काठमाडौँ । उच्च शिक्षाको सपना बोकेर सात महिनाअघि अस्ट्रेलिया पुगेका नेपाली विद्यार्थी दिपेश त्रिपाठीले दुःखले कमाएको करिब १२ लाख रुपैयाँ (९,००० अस्ट्रेलियन डलर) क्रिप्टोकरेन्सी स्क्याममा गुमाएका छन् । विश्वविद्यालयको शुल्क तिर्न नसकेर भिसा नै रद्द हुने अवस्थामा पुगेका दिपेशको जीवनमा एक अस्ट्रेलियन कन्टेन्ट क्रियटर ‘सहयोगी’ बनेर आएपछि उनलाई राहत मिलेको छ ।

गार्डेनरको काम गरेर जम्मा गरेको उक्त रकम उनले आफ्नो एकल आमालाई आर्थिक भार कम होस् भन्ने उद्देश्यले क्रिप्टोकरेन्सीमा लगानी गर्ने निर्णय गरेका थिए । तर पियर-टु-पियर (व्यक्तिबाट व्यक्तिसम्म) विधिबाट आफ्नो डिजिटल मुद्रा बेच्ने क्रममा उनी एक ठगको फन्दामा परे । ठगले प्लेटफर्मको आधिकारिक मेसेज जस्तै देखिने नक्कली इमेल पठाएर भुक्तानी भइसकेको भ्रम सिर्जना गर्यो । त्यही झुटो सूचनालाई विश्वास गर्दा दिपेशले आफ्नो सबै सम्पत्ति गुमाउन पुगे ।
“मसँग जम्मा ५ डलर बाँकी थियो । विश्वविद्यालयमा शुल्क बुझाउने म्याद सकिन एक दिन मात्र बाँकी थियो । शुल्क तिर्न नसके मेरो भिसा रद्द हुन्थ्यो,” आफ्नो पीडा सुनाउँदै दिपेश भन्छन्, “म यति धेरै रोएँ कि, आँखामा आँसु नै सकियो । म पूरै निराश भइसकेको थिएँ ।”
दिपेशलाई उनका बुबाले सानैमा छाडेका थिए भने आमाले सामान्य जागिरको भरमा उनलाई हुर्काएर अस्ट्रेलिया पठाएकी थिइन् । अस्ट्रेलियामा दुःखमा परेकालाई सहयोग गर्ने कन्टेन्ट क्रियटर सामुएल वेडेनहोफरले विभिन्न किसिमका भिडिओ र पोस्ट राख्दै आइरहेका छन् । उनले सहयोग आवश्यक पर्नेले मेसेज गर्नु भन्दै पोस्ट पनि राखिरहेका हुन्थे । सम्भवतः दिपेशले सामुएलको कुनै पोस्ट देखे र आफ्नो कथा पठाए । (यद्यपि यो विषय भने खुल्न सकेको छैन ।)

दिपेशको कथा सुनेपछि सामुएलले उनको कथा बाहिर ल्याउन एउटा भिडिओ शुट गरे । त्यसमा सामुएल एउटा क्याफेमा दिपेश पढिरहेको ठाउँमा अपरिचित बनेर पुग्छन् । र, आफ्नो वालेट हराएका कुरा सुनाउँछन् । र, केही खानेकुरा भए सहयोग गर्नुहोस् भन्छन् । आफ्नो खल्तीमा जम्मा पाँच डलर मात्र हुँदा पनि दिपेशले उनलाई केही किनिदिने प्रस्ताव गर्छन् । र, भेन्डिङ मसिनबाट खानेकुरा किनेर ल्याइदिन्छन् ।
त्यसपछि सामुएलले तपाईंले मलाई किन सहयोग गर्नुभयो भन्ने प्रश्न राख्छन् । जवाफमा दिपेशले आफूलाई पनि सहयोग चाहिएकाले सहयोग गरेको सुनाउँछन् । र, आफ्नो कथा सामुएलसामु राख्छन् । दिपेशले आफ्नो सम्पूर्ण पीडा सुनाएपछि सामुएलले तत्काल उनलाई ५०० डलर दिन्छन् । र, अरूलाई निःस्वार्थ सहयोग गर्ने दिपेशलाई सहयोगको खाँचो परेकाले सबै मिलेर सहयोग गर्न आह्वान गर्छन् ।
अनि उक्त भिडिओको क्याप्सनमा ‘गो फन्ड मि’को लिङ्क राखिदिन्छन् । उक्त भिडिओले फेसबुक, इन्स्टाग्राम र टिकटकमा व्यापक चर्चा पायो । २४ हजार डलरको लक्ष्य राखिएको उक्त अभियानमा केही दिनमै २१ हजार डलरभन्दा बढी रकम संकलन भइसकेको छ ।
सामुएलले राखेको पोस्टपछि उनको सामाजिक सञ्जालका अकाउन्टमा आएको दिपेशको कथाले भिडिओ स्क्रिप्टेड भएको सङ्केत गर्छ । साथै दिपेशले आफूले तीन दिनदेखि केही नखाएको समेत बताउँछन् । तीन दिनदेखि केही नखाएको व्यक्तिले कसरी अर्कोलाई खानाकै लागि सहयोग गर्न खोज्छ भन्ने आशंका उक्त पोस्टको कमेन्टमा धेरैले गरेका छन् । त्यसबाहेक त्यसमा देखिएका अन्य गतिविधिले पनि भिडिओ स्क्रिप्टेड भएको सङ्केत गर्छ ।
केहीले भिडिओ स्क्रिप्टेड भए पनि सामुएलले नेपालीको पीडादायी कथा बाहिर ल्याएको भन्दै प्रशंसा गरिरहेका छन् । केहीले भने सामाजिक सञ्जालको सही सदुपयोग भन्दै अभियानलाई साथ दिएका छन् । यस विषयमा विस्तृत जानकारी लिन टेकपानाले दिपेशलाई सम्पर्क गर्ने प्रयास गरिरहेको छ ।
पछिल्लो अध्यावधिक: असार १६, २०८२ १५:१
सामाग्री श्रोत :
टेक पाना