२०८२ आश्विन २८ मंगलवार
LATEST NEWS
२०८२ आश्विन २८ मंगलवार

काठमाडौं । प्रहरीले काठमाडौंबाट गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा थप चार जना भारतीयलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत उत्तरप्रदेश गोरखपुर घर भई काठमाडौं बूढानीलकण्ठ-२ बस्ने २२ वर्षीय एमडी आरिफ हुसेन, उत्तर प्रदेशकै फत्तेपुर जिल्ला घर भएका ४२ वर्षीय अब्दुल कलाम, २५ वर्षीय अभिषेक मदेसिया र ४० वर्षीय इरफान पठान रहेका छन्।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार बुढानिलकण्ठ नगरपालिका-२ तौलुङबाट पक्राउ गरेको हो।

परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार उनीहरूलाई घर भाडामा लिएर गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा सोमबार बेलुका पक्राउ गरिएको हो।

उनीहरूले दुई अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाएको प्रारम्भिक अनुसन्धनले देखाएको एसएसपी अधिकारीले बताए।

पक्राउ परेका भारतीयबाट १२ थान ल्यापटप, १२ थान मोबाइल, क्यालकुलेटर ७ थान र हिसाब-किताबको अभिलेख राखिएको १३३ पाना र डायरी तीन थान बरामद भएको अधिकारीले बताए।

पक्राउ परेकालाई मंगलबार अनलाइन जुवा खेल्न/खेलाउन नपाइने कसुरमा जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको अधिकारीले बताए।

सोमबारै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुढानिलकण्ठबाटै डेढ अर्बबढीको अनलाइन जुवा खेलाएको आरोपमा २४ जना भारतीयलाई पक्राउ गरेको थियो।

यसअघि तीन अर्बबढीको अनलाइन जुवा खेलाएको आरोपमा परिसरले बुढानिलकण्ठको घरमा छापा मारेर भारतीय र नेपाली पक्राउ गरेको थियो।


श्रोत : www.dcnepal.com

काठमाडौँ– भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा मृत भेटिएकी बुटवलकी प्रकृति लम्सालका लागि संसद्‌देखि सडकसम्म एउटै स्वरमा भनिएको छ– ‘जस्टिस फर प्रकृति लम्साल/ प्रकृति लम्सलाई न्याय दे’।

केआइआइटीमा बी–टेकमा तेस्रो वर्षमा अध्ययनरत लम्साल आइतबार (फागुन ४) राति मृत भेटिएकी थिइन्। उनको मृत्युको खबरले नेपालको संसद् र सडक बेसरी तातिएको छ।

लम्सालले आत्महत्या गरेको कलेज प्रशासनले भनेको भए पनि कारण भने उनको पूर्व प्रेमीले मानसिक टर्चर गरेपछि उनी आत्महत्या गर्ने अवस्थामा पुगेको समाचारहरुमा जनाइएको छ।

यद्यपि यस घटनाको छानबिन भइरहेको छ।

किन संसद्‌देखि सडकसम्म उठ्यो– ‘जस्टिस फर प्रकृति लम्साल’को आवाज

आतइबार राति लम्साल मृत भेटिएकी थिइन्। सोमबार बिहानसम्म मृत्युको खबर बाहिरिसकेको थियो। दिउँसोसम्म पनि नेपालमा उनको मृत्युको विषयमा सडक र संसद् तातिएको थिएन।

केआइआइटी कलेजमा भने लम्सालको मृत्यु नभएर हत्या भएको भन्दै नेपाली विद्यार्थीहरूले आन्दोलन सुरु गरिसकेका थिए। कलेजसँग वार र पारको अवस्था आइसकेको थियो।

लम्सालको न्यायको माग गर्दै त्यहाँ अध्ययनरत अन्य विद्यार्थीहरूले आन्दोलन गर्दा उनीहरूमाथि कलेज प्रशासनले दमन गर्‍यो। आन्दोलनरत विद्यार्थीमाथि प्रहरी लगाएर कुटपिट भयो। विद्यार्थीलाई कलेजबाट निष्कासन गरियो। होस्टेलबाट निकालियो।

कलेजको उक्त कदमका विषयमा नेपालको संसद्‌मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले आकस्मिक समयमा आवाज उठाउन समय मागिन्। सभामुख देवराज घिमिरेले समय दिएनन्। त्यसपछि श्रेष्ठ संसद्‌बाट बाहिरिँदै सञ्चारकर्मीसँग र सामाजिक सञ्जालबाट सभामुखले समय नदिएको र विद्यार्थीको अवस्थाकोबारेमा बोलिदिइन्।

