काठमाडौँ । मङ्गलबारदेखि सामाजिक सञ्जाल फेसबुक र युट्युबमा प्रधानमन्त्री केपी शर्मा ओलीले अङ्ग्रेजी भाषण दिइरहेको एक भिडिओ भाइरल बनिरहेको छ । प्रधानमन्त्री ओलीले स्पेनमा हालै आयोजित राष्ट्रसङ्घीय कार्यक्रमलाई सम्बोधन गरेको दाबीसहित उक्त भिडिओ नेपाल प्रेस नामक अनलाइन न्युज पोर्टलसँगै विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुक, युट्युब, टिकटक लगायतका माध्यममा पोस्ट गरेका छन् । तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्य-जाँचले यो दाबी भ्रामक रहेको पुष्टि गरेको छ ।

वास्तवमा यो भिडिओ गत वर्षको असोज तिरको हो । त्यस बखत प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिका थिए । त्यस क्रममा उनले हार्वर्ड केनेडी स्कुल र कोलम्बिया युनिभर्सिटीको वर्ल्ड लिडर्स फोरममा समेत भाग लिए । सम्भवतः तपाईँले पनि कोलम्बिया युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीहरूले सोधेको प्रश्नमा प्रधानमन्त्री ओली अलमलिएको, अङ्ग्रेजी भाषा अशुद्ध रूपमा बोलेको र विषयान्तर किसिमले जवाफ दिएको भाइरल क्लिप त्यतिखेर हेर्नु भएको हुनुपर्छ । कोलम्बिया युनिभर्सिटीमा प्रधानमन्त्री ओलीले तत्कालीन समयमा सम्बोधन गरेको अर्को भिडिओ क्लिप यतिखेर भाइरल बनेको हो ।
तत्कालीन समयमा प्रधानमन्त्री ओलीको अङ्ग्रेजी संवाद सुनेर खिन्न भएका सामाजिक सञ्जाल प्रयोगकर्ता पनि यतिखेर भने उनको अङ्ग्रेजी भाषणमा ‘देखिएको’ आत्मविश्वास र गति देखेर चकित छन् । उनले अगाडि दुई तर्फ राखिएका स्क्रिनमा हेरेर पढेको भाषणको भिडिओ अहिले भाइरल गराउने नाममा एडिट गरी केही तोडमोड पारेर राखिएको छ ।
भिडिओ कहिलेको हो भन्ने विषय भन्दा पनि अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रधानमन्त्री ओलीले बोलेको अङ्ग्रेजीलाई लिएर चर्चा गरिरहेका छन् । उनको समर्थन वा विरोध जनाउनेहरूले पनि ओलीले अङ्ग्रेजी बोलेको विषयमा बढी चासो दिएका छन् । जब कि भाइरल बनिरहेको भिडिओको प्लेब्याक स्पिड 1.2x बढी हुने गरी एडिट गरिएको छ र त्यसमा बोलेको आवाज सक्कली जस्तै लाग्ने गरी पिच-प्रिजर्भिङ टाइम-स्ट्रेचिङ (pitch-preserving time-stretching) प्रविधि प्रयोग भएको छ ।

दाबी
नेपाली अनलाइन पोर्टल नेपाल प्रेसले १ जुलाई २०२५ (१७ असार २०८२) बेलुका ८ः२६ बजे ‘स्पेनमा राष्ट्रसङ्घीय कार्यक्रमलाई प्रधानमन्त्री ओलीको सम्बोधन’ क्याप्सन राख्दै एक भिडिओ पोस्ट गर्यो । १० मिनेट ५० सेकेन्डको सो भिडिओमा प्रधानमन्त्री ओलीको पृष्ठभूमिका नेपालको राष्ट्रिय झण्डा देखिन्छ । अनि उनी अङ्ग्रेजीमा ‘दमदार’ भाषण ठोकिरहेका देखिन्छन् । त्यसको पछाडपट्टिको ब्यानरका केही अङ्ग्रेजी अक्षरहरू देख्न सकिन्छ ।
