काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । क्लबले सोमबार सामाजिक सञ्जालमार्फत नयाँ लोगो सार्वजनिक गरेको हो ।

नयाँ लोगोमा लुम्बिनी प्रदेशको ऐतिहासिक र सांस्कृतिक पहिचानलाई प्राथमिकता दिइएको छ । पहिलेको लोगोमा प्रयोग भएको पहेँलो र गाढा नीलो रङलाई पूर्ण रूपमा विस्थापित गर्दै नयाँ लोगोमा रातो र सुनौलो रङ प्रयोग गरिएको छ । यसअघिको ‘राइज, रोर, रुल’ (Rise । Roar । Rule) भन्ने ट्यागलाइनलाई पनि नयाँ लोगोबाट हटाइएको छ ।
नयाँ लोगोले लुम्बिनी प्रदेशको चिनारीलाई विशेष जोड दिएको छ । लोगोको पृष्ठभूमिमा रहेको दरबारजस्तो संरचनाले लुम्बिनी क्षेत्रको ऐतिहासिक सम्पदा र कपिलवस्तुस्थित मायादेवी मन्दिरको बाहिरी स्वरूपलाई सङ्केत गरेको छ । त्यसैगरी, ‘लायन्स’ शब्दको ‘आई’ (I) अक्षरमा अशोक स्तम्भको प्रतीक तथा लोगोको शीर्ष स्थानमा राष्ट्रियताको प्रतीक चन्द्र-सूर्यलाई समावेश गरिएको छ । पहिले राखिएको ‘गर्जिएको सिंह’ नयाँ लोगोमा यथावत् छ । तर, त्यसको कलर परिवर्तन भएको देख्न सकिन्छ ।
लुम्बिनी लायन्सले अबदेखि यही नयाँ लोगो प्रयोग गर्नेछ ।

पछिल्लो अध्यावधिक: साउन ७, २०८२ ६:४०
सामाग्री श्रोत :
टेक पाना