
काठमाडौँ । एप्पलले आफ्नो आगामी अपरेटिङ सिस्टम आईओएस २६ को चौथो डेभलपर बेटा भर्सन सार्वजनिक गरेको छ । नयाँ अपडेटमा ‘लिक्विड ग्लास’ (Liquid Glass) डिजाइनमा केही परिमार्जन गरिएको छ भने एआईद्वारा गरिने समाचार सारांश (News Summarize) को सुविधालाई फिर्ता ल्याइएको छ
गत महिना सार्वजनिक भएको आईओएस २६ को तेस्रो बेटामा ‘लिक्विड ग्लास’ को पारदर्शी इफेक्टलाई कम गरिएको थियो । यो परिवर्तन मन नपराएका धेरै प्रयोगकर्ताले यसलाई ‘फ्रस्टेड ग्लास’ को संज्ञा दिएका थिए ।
तर, चौथो बेटामा एप्पलले प्रयोगकर्ताको प्रतिक्रियालाई ध्यानमा राख्दै यसको पारदर्शीपनलाई बढाएको छ । अहिलेको लिक्विड ग्लास बेटा २ को जस्तै देखिएको छ ।
फोटो, म्युजिक, एप स्टोर जस्ता एपहरूमा नेभिगेसन बारहरू अब थप पारदर्शी बनाइएको छ । यसले गदा ब्याकग्राउन्डको रङलाई प्रष्टसँग देखाउन मद्दत पुग्छ । लक स्क्रिनमा नोटिफिकेसन स्क्रोल गर्दा ब्याकग्राउन्ड स्वतः गाढा हुने बनाइएको छ । यसले नोटिफिकेसन पढ्न सजिलो हुनेछ ।
यो अपडेटको अर्को विशेषता भनेको ‘एप्पल इन्टेलिजेन्स’ द्वारा सञ्चालित समाचार र मनोरञ्जन एपहरूको लागि नोटिफिकेसन सारांश हो । केही महिनाअघि गलत सूचना प्रवाह भएको गुनासो आएपछि एप्पलले यो सुविधालाई अस्थायी रूपमा बन्द गरेको थियो । यो सुविधालाई पुनः सुरु गरिएको छ । सेटअप प्रक्रियाको क्रममा प्रयोगकर्ताहरूलाई “सारांशले मूल शीर्षकको अर्थ परिवर्तन गर्न सक्छ“ भनेर सूचित गरिने एप्पलले जनाएको छ ।
बेटा ४ मा अन्य केही सुधारहरू पनि गरिएका छन् :
क्यामेरा एप : क्यामेरा एपको आइकनमा सामान्य परिवर्तन छ र एप खोल्दा नयाँ परिवर्तनहरू बारे जानकारी दिने ‘स्प्लास स्क्रिन’ देखाइएको छ ।
कल स्क्रिनिङ : फोन एपमा अपरिचित नम्बरबाट आएका कलहरूलाई व्यवस्थापन गर्न नयाँ सेटिङहरू थपिएका छन ।
डाइनामिक वालपेपर : एउटा नयाँ डाइनामिक वालपेपर थपिएको छ जसको रङ समयअनुसार स्वतः परिवर्तन हुन्छ ।
यो चौथो डेभलपर बेटालाई अन्तिम बेटा मानिएको छ र अब चाँडै नै आईओएस २६ को पब्लिक बेटा भर्सन सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: साउन ७, २०८२ १९:३८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । १६ वर्षीय रोहन घिमिरे (नाम परिवर्तन) को एसईईको परीक्षा १९ चैत २०८१ मा सकियो । जाँच सकिनासाथ उनले स्मार्टफोन किनिदिन भन्दै घरमा जिद्दी गरे । “पहिले एसईईको परीक्षा देऊ, त्यतिबेलासम्म मेरै फोन चलाऊ,” आमाले सम्झाउँदै रोहनलाई भनेकी थिइन्, “परीक्षा सकिएपछि फोन किनौँला ।”
आमाको यही कुरा रोहनले मनमा साँचेर राखेका थिए । त्यसैले एसईई सकिनासाथ स्मार्टफोन हात पर्ने आशामा थिए । त्यही आश बोकेर रोहनले आमा ममता घिमिरे (नाम परिवर्तन) लाई फोन खरिद गर्न ढिपी कसे । केही दिन ममताले उनको कुरा वास्ता गरिनन् । तर, रोहन फोनकै लागि रुन थाले । खाना पनि नखाने भन्दै सताउन थाले । भएको एउटा छोरो, आफैँले किनिदिने भनेर वचनसमेत दिइसकेकी ममतालाई फोन खरिद गर्न कर लाग्यो । र, वैशाख पहिलो साता उनले छोराका लागि नयाँ फोन किनिदिइन् ।
प्रायः साथी पनि नबनाउने, खासै बाहिर पनि नजाने रोहनलाई फोन गज्जबको साथी बन्यो । धादिङको एक विद्यालयमा प्रधानाध्यापक रहेका उनका बुबा घरमा हुँदैनथे । उनीहरूको घर चन्द्रागिरि-८ मातातीर्थमा छ । यता ममता भने एक स्टिल उद्योगमा स्टोरकिपरको काम गर्छिन् ।
एसईईपछिको खाली समय भएकाले रोहनलाई घर कुर्ने जिम्मेवारी थियो । उनी फोनमा भुल्न थाले । फेसबुक, इन्स्टाग्राम अकाउन्ट पहिले नै खोलिसकेका रोहनले यी अकाउन्ट आफ्नो नयाँ फोनमा लगइन गरे । साथीहरूसँग जोडिन फेसबुक चलाउने उनी आफूलाई मन पर्ने पेजहरू फलो गर्न इन्स्टाग्रामको भर पर्थे । इन्स्टाग्रामका पनि रिल्सहरूमा देखिने विभिन्न किसिमका मनोरञ्जनात्मक र ज्ञानवर्धक रिल्सले उनको ध्यान खिच्थ्यो ।
“खाली भएकाले र अनलाइनमै रहिरहने भएकाले म त्यहीँबाट पैसा कमाउने तरिका खोज्थेँ,” रिल्स हेर्नुका पछाडिको कारणबारे रोहन भन्छन्, “त्यहीँ कहिले प्रिमियम एप फ्रिमा चलाउन सकिने टिप्स देखिन्थ्यो । कहिले फिल्म हेर्ने लिङ्क दिने भिडिओ आउँथे ।”
आफूलाई रुचि लागेका यस्ता सामग्री देख्नासाथ रोहन कमेन्ट गर्थे र इनबक्समा मेसेज पठाइहाल्थे । त्यहीँबाट उनलाई भिडिओ बनाउने कन्टेन्ट क्रियटरले लिङ्क पनि उपलब्ध गराइदिन्थे ।
यही सिलसिलामा रोहनले एक पटक इन्स्टाग्राममा स्पोटिफाई (म्युजिक स्ट्रिमिङ प्लेटफर्म) को प्रिमियम सेवा निःशुल्क प्रयोग गर्न सकिने विषयमा तयार पारिएको एउटा रिल देखे । नयाँ पुस्तामाझ चर्चित यो एप चलाउन रोहनलाई पनि इच्छा जाग्यो र उनले त्यो टिप्स दिने कन्टेन्ट क्रिएटरको पोस्टमा कमेन्ट गरे । तत्कालै उनको इनबक्समा एउटा लिङ्क आयो । रोहनले त्यही लिङ्कबाट स्पोटिफाई डाउनलोड गरी आफ्नो अकाउन्ट लग-इन गरेर चलाउन थाले । यसरी उनले आफ्नो डिभाइसमा मोडिफाई गरिएको एप (मोडेड एपीके) इन्स्टल गरे ।
—
५ साउन २०८२, सोमबार बेलुका रोहनले टिकटकमा ‘कमेडी दरबार’को एउटा विज्ञापन देखे । भिडिओमा मङ्गलबार पुतलीसडकस्थित स्टार मलको तेस्रो तलामा उक्त कार्यक्रमको शुटिङ हुने र त्यहाँ प्रवेश निःशुल्क रहेको बताइएको थियो ।