उक्त सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्र जस्ता चुनौतीहरू पार गर्दै नेपालले लोकतन्त्रका लागि लामो र सङ्घर्षपूर्ण यात्रा तय गरेको सन्दर्भ उठाएका छन् । त्यस्तै विभिन्न जनआन्दोलनको बलमा २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य भई देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना विषय पनि चर्चा गरेका छन् ।
साथै जनताद्वारा निर्मित २०७२ को संविधानले सात दशक लामो राजनीतिक सङ्घर्षलाई संस्थागत आधार प्रदान गरेको बताएका छन् । त्यसैगरी अब देशको प्रमुख लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासहित आर्थिक समृद्धि हासिल गर्नु भएको उल्लेख गर्दै उनले सुशासन र निष्ठाका साथ यो लक्ष्य पूरा गर्न र नेपालीको जीवनमा समृद्धि ल्याउने प्रतिबद्ध जनाएका छन् ।
यो सामग्री तयार पार्दासम्म नेपाल प्रेसले फेसबुकमा राखेको भिडिओमा दुई हजार बढी रियाक्सन, २६९ कमेन्ट, १९५ शेयर र ४९ हजार बढी भ्युज आइसकेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट अनि स्क्रिनशट ।
अनुसन्धान
नेपाल प्रेसले राखेको भिडिओको किफ्रेम निकालेर हेर्दा यही भिडिओ नेपाल नेपाल प्रेसको युट्युब च्यानलमा पनि अपलोड भएको देखियो ।
त्यस्तै फेसबुकमा ‘स्पेनमा राष्ट्रसङ्घीय कार्यक्रम’ कीवर्ड सर्च गर्दा सोही भिडिओ राख्ने कैयौँ पेज र अकाउन्ट भेटिए । त्यस मध्ये ‘Ramesh Lama/रमेश लामा’ नामक फेसबुक प्रयोगकर्ताले सोही दिन नेपाल प्रेसभन्दा १ घण्टा १५ मिनेट अगाडि (बेलुका ७ः११ बजेको समयमा) पहिलो पटक सो भिडिओ राखेको भेटियो । त्यसमा उनले ‘नेपालको प्रधानमन्त्री ओलीको दमदार सम्बोधन देखेर संयुक्त राष्ट्रसङ्घका महासचिव नै छक्क परे। हेर्नुहोस् शेयर गर्नुहोला’ भन्ने क्याप्सन राखेका छन् ।
सोही भिडिओमा ‘रमेश लामा पेज’को वाटरमार्क राखेको देखिन्छ । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा २४०० बढी रियाक्सन, ४२९ बढी कमेन्ट, १३०० शेयर र दुई लाख ३५ हजार बढी भ्युज आएको देख्न सकिन्छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
त्यस्तै ‘रमेश आचार्य’ नामका अर्का फेसबुक प्रयोगकर्ताले नेपाल प्रेसभन्दा झन्डै एक घण्टाअघि र रमेश लामा भन्दा केही मिनेट पछि उक्त भिडिओ राखेको देखियो । सो भिडिओको क्याप्सनमा लेखिएको छ, “संयुक्त राष्ट्रसङ्घका महासचिव लाई नै छक्क पार्ने सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली को सम्बोधन ।”
त्यसमा भने अलि टाढाको भिडिओ राखिएको छ । उक्त भिडिओको बीचमा पनि ‘रमेश लामा पेज’ वाटरमार्क देखिन्छ । यसमा अलि प्रस्ट भिडिओ छ । नेपाल प्रेसले यी दुई मध्ये एक प्रयोगकर्ताले अपलोड गरेको भिडिओको वाटरमार्क हटाएर राखेको देखिन्छ । यो सामग्री तयार पार्दासम्म रमेश आचार्य नामक प्रयोगकर्ताले राखेको भिडिओमा ९९१ रियाक्सन, १५९ कमेन्ट र ८५ हजार बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट ।
