२०८२ भाद्र २४ मंगलवार
२०८२ भाद्र २४ मंगलवार

काठमाडौँ । ‘टेकपाना’ले आफ्नो वेबसाइटमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल इन्टिग्रेट गरेको छ । पाठकलाई समाचार पढ्न र त्यससँग सम्बन्धित विषयमा जानकारी लिन सहज बनाउने उद्देश्यले यो फिचर थपिएको हो ।

नेपाली एआई कम्पनी ‘नेक्स्ट एआई’सँगको सहकार्यमा विकास गरिएको यो फिचर हाल टेकपानाको वेबसाइटमा उपलब्ध छ । एआई इन्टिग्रेट भएसँगै पाठकले यी विभिन्न एआई फिचर प्रयोग गरेर स्मार्ट तरिकाले प्रविधिसँग सम्बन्धित जानकारी लिन सक्नेछन् ।

एआई समरी (AI Summary)

अब पाठकले टेकपानाको वेबसाइटमा कुनै पनि समाचार खोल्दा स्क्रिनको दायाँतर्फ तलपट्टि ‘एआई समरी’ नामक हरियो बटन देखिन्छ । 

यसमा क्लिक गर्दा उक्त समाचारको सारांश बुँदागत रूपमा देख्न सक्नुहुन्छ ।

रिकमेन्डेड न्युज (Recommended News)

‘एआई समरी’ को ठिक तल रहेको दोस्रो बटनमा क्लिक गर्दा पाठकले पढिरहेको समाचारसँग सम्बन्धित अन्य समाचारहरू देखा पर्छन् । 

त्यहाँ दिएका हरेक समाचारको शीर्षकभन्दा ठिक तल ‘भ्यु आर्टिकल डिटेल्स’ (View Article Details) बटन रहेको छ । 

सो बटनमा क्लिक गरेपछि सिफारिस गरिएको समाचार किन सान्दर्भिक छ र अघिल्लो समाचारसँग त्यसको समानता र भिन्नता के-के छन् भन्ने कुरा बुँदागत रूपमा हेर्न सकिन्छ । यसले पाठकलाई विषयवस्तुमा थप स्पष्ट हुन मद्दत गर्नेछ ।

त्यसको तलपट्टि ‘रिड फुल आर्टिकल’ (Read Full Article) को बटन देख्न सक्नुहुन्छ । माथि उल्लेख भएको समाचार पढ्ने इच्छा भए उक्त बटनमा ट्याप गर्न सक्नुहुन्छ । 

 

त्यसभन्दा तलपट्टि ‘पिपुल अल्सो आस्क’ (People Also Ask) बटन राखिएको छ । उक्त बटनमा क्लिक गरिसकेपछि तपाईंले खोलेको पहिलो समाचार र एआईले सुझाव दिएको समाचारको विषयलाई लिएर तयार पारिएका प्रश्न र तिनको जवाफ देखिन्छ । 

यसले समाचारसँग सम्बन्धित विभिन्न प्रश्न र तिनका उत्तर देखाउँछ । यसबाट पाठकले समाचारमा उल्लेख गरिएका विषय स्पष्टसँग बुझ्न सक्नेछन् ।‍ 

यी एआई टुलको सहायताले पाठकले स्मार्ट तरिकाले प्रविधिसँग सम्बन्धित समाचार पढ्न र कुनै पनि विषयमा गहिरो जानकारी लिन सक्ने टेकपानाको विश्वास छ ।

पछिल्लो अध्यावधिक: साउन ४, २०८२ २०:३९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । गुगल म्याप्समा धरहराको नाम ‘सेतो टावर’ देखिएपछि शनिबारदेखि यस विषयले चर्चा पाइरहेको छ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवार हुँदा वर्तमान प्रमुख बालेन्द्र शाह (बालेन)ले नवनिर्मित धरहरालाई ‘सेतो टावर’को उपनाम दिएका थिए ।

२०७२ सालको भूकम्पले भत्काएको पुरानो धरहराको छेउमा यो आधुनिक धरहरा निर्माण गरिएको हो । बालेनले नयाँ धरहराको विरोध गर्नुका पछाडि विभिन्न तर्क थिए । उनका अनुसार ‘धरहरा’ को शाब्दिक अर्थ ‘सबैभन्दा अग्लो’ भए पनि नयाँ धरहरा निर्माण हुँदा राजधानीमा त्योभन्दा अग्ला भवन बनिसकेका छन् । साथै नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले निर्माण गरेको मौलिक धरहराको पहिचान मासिएको भन्दै बालेनले धरहरालाई सेतो टावरको उपनाम दिएका थिए । 

त्यसपछि समय समयमा यो नाम चर्चामा आइरहने गर्छ। गुगल म्याप्समा पनि बारम्बार नाम परिवर्तन भइरहने गर्छ। यसरी बारम्बार धरहराको नाम कसले फेर्छ? के नाम फेर्ने व्यक्तिको पहिचान गर्न सकिन्छ ? के छ तरिका ? भन्नेबारे सामाजिक सञ्जालमा बहस भइरहेको छ । यस लेखमा गुगल म्याप्स र यससँग जोडिएका विभिन्न प्राविधिक पक्षबारे जानकारी दिइएको छ ।

कसले फेर्न सक्छ गुगल म्याप्समा रहेको नाम ?