कक्षा ११ मा भर्ना भइनसकेको बेला उपयुक्त कलेजको खोजीमा रहेका रोहनलाई फोनमा समय बिताउनुभन्दा शुटिङ हेर्न जानु ठीक लाग्यो । त्यसैले बहिनीलाई भोलिपल्ट ‘कमेडी दरबार’को शुटिङ हेर्न जान लागेको कुरा सुनाए । युट्युब र टिकटकमा ‘कमेडी दरबार’का छोटा क्लिपहरू हेरेर रोहन निकै उत्साहित थिए । त्यसमाथि निःशुल्क शुटिङ नै हेर्न पाइने भएपछि उनी झनै दङ्ग परे ।
यही उत्साहको कुरा रोहनले आमालाई पनि सुनाए । घरमा एक्लै बस्नुभन्दा छोरालाई समय बिताउन र रमाइलो गर्न सहज हुन्छ भन्ने सोचेर ममताले पनि ‘हुन्छ, जाऊ न त’ भन्दै अनुमति दिइन् ।
—
६ साउन २०८२, मङ्गलबार बिहान ८ः०५ बजे खाना खाइसकेपछि कालो जिन्सको पाइन्ट, ओभरसाइज्ड सेतो टिसर्ट र खैरो ज्याकेट लगाएर रोहन आमा ममतासम्म पुगे । र, जाने भाडा मागे । आमाले उनलाई पैसा दिइन् । अनि रोहन ‘गएँ है, ममी’ भन्दै घरबाट निस्किए । घरबाट झन्डै ५०० मिटरको दुरीमा रहेको बसपार्कमा गए । र, ८ः३० बजे पसलबाट सेन्टरफ्रुट किनेर बस चढे अनि नागपोखरीतर्फ लागे ।
एक घण्टा १० मिनेट लगाएर नागपोखरी पुगेका उनी पुतलीसडकतर्फ लागे र ९ः५७ मिनेटमा स्टारमलमा पुगे । “म पग्ने बेला अरू मान्छेहरू पनि आइरहेका थिए,” रोहनले भने, “गेस्ट नआएकाले समय लाग्छ भन्नुभयो । लगभग ११ः३० बजे कार्यक्रम सुरु भयो ।”
झन्डै डेढ घण्टा पर्खिएपछि कार्यक्रम सुरु भयो । कार्यक्रम सुरु हुनासाथ आयोजकले फोन अफ गर्न अनुरोध गरे । शुटिङ हेर्न दर्शकदीर्घामा बसेका सबै फोन निकालेर अफ गर्न तथा फ्लाइट मोडमा राख्न थाले । रोहनले पनि आफ्नो फोन स्विच अफ गरे । र, कार्यक्रमको आनन्द लिन थाले ।
—
ठिक १२ बजे ममतालाई +९२ ३१४ ३३६५१३१ बाट ह्वाट्सएपमा भिडिओ कल आयो । स्टोर किपरको काम भएकाले ममताले प्रायः अपरिचित व्यक्ति (ग्राहक) सँग ह्वाट्सएपमा सम्पर्क गरिरहनु पर्थ्यो । उनको ध्यान नम्बरमा गएन । बरु सहजै फोन उठाइन् । कलमा नेपाल प्रहरीको जस्तै निलो शर्ट लगाएका व्यक्ति देखिए । हिन्दी मिसिएको लर्बरिएको नेपालीमा ती व्यक्तिले सुरुमै ममताको मुटु छेड्ने शब्दवाण हाने । “तिमी ममता (वास्तविक नाम भन्दै) हौ हैन,” ती व्यक्तिले ममतालाई सोधे । ममताले ‘हो’ भन्ने जवाफ फर्काइन् । “तिम्रो छोरा ‘रोहन’ हाम्रो कब्जामा छ ! उसले अरू केटाहरूसँग मिलेर यो नानीको बलात्कार गरेको छ । तिम्रो छोरा सोझो होला, तर अब उसलाई बचाउन पैसा दिनुपर्छ,” धम्कीको शैलीमा ती व्यक्तिले भने ।
शुटिङ हेर्न जान्छु भनेको छोरो एक्कासि अरूकै कब्जामा पुगेको खबर पाएपछि ममता आत्तिइन् । र, ‘खै मेरो छोरा कता छ ?’ भन्दै सोधीखोजी गरिन् । ती व्यक्तिले चार जना केटाहरूलाई एक जनाले लाठीले हिर्काईरहेको दृश्य देखाए । ‘तिम्रो छोरा यही होइन’ भन्दै रोहनले बिहान घरबाट लगाएर गएको ज्याकेटको पछाडिपट्टिको भाग देखाए ।
ममतालाई थप विश्वस्त बनाउन अस्पतालमा बिरामीलाई राखिने बेडमा एक युवतीले अक्सिजन मास्क लगाइरहेको देखाइयो । “यही केटी हो तिम्रो छोरा र अन्य केटाहरूले रेप गरेको,” अस्पतालको बेडमा अक्सिजन मास्क लगाएर छिटोछिटो स्वास फेरिरहेकी युवती तर्फ देखाउँदै ती व्यक्तिले भने । यति गर्दा पनि ममतालाई विश्वास लागेको थिएन । तर, उनी डराएकी थिइन् ।
“तिम्रो छोरो सोझो होला तर यसमा फसिसकेपछि बचाउन पैसा नै दिनुपर्छ भन्यो उसले,” भिडिओ कल गर्ने अपरिचित व्यक्तिको कुरा उद्धृत गर्दै ममताले भनिन्, “उसले केटी छटपटाइरहेको भिडिओ देखायो, एक जनाले चार जनालाई पछाडिबाट लाठीले हिर्काइरहेको पनि देखायो । मेरो छोराको अनुहार भने देखाएन ।”
ममतालाई विश्वास नलागेपछि रोहनले रुँदै ‘ममी, ममी’ भनेको सुनाइयो । छोराकै आवाज ममताले ठम्याइहालिन् । यतिन्जेल सम्हालिएकी ममताको अब भने होस् हवास उड्यो, आफूलाई सम्हाल्न सकिनन् । र, ‘के गर्नु पर्यो ?’ भनेर सोधिन् । ती व्यक्तिले ह्वाट्सएपमै स्क्रिन शेयर गर्न सिकाए । ममताले स्क्रिन शेयर गर्न थालिन् । त्यसपछि उक्त व्यक्तिले मोबाइलमा भएको बैँकिङ एप खोल्न लगायो । ममताले लगइन विवरण राखेर एप खोलिन् । तर, खातामा जम्मा ३४ रुपैयाँ देखियो ।
खातामा अपेक्षा गरे अनुसारको पैसा नभेटिएपछि अपहरण गरेको दाबी गर्ने व्यक्तिले अर्को बैँकिङ एप खोल्न भन्यो । ममताले आफूसँगै एउटा बाहेक अर्को कुनै बैँकिङ एप नभएको सुनाइन् । “मलाई अरू थाहा छैन । तत्काल १० लाख रुपैयाँ जम्मा गर ! कतै फोन गरिस् वा कसैलाई भनिस् भने तेरो छोरो जिउँदो रहँदैन । तँसँग जम्मा आठ मिनेट छ,” पहिले बहिनी, तिमी भन्दै बोलेको अपहरणकारी एक्कासि धम्कीको शैलीमा बोल्न थाल्यो ।
“मसँग खातामा पैसा छैन । पैसा हाल्दिनु भन्नलाई कसैलाई त फोन गर्नु पर्यो । कसैलाई नभनेर, कसैलाई फोन नै नगरेर म कसरी जम्मा गर्न सक्छु त्यत्रो पैसा ?,” ममताले आँट गरेर जवाफ फर्काइन् । “कसरी हुन्छ थाहा छैन । तर, जम्मा गर् । तसँग आठ मिनेट मात्र बाँकी छ,” अपहरणकारीले त्रास देखायो, “एकान्तमा गएर फोन गर् । जति सक्दो छिटो जम्मा गर् । नत्र राष्ट्रिय टेलिभिजनमा तेरो छोरा कुन अवस्थामा छ, आधा घण्टामा देख्छेस् ।” तोकिएको रकम खातामा राखेर आफूले भने अनुसारको काम गर्न अपहरणकारीले उर्दी दिइरहेको थियो ।