रमेश लामा, नेपाल प्रेस र रमेश आचार्यलाई पछ्याउँदै नोबिन खनाल, नीम बहादुर, सालिकराम ढकाल, मनोज शर्मा ओली, गन्थन डटकम, कबिन खड्का, युरोप नेपाली खबर, लोकतन्त्र टाइम्स, पुण्य ढुङ्गेल, गोविन्द गिरि, डिजे बजगाईँ, बिप्स मिडिया लगायतले उस्तै क्याप्सन सहितको भिडिओ पोस्ट गरेका छन् ।
पछिल्लो पटक प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको विकासको लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन शनिबार स्पेन गरेका थिए । यस पटकको स्पेन भ्रामकका क्रममा बाहिरिएका उनका कुनै पनि फोटो अहिले भाइरल भइरहेको भिडिओमा देखिएको प्रधानमन्त्री ओलीको हुलियासँग मिल्दैन । हामीले भाइरल भिडिओबाट लिइएको स्क्रिनशट रिभर्स इमेज सर्च गर्दा ८ असोज २०८१ मा सेतोपाटीले ‘कोलम्बिया युनिभर्सिटीमा प्रधानमन्त्री ओलीको सम्बोधन- स्वदेश फर्केर रोजगारी विकासको अवसर सिर्जना गरौं’ शीर्षकको समाचारमा प्रयोग भएको देखियो । त्यहाँ पछाडिपट्टि नेपालको राष्ट्रिय झण्डा र अगाडि पोडियममा अङ्ग्रेजीमा ‘कोलम्बिया युनिभर्सिटी’ लेखेको देखिन्छ ।
गुगलमा ‘कोलम्बिया युनिभर्सिटी ओली’ भन्ने किवर्ड सर्च गर्दा कान्तिपुरले ८ असोजमा ‘कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने : ‘नेपाल सधैँ शान्तिको पक्षमा छ’ शीर्षकमा राखेको समाचार फेला पर्यो ।
उक्त समाचारमा पनि पृष्ठभूमिमा नेपाल र अमेरिकाको झन्डा, त्यसपछि कोलम्बिया युनिभर्सिटीको नामसहितको ब्यानर देखिन्छ । कोलम्बिया युनिभर्सिटीकै पोडियमअघि प्रधानमन्त्री ओली बोलिरहेका देखिन्छन् ।
अङ्ग्रेजीमा ‘KP Oli at Columbia University’ भन्ने किवर्ड सर्च गर्दा युट्युब रामप्रसाद खनाल, अच्युत पुरी’ लगायतले राखेका भिडिओ भेटिए । भाइरल भइरहेको भिडिओ र उक्त भिडिओमा प्रधानमन्त्री ओलीले बोलेको विषय मिल्न पुग्यो ।
प्रधानमन्त्री ओलीले त्यतिबेला अङ्ग्रेजीमा गरेको सम्बोधनको आधिकारिक भिडिओ कोलम्बिया युनिभर्सिटीको आधिकारिक वेबसाइटमा राखिएको छ । हेर्नुहोस् भिडिओ ।
यो भिमिओ नामक भिडिओ होस्टिङ प्लेटफर्ममा राखेर इम्बेड गरिएको थियो । त्यहीँबाट भिडिओ डाउनलोड गरेर त्यही समयमा विभिन्न प्रयोगकर्ताले युट्युब, फेसबुक लगायतका सामाजिक सञ्जालमा राखेका थिए ।
हामीले भाइरल भइरहेको भिडिओलाई आधिकारिक भिडिओसँग दाँजेर विश्लेषण गर्यौँ । भाइरल भइरहेको भिडिओमा प्रम ओलीले ‘In our Nepali culture…’ बाट बोल्न सुरु गरेको देखाइएको छ ।
आधिकारिक भिडिओबाट भाइरल भएको भिडिओमा जति बोलिएको छ, त्यति क्लिप निकाल्दा भिडिओ १२ मिनेट ३३ सेकेन्ड लामो निस्कियो । जबकी त्यही विषय बोलिएको भाइरल भिडिओ भने करिब १० मिनेट ३३ सेकेन्डको मात्रै पाइयो । अर्थात् आधिकारिक भिडिओको तुलनामा भाइरल भिडिओ दुई मिनेट २ सेकेन्डले छोटो छ ।
