काठमाडौँ । सरकारले मर्मत गर्दासमेत चल्न नसक्ने कम्प्युटर, ल्यापटप, सवारीसाधन लगायतका सामग्रीहरू अनिवार्य रूपमा ६ महिनाभित्र लिलाम बिक्री गर्न पत्राचार गरेको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमार्फत सबै मन्त्रालय तथा सरकारी कार्यालयहरूलाई मर्मत सम्भार गर्दा पनि सञ्चालन हुन नसक्ने यी सामग्री ६ महिनाभित्र अनिवार्य लिलाम बिक्री गर्न पत्राचार गरेको हो ।

खर्चलाई मितव्ययी बनाउन भन्दै मन्त्रालयले भएका सामग्री बिग्रिए नयाँ किन्नुको साटो मर्मत गरेर चलाउन प्रेरित गर्न खोजेको छ ।
यस्तै, सरकारले नगद कारोबार गर्दा हुन सक्ने जोखिम न्यूनीकरण गर्न मातहतका सबै मन्त्रालय र निकायहरूलाई सम्पूर्ण भुक्तानी सोझै बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्न भनेको छ । नगद कारोबार निरुत्साहित गर्न सबै सरकारी निकायहरूलाई पत्राचार गरेको हो ।
अर्थ मन्त्रालयले नगद कारोबार गर्दा हुन सक्ने जोखिम कम गर्न निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवाप्रदायक र परामर्शदातालाई अनिवार्य रूपमा सम्बन्धित बैंक खातामा विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाउन ताकेता पनि गरेको छ ।

‘पारिश्रमिक, भत्ता, औषधि उपचार, उपदान, सञ्चित बिदा र सामाजिक सुरक्षा भत्तालगायतका सबै प्रकारका भुक्तानी सोझै बैंक खातामा विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाउनू,’ मार्गदर्शनमा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: साउन २, २०८२ १३:१७
सामाग्री श्रोत :
टेक पाना