२०८२ श्रावण ३२ शनिबार
२०८२ श्रावण ३२ शनिबार

काठमाडौँ । सामसङले आफ्ना ग्यालेक्सी फोन प्रयोगकर्ताहरूलाई फोन चोरीबाट बचाउनका लागि केही महत्त्वपूर्ण सुरक्षा फिचर सक्रिय गर्न आग्रह गरेको छ । विश्वभर फोन चोरीका घटना बढिरहेकाले कम्पनीले सबै ग्यालेक्सी प्रयोगकर्ताहरूलाई आफ्नो एन्टी-थेफ्ट फिचर इनेबल गर्न जोड दिएको हो ।

जस मध्ये धेरैजसो सुविधाहरू एन्ड्रोइड १५ मा आधारित वन यूआई ७ अपडेटमार्फत सामसङ डिभाइसहरूमा उपलब्ध गराइएका छन् । सामसङले भविष्यमा थप ग्यालेक्सी डिभाइसहरूले पनि यी सुविधाहरू प्राप्त गर्ने बताएको छ ।

थेफ्ट डिटेक्शन लक (Theft Detection Lock) नामक फिचर एन्ड्रोइड १० वा सोभन्दा माथिका डिभाइसमा उपलब्ध एन्ड्रोइड फिचर हो । यसले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी कसैले तपाईँको फोन हातबाट खोसेर भाग्ने, साइकल चलाउने वा गाडीमा लिएर भाग्ने प्रयास गरेमा पत्ता लगाउँछ । यदि यो सुविधाले सो कुराको सङ्केत पायो (ट्रिगर भयो) भने, तपाईँको फोनको स्क्रिन तुरुन्तै लक हुन्छ, जसले अनधिकृत पहुँचबाट फोनलाई जोगाउँछ ।

त्यस्तै ग्यालेक्सी फोनहरूमा आएको अर्को सुविधा हो अफलाइन डिभाइस लक (Offline Device Lock) । यो पनि सामसङको विशेष सुविधा नभई एन्ड्रोइडकै फिचर हो । यसले धेरै पटक गलत अथेन्टिकेसनका प्रयास पत्ता लगाएर तपाईँको डिभाइसलाई अफलाइन हुँदा वा गलत हातमा पर्दा पनि तपाईँको डेटा सुरक्षित राख्न स्क्रिन स्वचालित रूपमा लक गर्छ ।

त्यसैगरी एन्ड्रोइड सेक्युरिटी फिचरको रूपमा रहेको रिमोट लक (Remote Lock) नामक सुविधाले तपाईँलाई कुनै पनि डिभाइस प्रयोग गरेर आफ्नो फोन नम्बर र फोनको स्क्रिन टाढैबाट लक गर्ने अनुमति दिन्छ ।

यी फिचर एक्टिभ गर्नका लागि तपाईँले आफ्नो ग्यालेक्सी फोनको सेटिङमा जानु पर्ने हुन्छ । त्यहाँबाट Security and privacy > Lost device protection > Theft protection मा गएर यसलाई एक्टिभ गर्नुहोस् ।

यसका अतिरिक्त, सामसङले प्रयोगकर्ताहरूलाई आइडेन्टिटी चेक (Identity Check) एक्टिभ गर्न पनि प्रोत्साहित गरिरहेको छ । यो फिचरले तपाईँको डिभाइस विश्वसनीय स्थानमा नभएको बेला महत्त्वपूर्ण सेक्युरिटी सेटिङ परिवर्तन गर्नका लागि बायोमेट्रिक अथेन्टिकेसन पूरा गर्नुपर्ने बनाउँछ । यसलाई सक्रिय गर्नका लागि Settings हुँदै Security and privacy > Lost device protection > Theft protection मा रहेको Identity Check मा जानुहोस् । त्यहाँ तपाईँले Safe places (सुरक्षित स्थानहरू) पनि थप्न सक्नुहुन्छ, जुन यस्ता स्थानहरू हुन्, जहाँ संवेदनशील जानकारी परिवर्तन गर्नका लागि बायोमेट्रिक्स आवश्यक पर्दैन ।

सामसङले आफ्नो ब्लग पोस्टमा सेक्युरिटी डिले (Security Delay) लाई पनि हाइलाइट गरेको छ । यो आइडेन्टिटी चेककै एक भाग हो । यदि कसैले तपाईँको डिभाइसको बायोमेट्रिक डेटा रिसेट गर्ने, आइडेन्टिटी चेक बन्द गर्ने, लक स्क्रिन सेटिङ परिवर्तन गर्ने, फाइन्ड माई (Find My) बन्द गर्ने, वा सुरक्षित स्थानहरू एडिट गर्ने प्रयास गर्छ भने, यसले एक घण्टाको प्रतीक्षा अवधि सुरु गर्दछ । यसले तपाईँलाई चोरीको अवस्थामा आफ्नो फोन टाढैबाट लक गर्न पर्याप्त समय दिन्छ ।