सुमनाले संसद् छाड्नु र बाहिर निस्किएर प्रकृतिको विषयमा थाहा दिएपछि यस विषय खोजीको विषय बन्यो। थप समाचारहरू बाहिरन थाले। कलेज प्रशासनले नेपाली विद्यार्थीमाथि गरेको अमानवीय व्यवहारको भिडियोहरू बाहिरयो। सँगै नेपाली र नेपाली विध्यार्थीमाथि बोलिएको अपशब्दसमेत।

एक पछि अर्को दमनको भिडियो, कलेज प्रशासनले निष्कासन गरेपछि रेल स्टेसनमा अलपत्र परेको विषयहरू आउन थालेपछि नेपालमा कलेज प्रशासनको चर्को आलोचना सुरू भयो।

कलेज प्रशासनको आलोचना सुरु भएपछि निष्कासित विद्यार्थीलाई कलेज प्रशासनले फेरि फिर्ता बोलायो। कलेज प्रशासनले फिर्ता बोलाए पनि कतिपय विद्यार्थी भने नेपाल हिडिसकेका छन्।

सामाजिक सञ्जालमा पोष्ट भएका भिडियोहरुमा कतिपयले खान नपाएर भोकै बसेकोसम्म भनिएको छ।

संसद्‌मा कलेजको व्यवहारप्रति आलोचना, सरकारको कूटनीतिमाथि प्रश्न

लम्सालको मृत्युपछि सोमबार बसेको नेपालको संसद् उनकै विषयमा केन्द्रित रह्‍यो जहाँ प्राय: सबै सांसद्‌ले लम्साल मृत्युको विषयमा सत्यसतथ्य छानबिनको माग गरेका छन्।

र कलेज प्रशासनको संसद्‌मा चर्को आलोचना भएको छ। नेपाल र नेपाली विद्यार्थीमाथि अमावीय व्यवहार गरिएको भन्दै यस विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसदहरूले नेपालको कूटनीतिक कमजोर हुँदा नेपाली विद्यार्थी निकालिनु परेको, नेपाल र नेपाली विद्यार्थीमाथि अमानवीय व्यवहार गरिएको, अपशब्द प्रयोग गरिएको भन्दै सरकारको आलोचना गरे।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारको कूटनीतिक असक्षमताका कारण त्यहाँ अहिले पनि नेपाली विद्यार्थीले असुरक्षा र अपमानजनक व्यवहार सामना गरिरहनु परेको बताए।

‘प्रकृति लम्सालको मृत्युपछि उनको न्यायका लागि आन्दोलन गर्दा अन्य विद्यार्थीले भारतमा अपमानजनक व्यवहार गरियो। अमानवीय व्यवहार गरियो र सिङ्गो नपाली र नेपालमाथि धावा बोलियो’, उनले भने, ‘तर सरकारको कुटनीतिक असक्षमताका कारण त्यहाँ अहिले पनि असुरक्षा र अपमानजनक व्यवहार नेपाली विद्यार्थीले सामना गरिरनुपरेको छ।’

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले पनि भारतमा भएको उक्त घटनाप्रति सरकारको राजनीतिक तथा कूटनीति कमजोर भएकाले कलेजको चौकीदारलेसमेत नेपाल र नेपालीमाथि अपमान गरेको बताए।

‘प्रकृतिको मृत्यु घटना एउटा विषेश घटनामा सिमित नभएर हाम्रो डेप्लोम्याटिक रणनीति कति कमजोर भयो कि त्यहाँको एउटा चौकीदारले हाम्रो नेपाली विद्यार्थीलाई सजिल्यै पिटिदिन सक्ने भयो। तिम्रो देशको बजेट हाम्रो कलेजको बजेट जति पनि छैन भनेर हेप्न पायो’, उलने भने ‘यो दुई तिहाइको दम्भ सिंहदरबार भन्दा बाहिर त नागरिकले महसुस गर्न पाएनन्।’

नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले नेपालप्रति आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै आपत्ति जनाए। ‘त्यहाँ (कलेज)मा हाम्रो देशप्रति घृणा गर्ने देशप्रति आपत्तिजनक शब्द प्रयोग गरिएका छन्। यसले हामी सबै नेपालीको शिर झुकेको छ। त्यसको म आपत्ति प्रकट गर्दछु’, उनले भने।

