काठमाडौँ । एलन मस्कको कम्पनी स्पेसएक्सले आफ्नो महत्त्वाकांक्षी स्टारलिङ्क ‘डाइरेक्ट टु सेल’ (Direct to Cell) सेवा व्यावसायिक रूपमा सुरु गरेको छ । मोबाइल नेटवर्कमा पहुँच नभएका अर्थात् ‘डेड जोन’ हरू हटाउँदै स्याटलाइटमार्फत सोझै स्मार्टफोनमा कनेक्टिभिटी प्रदान गर्ने योजनासहित कम्पनीले पहिलो चरणमा यो सेवा अमेरिका र न्युजिल्यान्डमा उपलब्ध गराएको हो ।

अमेरिकामा टी-मोबाइल र न्युजिल्यान्डमा वनएनजेडसँगको साझेदारीमा सेवा उपलब्ध गराइएको स्टारलिङ्कले एक विज्ञप्ति जारी गर्दै जनाएको छ । यो प्रविधिको सबैभन्दा ठुलो विशेषता भनेको यसका लागि कुनै विशेष किसिमको स्याटलाइट फोन आवश्यक पर्दैन । हाल बजारमा उपलब्ध सामान्य फोरजी स्मार्टफोनहरूमा नै यसले काम गर्ने बताइएको छ ।
कसरी गर्छ काम ?
‘डाइरेक्ट टु सेल’ प्रविधिले पृथ्वीको तल्लो कक्ष (लो-अर्थ अर्बिट) मा रहेका स्टारलिङ्कका विशेष स्याटलाइटहरूलाई ‘अन्तरिक्षमा रहेको मोबाइल टावर’ को रूपमा प्रयोग गर्छ । हाल ६५० भन्दा बढी यस्ता स्याटलाइटले यो सेवाका लागि काम गरिरहेका छन् । जब प्रयोगकर्ता मोबाइल टावरको पहुँचभन्दा बाहिर जान्छ, उसको फोनले स्वचालित रूपमा स्याटलाइट नेटवर्क खोजेर कनेक्ट हुन्छ र फोनको स्क्रिनमा ‘SAT’ आइकन देखिन्छ ।

यो सेवा हालका लागि टेक्स्ट मेसेजिङ (एसएमएस र एमएमएस) मा केन्द्रित छ । बेटा परीक्षणको क्रममा लाखौं सन्देशहरू सफलतापूर्वक आदानप्रदान गरिएको थियो ।
आपतकालीन अवस्थामा ज्यान बचाउने प्रविधि
यो प्रविधि विशेषगरी आपतकालीन अवस्थामा जीवनरक्षक साबित हुने अपेक्षा गरिएको छ । आँधी, बाढी पहिरो, डढेलो जस्ता प्रकोपको समयमा जमिनमा रहेका मोबाइल टावरहरूमा क्षति पुग्दा पनि यो सेवामार्फत सम्पर्कमा रहन सकिन्छ । हालै अमेरिकाको टेक्ससमा आएको बाढी र फ्लोरिडामा आएको आँधीको समयमा प्रभावित क्षेत्रमा टी-मोबाइलले यो सेवा आपतकालीन प्रयोगका लागि उपलब्ध गराएको थियो । टी-मोबाइलले निकट भविष्यमा आपतकालीन नम्बर ९११ मा टेक्स्ट गर्नका लागि यो सेवा सबै प्रयोगकर्तालाई (अन्य नेटवर्कका समेत) निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।
टी-मोबाइलका केही प्रिमियम प्लानहरू (जस्तै Go5G Next) मा यो सेवा निःशुल्क छ । अन्य प्लानका प्रयोगकर्ता तथा एटी एन्ड टी (AT&T) र भेराइजनजस्ता अन्य नेटवर्कका प्रयोगकर्ताले पनि मासिक १० डलर शुल्क तिरेर यो सेवा प्रयोग गर्न सक्नेछन् ।
यो सेवा हाल आईफोन १३ र त्यसपछिका मोडेलहरू, सामसङ ग्यालेक्सी एस२१ र त्यसपछिका मोडेलहरू, गुगल पिक्सेल ९ सिरिज तथा मोटोरोलाका नयाँ फोनहरू लगायत ६० भन्दा बढी स्मार्टफोन मोडेलहरूमा उपलब्ध हुने बताइएको छ ।
स्पेसएक्सले सन् २०२५ भित्र यो सेवालाई अष्ट्रेलिया, क्यानडा, जापान, युक्रेन, स्विट्जरल्यान्ड, चिली, पेरु लगायतका देशमा विस्तार गर्ने योजना बनाएको छ । हाल टेक्स्ट मेसेजिङमा सीमित यो सेवालाई भविष्यमा भ्वाइस कल, डेटा र आईओटी डिभाइसहरूसँग जोड्ने गरी स्तरोन्नति गरिने कम्पनीले जनाएको छ । आगामी अक्टोबर महिनादेखि ह्वाट्सएप, एक्स (ट्वीटर) र मौसमसम्बन्धी एपहरूमा डेटा सपोर्ट थप्ने स्पेसएक्सको योजना छ ।
पछिल्लो अध्यावधिक: साउन ८, २०८२ १०:१३
सामाग्री श्रोत :
टेक पाना