‘म एकछिनमै फोन गर्छु’ भन्दै ममताले फोन काटिन् । यतिबेलासम्म उक्त कलमा २४ मिनेट बितिसकेको थियो । फोन काट्नासाथ ममताले आफू काम गर्ने ठाउँको टेलिफोनबाट १२ः२६ मा श्रीमानको नम्बर डायल गरिन् । लगत्तै अपहरणकारीले भ्वाइस कल गर्यो । र, ‘समय घट्दैछ’ भन्दै पैसाको बन्दोबस्त छिटोभन्दा छिटो गर्न चेतावनी दियो । र, कल गरेको ७ सेकेन्डमै काट्यो । यो कल ममताका श्रीमानले पनि सुने । १२ः२६ मा अपहरणकारीले फेरि अडियो कल गर्यो । तर, ममता यतिबेला छोरालाई फोन गरिरहेकी थिइन् । फोन अफ भएको जानकारी आएपछि ममतको मस्तिष्कमा छोरा मात्र देखिन थाल्यो ।
‘पैसाको व्यवस्थापन कसरी गर्ने’ ममता तनाबले झनै छटपटाउन थालिन् । र, छिमेकी समेत रहेका आफन्तलाई उनले घटनाको बेलीविस्तार लगाइन् । छिमेकीले नजिकैको प्रहरी कार्यालय जान सुझाए । तर, ममताको मनमा डर पसिसकेको थियो ।
अपहरणकारीले कसैलाई भनेको थाहा पाए ‘छोराको चिनिनै नसकिने अनुहार राष्ट्रिय टेलिभिजनमा हेर्नुपर्ला’ भन्दै चेतावनी दिएका थिए । त्यसैले कसैलाई भन्नुभन्दा बरु रकम दिएरै भए पनि छोरालाई छुटाउँछु भन्ने ममताले ठानेकी थिइन् । तर, छिमेकीले ढाडस दिएपछि उनी प्रहरी वृत्त थानकोट जान तयार भइन् । छिमेकी पनि साथमै प्रहरी कार्यालय पुगे । यतिबेला दिउसो १ः१७ मिनेट गइसकेको थियो ।
उनै छिमेकीले कोटेश्वरमा रहेका ममताका एक आफन्तलाई घटनाको बेलीविस्तार सुनाएका थिए । उनै अर्का आफन्त प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले अपहरणमा परेका युवकको छिटोभन्दा छिटो उद्धार गर्न सक्छ भन्ने विश्वासले खबर गरी हिँडे । र, दिउँसो १:२० बजे उनीहरू टेकुस्थित प्रहरी कार्यालयमा पुगे ।
ममता र एक आफन्तले थानकोट प्रहरीलाई घटनाको बेलीविस्तार लगाए । यता अर्का आफन्तले टेकु प्रहरीलाई त्यसरी नै घटना विवरण सुनाए । टेकु प्रहरीमा इन्स्पेक्टर विदुर शिवाकोटीको नेतृत्वमा तत्काल अनुसन्धान र खोजी कार्य अघि बढ्यो ।
थानकोट प्रहरी अपहरणकारीको फोनको प्रतीक्षा गरिरहेको थियो । ममताको ह्वाट्सएपबाट अपहरणकारीलाई फोन गर्दा उठिरहेको थिएन । तर, मेसेज पठाउँदा सिन भइरहेको थियो । उताबाट कुनै जवाफ आएन । अन्तिम पटक १ः२२ मिनेटमा भ्वाइस कल उठ्यो । तर, ममताले फोन गरेको बिर्सिइन् । यो कल झन्डै २० सेकेन्डसम्म चल्यो र, काटियो ।
यता टेकु प्रहरी भने रोहनको नम्बर ट्रेस गर्न, कल डिटेल रेकर्ड (सीडीआर) निकाल्नतर्फ लाग्यो । सबै काम टेकु प्रहरीबाट हुने भएकाले थानकोटमै ममता अल्झिँदा अपहरणकारीले कुनै गलत कदम चाल्ने डर थियो । त्यसैले मोबाइलमा ह्वाट्सएप कल पर्खेर बाँकी विवरण निकाल्नु थानकोट प्रहरीका लागि पनि चुनौती थियो । अपहरणकारीले जसरी ‘टर्चर’ दिएको देखाएर ‘टेलिभिजनमा छोराको नचिनिने अनुहार देख्नुपर्ला’ भन्दै धम्की दिएको थियो, त्यसका अघि थानकोट प्रहरीलाई समय खर्चेर जोखिम लिनु उपयुक्त लागेन । र, जतिसक्दो चाँडो टेकु प्रहरीमै जान सुझाव दियो । यता टेकु प्रहरीले ममताबाट अन्य सूक्ष्म विवरण निकाल्ने प्रयास गर्यो । तर, ममता फोनमा आत्तिई रहेकी थिइन् । आफन्तहरूले हरेक पटक फरक फरक विवरण दिन थालेपछि प्रहरीलाई सही विवरण के हो भन्ने पहिल्याउनै सकस परिरहेको थियो । त्यसैले ममता नै भौतिक रूपमा उपस्थित भएर थप विवरण दिए प्रहरीलाई अनुसन्धान गर्न सहज हुने देखियो । र, उनलाई जतिसक्दो चाँडो टेकु प्रहरी आउन भनियो ।
अपहरणकारीले जुन ह्वाट्सएप नम्बरबाट सम्पर्क गरेको थियो, त्यसको विवरण निकाल्न इन्स्पेक्टर शिवाकोटीले पाकिस्तानको प्रहरीलाई सम्पर्क गरे । “हामी मिसनमा गएको बेला सँगै थियौँ,” घटनाबारे जानकारी दिँदै इन्स्पेक्टर शिवाकोटीले भने, “उता सम्पर्क गर्नासाथ उक्त नम्बर कसको नाममा छ भन्ने विवरण आयो ।”
इन्स्पेक्टर शिवाकोटीले अहिले उक्त नम्बरको अवस्था के छ अनि कुन आईएमईआई नम्बर भएको मोबाइलमा सिम राखिएको छ भन्ने विवरण मागे । तर, यो विवरण उपलब्ध गराउन २४ घण्टासम्म लाग्ने जानकारी आयो । उक्त नम्बरबाट खोलिएको ह्वाट्सएप कुन आईपी एड्रेसबाट चलिरहेको छ भन्ने विवरण निकाल्न झनै सकस थियो ।
यता रोहनको नम्बर १०ः३४ पछि कुन अवस्थामा छ भन्ने विवरण फेला परेन । अन्तिम लोकेसन घर नजिककै देखियो । घर नजिकैबाट अपहरणमा परेको आशङ्कासहित ममता टेकु प्रहरी आउनुभन्दा अगाडि नै २ः०० बजे तिर प्रहरीको एक टोकी उनका आफन्तसहित चन्द्रागिरि-८ तिर लागिसकेको थियो ।
२ः१२ बजे ममता टेकु प्रहरीमा आइपुगिन् । इन्स्पेक्टर शिवाकोटीले अपहरणकारीसँग भएको ह्वाट्सएप च्याट हेरे । र, केही विवरण सोधे ।
“बाबुको कुनै कुरामा जिद्दी गर्ने बानी थियो ?,” शिवाकोटीले ममतालाई सोधे ।
“त्यस्तो थिएन सर । मोबाइल किन्दिनु भनेर रोएको चाहिँ थियो । अरू त्यस्तो कुनै कुरामा जिद्दी गरेको थिएन,” ममताले जवाफ फर्काइन् ।
“बाबुको साथीबारे केही थाहा छ ? तपाईँले चिनेको नजिकको साथी कोही छ ? वा घर आउजाउ गर्ने कुनै साथी छन् ?,” शिवाकोटी ।
“छैन, सर” ममता ।
“बाबुको प्रेमिका भएको वा त्यस्तै केही बानी भएको थाहा छ कि ?” शिवाकोटी ।
“छैन, सर ।” ममता ।
“बाबु के गर्थ्यो प्रायः ? शुटिङमा जाने भनेको रहेछ । कुनै फिल्म लाइन तिर रुचि थियो कि ? एक्टिङ गर्ने, भिडिओ बनाउने गरेको थियो ?” शिवाकोटी ।
“छैन, सर” ममता ।
प्रहरीले सोधेका प्रायः हरेक प्रश्नमा ममताको जवाफ ‘छैन, सर’ नै हुन्थ्यो । उनीहरू न त कुनै प्रतिष्ठित घरानाका थिए, न उनीहरूसँग महिनामा लाखौँ कमाउने जागिर नै थियो । न त आर्थिक रूपमा प्रभाव पार्न सक्ने कुनै ओहोदामा थिए ।
‘काठमाडौँमा दिनदहाडै, फिल्मी शैलीमा भ्यानमा राखेर अपहरण गरियो’ भन्ने अड्कलमा प्रहरीलाई रत्तिभर विश्वास लागेको थिएन । कतै साथीहरूसँगको मिलेमतोमा रोहन आफैँ पो यो घटनामा संलग्न छन् कि भन्ने आशङ्का बढ्दै गयो । अपहरणकारीले ह्वाट्सएपमा कल गर्ने तरिका र रकम माग गर्ने शैली हेर्दा यो घटना अन्य अपहरणभन्दा फरक र अस्वाभाविक देखिन्थ्यो । सुरुमा १० लाख मागेको अपहरणकारीले पछि ‘एक लाख भए पनि हुन्छ । छिटो गर’ भन्नुले प्रहरीलाई यो वास्तविक अपहरण होइन कि भनेर शङ्का गर्ने बलियो आधार दियो । यद्यपि घटनालाई हल्का रूपमा नलिएर प्रहरीले आफ्नो तर्फबाट सक्दो प्रयास जारी राख्यो ।
ममतालाई रोहनले शुटिङ हेर्न जान्छु भनेको मात्र याद थियो । शुटिङ, त्यो पनि पुतलीसडकमा भन्ने बुझेपछि उनका एक आफन्तले कमेडी दरबारको शुटिङ सम्झिए । र, टिकटकमा आफूले हेरेको भिडिओ देखाए । भिडिओमा कमेडियन उत्सव सापकोटा र मिस पबीले स्टारमलमा मङ्गलबार बिहान १० बजे र २ बजे शुटिङ हुने तथा निःशुल्क प्रवेश पाइने भन्दै प्रचार गरेको देखियो । तर, त्यहीँ नै गएका हुन् भन्नेमा शत प्रतिशत कोही पनि ढुक्क थिएनन् । रोहनले बहिनीलाई शुटिङको बारेमा भनेकाले उनैलाई थाहा हुन सक्ने अड्कल ममताले काटिन् । कक्षा ५ मा पढ्दै गरेकी उनलाई रोहनले भनेको ठाउँ याद छ भन्नेमा विश्वास थियो । र, स्कुलको नम्बरमा सम्पर्क गरी कुरा गराइदिन अनुरोध गरिन् । स्कुल प्रशासनले तत्कालै रोहनकी बहिनीलाई बोलायो । र, कुरा गरायो । रोहनकी बहिनीले दाइले ‘कमेडी दरबार’ हेर्न जाने भनेको कुरा स्मरण गरिन् । रोहन कमेडी दरबार नै हेर्न निस्किएका हुन् भन्ने पुष्टि भइसकेपछि प्रहरीको अर्को टोली २ः२० मा पुतलीसडकस्थित स्टार मलतर्फ लाग्यो, जहाँ कमेडी दरबारको शुटिङ चलिरहेको थियो ।
२ः५५ मा कमेडी दरबारको पहिलो शुटिङ सकियो । निस्किने चाहनेहरू निस्किँदै थिए । तर, रोहनलाई पहिलो शुटिङ राम्रो लागेकाले दोस्रो शुटिङ पनि हेर्ने चाह भयो । ब्रेक भएको समयमा मोबाइल अन गरे । ठ्याक्कै त्यही बेला अर्थात् २ः५७ मा रोहनलाई आमा ममताको फोन गयो ।
“बाबु, कता छस् ?” ममता ।
“म यहीँ पुतलीसडक,” रोहन ।
“के गर्दैछस् ?,” ममता ।
“कमेडी दरबारको शुटिङ हेर्दैछु,” रोहन ।
“दुई जना सरहरू त्यहाँ जानु भएको छ, पुलिस सरहरू हो । उहाँहरूसँगै आइज है,” ममता ।
“हस्,” रोहन ।
ठीक त्यही बेला, प्रहरीको एक टोली कमेडी दरबारको शुटिङ स्थल पुग्यो । आफ्नो परिचयपत्र देखाएर भित्र प्रवेश गर्नै लाग्दा उनीहरूले रोहनलाई भेटे र बाइकमा राखेर ३ः३० बजे टेकुस्थित कार्यालय ल्याइपुर्याए ।
—
रोहन सम्पर्कमा आउनासाथ अपहरण गरेको भन्ने व्यक्ति नै नक्कली हो र उसले डर देखाएर रकम लुट्न खोजेको थियो भन्ने प्रस्ट भइसकेको थियो । तर, रोहन र उनकी आमाको बारेमा उसले कसरी थाहा पायो ? नम्बर र नाम मिलाउन कसरी सम्भव भयो ? अनि सबैभन्दा महत्त्वपूर्ण कुरा रोहनले फोन अफ गरेको थाहा पाएर कसरी त्यही बेला फोन गर्यो ? भन्ने प्रश्नले थुप्रै आशङ्का उब्जिए ।
सुरुमा प्रहरीले अनुमानको भरमा नम्बर डायल गर्दा संयोगवश कल लागेको र त्यसैको आधारमा झुक्याइएको हुनसक्ने अड्कल काट्यो । तर, अपहरणकारीले रोहनको आवाज र उनले लगाएको ज्याकेटको विवरण सही बताएकाले ममता विश्वस्त भएकी थिइन् । यसले गर्दा अपहरणकारीलाई रोहनको आवाज, ज्याकेटको विवरण र आमा-छोराको नाम जस्ता व्यक्तिगत जानकारी कसरी थाहा भयो भन्ने गम्भीर प्रश्न खडा भयो ।
त्यसपछि प्रहरीले रोहनको फोनमा रहेका ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक मेसेन्जर च्याट विश्लेषण गर्न थाल्यो । विश्लेषणका क्रममा एउटा भारतीय नम्बरमा ह्वाट्सएप मेसेज पठाइएको भेटियो । रोहनले उक्त नम्बरमा “अनलाइनबाट कसरी पैसा कमाउन सकिन्छ ?” भनेर सोधेका थिए ।
जब प्रहरीले रोहनलाई दिनभरको घटनाक्रम लेख्न लगायो, उनको लेखाइको शैली फरक देखियो । त्यो उनको आफ्नै जस्तो लाग्दैनथ्यो । रोहनलाई पनि उक्त भारतीय नम्बरमा आफूले कुराकानी गरेको याद थिएन, तर उनी यसबारे पूर्ण रूपमा निश्चित पनि थिएनन् ।
उनको फेसबुक कतै लगइन थियो कि भन्दै खोज्ने क्रममा बायोमा ‘I am Gay’ लेखेको देखियो । उनले जुन तरिकाको प्रोफाइल फोटो राखेका थिए, त्यसबाट उनले कसैको लहलहैमा लागेर अर्थ नबुझेर वा जानाजान लेखेका होलान् भन्ने अनुमान गरियो । तर, पछि एकान्तमा उनलाई यस विषयमा सोध्दा यो पनि उनले केही थाहा नपाएको बताए । उनको फेसबुक ह्याक भएको र कसैले एक्सेस गरेर हेर्यो कि भन्ने अनुमानका आधारमा लगइन हिस्ट्री हेरियो । तर, त्यसमा पनि फरक डिभाइसमा लगइन भएको देखिएन ।
