२०८२ असार २० शुक्रबार
२०८२ असार २० शुक्रबार

आईफोन कारखानाका ३०० बढी चिनियाँ इन्जिनियर फिर्ता, भारतमा आईफोनको उत्पादन प्रभावित हुने चिन्ता

काठमाडौँ । एप्पलका लागि आईफोन उत्पादन गर्ने सबैभन्दा ठुलो निर्माता फक्सकनले भारतमा रहेका सयौँ चिनियाँ इन्जिनियर र प्राविधिकहरूलाई स्वदेश फर्किन आदेश दिएको छ । यो कदम एप्पलको भारतमा उत्पादन विस्तार गर्ने प्रयासका लागि एउटा धक्का हुन सक्ने बताइएको छ ।

ब्लुमबर्गको रिपोर्ट अनुसार फक्सकनका ३०० भन्दा बढी चिनियाँ कामदारहरू भारतबाट फर्किसकेका छन् । यो क्रम करिब दुई महिनाअघि सुरु भएको थियो । हाल भारतका फक्सकन प्लान्टहरूमा प्रायः ताइवानी सहयोगी कर्मचारीहरू मात्र बाँकी छन् ।

फिर्ता भएका चिनियाँ कामदारमा मुख्यतया स्थानीय कामदारहरूलाई तालिम दिने र एसेम्बली लाइनहरूको सञ्चालन सुनिश्चित गर्ने इन्जिनियर रहेका थिए । फक्सकनले चिनियाँ कामदारहरूलाई किन फिर्ता बोलाएको भन्ने स्पष्ट कारण खुलेको छैन । यद्यपि, केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले यसलाई बेइजिङको नीतिसँग जोडेर विश्लेषण गरेका छन् ।

चीनले भारत र दक्षिण पूर्वी एसियामा प्रविधि हस्तान्तरण, उपकरण निर्यात र दक्ष कामदारको पलायनलाई सीमित गर्न खोजिरहेको छ । यसका लागि नियामक निकाय र स्थानीय सरकारलाई मौखिक रूपमा प्रोत्साहित समेत गरिएको बताइएको छ ।

यो कदम चीनबाट उत्पादन इकाईहरू अन्य देशहरूमा सर्न नदिनका लागि गरिएको प्रयासको रूपमा हेरिएको छ । एप्पल विश्लेषक मिङ-ची कुओले यो कदम अपेक्षित रहेको र एप्पललाई यसबारे पहिले नै जानकारी गराइएको दाबी गरेका छन् ।

चिनियाँ कामदारहरू फिर्ता हुँदा भारतमा आईफोन उत्पादन गर्ने एप्पलको योजनामा प्रभाव पर्न सक्ने अनुमान गरिएको छ । चीनको यो कदमले स्थानीय कामदारहरूको तालिमलाई ढिलो गर्न सक्ने र प्रविधि हस्तान्तरणमा पनि असर पार्न सक्ने सम्भावना छ । परिणामस्वरूप एसेम्बली लाइनहरूको दक्षतामा कमी आउनसक्ने र आईफोन उत्पादन हुन बढी समय लाग्ने वा महँगो हुन सक्ने विश्लेषण पनि गरिएको छ ।

एप्पलका सीईओ टिम कुकले चिनियाँ एसेम्बली कामदारहरूको विशेषज्ञतालाई उत्पादन मापदण्ड कायम राख्नका लागि महत्त्वपूर्ण रहेको बताउँदै आएका छन् । यद्यपि भारतमा एप्पल र फक्सकनको उत्पादन विस्तारको काम भने तीव्र गतिमा भइरहेको छ । फक्सकनले भारतमा आईफोन उत्पादन बढाइरहेको छ ।

कम्पनीले आफ्नो देवनहल्ली प्लान्टमा दुई अर्ब ५६ करोड अमेरिकी लगानी गरेको छ । जसको लक्ष्य डिसेम्बरसम्ममा एक लाख युनिट आईफोन उत्पादन गर्नु हो ।

त्यस्तै फक्सकनले चेन्नईको ओरागाडममा रहेको ईएसआर औद्योगिक पार्कमा आईफोनको आवरण बनाउन नयाँ एकाई स्थापना गरिरहेको छ । फक्सकनको हैदराबाद कारखानामा एयरपड्स एसेम्बल गर्ने नयाँ युनिट पनि छ ।

गएको मार्चदेखि मेसम्ममा फक्सकनले भारतबाट तीन अर्ब २० करोड अमेरिकी डलर बराबरका आइफोनहरू निर्यात गरेको छ । जसमध्ये ९७ प्रतिशत अमेरिका पठाइएका थिए ।

ताइवान सरकारले फक्सकनलाई भारत र अमेरिकामा दुई अर्ब २० करोड अमेरिकी डलरभन्दा बढी लगानी गर्न स्वीकृति दिएको छ । यसमध्ये एक अर्ब ४९ करोड डलर फक्सकनको सिंगापुरस्थित सहायक कम्पनीले भारतमा नयाँ कारखाना निर्माण गर्न युझन टेक्नोलोजी (इन्डिया) प्रालिमा लगानी गर्नेछ ।

भारतले हाल विश्वको कूल आईफोन उत्पादनको २० प्रतिशत हिस्सा ओगट्दै आएको छ । एप्पलले मार्चसम्मको १२ महिनामा भारतमा २२ अर्ब डलर बराबरका आईफोनहरू एसेम्बल गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ६० प्रतिशतले बढी हो ।

पछिल्लो अध्यावधिक: असार १९, २०८२ १५:१८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट