काठमाडौँ । सरकारी सेवा लिन प्रयोग हुने नागरिक एपमा समस्या देखिएको छ । मंगलबार बिहान करिब १०:३० बजेदेखि एप नचल्ने समस्या देखिएको हो ।

एप खोल्दा ‘Unfortunately, something went wrong. Please try again later!’ भन्ने सन्देश देखिन्छ । एपमा लिंक गरिएका कागजातहरू नखुल्दा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ ।
विशेषगरी एपमा रहेको सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाउनुपर्ने सेवाग्राही प्रभावित भएका छन् । आवश्यक समयमा लाइसेन्स देखाउन नपाउँदा समस्या भएको उनीहरूको गुनासो छ ।
एप स्रोतका अनुसार सानो प्राविधिक गडबडी (ग्लिच)का कारण नागरिक एपमा समस्या आएको छ । “सर्भरमा आकस्मिक ट्राफिक बढ्दा एपमा समस्या देखिएको हो । प्राविधिक टिम समस्याको समाधानमा खटिएको छ,” स्रोतले जानकारी दिएको छ ।

हालै नागरिक एपमा नागरिकताको विवरण सच्याउन मिल्ने नयाँ सुविधा थपिएको छ । यही सुविधासम्बन्धी पुश नोटिफिकेसन पठाउँदा प्रयोगकर्ताको चाप अत्यधिक बढेको र त्यसकै कारण समस्या देखिएको जनाइएको छ ।
प्राविधिक टिमले केही समयमै एप सामान्य अवस्थामा फर्किने जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार १७, २०८२ ११:२९
सामाग्री श्रोत :
टेक पाना