त्यस्तै उनले आफ्नो फोटो कहिल्यै फेसबुक वा इन्स्टाग्राममा अपलोड गरेका पनि थिएनन् । यतिसम्म कि उनको ग्यालरीमै पनि उनका दुई ओटा मात्र फोटो थिए । ती दुबै फोटोमा उनले त्यस दिन निस्किँदा जुन खैरो ज्याकेट लगाएका थिए, त्यही नै थियो । अर्थात् उक्त लुगा बाहेक अर्को लुगा लगाएको फोटो रोहनको ग्यालरीमा थिएन ।
त्यसपछि प्रहरीले उनको फेसबुक गतिविधि विश्लेषण गर्यो । विश्लेषणबाट उनी फेसबुकमा त्यति सक्रिय नभएको देखियो । उनको सर्च हिस्ट्रीमा एसईईको नतिजा, छात्रवृत्तिसम्बन्धी जानकारी र कलेजको नामजस्ता शैक्षिक विषय मात्रै थिए । उनले फेसबुकमा विरलै मात्र कमेन्ट वा लाइक गर्ने गरेको देखिन्थ्यो ।
यस विपरीत उनी इन्स्टाग्राममा भने निकै सक्रिय थिए । त्यहाँ उनले विभिन्न टिप्स दिने अकाउन्टलाई फलो गरेका थिए । विशेषगरी, पैसा तिरेर प्रयोग गर्नुपर्ने एप, भिडिओ वा अन्य सामग्रीहरू निःशुल्क चलाउने तरिका सिकाउँदै लिङ्क उपलब्ध गराइएका भिडिओमा उनले बढी अन्तर्क्रिया गरेको पाइयो । स्पोटीफाईको प्रिमियम सब्स्क्रिप्सन लिएर प्रयोग गरेको जस्तो एप देखिएपछि उनलाई यसको वास्तविकता सुनाउन भनियो । यही क्रममा उनले महिना दिन अघि मात्र इन्स्टाग्रामका एक कन्टेन्ट क्रियटरले सिकाएको टिप्स पछ्याएर ‘मोडिफाइड एप’ (मोड/मोडेड एपीके) लिङ्क मार्फत इन्स्टल गरेको खुलाए । उक्त एपले कन्ट्याक्ट, एक्सेसिबिलिटी, एसएमएस, कल लग, माइक्रोफोन, लोकेसन लगायतका अनुमति लिएको भेटियो । स्पोटीफाईलाई न कन्ट्याक्टको अनुमति चाहिन्छ, न त लोकेसनको । एसएमएस र कल लगको अनुमति पनि भेरिफिकेसनको समयमा मात्र आवश्यक पर्छ । तर, लगइन गर्दा कुनै पनि कोड नआइ सजिलै लगइन भएको रोहनले बताएका थिए ।
फोन नियन्त्रण गर्न प्रयोग हुने एक्सेसिबिलिटीको अनुमति लिएको पाइएपछि फोन नै ह्याक भएको आशङ्का गरिएको छ । धेरै नबोल्ने, फेसबुक पनि खासै प्रयोग नगर्ने, फेसबुकमा साथी पनि जम्मा ५७ जना मात्र भएको र च्याटमा पनि नभिज्ने रोहनले बायोमा ‘I am Gay’ लेखे भन्ने कुरालाई विश्वास गर्ने आधार छैनन् । ३४ पटक फेसबुक लगइन भएको देखिएको छ । तर, सबै उनकै मोबाइलमा मात्र छन् । यदि अर्को कसैले फेसबुक ह्याक गरेको हो भने फरक डिभाइसमा लगइन भएको देखिनुपर्ने थियो । कि त उनको फोनमा भौतिक रूपमा पहुँच पाउनु पर्यो नभए भर्चुअल रूपमा । रोहनले भौतिक रूपमा फोन आफ्नै साथमा राखेका छन् । एसईईपछिको समय खाली भएकाले न उनले कुनै साथी भेटेका छन् । झन्डै १३ किलोमिटर दूरीमा पर्ने पुतलीसडक एक्लै शुटिङ हेर्न गएका छन् । यसबाट साथीहरूसँग त्यति घुलमिल नहुने उनको स्वभाव रहेको बुझिन्छ । उनी आफैँ पनि साथीहरूलाई नभेटेको दाबी गर्छन् । यहाँ पनि भौतिक रूपमा रोहनको फोनमा कसैले पहुँच पाएको देखिँदैन । त्यस्तै ह्वाट्सएपबाट भारतीय नम्बरमा च्याट गरेको देखिएको थियो, जुन रोहनले आफूले गरेको होइन भनेर अस्वीकार समेत गरे । यसबाट पनि फोन नै ह्याक भएको भन्ने आशङ्कालाई थप जोड पुग्ने देखिन्छ ।
-
स्मार्टफोनका सेटिङबारे कमै थाहा पाएकी ममताले भिडिओ कल आएको समयमा स्क्रिनशट गर्न जानिनन् । यसबाट अपहरण गरेको छु भन्ने व्यक्ति कस्तो थियो भन्नेमा ममताको भनाई बाहेक अरू विवरण थाहा हुन सकेन ।
-
बैँकको क्यूआरकोड देखाएर स्क्रिनशट गरेर रकम पठाउन धम्की दिइएको थियो । तर, स्क्रिनशट नै गर्न नजानेपछि त्यो प्रमाण पनि हरायो ।
-
अपहरण गरेको दाबी गर्ने व्यक्तिले ब्याक क्यामेराबाट टर्चर दिएको देखाइएको ममताको भनाइ छ । तर, क्यामेरा फर्काइएको थियो वा रेकर्डेड भिडिओ ब्याकग्राउन्डमा प्ले गरेर ममतालाई झुक्याइएको थियो, त्यो पनि स्पष्ट हुन सकेन ।
-
रोहनकै आवाज सुनाएको र उनको ज्याकेट पछाडिबाट देखाएको भन्ने ममताको दाबी छ । यसमा पनि प्रमाण नभएपछि कसरी कुन देखाएको थियो, ममतालाई विश्वस्त बनाउने आवाज कस्तो थियो, कसरी तयार पारियो भन्ने पनि रहस्य नै रह्यो ।
-
पारिवारिक आर्थिक अवस्था थाहा नपाएको उक्त व्यक्तिले सोझै १० लाख रुपैयाँ माग गर्नु र अन्तिममा केही नपाउनुभन्दा एक लाख नै भए पनि हुन्छ भन्नुले उसले डिभाइसमै पहुँच पाएर सबै काम गरेको, तर अन्तिममा उपलब्धि केही नहुने देखेपछि जति सकिन्छ असुली गरेर चित्त बुझाउन खोजेको देखिन्छ ।
-
रोहन र ममताको फोनमा कुरा भइसकेपछि ‘अपहरण गरेको छु’ भन्ने व्यक्तिकोमा ममताको नम्बरबाट मेसेज गएको देखिन्छ । तर, डेलिभर हुँदैन । अर्थात् सम्पर्क भएको थाहा पाउनासाथ ब्लक गरेको हुनसक्ने देखिन्छ ।
-
रोहनलाई उनका अन्य गतिविधि सोध्दा ‘पोर्न भिडिओ’ हेर्ने गरेको खुल्यो । त्यसबाट पनि ‘लाइभ क्याम’, ‘लाइभ च्याट’ वा अन्य यस्तै कुनै प्रलोभनमा परेर कुनै लिङ्क खोलेको आशङ्का गर्ने ठाउँ पनि छ । तर, उनले थर्ड पार्टीबाट डाउनलोड गरेको मोडेड स्पोटीफाईले अनावश्यक पर्मिसन लिएको र ब्याकग्राउन्डमा बढी चल्ने गरेको देखिएपछि प्रहरीको प्राविधिक तथा अनुसन्धान टोली फोन ह्याक भएकोमा विश्वस्त देखिन्छ ।
