
काठमाडौँ । चिनियाँ मोबाइल कम्पनी अनरले आफ्नो नयाँ फोल्डेबल फोन ‘म्याजिक भी फाइभ’ सार्वजनिक गरेको छ, जसलाई कम्पनीले विश्वमा अहिलेसम्म कै पातलो फोल्डेबल फोन भएको दाबी गरेको छ ।
चिनियाँ बजारमा १८ असारमा सार्वजनिक भएको यो फोन अन्तर्राष्ट्रिय बजारका लागि पनि छिट्टै सार्वजनिक हुने बताइएको छ । यो फोन बन्द गर्दा ८.८ एमएमको हुन्छ जबकी ओप्पोको फाइन्ड एन फाइभ ८.९ एमएमको हुन्छ । यस हिसाबले हेर्दा यस फोनलाई अहिलेसम्मकै पातलो फोन मान्न सकिन्छ तर कम्पनीले क्यामेरा सेटअपका लागि भने बम्प दिएका कारण फोन अलि भारी देखिन्छ ।
यो फोन २१७ ग्रामको छ । कम्पनीले फोनमा क्वालकमको स्न्यापड्रागन ८ एलिट प्रोसेसर प्रयोग गरेको छ जसमा १६ जीबीसम्मको र्याम दिइएको छ । ब्याट्री भने यसमा ५,८२० एमएएचको रहेको छ । फोनको दुवै स्क्रिन १२० हर्जको रिफ्रेसरेट पाउन सकिन्छ भने फोनले आईपी ५८ र आईपी५९ दुवै धुलो र पानी प्रतिरोधात्मक रेटिङ पाएको छ ।

फोनमा ५० मेगापिक्सेलको दुईओटा वाइड एंगल क्यामेरा, ६४ मेगापिक्सेलको मुख्य क्यामेरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश छन् । यो फोन १२/२५६ जीबी, १६/५१२ जीबी र १६/१ टीबीमा उपलब्ध छ जसको मूल्य क्रमश आठ हजार ९९९ युआन (एक लाख ७१ हजार भन्दा बढी), नौ हजार ९९९ युआन (करिब एक लाख ९१ हजार रुपैयाँ) र १० हजार ९९९ युआन (दुई लाख १० हजार रुपैयाँ) रहेको छ ।
फोन आइभोरी ह्वाइट, ब्ल्याक, डन गोल्ड र रेडिस् ब्राउन कलरमा उपलब्ध छ । यी मध्ये पातलो फोन भने आइभोरी ह्वाइट कलरको फोनमा मात्र पाउन सकिन्छ ।
पछिल्लो अध्यावधिक: असार १९, २०८२ १६:४४
सामाग्री श्रोत :
टेक पाना