गुगल म्याप्समा जोकोहीले पनि कुनै ठाउँको नाम फेर्न, नयाँ ठाउँ राख्न, अन्य विवरण थप्न पाउँछ । सामा‍न्य सेटिङबाटै यो काम गर्न सकिन्छ । नाम फेर्न वा राख्न सकिने भए पनि सार्वजनिकरूपमा गरिएका हरेक एडिटको पछाडि को व्यक्ति छ भनेर सिधै पत्ता लगाउन भने सम्भव छैन । गुगलले पनि यस्तो सुविधा दिँदैन । तर, अनुसन्धान तथा कानूनी कारबाहीको विषय भए औपचारिक तरिकाबाट सरकारी निकायले यो विवरण गुगलबाट झिकाउन सक्छन्। तर, सोझै गुगलले प्राइभेट म्यापिङ लगको एक्सेस भने दिंदैन । 

अब गुगल म्याप्सको जानकारी कसरी अपडेट हुन्छ, यी परिवर्तन कसले गरिरहेको हुन सक्छ र तपाईं आफ्नो व्यवसाय (ठाउँको नाम)को जानकारीलाई सही तरिकाले व्यवस्थापन गर्न के-कस्ता कदम चाल्न सक्नुहुन्छ भन्नेबारे चर्चा गरौं । 

गुगल म्याप्स धेरै मानिसका लागि महत्त्वपूर्ण स्रोत हो जसले बाटो पत्ता लगाउनदेखि स्थानीय व्यवसाय र सेवाहरू खोज्नसम्म मद्दत गर्छ । यो जानकारीलाई सधैँ सही र अप-टु-डेट राख्न गुगलले विभिन्न स्रोतबाट डेटा संकलन गर्न विभिन्न प्रणालीमा निर्भर रहन्छ । सन् २०१० देखि अहिलेसम्म ९७ करोडभन्दा बढी मानिसले गुगल म्याप्समा रिभ्यु लेख्ने, फोटो अपलोड, रेटिङ  र ठेगाना तथा खुल्ने समय जस्ता तथ्यगत जानकारी थपेर योगदान पुर्‍याएका छन् । यसरी प्रयोगकर्ताबाट जानकारी संकलन गर्दा म्याप्सको डेटा त बढ्छ तर कहिलेकाहीँ गलत वा अनावश्यक परिवर्तनलाई व्यवस्थापन गर्नुपर्ने चुनौती थपिन्छ । अहिले धरहराको सन्दर्भमा त्यही स्थिति देखिएको हो । 

गुगलका अनुसार तपाईंको म्याप्समा हुने विभिन्न किसिमका परिवर्तन तल उल्लेख गरिएका चार मुख्य स्रोतबाट आउन सक्छन् :

१) सार्वजनिकरूपमा उपलब्ध जानकारी 

गुगलको स्वचालित प्रणाली (एल्गोरिदम)ले इन्टरनेटमा तपाईंको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल (जस्तै: फेसबुक, लिङ्क्डइन) र अन्य अनलाइन स्रोतबाट निरन्तर जानकारी तानिरहेको हुन्छ । यदि कुनै ठाउँ वा व्यवसायको वेबसाइट र गुगल बिजनेस प्रोफाइलमा व्यवसाय खुल्ने समय फरक-फरक छ भने गुगलले बढी विश्वसनीय ठानेको स्रोतको आधारमा उक्त ठाउँ वा व्यवसायको प्रोफाइललाई स्वतः अपडेट गर्न सक्छ । त्यसैले यदि तपाईंको व्यवसाय गुगल म्याप्समा लिस्टिङ गर्नु भएको छ भने आफ्ना सबै अनलाइन प्लेटफर्ममा व्यवसायको जानकारी एकनासको राख्नु अत्यन्त महत्त्वपूर्ण छ ।