यसरी घटनाको अपहरणमा परेको भन्दै झन्डै चार घण्टा प्रहरी, आफन्त र आमा ममतालाई हैरान पारेको घटना अन्तिममा एउटा स्क्यामका रूपमा सतहमा आयो । रोहनको मोबाइल नै ह्याक भएको भन्ने औँल्याएपछि उनलाई ४ः३० मा सबै प्रक्रिया पूरा गराएर प्रहरीले ममताको जिम्मा लगायो । र, यसबारे थप अनुसन्धान अगाडि बढाउने प्रतिबद्धता जनायो ।
“यसअघि विदेशमा रहेका नेपालीलाई टार्गेटमा राखेर अपहरण गरेको भन्दै रकम मागेको घटना थियो,” काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने, “डिभाइस नै ह्याक गरेर छोटो समयमा अर्जेन्सी निर्माण गर्न खोजेको यो नौलो प्रवृत्ति देखियो ।”
शैली र प्रवृत्ति जे भए पनि अपरिचित नम्बरबाट सन्तान अपहरणमा पर्यो भन्दै धम्की दिएर रकम पठाउन लगाए सजग रहन आचार्यले सुझाएका छन् । “हुन्छ, म म्यानेज गर्दैछु भन्ने अनि नजिकैको प्रहरी कार्यालयमा सुटुक्क बुझाउन सकियो भने वास्तवमै अपहरण भएको हो भने पनि जोगाउन सकिन्छ, आफैँले सिन क्रियटर गरेर अपहरण भएको जस्तो देखाउँदा पनि रकम ठगिनबाट जोगाउन सकिन्छ ।”
छोराको मायाले ममताले स्क्यामरले भनेकै जस्तो गरी स्क्रिन शेयर गरेर मोबाइल बैंकिङ एप खोलिन् । धन्न उनको खातामा ३४ रुपैयाँ मात्र थियो । छोराको ज्यान बचाउने नाममा उनी खातामा नभए पनि खोजखाज गरेरै भए पनि सकेजति रकम उपलब्ध गराउने मनस्थितिमा पुगिसकेकी थिइन् । तर, समयमै आफन्तले प्रहरी कार्यालयमा पुर्याएपछि उनले कतैबाट सापटी लिएर बुझाउन सक्ने रकम पनि जोगियो । “अपरिचित नम्बरबाट फोन गरेको छ र ओटीपी मागेको छ वा स्क्रिन शेयर गर्न भनेको छ भने गर्नु नै हुँदैन,” प्रहरी उपरीक्षक आचार्य अगाडि भन्छन्, “अपरिचित नम्बरबाट आउने कल नै उठाउन हुँदैन भनिन्छ । तर, त्यसरी ह्वाट्सएपबाटै सम्पर्क गरेर कारोबार गर्नेहरूका लागि यो अलि व्यवहारिक सुनिँदैन । तर, ओटीपी मागेको छ, विदेशी नम्बरबाट कल आएको छ भने वा कुनै आपत् सिर्जना गरेर तु यस्तो गर्नु, उस्तो गर्नु भनेर अत्याउन खोजेको छ भने सजग हुनुपर्छ । जान्नेबुझ्ने व्यक्तिलाई सबै कुरा थाहा दिनुपर्छ ।”
पछिल्लो अध्यावधिक: साउन ७, २०८२ २१:५३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । अब विभिन्न आरोपमा पक्राउ परेका व्यक्तिहरूको फोटो तथा भिडिओ सार्वजनिक नहुने भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार (५ साउन) आफू मातहतका जिल्ला तथा इलाका प्रहरी कार्यालयहरूलाई परिपत्र गर्दै आरोपीहरूको फोटो/भिडिओ सार्वजनिक नगर्न निर्देशन दिएको हो ।
अबदेखि आरोपीलाई समेत प्रेस मिटहरूमा सार्वजनिक नगर्ने निर्णय भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए । उनले भने, “कुनै कसुरमा पक्राउ परेका आरोपी अदालतले प्रमाणित नगर्दासम्म घटनाको दोषी नै हुन् भन्न सकिँदैन । त्यसैले पक्राउ परेकै आधारमा उनीहरूलाई सार्वजनिक नगर्न भनेका हौँ ।”
यसअघि महान्यायाधिवक्ताको कार्यालयले १९ असारमा कुनै पनि कसुरको आरोपीहरूलाई सार्वजनिक नगर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आरोपी सार्वजनिक नगर्न परिपत्र गरिएको डीआईजी घिमिरेले बताए ।
घटनाका आरोपी सार्वजनिक गर्नै पर्ने अवस्था आएमा भने प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको स्वीकृतिपछि मात्र सार्वजनिक गर्न सकिने जानकारी उनले दिए ।
नेपाल प्रहरीको साइबर ब्युरोले भने यसअघि देखि नै आरोपीको फोटो तथा भिडिओ सार्वजनिक नगर्ने अभ्यास अपनाउँदै आइरहेको छ ।
पछिल्लो अध्यावधिक: साउन ७, २०८२ १९:४५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौंं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पूर्व घोषणा गरेअनुसार मन्त्रालयबाट उपलब्ध हुने विपन्न उपचार सहायता स्वास्थ्य बीमा कार्यक्रममार्फत उपलब्ध गराउन प्रक्रिया थालेका छन् ।
विपन्न उपचार सहायता स्वास्थ्य बीमामार्फत उपलब्ध गराउने खाका तयार पार्न मन्त्री पौडेलले एक विज्ञ समिति गठन गरेका छन् । समितिलाई एक साताभित्र सुझाव दिन भनिएको छ ।
मन्त्री पौडेलले यससम्बन्धमा सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । मन्त्री पौडेलले लेखेका छन्, ‘सरकारबाट प्रदान हुने विपन्न नागरिक उपचार सहायतासहितका सहुलियत स्वास्थ्य बीमा कार्यक्रममार्फत नै उपलब्ध गराउन नीतिगत सुधार गर्ने पूर्व प्रतिबद्धता अनुसार कार्यान्वयन प्रक्रिया आरम्भ गरेका छौं ।’
यस अघि जटिल आठ प्रकारका रोगका बिरामीलाई स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार सहायता दोब्बर गर्ने निर्णय कार्यान्वयनमा आइसकेको उल्लेख गर्दै मन्त्री पौडेलले सबै उपचार सहुलियत एकीकृत ढङ्गबाट प्रदान हुँदा स्वास्थ्य बीमामार्फत प्राप्त हुने सुविधा थप वृद्धि हुने बताएका छन् ।
‘आम नागरिकको स्वास्थ्य उपचार पहुँच विस्तार तथा सेवा अभिवृद्धिमा हामी निरन्तर प्रयत्नशील छौं । यस व्यवस्थाले नागरिकलाई स्वास्थ्य उपचार प्राप्तिमा थप सहजता प्राप्त हुने हाम्रो विश्वास छ,’ उनले भने।
मन्त्री पौडेलले गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्ने क्रममा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले दिने उपचार सहायता स्वास्थ्य बीमामार्फत नै उपलब्ध गराउने र स्वास्थ्य बीमाको नीतिगत तथा कार्यगत सुधार गर्ने घोषणा गरेका थिए।