उनले सरकारको पहल नपुगेको हाल पनि अत्याचार भइरहेको बताए। ‘परराष्ट्रमन्त्रीको स्टाटस र गृहमन्त्री ज्यूको जवाफ पनि आयो। तर घटनाको सृङ्खला रोकिएका छैनन्’, उनले भने ‘त्यहाँ पढ्ने विद्यार्थीमाथिको अत्याचार रोकिएको छैन। यतिसम्म गरिएको छ कि त्यहाँ पढ्ने विद्यार्थीलाई होस्टेलबाट निकाले ४० किलोमिटर पर अज्ञात अवस्थामा छोडिएको छ र उनीहरूको मोबाइल पनि लुटिएको छ।’

यस्तै नेपाली काँग्रेसकी सांसद सीता मिजारले कूटनैतिक पहल गरेर नेपाली विद्यार्थीको सुरक्षाको माग गरिन्। माओवादी सांसद सुदन किरातीले त भारतमा नेपाली विद्यार्थीको मृत्यु हुँदा पनि संसद् बेखबर रहेको आरोप लगाए।

उनले सुमना श्रेष्ठलाई बोल्न नदिएकोतर्फ इङ्गित गर्दै किन बोल्न दिइएन भन्दै प्रश्न गरे।

दिनभर संसद्‌नै प्रकृति लम्सालप्रति श्रद्धासुमन व्यक्त गर्ने र उनको न्यायका लागि केन्द्रित बन्यो। अन्य सांसदहरूले पनि सरकारको ध्यानाकर्षण गराउँदै कलेजमा रहेका अन्य विद्यार्थीको सुरक्षाका लागि आग्रह गरे।

राष्ट्रिय सभामा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले लम्सालको मृत्यु प्रकणमा आवाज उठाएपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको ध्यानाकर्षण नै गराए।

लम्सालको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गर्न संसद्‌मा रुलिङ गरेका थिए। दाहालले उक्त कलेजमा अध्ययनरत विद्यार्थीलाई अध्ययनका लागि सहज वातावरण बनाउन पहल गर्नसमेत निर्देशन दिए।

सभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले लम्सालको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्नुपर्ने माग गरेका थिए। राष्ट्रियसभाका सांसद राधेश्याम पासवानले लम्सालको मृत्यु प्रकरणको विषयमा छानबिन हुनुपर्ने माग गरे।

‘सोही कलेजमा अध्ययनरत विद्यार्थी अड्विक श्रीवास्तवले पटकपटक दिइरहेको मानसिक यातनाबारे प्रमाणसहित कलेज प्रशासनमा पेस गर्दा पनि सुनुवाइ नहुँदा लम्सालले आत्महत्या गर्नुपरेको छ’, उनले भने, ‘नेपाल सरकराले कूटनीतिक पहल गरेर अलपत्रमा परेका विद्यार्थीहरुको उद्धार गर्नुपर्छ।’

अर्का सांसद कृष्णबहादुर रोकायले पनि नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको विषयमा आवाज उठाउँदा अन्य नेपाली विद्यार्थीमाथि दमन भइरहेको भन्दै आपत्ति जनाए। ‘विद्यार्थीहरुलाई जबर्जस्ती रुपमा घर पठाउने काम भइरहको छ’, उनले भने, ‘कूटनीतिक पहलबाट मृत्यु प्रकणको छानबिन गर्न लगाउने, विद्यार्थीलाई त्यहीँ पढ्न सुरक्षित वातावरण बनाउनुपर्छ।’

सांसद मदनकुमारी शाह गरिमाले लम्सालको पार्थिक शरीर आफन्तलाई हेर्न नदिनु अन्याय भएको भन्दै लम्सालको न्यायका लागि आवाज उठाउँदा कलेज प्रशासनले दमन गरेको भन्दै आपत्ति जनाइन्। ‘विद्यार्थीहरुसँग पैसा थिएन, टिकट थिएन, तर गलहत्याएर निकालियो, नेपाली विद्यार्थीहरु रेलबे स्टेसनमा अलपत्र परेको घटना अमानवीय र असंवेदनशील हो’, उनले भनिन्, ‘प्रकृतिले आफूलाई अभद्र व्यवहार भएको भन्दै उजुरी दिए पनि विश्वविद्यालयले साथ नदिँदा उनले आत्महत्या गर्नुपरेको छ।’