२) थर्ड-पार्टी एप्लिकेसन 

धेरै व्यवसायले विभिन्न मार्केटिङ वा व्यवस्थापनका लागि थर्ड-पार्टी एप प्रयोग गर्छन् । त्योमध्ये केही एपलाई उनीहरूले आफ्नो गुगल बिजनेस प्रोफाइलमा डेटा पठाउन अनुमति (API access) दिएका हुन्छन् । यो प्रायः ध्यान नपुग्ने स्रोत हो । यदि सो व्यक्तिले अब प्रयोग नगर्ने एपलाई पहुँच दिएको छ वा ती एपमा गलत जानकारी छ भने त्यसले गुगल म्याप्सको बिजनेस प्रोफाइलमा पुरानो वा गलत डेटा पठाइरहेका हुन सक्छन् । तर, यो माध्यम नेपालमा कमै प्रयोग हुने जानकार बताउँछन् ।

३) ओनर वा मेनेजर 

गुगल म्याप्समा लिस्टिङ गरिएका ठाउँ वा व्यवसाय जोकोहीले क्लेम (दाबी) गर्न पाउँछ । सबैभन्दा पहिले जसले दाबी गर्‍यो, सो ठाउँ व्यवस्थापन त्यही व्यक्तिले गर्न पाउँछ । यदि तपाईंको व्यवसाय पहिले नै अरु कसैले दाबी गरेको छ भने तपाईंले रिपोर्ट गरेर आफ्नो बनाउन सक्नुहुन्छ । तर, सामान्यतः जसले सबैभन्दा पहिले दाबी गर्छ, गुगल म्याप्समा उक्त ठाउँ व्यवस्थापन गर्न उसैले पाउँछ । त्यस्तै व्यवसाय व्यवस्थित गर्ने एक्सेस दिएको अकाउन्टबाट पनि व्यवस्थापन गर्न सकिन्छ । यसरी व्यवसाय दाबी गरेको ओनर वा मेनेजरले जुनसुकै बेला त्यसमा भएका विवरण परिवर्तन गर्न सक्छन् । 

यो विषय सामान्य लागे पनि धेरैले बेवास्ता गर्छन् । नियमितरूपमा आफ्नो प्रोफाइलमा पहुँच भएका प्रयोगकर्ताको सूची जाँच गर्ने र पुराना कर्मचारी वा विश्वास नभएका व्यक्तिलाई हटाउनु अनाधिकृत परिवर्तनहरू रोक्ने एक महत्त्वपूर्ण कदम हो ।

४) सार्वजनिक प्रयोगकर्ताको एडिट

गुगल म्याप्सले प्रयोगकर्ता (जसमा लोकल गाइड पनि पर्छन्)लाई व्यवसायको सूचीमा परिवर्तन सुझाव गर्न अनुमति दिन्छ । सबै सुझाव सिधै लाइभ हुँदैनन्। तर, गुगलको प्रणालीले सुझाव दिने स्रोत (जस्तै: उच्च तहको लोकल गाइड) लाई विश्वसनीय मान्यो भने, त्यो एडिट स्वीकृत हुने सम्भावना बढी हुन्छ । यसको फाइदा र बेफाइदा दुवै छ: यसले जानकारीलाई अप-टु-डेट राख्न मद्दत गर्छ। तर, कहिलेकाहीँ गलत वा अनावश्यक परिवर्तन पनि हुन सक्छन् । त्यो जोखिम रहिरहन्छ ।

यसरी विभिन्न तरिकाले गुगल म्याप्समा पहिले नै भएका जानकारी अपडेट हुन्छन् । 

यसरी जोकोहीले सजिलै आफ्नो व्यवसायमा अनावश्यक परिवर्तन गरेर दुःख नदेओस् भन्नका लागि बिजनेस प्रोफाइल भेरिफिकेसन गर्नुपर्ने हुन्छ । बिजनेस क्लेम गर्नु भनेकै बिजनेस प्रोफाइल भेरिफिकेसन गर्नु हो । आफ्नो व्यवसायको अनलाइन जानकारीलाई सुरक्षित राख्न र नियन्त्रण गर्न तपाईंले चाल्न सक्ने सबैभन्दा महत्त्वपूर्ण कदम भनेको आफ्नो गुगल बिजनेस प्रोफाइललाई भेरिफाइ (Verify) गर्नु हो । भेरिफाइ गरिएको प्रोफाइलको आधिकारिक व्यक्तिले मात्र गुगल सर्च, म्याप्स र अन्य गुगल सेवामा आफ्नो व्यवसायको जानकारी प्रभावकारीरूपमा व्यवस्थापन गर्न सक्छ ।

भेरिफाइ गरिएको प्रोफाइलका फाइदाहरू:

जानकारी अपडेट गर्ने अधिकार

तपाईंले आफ्नो व्यवसायको जानकारी, फोटो, पोस्ट र ग्राहकका रिभ्युको जवाफ दिन सक्ने अधिकार पाउनुहुन्छ ।

अरूको परिवर्तनबाट सुरक्षा

सबैभन्दा महत्त्वपूर्ण विषय- भेरिफाइ गरिएको प्रोफाइलमा अरूले सुझाएका परिवर्तनलाई तपाईंले स्वीकार वा अस्वीकार गर्न सक्नुहुन्छ । यदि तपाईंको प्रोफाइल भेरिफाइ गरिएको छैन भने, कुनै पनि परिवर्तन स्वतः लागू हुन सक्छ ।

ग्राहकको विश्वास वृद्धि

गुगलकाअनुसार प्रयोगकर्ताले भेरिफाइ गरिएको व्यवसायलाई बढी विश्वसनीय मान्छन् ।

लोकल सर्च (लोकल एसईओ)मा राम्रो र्‍याङ्किङ 

भेरिफाइ गरिएको प्रोफाइलको जानकारीले लोकल सर्च रिजल्टमा तपाईंको व्यवसायको र्‍याङ्किङ सुधार गर्न मद्दत गर्छ ।

गुलग म्याप्समा बिजनेस प्रोफाइल विभिन्न तरिकाले भेरिफाइ गर्न सकिन्छ । हुलाकबाट कोड पठाउने, फोन/एसएमएस, इमेल, भिडियो कल वा भिडियो रेकर्डिङ आदिबाट भेरिफाइ गर्न सकिन्छ । 

जानकारी परिवर्तन भएमा के गर्ने ?

आफ्नो गुगल बिजनेस प्रोफाइलको जानकारीलाई सही राख्न नियमित निगरानी आवश्यक छ । भेरिफाइ गरिएको प्रोफाइल भएका व्यवसायले तल उल्लेख उल्लेख गरिएका तरिका पालना गर्न सक्छन् ।

यदि तपाईंको कुनै व्यवसाय गुगल म्याप्समा लिस्टिङ छैन भने पनि तपाईंको भूमिका हुन्छ । यदि तपाईंले कुनै गलत जानकारी देख्नुभयो भने तपाईंले गुगल म्याप्समा सिधैं एडिटको सुझाव दिन सक्नुहुन्छ वा गलत वा भ्रामक जानकारीको रिपोर्ट गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: साउन ४, २०८२ १७:३७





सामाग्री श्रोत :
टेक पाना

 

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाहेक अरु सबै भुक्तानी सम्बन्धी काम गर्ने संस्थाहरुले पनि जथाभावी लाभांश वितरण गर्न नपाउने भएका छन् । कमाएको नाफाको बाँडफाँट तथा लाभांश वितरणलाई व्यवस्थित गर्न भन्दै नेपाल राष्ट्र बैंकले आइतबार भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्था (बैंक तथा वित्तीय संस्थाबाहेक)का लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी गरेको हो ।

राष्ट्र बैंकले लाभांश वितरण गर्नुअघि अनिवार्यरूपमा विभिन्न कोषहरूमा नाफाको निश्चित हिस्सा छुट्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले असार ३२ गते स्वीकृत गरेको  मार्गदर्शनमा जोखिम व्यवस्थापन, वित्तीय पारदर्शिता र नियामकीय पुँजीको सुदृढीकरण सुनिश्चित गर्न कोष व्यवस्थापनलाई अनिवार्य गराएका हुन् ।

राष्ट्र बैंककाअनुसार लाभांश वितरण सम्बन्धी नीति स्पष्टरूपमा तयार पारेर संस्थाको सञ्चालक समितिबाट पारित गर्नुपर्नेछ। उक्त नीतिमा नियामकीय पुँजी कायम गर्ने योजना, नगद र सेयर लाभांश वितरणसम्बन्धी रणनीति तथा अनिवार्य कोष व्यवस्थाको विवरण समावेश गर्नुपर्ने उल्लेख छ ।

संस्थाहरूले लाभांश वितरण गर्नुअघि जोखिम बहन कोष, जगेडा कोष र पू्र्वाधार विकास कोषमा रकम छुट्याउनुपर्नेछ । यस्तै, राष्ट्र बैंकले जोखिम बहन कोषको रकम अप्रत्याशित घटना व्यवस्थापनमा प्रयोग गर्न सकिने उल्लेख गर्दै यस्ता कोषबाट खर्च हुँदा बैंकलाई जानकारी गराउनुपर्ने प्रावधान पालना गर्न निर्देशन दिएको छ ।

लाभांश वितरण गर्नुअघि संस्थाको वित्तीय अवस्था सबल भएको हुनुपर्नेछ । लाभांश घोषणा गर्न सञ्चित मुनाफा ऋणात्मक हुनु नहुने, पर्याप्त नगद मौज्दात भएको पुष्टि हुनुपर्ने र संस्थाले मुनाफा भएको आर्थिक वर्षको आधारमा मात्र लाभांश घोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको, बैंक तथा वित्तीय संस्थामा तिर्न बाँकी कर्जा वा कर दायित्व नरहेको र कानूनी व्यवस्था पालना भएको विवरण समेत आवश्यक पर्नेछ ।