यसअनुसार व्यक्तिले आफू बसेकै स्थानमार्फत स्वास्थ्य बीमाको प्रथम सेवा लिन पाउने व्यवस्था भएको छ । यसका साथै स्वास्थ्य बीमामा आवद्ध भएको तीन महिनापछि सेवा पाउने व्यवस्था परिवर्तन गरेर एक महिनाभित्रै प्राप्त गर्न सकिने बनाइएको छ । हरेक स्थानीय तहमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुका लागि समेत नीतिगत निर्णय गरेका मन्त्री पौडेलले घोषणा गरे अनुसारका नीतिगत सुधार निरन्तर जारी राखेका छन् । स्वास्थ्य बीमा कार्यक्रमको सबै बक्यौता यसै आर्थिक वर्षमा शून्यमा झार्ने सरकारले बजेटमार्फत घोषणा गरेको छ । यसले स्वास्थ्य बीमाको भुक्तानीमा देखिएको कठिनाई समेत समाधान हुने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।
सरकारी सुविधा एकीकृत रुपमा स्वास्थ्य बीमामा थपिंदा यसले कार्यक्रमको आम्दानी समेत वृद्धि हुँदा सेवा दिन थप सहजता हुने स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । विराटनगरको इस्टर्न इन्जिनियरिङ कलेज अफ इन्जिनियरिङ, विराटनगरमा सीटीईभीटी अन्तर्गतका ३ वर्षे डिप्लोमा कार्यक्रम समेत सञ्चालनमा आउने भएका छन् । विगत २५ वर्षदेखि पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत स्नातक तहकाका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको कलेजमा अब डिप्लोमा तहको समेत पढाई हुने भएको हो ।
कलेजका अनुसार डिप्लोमा तहमा कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र जिओमेटिक्स इन्जिनियरिङ गरी चार ओटा कार्यक्रम समावेश छन् । डिप्लोमा तथा स्नातक तहका कार्यक्रमका लागि आवश्यक सम्पूर्ण विषयगत प्रयोगशाला समेत उपलब्ध रहेको कलेजले जनाएको छ ।
शान्त, अनुशासित र सुरक्षित वातावरणमा पठनपाठन हुने कलेजमा फराकिलो खेल मैदान, अत्याधुनिक उपकरण जडित कक्षा कोठा, सुविधा सम्पन्न भवन, प्रयोगशाला र लाइब्रेरीको व्यवस्था समेत छ । रियल फिल्डमा आवश्यक पर्ने सम्पूर्ण सफ्टवेयर ट्रेनिङ कलेजमै उपलब्ध गराइनेछ ।
कलेजले स्नातक तहमा सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड अटोमेसन इन्जिनियरिङ विषयका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
पछिल्लो अध्यावधिक: साउन ७, २०८२ १९:५५
सामाग्री श्रोत :
टेक पाना
धरान – धरान उपमहानगरपालिकाले छाताचोकस्थित पुरानो अस्पतालको जग्गा फिर्ता गर्न माग गरेको छ। नगर प्रमुख हर्कराज राईद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाइएको पत्रमा भनिएको छ कि सो जग्गा ‘नगरपालिकाले आफ्नै नगर अस्पताल निर्माण गर्नको लागि आवश्यक’ भएको हो।
पत्रमा नगरपालिकाको स्वामित्वमा रहेको जग्गा कुनै “दलाली प्रक्रियामार्फत” वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुम्पिएको हुन सक्ने शंका गरिएको छ। नगर प्रमुख राईले उक्त कार्यप्रति असन्तुष्टि जनाउँदै भनेका छन्, ‘कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर वीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । Please फिर्ता गरिदिनु होला ।’
पत्रको प्रतिलिपि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समेत पठाइएको छ।
नगकुनै पनि संस्था वा प्रतिष्ठानले नगरपालिकाको स्वामित्वमा रहेको सम्पत्ति एकतर्फीरुपमा लिनु नाजायज रहेको उनको तर्क छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । नेपालमा सूचना प्रविधिसम्बन्धी उद्योग दर्तामा अप्रत्याशित उछाल देखिएको छ । देशमा रोजगारी सृजना र विदेशी मुद्रा सञ्चितिमा ठुलो योगदान पुर्याउँदै आएको सूचना प्रविधि क्षेत्रमा बढ्दो उद्योग सङ्ख्याले व्यवसायी समेत उत्साहित बनेका हुन् ।
उद्योग विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा सूचना प्रविधि क्षेत्रमा सर्वाधिक १८५ उद्योग दर्ता भएका छन् । जबकि त्यसअघिका वर्षहरूमा सूचना प्रविधिसम्बन्धी उद्योग बल्लतल्ल दोहोरो अङ्कमा दर्ता हुन्थे । विभागका अनुसार आव २०७७/७८ मा ६ ओटा, २०७८/७९ मा ११, २०७९/८० मा १६ ओटा र २०८०/८१ मा २१ ओटा सूचना प्रविधिसम्बन्धी उद्योग दर्ता भएका थिए ।
यो पाँच वर्षमा सूचना प्रविधि सम्बन्धी उद्योगमा कर्मचारीको सङ्ख्या ४१० बाट ३,८४४ पुगेको देखिन्छ । आव २०७७/८८ मा दर्ता भएका ६ ओटा सूचना प्रविधिसम्बन्धी उद्योगमा कर्मचारी सङ्ख्या ४१० थियो । आव २०७८/७९ मा दर्ता भएका ११ उद्योगमा ८८९ कर्मचारी थिए भने २०७९/८० मा दर्ता भएका १६ उद्योगमा कर्मचारी सङ्ख्या ८९६ थियो ।
त्यसैगरी, आव २०८०/८१ मा २१ सूचना प्रविधिसम्बन्धी उद्योगमा कर्मचारी सङ्ख्या १,४९२ पुग्दा गत वर्ष २०८१/८२ मा सबैभन्दा धेरै १८५ उद्योग दर्ता हुँदा त्यहाँ कर्मचारीको सङ्ख्या ३,८४४ रहेको विभागले जनाएको छ ।
आव २०७७/७८ मा दर्ता भएका ६ उद्योगको पुँजी ८० करोड रुपैयाँ थियो भने २०८१/८२ मा दर्ता भएका १८५ उद्योगको कूल पुँजी १ अर्ब ३६ करोड रुपैयाँ नाघेको छ ।
आखिर गत वर्ष किन र कसरी ह्वात्तै बढ्यो त नेपालमा सूचना प्रविधिसम्बन्धी उद्योगको सङ्ख्या ?
नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनिज (नास-आईटी) का अध्यक्ष सन्तोष कोइराला पछिल्लो समय आईटी कम्पनीहरू धमाधम उद्योग विभागमा दर्ता हुने क्रम बढ्नुको पछाडि सरकारको नीतिगत घोषणा कारक रहेको बताउँछन् । सँगै प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा आधारित सूचना प्रविधि कम्पनी धमाधम उद्योग विभागमा दर्ता हुन थालेकाले सङ्ख्या बढेको जानकारी समेत उनले दिए ।
“नेपालका ९० प्रतिशत आईटी कम्पनी उद्योग विभागमा दर्ता भएका छैनन्, कम्पनी रजिस्ट्रार कार्यालयमा सीमित छन् । सरकारले आईटी क्षेत्रका लागि विभिन्न छुटसहितका अफर घोषणा गरेकाले उद्योग विभागमा दर्ता हुनेको सङ्ख्या बढ्दै गएको हो । एफडीआई ल्याउन त उद्योग विभागको स्वीकृति अपरिहार्य नै हुन्छ । त्यसका लागि त त्यहाँ दर्ता हुनैपर्छ,” कोइरालाले भने।
सरकारले गत जेठ १५ गते सङ्घीय संसदमा प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सूचना प्रविधिमा आधारित उद्योगलाई विशेष उद्योग सरह मान्यता दिने घोषणा गरेको थियो । सरकारले त्यस्ता उद्योगहरूलाई विभिन्न छुटको प्याकेज समेत घोषणा गरेको थियो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिमा आधारित उद्योगलाई आयकर र विद्युत् महसुलमा छुट दिने स्किम ल्याएका छन् । उनले सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाएका छन् । सँगै नेपालमा बसेर विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा ५ प्रतिशत मात्रै आयकर लाग्ने र उक्त कर अन्तिम हुने व्यवस्था समेत गरेका छन् ।
यसका साथै, गत वर्ष तत्कालीन अर्थमन्त्री वर्षमान पुनले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटले पनि आगामी १० वर्षमा आईटी उद्योगले ३० खर्ब रुपैयाँको निर्यात गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य प्रस्तुत गरेको थियो । सो अवधिमा ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्यसहित तत्कालीन सरकारले सूचना प्रविधि दशकको प्रस्थान वर्षको रूपमा घोषणा समेत गरेको थियो ।
सूचना प्रविधि क्षेत्रलाई केन्द्रमा राखेर सरकारले महत्त्वपूर्ण कार्यक्रम घोषणा गरेपछि कम्पनीहरू उद्योगको रूपमा दर्ता हुन थालेको देखिन्छ । “कम्पनीमा मात्रै दर्ता भएका आईटी कम्पनीहरूले वार्षिक २५ प्रतिशत कर्पोरेट आयकर तिर्दै आएका छन् । अब उद्योग सरह मान्यता पाएपछि सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशतसम्म छुट पाइनेछ । यसका लागि उद्योगअन्तर्गत पनि दर्ता हुनु पर्यो,” कोइरालाले टेकपानासँग भने ।
पछिल्लो अध्यावधिक: साउन ७, २०८२ १८:३६
सामाग्री श्रोत :
टेक पाना
Kathmandu: Aakash Tech, a company active in the bulk SMS sector, has launched its own Interactive Voice Response (IVR) service. The company says this new technology, developed entirely in Nepal, aims to provide affordable and accessible services while eliminating reliance on foreign software.
IVR is an automated telephone system that uses pre-recorded messages to guide callers through options to either submit information or connect with a relevant representative.
For instance, when call…
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । सामसङले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एम३६ फाइभजी’ सार्वजनिक गरेको छ । एआईमा आधारित फिचर, ५० मेगापिक्सेलको क्यामेरा र शक्तिशाली ब्याट्रीसहित उपलब्ध फोनको सुरुवाती मूल्य ३६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
यो फोन दुई भेरियन्टमा उपलब्ध छ । ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ३६ हजार ९९९ रुपैयाँ र ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ४१ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । यो फोन ‘भेल्भेट ब्ल्याक’ र ‘सेरिन ग्रीन’ रङमा देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध हुनेछ ।
फोनमा ‘सर्कल टु सर्च’ जस्ता एआईमा आधारित सुविधा समावेश छन् । यसमा ६.७ इन्चको फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले रहेको छ, जसमा १२० हर्जको रिफ्रेस रेट र ‘भिजन बुस्टर’ प्रविधि छ । फोनको डिस्प्लेलाई कोर्निङ गोरिल्ला ग्लास भिक्टस प्लसले सुरक्षा दिने कम्पनीले जनाएको छ ।
फोटोग्राफीका लागि फोनमा अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) सहितको ५० मेगापिक्सेलको मुख्य क्यामेरासहित ट्रिपल क्यामेरा सेटअप छ । यसले कम प्रकाशमा पनि स्थिर भिडिओ र स्पष्ट तस्बिर खिच्न सक्ने सामसङको दाबी छ । फोनको अगाडि र पछाडि दुवै क्यामेराबाट फोरके (फोरके) भिडिओ रेकर्डिङ गर्न सकिन्छ ।
पर्फमेन्सका लागि यसमा ५ नानोमिटरमा निर्मित एक्सिनस १३८० प्रोसेसर प्रयोग गरिएको छ । फोन तात्ने समस्या कम गर्न ‘भेपर कुलिङ चेम्बर’ पनि छ । यसमा ५००० एमएएच क्षमताको ब्याट्री र २५ वाटको फास्ट चार्जिङ सपोर्ट रहेको छ ।
‘ग्यालेक्सी एम३६ फाइभजी’ मा ६ वर्षसम्म सेक्युरिटी अपडेट र ६ पुस्तासम्मको एन्ड्रोइड अपग्रेडको ग्यारेन्टी दिइएको छ । वन यूआई सेभेनमा चल्ने फोनमा प्रयोगकर्ताको डेटा सुरक्षाका लागि ‘सामसङ नक्स भल्ट’ फिचर पनि रहेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
पछिल्लो अध्यावधिक: साउन ७, २०८२ १६:४९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । बल्क एसएमएस क्षेत्रमा काम गर्दै आएको आकाश टेकले इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आईभीआर) सेवा सञ्चालनमा ल्याएको छ । विदेशी सफ्टवेयरमाथिको निर्भरता हटाउँदै सस्तो र सुलभ सेवा दिने उद्देश्यले नेपालमै यस्तो प्रविधि तयार पारिएको कम्पनीले जनाएको छ ।
आईभीआर एक स्वचालित टेलिफोन प्रविधि हो, जसले फोन कलमा प्रयोगकर्तालाई पूर्व-रेकर्ड गरिएको आवाजमार्फत आवश्यक जानकारी प्रदान गर्न वा सम्बन्धित व्यक्तिसम्म पुग्न निर्देशन दिन्छ ।
उदाहरणका लागि, जब हामी कुनै बैंकमा फोन गर्छौं, सुरुमा ‘नेपालीका लागि १ थिच्नुहोस्’ वा ‘अंग्रेजीका लागि २ थिच्नुहोस्’ जस्ता निर्देशनहरू सुन्न पाइन्छ । त्यसपछि प्रयोगकर्ताको समस्या वा जिज्ञासासँग सम्बन्धित थप विकल्पहरू प्रस्तुत गरिन्छ । ती विकल्पहरूमा क्रमशः नम्बर थिच्दै जाँदा अन्ततः प्रयोगकर्ता सम्बन्धित प्रतिनिधिसँग जोडिन्छ । यस सम्पूर्ण प्रक्रिया सञ्चालन गर्ने प्रणाली र सफ्टवेयरलाई नै आईभीआर भनिन्छ ।
आकाश टेकका प्रमुख कार्यकारी अधिकृत ब्रिजेश गुप्ताले यो सिस्टम पूर्ण रूपमा नेपालमै तयार पारिएको र यस्तो सेवा दिने पहिलो नेपाली सफ्टवेयर भएको दाबी गरे ।
“अन्य कम्पनीहरूले विदेशी सफ्टवेयर प्रयोग गरेर यो सेवा दिने गरेका छन्, तर हामीले नेपालमै विकास गरेका हौँ,” गुप्ताले भने, “यसले गर्दा हाम्रो सेवा लागतको हिसाबले निकै सस्तो छ ।” उनका अनुसार यो सेवा मोबाइल एप्लिकेसन र वेबमा आधारित दुवै माध्यमबाट उपलब्ध गराइनेछ ।
हाल कम्पनीले १० हजारभन्दा बढी व्यावसायिक संस्थाहरूलाई एसएमएस सेवा प्रदान गर्दै आएको छ । कम्पनीका विक्री विभाग प्रमुख राजन कोइरालाका अनुसार आकाश टेकका विभिन्न सेवाहरू एक करोड १२ लाखभन्दा बढी व्यक्तिले प्रयोग गरिरहेका छन्, जसमा बैंक तथा वित्तीय संस्थाहरू प्रमुख ग्राहक छन् ।
पछिल्लो अध्यावधिक: साउन ७, २०८२ १५:४४
सामाग्री श्रोत :
टेक पाना