
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विभिन्न शैक्षिक कार्यक्रमहरूमा छात्रवृत्तिको लागि अनलाइन आवेदन खुलाएको छ । आइतबार एक सूचना प्रकाशन गर्दै शैक्षिक सत्र २०८२/०८३ का लागि प्रि-डिप्लोमा र डिप्लोमा/प्रमाणपत्र तहकाका लागि छात्रवृत्तिको आवेदन खुलाइएको हो ।
विद्यार्थीहरूले सोमबार (२३ असार) देखि ११ साउन राति ११:५९ बजेभित्र अनलाइन आवेदन दिइ सक्नुपर्नेछ । अनलाइन आवेदन खुलेपछि यहाँ क्लिक गरेर लग इन गरी आवेदन दिन सकिनेछ ।
सीटीईभीटीले प्रि-डिप्लोमा तहका १८ शैक्षिक कार्यक्रमहरूमा सातै प्रदेशमा गरेर १ हजार २१५ कोटा छात्रवृत्ति खुलाएको हो । जसमा एग्रिकल्चर (प्लान्ट साइन्स), लाइभस्टक प्रोडक्सन/एनिमल हेल्थ, भेटेरिनरी साइन्स, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ समावेश छन् ।

यस्तै, वाटर सप्लाई एन्ड स्यानिटरी इन्जिनियरिङ, सर्वे इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ लगायतका विषयहरू समेत छन् ।
डिप्लोमा तहमा २२ ओटा शैक्षिक कार्यक्रमका लागि २ हजार १६५ कोटा छात्रवृत्तिका लागि सीटीईभीटीले आवेदन खुलाको हो । जसमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, जिओमेटिक्स इन्जिनियरिङ, आर्किटेक्चर इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, मेकाट्रोनिक्स इन्जिनियरिङ लगायतका विषय रहेका छन् । यस्तै स्वास्थ्य सम्बन्धी शैक्षिक कार्यक्रमको डिप्लोमा छात्रवृत्तिको लागि छुट्टै आवेदन खुलाउने जनाइएको छ ।
प्रि-डिप्लोमाको छात्रवृत्तिका लागि आवेदन दिन ५०० रुपैयाँ र डिप्लोमाका शैक्षिक कार्यक्रमका लागि एक हजार रुपैयाँ शुल्क तोकिएको छ । एक विद्यार्थीले बढीमा एउटा शैक्षिक कार्यक्रमका लागि मात्र छात्रवृत्ति पाउनेछन् ।
छात्रवृत्ति पाउने विद्यार्थीबाट सम्बन्धित शैक्षिक संस्थाले प्रशिक्षण, प्रयोगात्मक, रजिस्ट्रेसन, नियमित परीक्षा आवेदन, पुस्तकालय, प्रयोगात्मक स्थलसम्मको यातायात शुल्क लगायत कुनै पनि शुल्क लिन पाउने छैनन् । यद्यपि, अध्ययन अवधिभर खाना, बस्न, पोसाक र आवश्यक स्टेसनरीको व्यवस्था भने विद्यार्थी स्वयम्ले गर्नुपर्ने छ ।
छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीले अध्ययन पूरा गरेपछि नेपाल सरकारले चाहेको स्थानमा तोकिएको समयसम्म सेवा गर्नुपर्ने सर्त सीटीईभीटीले राखेको छ ।
पछिल्लो अध्यावधिक: असार २२, २०८२ १५:५९
सामाग्री श्रोत :
टेक पाना