लाभांश वितरण प्रस्ताव राष्ट्र बैंकको पूर्वस्वीकृतिविना अघि बढाउन पाइने छैन । लाभांश प्रस्ताव पेस गर्दा सञ्चालक समितिको निर्णय, लेखापरीक्षण प्रतिवेदन, कर चुक्ता प्रमाणपत्र, कोष छुट्याइएको विवरण र आवश्यक अन्य कागजात अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: साउन ४, २०८२ १६:५७





सामाग्री श्रोत :
टेक पाना

बैतडी-  बैतडीस्थित जिल्ला अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया गरिएको छ।

शनिबार जिल्ला अस्पतालमा पहिलो पटक दुई जनाको हर्नियाको सफल शल्यक्रिया गरिएको हो।

करिब ५८ र ६८ वर्षीय दुई पुरुषको हर्नियाको सफल शल्यक्रिया गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिशप्रसाद पन्तले जानकारी दिए।

यसअघि विशेषज्ञ चिकित्सकको अभावमा यो सेवा जिल्ला अस्पतालमा सञ्चालन हुन सकेको थिएन। एमडिजिपी डाक्टर पविन उपाध्याय जिल्ला अस्पतालमा हाजिर भएसँगै सेवा सुरु भएको सूचना अधिकारी पन्तले बताए।

आज पनि ४० वर्षीय एक पुरुषको हर्नियाको शल्यक्रिया गरिन लागिएको अस्पतालले जनाएको छ।

अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक र डडेल्धुरा अस्पतालको समन्वयमा पहिलो पटक हर्नियाको सफल शल्यक्रिया गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुशील विकले जानकारी दिए।

डडेल्धुरा अस्पतालले पनि बैतडीमा उपलब्ध नभएका सर्जरी सामग्रीलगायत आवश्यकताअनुसार चिकित्सकलाई हप्ताको एक दिन खटाउने गरेको सूचना अधिककारी पन्तले जानकारी दिए।

यसले गर्दा पनि जिल्लामा विशेषज्ञ सेवा प्रदान गर्न सहज भइरहेको उनको भनाइ छ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । मानिसको दैनिकी विद्युतीय उपकरणमा निर्भर हुँदै जाँदा ती उपकरणको ब्याट्री ब्याकअपका लागि पावरबैंक प्रयोग गर्नुपर्ने हुन्छ । विशेषगरी कुनै लामो यात्रामा जाँदा होस् वा कुनै दुर्गम ठाउँ जाँदा अथवा घरबाट लामो समयको लागि बाहिर रहनुपरेमा आफ्ना ग्याजेटहरू चार्ज गर्न पावरबैंक अनिवार्य आवश्यकता बनिसकेको छ । 

यसमा लागि बजारमा विभिन्न प्रकारका पावर बैंकहरू भेटिन्छन् । ब्रान्डसँगै पावरबैंकको विशेषता पनि फरक-फरक हुन्छन् । यहाँ साओमीका पाँच हजार रुपैयाँभन्दा कम मूल्यका पावरबैंकको विषयमा चर्चा गरिएको छ । 

साओमी फोरआई १०,०००

बजार मूल्य तीन हजार ४९९ रुपैयाँ रहेको यो पावरबैंकबाट एकैचोटी तीनओटा डिभाइस चार्ज गर्न मिल्छ । यसमा यूएसबी–सी र यूएसबी–ए दुवै पोर्ट छन् । यसले टु-वे चार्जिङ पनि सपोर्ट गर्छ । अर्थात् पावर बैंक चार्ज गर्दैगर्दा तपाईंको फोन पनि चार्ज गर्न मिल्छ । । यसमा रहेको १८ वाट चार्जरले ४ घण्टामै डिभाइसलाई फुल चार्ज गराउने कम्पनीको दाबी छ । यो पावरबैंक क्लासिक ब्ल्याक, ओलिव ग्रीन र कोरल पर्पल रंगमा उपलब्ध छ । 

साओमी पकेट पावर बैंक 

१० हजार एमएएच ब्याट्री पावर भएको यो पावरबैंकको मूल्य ४ हजार २९९ रुपैयाँ छ । यसमा बिल्ट–इन केबल भएकाले अलग्गै चार्जिङ केबलको आवश्यकता पर्दैन । फोरआई जस्तै यसमा पनि २२.५ वाट फास्ट चार्जिङ पावर भएको कारण यसमा पनि एकैचोटि तीनवटा डिभाइस चार्ज गर्न सकिन्छ । बिल्ट–इन केबल र यूएसबी–सी र यूएसबी–ए दुवै पोर्टले साढे तीन घण्टामा नै डिभाइसहरू फुल चार्ज हुने कम्पनीको दाबी छ । यो पावर बैंक मरुन र ब्लू रंगमा उपलब्ध छ । 

