काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पोखराको जग्गा दर्तासम्बन्धी ३२ लाख रुपैयाँ घुस प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गर्दै आफ्नो चरित्रहत्या गर्ने प्रयास भएको बताएका छन् । सार्वजनिक भएको एक अडियो टेपमा आफ्नो नाम मुछिएपछि बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले आफूमाथि लागेका सम्पूर्ण आरोप अस्वीकार गरेका हुन् । उनले अडियोमा आफ्नो आवाज वा संलग्नता प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको चुनौतीसमेत दिएका छन् ।

पोखराको बाटुलेचौरस्थित १३५ रोपनी जग्गा दर्ता गर्ने प्रयोजनका लागि मन्त्री अधिकारीले ३२ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको अडियो सार्वजनिक भएपछि यो प्रकरण बाहिर आएको हो । सोही प्रकरणमा नाम मुछिएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिइसकेका छन् । यसले गर्दा मन्त्री अधिकारीमाथि पनि नैतिक दबाब बढेको छ ।
पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले अडियोमा बोलिरहेका व्यक्तिहरूसँग आफ्नो कुनै चिनजान वा सरोकार नरहेको उल्लेख गरे । “अडियोमा आएका, बोल्ने, भाषा व्यक्त गर्ने व्यक्तिहरू हामीसँग सरोकारवाला छैनन्,” उनले भने, “मेरो त्यहाँ शब्द छ कि छैन ? मेरो भनाइ छ कि छैन ? मैले कुनै कुरा गरिदिन्छु भनेको छु कि छैन ? भन्ने कुरामा तपाईंहरू अडियोबाटै प्रस्ट हुनुहुनेछ ।”
उनले अडियो सार्वजनिक हुनुको मुख्य कारण आफ्नो स्वार्थ पूरा गर्न खोज्ने केही व्यक्तिहरूलाई आफूले सहयोग नगर्नु रहेको आरोप लगाए । उनका अनुसार, केही व्यक्तिहरूले पोखराका एक मालपोत अधिकृतको सरुवा फिर्ता गराउन दबाब दिएका थिए, तर आफूले नियमविपरीत काम गर्न अस्वीकार गरेपछि प्रतिशोध स्वरूप यो प्रकरण बाहिर ल्याइएको हो । “आफ्नो योजना र अभिष्ट पूरा गर्न खोज्ने व्यक्तिले मालपोत अधिकृतलाई फिर्ता गराउन यहाँ आएका थिए, मैले हुन्न भनें । मैले हुन्न भनेपछि यस्ता कुरा बाहिर आएका हुन्,” उनले थपे ।

मन्त्री अधिकारीले घटनाक्रमको समयमाथि पनि प्रश्न उठाए । “मालपोत अधिकृत पुस महिनामै सरुवा भएको हो, तर अडियो अहिले आएको छ । यसले कुन नियतले ल्याइयो भन्ने प्रस्ट हुन्छ,” उनले भने । उनले आफ्नो छोरालाई समेत अनावश्यक रूपमा यस प्रकरणमा मुछिएको भन्दै दुःख व्यक्त गरे ।
सञ्चारकर्मीहरूलाई तथ्य र सत्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न आग्रह गर्दै उनले भने, “तपाईंहरूले अडियो सुन्नुभएको छ, मूल्यांकन गर्न सक्नुहुन्छ । यदि मेरो आवाज, मैले केही मागेको, भनेको वा यो गरिदिन्छु भनेको कुरा फेला पार्नुभयो भने म जस्तोसुकै सजाय भोग्न तयार छु ।”
पछिल्लो अध्यावधिक: साउन २, २०८२ ७:३७
सामाग्री श्रोत :
टेक पाना