काठमाडौँ । नेपाल सरकारले मेसेजिङ एप टेलिग्राममाथि लगाएको प्रतिबन्धको विरोधमा एक ह्याकर समूहले नेपालका विभिन्न सरकारी तथा निजी वेबसाइट ह्याक गरेको छ । आफूलाई ‘डिकु’ (DIKU) नामले चिनाउने उक्त समूहले वेबसाइट ह्याक गरी टेलिग्राममाथिको प्रतिबन्ध तत्काल हटाउन माग गरेको हो ।

ह्याकर समूहले चितवन मेडिकल कलेज, कृषि ज्ञान केन्द्र दाङ, सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तु लगायतका वेबसाइट आफ्नो नियन्त्रणमा लिएर त्यहाँ आफ्नो माग छोडेको छ ।
“हामी नेपालमा टेलिग्राममाथि लगाइएको अनुचित प्रतिबन्धको कडा विरोध गर्दछौँ,” ह्याकरले वेबसाइटमा छोडेको मेसेजमा लेखिएको छ, “अभिव्यक्ति स्वतन्त्रतालाई समर्थन गर्ने प्लेटफर्मलाई चुप लगाउनु डिजिटल अधिकारको हनन हो ।”

समूहले यसलाई केवल विरोध नभएर एक आन्दोलनको संज्ञा दिँदै भनेको छ, “यो केवल विरोध मात्र होइन, यो एक आन्दोलन हो । हामी जनताका लागि टेलिग्रामको पहुँच पूर्ण रूपमा पुनर्स्थापित गर्न माग गर्दछौँ । तिमीहरूले जनताको आवाजलाई दमन गर्न सक्दैनौ ।”
यसका साथै ह्याकरले नेपालको साइबर सुरक्षा प्रणाली कमजोर रहेको औंल्याएको छ । “तिम्रो सिस्टम एउटा खेलौना हो, तिम्रो फायरवाल एउटा मजाक हो,” ह्याक गरिएको वेबसाइटमा भनिएको छ, “हामी कानुन तोड्दैनौँ, बरु नाफाका लागि कानुनलाई बङ्ग्याउनेलाई उजागर गर्छौँ । भ्रष्ट प्रणाली, अल्छी प्रशासक, किनिएको मौनता – हामी सबै देख्छौँ । यो धम्की होइन, यो एक उपकार हो । आफ्नो सिस्टम सुधार, नत्र हामी यसलाई तिमीलाई सुधार्न प्रयोग गर्नेछौँ ।”
अनलाइन ठगी, मनी लाउन्डरिङ (सम्पत्ति शुद्धीकरण) जस्ता गम्भीर आपराधिक गतिविधिमा टेलिग्रामको प्रयोग बढेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि टेलिग्राममाथि रोक लगाएको थियो । प्राधिकरणले सबै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलाई आफ्नो नेटवर्कबाट टेलिग्रामको पहुँच तत्काल बन्द गर्न निर्देशन दिएको थियो । प्राधिकरणको निर्देशनपछि सेवा प्रदायकहरूले टेलिग्राम बन्द गरेका छन् । त्यसैको परिणाम अहिले नेपालमा रहेका लाखौं प्रयोगकर्ता प्रभावित भएका छन् ।
पछिल्लो अध्यावधिक: साउन ६, २०८२ १८:४९
सामाग्री श्रोत :
टेक पाना