सडकमा विद्यार्थी

प्रकृतिको लम्सालको मृत्युपछि उनको न्यायका लागि नेपालमा विद्यार्थी संगठनहरू सडकमा उत्रिएका छन्। सोमबारदेखि नै सडक र कलेजहरुमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

सोमबार नै सत्तारुढ दल नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन (अनेरास्ववियु)ले भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो।

प्रदर्शनमा सहभागीहरूले ‘प्रकृति लम्सालको मृत्युको छानबिन गर, मानवता विरोधी गतिविधि बन्द गर, गोर्खेले अन्याय सहन जान्दैन, नो मोर साइलेन्स, अविलम्ब कूटनीतिक संवाद सुरु गर’लगायतका नारा लगाएका थिए।

मंगलबार पनि बिहानैदेखि विद्यार्थीहरूले प्रदर्शन गरेका थिए। काँग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) पद्मकन्या क्याम्पसको दबाबमुलक प्रदर्शन गरेको थियो।

उनीहरुले नेपाली विद्यार्थीमाथि भएको आक्रमण बन्द गर, जस्टिस फर प्रकृति लम्साल लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका छन्।
नेविसंघकै पब्लिक युथ कलेजले पनि प्रकृति लम्सालको न्यायको लागि विरोध प्रदर्शन गरेको छ।

यस्तै मंगलबार देशकै ठुलो इन्जिनियरिङ कलेज पुलचोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले प्रकृतिको न्यायका लागि हस्ताक्षर संकलन गरे। उक्त हस्ताक्षर नेपालस्थित भारतीय दूतावासलाई बुझाउने विद्यार्थीहरूको भनाइ छ।

माओवादी केन्द्र सम्बद्ध अनेरास्ववियु (क्रान्तिकारी) पनि सडकमा उत्रिएको छ। मंगलबार लम्सालको शङ्कास्पद मृत्यु भएको भन्दै क्रान्तिकारीले छानबिन गर्न माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गर्‍यो।

कलेज प्रशासनले माग्यो माफी

नेपालमा केआइआइटीको चर्को विरोध भएपछि कलेज प्रशासनले माफी मागेको छ। नेपाल र नेपाली विद्यार्थीमाथि गरिएको व्यवहारप्रति कलेज प्रशासनले माफी मागेको हो।

संस्थाका उपकुलपति शरनजीत सिंहले माफी मागे। उनले नेपाल र नेपालीविद्यार्थीप्रति कलेजका दुई महिला अधिकारीहरू गरेको व्यवहारप्रति खेद प्रकट गर्दै माफी मागेका छन्।

उनले ती महिला अधिकारीहरूलाई सेवाबाट हटाएको जानकारी पनि दिएका छन्। ‘हामी मध्ये केहीले आन्दोलनकारी विद्यार्थीहरूसँग गरेको व्यवहारप्रति खेद पनि व्यक्त गर्दछौं,’ उनले भनेका छन्।

विद्यार्थीहरूलाई माया गर्ने तथा उनीहरूलाई कहिल्यै अपमान नगरेको प्रतिबद्धता पनि उपकुलपति सिंहले गरेका छन्।

भारतीय दूतावासले सोमबार नै नेपाली विद्यार्थीको हकहित सुनिश्चित गर्न भारत सरकारले आवश्यक कदम चाल्ने जानकारी दिएको थियो। नेपालका प्रधामन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकलेसमेत नेपाली विद्यार्थीको सुरक्षाका लागि पहल भइरहेको बताएका थिए।

तर मंगलबार दिउँसोसम्म आफूहरू असुरक्षित रहेको भन्दै केआइआइटी कलेजका विद्यार्थीहरूले सामाजिक सञ्जालमा भनिरहेका छन्।

प्रकृतिका बुबा भारतमा

केआइआइटी कलेजमा मृत फेला परेकी प्रकृति लम्सालका बुबा सुनिल लम्साल कलेजमा पुगेका छन्। उनी सोमबार साँझ कलेजमा पुगेका छन्।

त्यहाँ पुगेर उनले छोरीको न्यायका लागि प्रहरीमा उजुरी दिएका छन्। उनले छोरीलाई भावनात्मक ब्ल्याकमेल गरेर आत्महत्या गर्न बाध्य पारिएको भारतीय सञ्चारसँगको कुराकानीमा बताएका छन्।