अब स्पिड बढाउँदा अडिओ वा भिडिओ अस्वाभाविक लाग्नुपर्ने वा पिच बिग्रिनुपर्ने तर्क आउन सक्छ । यसमा ‘पिच-प्रिजर्भिङ टाइम-स्ट्रेचिङ’ प्रविधिले काम गरेको छ । यस मार्फत सक्कली जस्तै लाग्ने आवाज कायम राखेर भिडिओ तथा अडियोको गति घटबढ गराउन सकिन्छ । जुन क्यापकट, एडोबी प्रिमियर, दाभिन्चि रिजल्भ, अउडासिटी जस्ता मुख्य भिडिओ एडिटिङ एपहरूमा सहजै उपलब्ध छ । हामीले कोलम्बिया युनिभर्सिटीको साइटमा रहेको फुल भिडिओबाट भाइरल क्लिपमा समेटिएको भाग निकालेर क्यापकटमार्फत एडिट गर्यौँ । 1.2x स्पिडमा राखेर निकाल्दा लगभग भाइरल भिडिओकै लम्बाइमा निस्कियो । हामीले अनलिस्ट गरी राखेको उक्त भिडिओ यहाँ तल हेर्न सक्नु हुन्छ ।
यी विभिन्न तथ्यबाट भिडिओ वास्तविक नै भए पनि ठाउँ र सन्दर्भ गलत उल्लेख भएको र भिडिओ समेत तोडमोड गरिएको पुष्टि भयो । झन्डै नौ महिना पुरानो भिडिओलाई अहिलेको भन्दै भ्रम फैलाएको पाइयो ।
दाबी
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्पेनमा राष्ट्रसङ्घीय कार्यक्रमलाई प्रधानमन्त्री ओलीको सम्बोधन’ गरे भन्दै राखिएको पुरानो भिडिओ ।
दाबीकर्ता
नेपाल प्रेस अनलाइन न्युजपोर्टल, रमेश आचार्य, नोबिन खनाल, नीम बहादुर, सालिकराम ढकाल, मनोज शर्मा ओली, गन्थन डटकम, कबिन खड्का, युरोप नेपाली खबर, लोकतन्त्र टाइम्स, पुण्य ढुङ्गेल, गोविन्द गिरि, डिजे बजगाईँ, बिप्स मिडिया लगायतका फेसबुक पेज तथा प्रयोगकर्ता ।
तथ्य
स्पेनमा जारी ‘संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा प्रधानमन्त्री सहभागी छन् । उनले त्यहाँ विभिन्न विषयमा सम्बोधन गरिरहेका पनि छन् । तर, नेपाल प्रेससहित अन्य फेसबुक पेज तथा प्रयोगकर्ताले राखेको भिडिओ भने नौ महिना पुरानो संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिका पुगेको बेलाको हो ।
निष्कर्ष
नेपाल प्रेस, गन्थन डटकम जस्ता अनलाइन न्युजपोर्टल तथा रमेश आचार्य, नोबिन खनाल लगायतका फेसबुक प्रयोगकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनमा जारी ‘संयुक्त राष्ट्रसङ्घीय सम्मेलन’लाई सम्बोधन गरेको भन्दै एउटा भिडिओ भाइरल बनाएका छन् । टेकपाना फ्याक्टचेकले भने उक्त भिडिओ झण्डै नौ महिना पुरानो भएको र अमेरिकामा आयोजित एक कार्यक्रमको भएको तथ्य पत्ता लगाएको छ । प्रधानमन्त्री ओली हाल स्पेन भ्रमणमै छन् । तर उनको नाममा भाइरल भइरहेको सम्बोधनको भिडिओ भने पुरानो हो । यसबाट विभिन्न न्युज पोर्टल र सामाजिक सञ्जाल प्रयोगकर्ताले पुरानो भिडिओ राख्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएको पुष्टि हुन्छ ।
प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: असार १८, २०८२ २२:१
सामाग्री श्रोत :
टेक पाना