काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि लिएको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि महानगरले शनिबार ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालन गरेको थियो ।

उक्त प्रवेश परीक्षाको आइतबार महानगरले नतिजा सार्वजनिक गरेको हो । प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीहरूले entrance.kathmandu.gov.np मा जानुपर्ने हुन्छ । सोपछि रोल नं, जन्म मिति र पासवर्ड राखेर नतिजा हेर्न सक्नेछन् ।
महानगरको शिक्षा विभागका अनुसार देशभरका ७७ जिल्लाबाट १४ हजार १७३ विद्यार्थीले प्रवेश परीक्षामा सहभागिता जनाएका थिए । परीक्षाको उत्तरपुस्तिका ओएमआर (Optical Mark Recognition) प्रणालीमार्फत जाँच गरेको हो । यो प्रणालीमा मेसिनले उत्तरपुस्तिकालाई स्क्यान गरी स्वचालित रूपमा जाँच गर्छ ।
प्रवेश परीक्षाका नतिजा अनुसार महानगरका १६० संस्थागत विद्यालयहरूमा करिब ४,००० भन्दा बढी छात्रवृत्ति सिटमा छात्रवृत्ति पाएका छन् । यी सिटहरूमा ४०% सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी, ५% संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढेका विद्यार्थी, १४% काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दा र १% ल्यान्डफिल प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई प्राथमिकता दिइएको छ ।

यसका अतिरिक्त, महिला, दलित, आदिवासी/जनजाति, मधेसी, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्रका बासिन्दा र शहीद/बेपत्ता परिवारका बालबालिकाका लागि सामुदायिक विद्यालयमा पढेका विद्यार्थीहरूका लागि ४०% आरक्षण कोटा छुट्याइएको थियो ।
पछिल्लो अध्यावधिक: साउन ४, २०८२ १३:८
सामाग्री श्रोत :
टेक पाना