‘हामीलाई थाहा छ अनुसन्धान चलिरहेको छ। पोस्टमार्टम प्रतिवेदन आउन बाँकी छ,’ उनले भनेका छन्, ‘तर हामीलाई थाहा छ यसलाई भावनात्मक ब्ल्याकमेल गरेर आत्महत्या गर्न बाध्य पारिएको हो।’

उनले एक जनालाई पक्राउ गरिएको र त्यही व्यक्ति नै घटनाको मूल कारण भएको आरोप लगाएका छन्।


श्रोत : deshsanchar.com

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएका अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको स्थायी कमिटीको बैठकले संसद अधिवेशनको संघारमा संसदलाई छलेर सरकारले विभिन्न अध्यादेश जारी गर्नु गलत भएको भन्दै अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।

समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानुन, संसद नियमावली र स्थापित अभ्याससमेत मिचेर विधेयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत रहेको उनले बताए। ज्वालाले अध्यादेशबाट भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निश्कर्ष निकालिएको जानकारी दिए।

त्यस्तै बैठकले भारतको ओडिसास्थीत एक क्याम्पसमा नेपाली विधार्थीमाथि भएको घटनाप्रति सत्यतथ्य छानबिन गरी दोषिलाई कारबाही गर्न र विद्यार्थीलाई सुरक्षाको प्रत्याभूति हुने गरी व्यवस्था मिलाउनका लागि कूटनीतिकलगायत आवश्यक पहल गर्न सरकारसँग माग गरिएको प्रचार विभाग प्रमुख ज्वालाले जानकारी दिए।

त्यस्तै स्थायी कमिटीको बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता र आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजनासहितका एजेण्डा पारित गरिएको ज्वालाले बताए। पार्टीको स्थायी कमिटी बैठक बुधबार पुन बस्ने नेकपा समाजवादी बैठकले जनाएको छ।


श्रोत : www.dcnepal.com

काठमाडौं । विश्वका धनी टेस्ला, एक्स र स्पेस एक्सका सीईओ एलन मस्कसँग जोडिएको एक सनसनीपूर्ण दाबी सार्वजनिक भएको छ । जसले अहिले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ। इन्फ्लुएन्सर तथा लेखिका एशली सेण्ट क्लेयरले सामाजिक सञ्जालमा हंगामा मच्चाएकी छिन् । उनले दाबी गरेकी छिन् कि उनले मस्कको १३औँ बच्चालाई जन्म दिएकी छिन्। हालै उनले न्यूयोर्क पोस्टलाई दिएको अन्तर्वार्तामा यस बारे विस्तृत रूपमा कुरा गरेकी छिन्।

उनले भनेकी छिन्, म कहिल्यै यस्तो सम्बन्धमा फस्न चाहन्नथेँ, तर पहिलो कदम मस्कले नै चाले। शायद मेरो सोझोपनका कारण म मस्कको प्रेममा फसेँ। सेण्ट क्लेयरका अनुसार उनीहरूबीचको पहिलो भेट अनलाइनमार्फत भएको थियो। मस्क निकै रमाइलो स्वभावका, स्मार्ट र डाउन टू अर्थ व्यक्ति थिए। उनीहरूको कुराकानी (पहिले ट्विटर) मा शुरू भएको थियो। मस्कले उनलाई डायरेक्ट म्यासेज गरेका थिए । सायद मस्कले पोष्ट गरेको कुनै मिममा प्रतिक्रिया जनाएपछि कुराकानीको सिलसिला अघि बढेको थियो।

सुरुमा उनलाई मस्कमा कुनै विशेष चासो थिएन । तर ट्विटर खरिदको मामिलामा जिज्ञासा थियो। मस्कले उनको निलम्बित ट्विटर अकाउन्ट पुनर्स्थापना गरिदिएका थिए । जुन ८ महिनासम्म सस्पेन्ड गरिएको थियो। केही समयपछि मस्कले उनलाई सोधे, तिमी कहिल्यै सान फ्रान्सिस्को वा अस्टिन आउँछौ ? त्यसपछि मस्कले उनलाई सान फ्रान्सिस्को बोलाएर अन्तर्वार्ता लिने प्रस्ताव राखे।