रेड्मी पावर बैंक 

नेपाली बजारमा चार हजार ४९९ रुपैयाँ पर्ने यो पावर बैंकमा दुई हजार एमएएचको शक्तिशाली ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार यो पावरबैंकले अत्यधिक ताप, सर्ट सर्किट, उच्च भोल्टेज जस्ता समस्या खप्नसक्ने दाबी गरेको छ । यस भित्रको लिथियम पोलिमर ब्याट्री सामान्यभन्दा बढी सुरक्षित भएको कम्पनीले जनाएको छ । कालो र सेतो रंगमा उपलब्ध यो पावर बैंक, धेरै डिभाइस भएका ठाउँमा, चार्जिङ स्पट कम भएका  ठाउँमा र लामो यात्रा गर्नेहरूको लागि उपयुक्त छ । 

साओमी पावर बैंक फोरआई २०,०००

साओमी पावरबैंक फोरआई २०,००० को बजार मूल्य चार हजार ९९९ रुपैयाँ पर्छ । ३३ वाट सोनिक चार्जिङ भएको यो हेबी–ड्युटी पावर बैंकले एकैचोटि तीनवटा डिभाइस चार्ज गर्न सक्छ । फिटनेस ट्रयाकर वाच जस्ता सानो साइजका ग्याजेटका लागि लो पावर मोड पनि उपलब्ध छ । १२ लेयर सुरक्षा सुविधा र धेरै पोर्ट (टाइप सी इनपुट, टाइपसी आउटपुट र दुईवटा यूएसबी–ए आउटपुट)सहित यो पावर बैंक फूल चार्ज हुन करिब सात घण्टा लाग्ने कम्पनीको भनाइ छ । बजारमा यो पावर बैंक जेट ब्ल्याक, नाइट्रो ग्रीन र टर्बो ब्लू रंगमा उपलब्ध ​छ । 

पछिल्लो अध्यावधिक: साउन ४, २०८२ १६:५९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । चर्चित  ब्यान्ड कोल्डप्लेको कन्सर्टमा एक महिला सहकर्मीसँग अङ्कमाल गरिरहेको भिडिओ भाइरल भएपछि अमेरिकी टेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले राजीनामा दिएका छन् । 

डेटा पूर्वाधारको क्षेत्रमा काम गर्ने टेक कम्पनी ‘एस्ट्रोनमर’ले शनिबार एक विज्ञप्ति जारी गर्दै सीईओ एन्डी बायरनले राजीनामा दिएको पुष्टि गरेको छ । “एन्डी बायरनले आफ्नो राजीनामा बुझाएका छन् र सञ्चालक समितिले त्यसलाई स्वीकार गरेको छ,” कम्पनीको विज्ञप्तीमा उल्लेख छ ।

भाइरल भएको क्लिपमा अमेरिकाको म्यासाचुसेट्स सहरमा रहेको फक्सबरोमा आयोजित कन्सर्टको ठूलो स्क्रिनमा एक पुरुष र महिला अङ्कमाल गरिरहेका देखिन्छन् । क्यामेरा आफूतिर सोझिएको थाहा पाउनासाथ उनीहरू लुक्न खोज्छन् ।

अमेरिकी सञ्चारमाध्यमले भिडिओमा देखिएका व्यक्ति विवाहित सीईओ बायरन र कम्पनीकी एचआर प्रमुख क्रिस्टिन क्याबोट भएको पहिचान गरेका छन् । 

कम्पनीले विज्ञप्तीमा थप भनेको छ- “हामी स्थापनादेखि नै निर्देशित मूल्य, मान्यता र संस्कृतिप्रति प्रतिबद्ध छौं । हाम्रा लिडरले आचरण र जवाफदेहिता दुवैमा एक मानक स्थापित गर्नुपर्छ भन्ने अपेक्षा गरिन्छ । तर, हालै त्यो मानक पूरा भएन ।”

भिडिओमा दुई जना लुक्न खोजेपछि कोल्डप्लेका मुख्य गायक क्रिस मार्टिनले दर्शकलाई ठट्टा गर्दै भनेका थिए, “या त उनीहरूको अफेयर चलिरहेको छ, या त उनीहरू धेरै लजाए ।”

भिडिओ भाइरल भएलगत्तै एस्ट्रोनमरले उनीहरूको सम्बन्धबारे अनुसन्धान सुरु गरेको र सीईओ बायरनलाई बिदामा बस्न निर्देशन दिएको थियो । न्यूयोर्कस्थित उक्त कम्पनीले अब नयाँ नेतृत्वको चयन गर्ने र त्यसका लागि खोजी सुरु भइसकेको जनाएको छ । तत्कालका लागि प्रमुख उत्पादन अधिकृतले अन्तरिम सीईओको रूपमा काम गर्ने जिम्मेवारी पाएका छन् ।

पछिल्लो अध्यावधिक: साउन ४, २०८२ १६:३५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- १८ वर्ष मुनिका किशोरीहरुको डिम्बको कारोबार गरेको घटना बाहिर आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निसन्तान उपचार केन्द्रका नाममा खुलेका दुई सेन्टरमाथि छानबिन सुरु गरेको छ।

मन्त्रालयले इनभिट्रो फर्टिलाइजेसन सेन्टर (आइभीएफ)का विषयमा प्रश्न उठेपछि तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।

मन्त्रालयले सचिवस्तरिय निर्णय गर्दै किशोरीको डिम्ब कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको होप फर्टिलिटी एण्ड डायग्नोस्टिक प्राली र एन्जल फर्टिलिटी क्लिनिकको छानबिनका लागि समिति गठन गरेको हो।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा सरोज शर्माका अनुसार प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा ज्वाला थापाको संयोजकत्वमा तीन सदस्यीय समिति बनेर काम सुरु भइसहेको छ। समितिमा मन्त्रालयमा कार्यरत डा सुनिता लम्साल र कानुन अधिकृत सुरेश चौलागाईं सदस्य रहेका छन्।

समिति शुक्रबार गठन भएको हो। समितिलाई अनुगमन गरेर प्रतिबेदन बुझाउन पाँच दिनको समय दिइएको छ।

प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले होपका पाँच जनालाई पक्राउ गरेको थियो। अदालतले थुनामा नराखेर नै अनुसन्धान अगाडि बढाउन भनेपछि ब्युरोले उनीहरुलाई हाजिर जमानतमा छाडेको छ। यस्तै डिम्ब कारोबारका विषयमा एन्जल फर्टिलिटीको विषयमा पनि गुनासो आएपछि मन्त्रालयले उक्त संस्थाको पनि अनुगमन गर्ने गरी समिति बनाएको हो। एन्जलले भने आफूहरुमाथि गलत आरोप लगाइएको दाबी गरेको छ।

सिआइबीले पनि उक्त विषयमा थप अनुसन्धान अगाडि बढाइरहेको छ। सिआइबीका एक प्रहरीले दिएको जानकारी अनुसार हाजिर जमानतमा छाडे पनि उनीहरुविरुद्ध अनुसन्धान भने जारी नै रहेको छ।

ब्युरोको प्रारम्भिक अनुसन्धानमा होप फर्टिलिटीमा १८ वर्ष मुनिका किशोरीहरुलाई बोलाएर इन्जेक्सन लगाएर डिम्ब निकाल्ने गरेको र किशोरीहरुलाई १० हजार देखि १५ हजारसम्म रकम दिने गरेको देखिएको छ। 

पीडित किशोरीहरुले दिएको जानकारी अनुसार होपमा उनीहरुलाई १० दिनसम्म इन्जेक्सन लगाएर राखिएको थियो। यसरी किशोरीहरुबाट निकालिएको डिम्ब विकास भइसकेपछि किशोरीको शरीरबाट डिम्ब निकालेर त्यसलाई सुरक्षित गरेर राख्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको ब्युरोले जानकारी दिएको छ।

#किशोरी #आइभीएफ #फर्टिलिटी #डिम्ब #स्वास्थ्य #मन्त्रालय
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । सरकारको निर्देशन अवज्ञा गर्दै केही सेवाप्रदायकहरूको नेटवर्कमा अझै पनि प्रतिबन्धित एप टेलिग्राम चलिरहेको पाइएपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले कारबाहीको चेतावनी दिएको छ ।

टेलिग्राममार्फत अनलाइन ठगी र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अपराध भइरहेको भन्दै सरकारले शुक्रबारदेखि उक्त एपमाथि प्रतिबन्ध लगाएको थियो । 

शुक्रबार नै प्राधिकरणले दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायकहरूलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको थियो । तर, आइतबार अपरान्हसम्म पनि देशका ठूला इन्टरनेट सेवाप्रदायकहरुको नेटवर्क प्रयोग गर्दा टेलिग्राम एप निर्बाध सञ्चालन भइरहेका छन् ।

प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले आफूहरू टेलिग्राम एप चले/नचलेको अनुगमन गरिरहेको जानकारी दिए । 

“सरकारले बन्द गर्न निर्देशन दिएपछि त बन्द गर्नुपर्‍यो। प्राधिकरणको सम्बन्धित शाखाले एप चले/नचलेको अनुगमन गरिरहेको छ । पछिल्लो स्ट्याटस के हो त्यो अध्ययन गरिरहेका छौँ,” अर्यालले टेकपानासँग भने । 

प्राधिकरणले सरकारी निर्देशन पालना नगर्ने सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

*शीर्षक परिवर्तन गरिएको छ । -स.

पछिल्लो अध्यावधिक: साउन ४, २०८२ १५:५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- वर्षायामको सुरुवातसँगै बढ्दो बाढी, पहिरो र सम्भावित प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै तथा पछिल्लो समय रगतको अभावले सिर्जना गरेका स्वास्थ्य समस्याहरूको न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम राजधानीको अनामनगरस्थित सामाजिक विकास भवनमा सम्पन्न भयो। काठमाडौं महानगरपालिका, नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरी, नेपाल फलफूल थोक व्यवसायी संघ, यसोदा ग्रुप अफ इन्डस्ट्रीज (करेन्ट नुड्ल्स), र माइलस्टोन इन्फ्रास्टक्चर इन्जिनियरिङ कन्सल्टेन्सीको सहकार्यमा आयोजित कार्यक्रममा सयौंको संख्यामा रक्तदाताहरूले रक्तदान गरेका थिए।

कार्यक्रममा दर्जनौं साङ्गीतिक तथा कलाकारिता क्षेत्रका संघ-संस्थाहरूको सहकार्य थियो। काठमाडौं उपत्यका प्रहरी प्रमुख तथा विशिष्ट गीतकार एआइजी टेक तामाङ, चलचित्र अभिनेता धिरेन शाक्य, गायक कुलेन्द्र विश्वकर्मा, संगीतकार नरहरी प्रेमी, गायक सिडी विजय अधिकारी, संगीतकर्मी कस्तुप पन्त, निर्देशक माधवराज खरेल, सञ्चारकर्मी सुमन पण्डित र सविता पोखरेल लगायत थुप्रै चर्चित श्रष्टाहरूले रक्तदानमा सहभागी भए।

कार्यक्रममा एयोशा ग्रुप अफ इन्डस्ट्रीजका अध्यक्ष तथा समाजसेवी चुन्ना पौडेल, एआइजी टेक तामाङ, प्रतिष्ठानका अध्यक्ष नारायण ब. थापा, वरिष्ठ उपाध्यक्ष दीपक शर्मा लगायतले रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गर्दै धन्यवाद व्यक्त गरे।

रक्तदान कार्यक्रमका संयोजक तथा प्रतिष्ठानका महासचिव सनम कठायतले स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै आगामी दिनमा पनि प्रतिष्ठान सामाजिक तथा रचनात्मक कार्यहरूमा सक्रिय रहने जानकारी दिए।

कार्यक्रममा वरिष्ठ संगीतकार चेतन सापकोटा, संगीतकार संघ नेपालका अध्यक्ष अष्ट लामा, रोयल्टी संकलन समाजका सचिव बसन्त सापकोटा, गीतकार शंकर अधिकारी ‘घायल’, म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठ मलेकु, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, राप्ती समाजका अध्यक्ष गोविन्द मधुर आचार्य, पत्रकार तथा गीतकार डब्बु क्षेत्री, सल्लाहकारहरू रबिन्द्र बराल, रमेश दहाल, डा. ओमकृष्ण प्रसाईं र माधव राज खरेल लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले लगातार दोस्रो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्रतिष्ठित ‘डिजिटल फ्यान इङ्गेजमेन्ट अफ द इयर’ अवार्ड हात पारेको छ । सामाजिक सञ्जालमा नेपाली क्रिकेट समर्थकको उत्साहजनक सहभागिताका कारण क्यानले विश्वका सबै क्रिकेट बोर्डलाई पछि पार्दै यो अवार्ड जितेको हो ।

अवार्ड जितेपछि क्यानले आइतबार सामाजिक सञ्जालमार्फत आफ्ना सम्पूर्ण समर्थक, शुभचिन्तक तथा नेपाली क्रिकेटप्रेमीप्रति आभार व्यक्त गरेको छ ।

यो अवार्ड सामाजिक सञ्जालमा समर्थकहरूको सहभागिता, सम्बन्ध विस्तार र क्रिकेट संघले डिजिटल प्लेटफर्ममार्फत पुर्‍याएको योगदानको आधारमा प्रदान गरिन्छ  । गत वर्ष क्यानले आफ्नो फेसबुक फ्यानबेस ४०० प्रतिशतले वृद्धि गर्दै यो अवार्ड जितेको थियो ।

यस वर्ष फ्यानबेस वृद्धिको यकिन तथ्याङ्क सार्वजनिक नगरिए पनि वर्षभरि समर्थकको निरन्तर र उत्साहजनक सहभागिता नै जितको प्रमुख आधार बनेको हो । 

पछिल्लो अध्यावधिक: साउन ४, २०८२ १४:३१





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट