काठमाडौँ । ओपन-सोर्स ईआरपी सफ्टवेयर ओडुले नेपालकै सबैभन्दा ठुलो अनलाइन मार्केटप्लेस दराजको सञ्चालन पूर्ण रूपमा अटोमेटेड (स्वचालित) बनाएको छ । ओडुको अटोमेसन प्रणाली लागु भएसँगै दराजको बिक्री (सेल्स), लेखा (अकाउन्टिङ), स्टक व्यवस्थापन (इन्भेन्ट्री), मानव संसाधन (एचआर), परियोजना व्यवस्थापन (प्रोजेक्ट म्यानेजमेन्ट) लगायतका काम व्यवस्थित हुन थालेका छन् ।

यो सफ्टवेयर अन्य ईकमर्स प्लेटफर्महरू र अनलाइन अर्डर लिने कम्पनीहरूले पनि प्रयोग गर्न सक्ने बताइएको छ, जसले उनीहरूलाई आफ्नो अनलाइन व्यवसाय छिटो र प्रभावकारी ढङ्गले अगाडि बढाउन मद्दत गर्छ ।
यसअघि विक्रेताहरूले म्यानुअल रूपमा दराजमा लगइन गरेर अर्डर जाँच, इनभोइस तयार पार्ने, स्टक अपडेट गर्ने जस्ता काम गर्नुपर्ने बाध्यता थियो । यो प्रक्रियामा समय धेरै लाग्ने र मानवीय त्रुटिको जोखिम पनि उच्च हुने गर्थ्यो ।
तर, ओडुले दराज विक्रेताहरूको यो समस्या समाधान गरिदिएको छ । अब दराज सेन्टरमा लगइन नै नगरी दराजमा आउने सबै अर्डरहरू स्वतः सेल्स एपमा सेल्स अर्डरको रूपमा तयार भएर बस्छन् । यसका लागि वेयरहाउसको नेटवर्कमा प्रिन्टर जोडिएको हुनुपर्छ । यसबाट इनभोइस र डेलिभरी अर्डर सिधै प्रिन्ट हुन्छन् । अर्डरदेखि डेलिभरीसम्मको सबै सञ्चालन नै दराजमा स्वचालित बनेको छ ।

ओडुमा रहेको अटोमेटेड खाता मिलान प्रणालीले क्याश अन डेलिभरी र डिजिटल पेमेन्ट ट्र्याक गर्दै वित्तीय विवरणलाई अझ व्यवस्थित बनाएको छ । ग्राहकको भुक्तानी पुष्टि नभएसम्म अर्डर पेन्डिङमा रहने र पेमेन्ट आएपछि मात्र बैंक खातामा मिलान हुने व्यवस्था गरिएको छ ।
साथै, ग्राहकको बिल सिधै उनीहरूको ईमेल वा ह्वाट्सएपमा पठाइने व्यवस्था पनि मिलाइएको छ । ओडुको अटोमेसन प्रणालीले व्यवसायको मानव स्रोत खर्च घटाउनका साथै म्यानुअल काममा हुने समय र झन्झट हटाइदिएको छ ।
पछिल्लो अध्यावधिक: असार १८, २०८२ १५:०
सामाग्री श्रोत :
टेक पाना