिल्यै विदेश यात्रा गरेका छैनन् ।” रशिदीले यी आक्रमणका पछाडि इरान सरकार नै हुनसक्ने आशंका व्यक्त गरे । यद्यपि ठोस निष्कर्षमा पुग्न थप अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ।

‘डार्कसेल’ नामक सुरक्षा फर्मका संस्थापक काशफीले पनि आफूले दुई पीडितलाई प्रारम्भिक प्राविधिक परीक्षणमा सहयोग गरे पनि कुन स्पाइवेयर प्रयोग भएको हो भनेर पुष्टि गर्न नसकेको बताए । उनले भनेका छन्, “जब हामीले घटनाको गम्भीरता बारे बतायौं, लगभग सबै पीडितहरू डराए र सम्पर्कविहीन भए ।”

यी आक्रमणमा कुन स्पाइवेयर निर्माता संलग्न छ भन्ने स्पष्ट भइसकेको छैन । विगत केही वर्षदेखि एप्पलले एनएसओ ग्रुपको ‘पेगासस’ वा पारागनको ‘ग्राफाइट’ जस्ता सरकारी स्पाइवेयरबाट लक्षित व्यक्तिहरूलाई सूचना पठाउँदै आएको छ । यस्ता मालवेयरलाई कमर्सियल स्पाइवेयर पनि भनिन्छ।

एप्पलका यी सूचनाहरूले भारत, एल साल्भाडोर, थाइल्यान्ड जस्ता देशमा स्पाइवेयरको दुरुपयोगबारे तथ्य उजागर गर्न अनुसन्धानकर्ताहरूलाई मद्दत पुगेको छ । एप्पलले आफ्नो सपोर्ट पेजमा सन् २०२१ देखि १५० भन्दा बढी देशका प्रयोगकर्ताहरूलाई यस्तो सूचना पठाएको उल्लेख गरेको छ, जसले सरकारी स्पाइवेयरको प्रयोग कति व्यापक छ भन्ने देखाउँछ । यद्यपि, एप्पलले देशहरूको नाम वा सूचित गरिएका व्यक्तिहरूको कुल संख्या भने खुलाएको छैन ।

पीडितहरूलाई सहयोग गर्न एप्पलले गत वर्षदेखि यस्तो सूचना प्राप्त गर्नेहरूलाई डिजिटल अधिकार समूह ‘एक्सेस नाउ’ को हेल्पलाइनमा सम्पर्क गर्न सिफारिस गर्दै आएको छ । इरानी नागरिकहरूलाई पठाइएको सूचनाबारे टिप्पणीका लागि गरिएको अनुरोधमा एप्पलले कुनै प्रतिक्रिया नदिएको टेकक्रन्चले जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन ७, २०८२ ११:४९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट