काठमाडौँ । रुकुम पूर्व अस्पतालमा फोन गर्दा नउठ्ने समस्याले सर्वसाधारण समस्यामा परेपछि नेपाल पत्रकार महासङ्घ रुकुम पूर्वले मोबाइल उपहार दिएको छ । निमित्त कार्यालय प्रमुख डा कृष्ण खनाललाई भेटेर बुधबार सङ्घका पदाधिकारीहरूले एक थान मोबाइल र नेपाल टेलिकमको सिम कार्ड उपहार दिएका हुन् ।

पत्रकार महासङ्घ रुकुम पूर्वका अध्यक्ष वसन्त बाँठा मगरका अनुसार सेवाग्राहीले फोन गर्दा प्राय जसो नउठ्नु रुकुम पूर्व अस्पतालको दीर्घकालीन समस्या हो । त्यसैले अस्पताललाई लाभा कम्पनीको किप्याड फोन र एनटीसीको सिमकार्ड दिइएको हो ।
उनले भने, “वार्षिक समीक्षा बैठकहरूमा पनि अस्पतालको फोन नउठ्ने गरेको भनेर सधैँ गुनासो आउने गर्छ । अस्पतालको एम्बुलेन्स सेवामा समस्या नभएपनि केही बुझ्न परेर फोन गर्दा नलाग्ने समस्या थियो ।” लामो समयदेखि उक्त समस्या समाधान नभएपछि महासङ्घका सदस्यहरूले छलफल गरेर सिमकार्ड सहित मोबाइल फोन उपहार दिने निर्णयमा पुगेको उनले बताए ।
“मोबाइलले अस्पतालमा सेवाग्राहीसँग सम्पर्क गर्न पनि सहज होस् र जिम्मेवार हुन सामाजिक दबाब पनि सृजना गरोस् भनेर हामीले उपहार दिएका हौँ,” उनले भने । अस्पतालले पनि ड्युटीमा खटिएका कर्मचारीहरूलाई उक्त मोबाइल उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनले सुनाए । अध्यक्ष मगरले भने, “अब सेवाग्राहीले फोन गर्दा उठ्नु पर्यो । अस्पतालले २४ सै घण्टा सेवा दिन सक्नु पर्यो ।”

पछिल्लो अध्यावधिक: असार २७, २०८२ ९:२२
सामाग्री श्रोत :
टेक पाना