अन्तर्वार्तापछि मस्कले उनलाई टेक्स्ट गरेर प्रोविडेन्स (रोड आइल्यान्ड) जाउँ भन्ने प्रस्ताव गरे । यहीँबाट उनीहरूको प्रेम कहानी सुरू भयो। यही भयो शारीरिक सम्बन्ध । जसबाट उनले मस्कको गर्भ बोकिन् । मस्कले उनलाई एक विलासी अपार्टमेन्ट प्रदान गरे । त्यहाँ सुरक्षाको व्यवस्था गरे । तर कुनै रोमान्स थिएन। उनी आफूलाई एक्लो महसुस गरिरहेकी थिइन्, तर आफ्ना बच्चाको सुरक्षाका लागि मौन बस्न बाध्य भइन्।

सेण्ट क्लेयरका अनुसार, जब ट्याब्लोइड मिडियाले उनको गर्भावस्थाबारे थाहा पाए र सार्वजनिक गर्न लागेका थिए । तब उनले नै सामाजिक सञ्जालमार्फत सत्य बाहिर ल्याउने निर्णय गरिन्। एलन मस्कले भने अहिलेसम्म यी दाबीहरूलाई न त पुष्टि गरेका छन् न खण्डन। अहिले सामाजिक सञ्जालमा यो विषयले व्यापक चर्चा पाइरहेको छ। के साँच्चै सेण्ट क्लेयर मस्कको १३औँ बच्चाको आमा हुन् ? यो अझै रहस्यकै विषय छ ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार


श्रोत : www.janaboli.com

काठमाडौं । अनलाइन जुवा खेलाएर डेढ अर्बभन्दा बढीको कारोबार गरेको आरोपमा प्रहरीले २४ जना भारतीयलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुढानिलकण्ठ नगरपालिका-५ स्थित एक घरमा छापा मारेर मंगलबार भारतीयहरूलाई पक्राउ गरेको हो।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतका अनुसार पक्राउ परेका २२ जना बिहार राज्य र एक ज दुई जना उत्तरप्रदेशका हुन्।

विश्वभर सञ्चालन हुने अनलाइनहरूमा बेटिङ साइटको प्रयोग गरी एजेन्टसँग सम्पर्क गरेर उनीहरूले जुवा खेलाएको बस्नेतले बताए।

‘उनीहरूले ह्वाट्सएप र टेलिग्राममा सम्पर्क गरेर अनलाइन जुवा खेलाएको देखिएको छ, हारजित भएको रकम भारतका विभिन्न बैंक खातामा जम्मा भएको र निकालेको देखिन्छ,’ बस्नेतले भने।

बस्नेतका अनुसार भारतीयहरूले घर नै भाडामा लिएर अनलाइन जुवा खेलाइरहेको पाइएको छ। उनीहरूले हालसम्म एक अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ अनुसार जुवा र सट्टाबाजी गर्न नहुने तथा विदेशी विमिमय नियमित गर्ने ऐन २०१९ अनुसारको कसुरमा पक्राउ परेकाहरूमाथि अनुसन्धान थालिएको छ।

कार्यालयले २४ जनालाई नै थप कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाएको छ।


श्रोत : www.dcnepal.com

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था गर्नका लागि नेपाल प्रहरीको टोली पुगेको छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार बिहान नेपाल प्रहरीका दुई वरिष्ठ अधिकारी विद्यालय पुगेको जानकारी गराएकी हुन् । उक्त कलेजको होस्टेलमा बुटवलकी प्रकृति लम्साल शंकास्पद रुपमा मृत भेटिएपछि स्थिति तनावग्रस्त बनेको छ।

नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुई वरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुगेको परराष्ट्रमन्त्री राणाको भनाइ छ।

‘घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिइएको छ,’ उनले भनिन्।

यस विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेको उनको भनाइ छ । हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीलाई होस्टेलमा फर्कन अपिल गरिसकेको उनले बताइन्।


श्रोत : www.dcnepal.com

जनकपुरधाम – सामुहिक बलात्कारको घटनामा परेकी किशोरीले आत्महत्या गरेको घटनामा मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ।

मधेस प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।

मधेस प्रदेश प्रहरी कार्यालयद्वारा गठन गरिएको समितिले सोमबार र मंगलबार घटनास्थलमा गई घटनाबारेमा बुझी अनुसन्धान गरिरहेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाले जानकारी दिए।

उनले गत माघ ३० गते सिरहाको नगराजपुर गाउँपालिका–१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाय आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

घटनाको भोलिपल्ट मृतकका काकाले इलाका प्रहरी कार्यालय लहान सिरहामा आत्महत्या दुरुत्साहन शीर्षकमा मुद्दा दर्ता गराएकाले र त्यसमा अनुसन्धान भइरहेको उनले जानकारी दिए।

घटनाका आरोपीहरु फरार रहेकाले उनीहरुको खोजी भइरहेको तथा शवको परीक्षणको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएकोमा हालसम्म परीक्षण प्रतिवेदन प्राप्त नभएको प्रवक्ता कोइरालाले बताए।

के हो घटना?


गत माघ २७ गते राति करिब ९ बजे शौच गर्न निस्किएकी रिंकु भोलिपल्ट बिहान करिब ३ बजे रुँदै घर पुगेकी थिइन्। उनको शरीरमा चोटपटक लागेकाले आमाले सोधपुछ गर्दा आफूमाथि सामूहिक बलात्कार भएको बताएकी थिइन्।

उनले स्थानीय रुपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले जबरजस्ती करणी गरेको बताएकी थिइन्।

घटनाबारे गाउँमा हल्ला भएपछि केही स्थानीयको पहलमा घटनालाई मिलाउन माघ २९ गते पञ्चायत बसेको थियो। पञ्चायतमा घटनाका मुख्य आरोपित रुपेशले डेढ लाख रुपैयाँ पीडितलाई दिनुपर्ने निर्णय भएको थियो।

रुपेशका आफन्तले घटनामा तीन जना रहेकाले तीनै जनाले भाग लगाउनुपर्ने भनेपछि गत बुधबार सोही विषयमा फेरि पञ्चायत बसेको थियो। पञ्चायतमा पैसा तिर्ने कुरामा पुनः विवाद भएपछि पीडित परिवार घर फर्किएका थिए।

पञ्चायतको भोलिपल्ट रिंकु झुण्डिएको अवस्थामा आफ्नै घरमा फेला परेकी थिइन्।


श्रोत : deshsanchar.com

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था गर्नका लागि नेपाल प्रहरीको टोली पुगेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार बिहान नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी विद्यालय पुगेको जानकारी गराएका हुन् ।

उक्त कलेजको होस्टेलमा बुटवलकी प्रकृति लम्साल शंकास्पद रुपमा मृत भेटिएकी थिइन् । सो घटनापछि विकसित परिस्थितिलाई सरकारले निरन्तर फलोअप गरिरहेको परराष्ट्रमन्त्री राणाले बताएकी छिन् । ‘नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्नुभएको छ,’ परराष्ट्रमन्त्री राणाले भनिन् ।

परराष्ट्रमन्त्री राणाले घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएको बताएकी छिन् । ‘यस विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेकै छ । हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको छ,’ उनले भनिन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार


श्रोत : www.janaboli.com

काठमाडौं । पूर्वमन्त्री एनपी साउदले सरकारले अध्यादेश जारी गरेपछि विभिन्न खालको प्रश्नहरू उठ्न थालेको भन्दै प्रजातन्त्रमा संसदलाई नजरअन्दाज गरेर कुनै पनि शासन अगाडि बढ्न नसक्ने बताए। मंगलबार काठमाडौंमा आयोजित नेपाल प्रेस युनियनका शाखा अध्यक्षको राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन्।

उनले भने, ‘सरकारका माथिल्लो निकायका व्यक्तिहरूले जसरी आर्थिक विकासको लागि अध्यादेश ल्याएको भनेर भन्दै छन्। त्यो जिम्मेवार अनुकुलको अभिव्यक्ति छैन्। यसले अर्को प्रश्न पनि उठाएको छ। के संसदले बनाउने कानुनले आर्थिक विकास र सुशासनमा कुनै बाधा पुर्‍याएको छ? अध्यादेशबाट मात्र विकास हुने कुरा सम्भव छैन्। प्रजातन्त्रमा संसदलाई नजरअन्दाज गरेर कुनै पनि शासन अगाडि बढ्न सक्दैन।’

यस्तै, उनले सत्ताले आफ्नो सिमा मिच्न खोज्दा पत्रकारहरुले आफ्नो कलमले सत्ता र सरकारलाई सिमा देखाउनुपर्ने भन्दै सत्तासँग पत्रकारको गहिरो सम्बन्ध हुने बताए।

उनले भने, ‘सत्तासँग पनि पत्रकारहरुको गहिरो सम्बन्ध हुन्छ। सत्ता शक्तिमा आधारित हुन्छ, सन्दर्भमा कहिलेकाही शक्तिले आफ्नो सीमा मिच्न खोज्दा पत्रकार साथीहरुले आफ्नो कलमले सत्ता र सरकारलाई सीमा देखाउनुपर्छ। अहिले यो गठबन्धनको सरकार आएपछि जनताको आशा अपेक्षाहरु पूरा गर्ने सन्दर्भमा सरकार जिम्मेवार बन्नुपर्छ भनेर लगातार खबरदारी गरिरहेका छौं।’

पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले अभिव्यक्ति स्वतन्त्रतालाई कहिले पनि फौजदारीकरण र अपराधीकरण गर्न नहुने भन्दै दण्डित गर्नको लागि अन्य कुनै तरिका अपनाउन सकिने बताएकी छन्।

उनले भनिन्, ‘लामो समयदेखि अभिव्यक्ति स्वतन्त्रताका लागि लड्दै आएका छौं। यसमा हामीले सम्झौता गर्नु पनि हुँदैन। लोकतन्त्रमा विश्वास गर्ने यति ठूला पार्टीहरूले पक्कै त्यस्ता कानूनहरु ल्याउनु हुँदैन भन्ने आशा गरेको छु। अहिले सामाजिक सञ्जाल विधेयक लगायतका अरु पनि विधेयकहरु संसदमा छन्। सरोकारवाल व्यक्तिहरुलाई पनि छलफल गरेर अगाडि बढाउनुपर्ने थियो र अहिले पनि पर्छ भनेर भन्दै आएका छौं। अभिव्यक्ति स्वतन्त्रतालाई कहिले पनि फौजदारीकरण र अपराधीकरण गर्न हु्ँदैन। दण्डित गर्ने हो भने पनि आर्थिक रुपमा जिम्मेवार बनाएर अगाडि बढ्न सकिन्छ कि भन्ने मेरो धारणा छ।’

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पनि संविधानमा लेखेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा कुनै प्रभाव पर्न नदिने गरि नेपाल प्रेस युनियन अगाडि बढ्ने बताए।

उनले भने, ‘राज्यले सुरु गरेको बाटो अर्थात अहिले सरकारले तय गरेको बाटो सामाजिक सञ्जालका नाममा ल्याइएको विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने मनसायका साथ आएको छ। विधेयक पास गरेर अगाडि बढ्ने बाटो र आम सञ्चार सम्बन्धी विधेयक संशोधन बिना अगाडि बढ्यो भने त्यसको प्रतिकार युनियनले गर्छ।’


श्रोत : www.dcnepal.com

काठमाडौं । राष्ट्रिय सभा बैठकमा भारतका विश्वविद्यालयमा नेपाली विद्यार्थी असुरक्षित भएको विषयमा आवाज उठेको छ ।

मंगलबारको बैठकमा शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डष्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको विषयले नेपाली विद्यार्थीहरु भारतमा असुरक्षित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद रेणु चन्दले भारतका विश्वविद्यालय नेपाली विद्यार्थीका लागि असुरक्षित भएकै हो भन्दै तुरुन्त नेपाल सरकारले भारतसँग कुरा गरोस् भनिन् । उनले केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि बर्बर दमन भएको भन्दै आक्रोश व्यक्त गरिन् ।

सांसद रुक्मिणी कोइरालाले प्रकृति लम्सालको मृत्यु शंकास्पद देखिएको भन्दै नेपाली विद्यार्थीहरुको उद्धारबारे सरकारले पहलकदमी लिनुपर्ने बताइन् । नेपाली युवती स्वदेश र विदेशमा किन यस्तो घटनामा पर्छन् भन्दै उनले असन्तुष्टि जनाइन् ।

सांसद विष्णुकुमारी सापकोटाले भारतसँग कूटनीतिक वार्ता गरेर सरकारले नेपाली विद्यार्थीको उद्धार गर्नुपर्ने बताइन् ।

सांसद विष्णुकुमार पुडासैनीले काठमाडौं उपत्यकाका सडकको अवस्था हेरिनसक्नु भएको भन्दै सडक खाल्डाखुल्डी हुन नदिन सडक निर्माण गर्दा एकैपटक गर्न र समन्वय गर्नुपर्ने बताइन् । उनले बागमती नदी दुर्घन्धित भएको भन्दै सरकारले सफाइ गर्नुपर्ने धारणा व्यक्त गरिन् ।


श्रोत : www.dcnepal.com

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।