सामसङका अनुसार, यी सुविधाहरू हाल केही सीमित ग्यालेक्सी फोनहरूमा उपलब्ध छन् । भविष्यमा थप ग्यालेक्सी फोनहरूमा यसलाई विस्तार गरिने बताइएको छ ।

नयाँ सेक्युरिटी फिचर प्राप्त गर्ने फोनहरूः

१. ग्यालेक्सी एस २५ सिरिज (Galaxy S25 series)

२. ग्यालेक्सी एस २४ सिरिज (Galaxy S24 series)

३. ग्यालेक्सी जेड फोल्ड ६ (Galaxy Z Fold 6)

४. ग्यालेक्सी जेड फ्लिप ६ (Galaxy Z Flip 6)

५. ग्यालेक्सी जेड फोल्ड ५ (Galaxy Z Fold 5)

६. ग्यालेक्सी जेड फ्लिप ५ (Galaxy Z Flip 5)

७. ग्यालेक्सी एस २३ सिरिज (Galaxy S23 series)

८. ग्यालेक्सी एस २२ सिरिज (Galaxy S22 series)

पछिल्लो अध्यावधिक: असार १६, २०८२ १६:३२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– काठमाडौंको दरबारमार्गमा निर्माणाधीन घरको चौथो तलाबाट खस्दा दुई कामदारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीका करिब ३० वर्षीय प्रदेशी चौधरी र बर्दियाका करिब २० वर्षीय विशाल चौधरी रहेको प्रहरीले जनाएको छ ।

दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलप्मेन्ट प्रालिले बनाउँदै गरेको ९ तले पक्की घरमा सोमबार बेलुका करिब ५ बजे उक्त घटना भएको हो ।

चौथो तलामा लिफ्टमा चढेर ग्रिज लगाउने क्रममा फलामको सिक्री चुँडिएर खस्दा गम्भीर घाइते भएका उनीहरुलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको थियो । अस्पतालले ५:१० बजेको समयमा दुवैलाई मृत घोषणा गरेको हो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- नेपाल चिकित्सक संघले उपभोक्ता अदालतले हालै चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा सुनाएको फैसलाहरू नेपाल मेडिकल काउन्सिलको अधिकारक्षेत्रसँग बाझिएकोमा आपत्ति जनाउँदै चरणबद्ध आन्दोलन घोषणा गरेको छ।

आन्दोलन अन्तर्गत असार १७ गतेदेखि देशभरका चिकित्सक र स्वास्थ्यकर्मीले कालो पट्टी बाँधी सेवा दिने निर्णय गरिएको छ। 

विभिन्न अस्पताल प्रमुख, निजी मेडिकल तथा डेन्टल कलेज संघ, एपीएचआईएन, एपीपीओएन, नेपाल नर्सिङ एसोसिएसन, चिकित्सक समाजलगायतका सरोकारवालाहरूसँग गरिएको बृहद् छलफलपछि संघले यस्तो निर्णय गरेको हो। छलफलमा चिकित्सकद्वारा उपचारका क्रममा हुने त्रुटीसम्बन्धी उजुरी नेपाल मेडिकल काउन्सिलमार्फत हेर्नुपर्ने निष्कर्ष निकालिएको संघले जनाएको छ।

त्यसैगरी  महासचिव डा. सन्जिव तिवारीको संयोजकत्वमा विभिन्न स्वास्थ्य संघसंस्थाका प्रतिनिधिहरू समावेश गरिएको टास्क फोर्स बनाउने निर्णय गरिएको छ।नेपाल सरकारअन्तर्गत सरोकारवाला निकायहरूसँग संवाद गरी समस्या समाधानका लागि दबाब सिर्जना गर्ने र असार १९ गते पुनः सबै सरोकारवालासँग बैठक गरी भावी रणनीति तय गरिने बताइएको छ।

संघले आवश्यकताअनुसार थप कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न सक्ने चेतावनीसमेत दिएको छ। संघले यथाशीघ्र सरकारको ध्यानाकर्षण गराउँदै, ऐन संशोधन गरी काउन्सिललाई मात्र चिकित्सकीय मुद्दा हेर्ने अधिकार सुनिश्चित गर्न माग गरेको छ।


 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । निजामती कर्मचारीले सामाजिक सञ्जालमा सार्वजनिक पदाधिकारी, राजनीतिक दल र नेताहरूको पक्ष वा विपक्षमा कमेन्ट गर्न नपाउने भएका छन् । आइतबार (१५ जेठ) मा प्रतिनिधि सभाबाट पारित विधेयकको दफा ८९ मा निजामती कर्मचारीहरूले विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा टिप्पणी गर्न नहुने व्यवस्था गर्दै उक्त व्यवस्था गरिएको हो । 

उक्त दफामा भनिएको छ, “निजामती कर्मचारीले विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा सामाजिक द्वेष वा कलह बढ्ने, हिंसा भड्किने गरी वा सार्वजनिक पदाधिकारी वा कुनै राजनीतिक दल वा राजनीतिक दलको पदाधिकारीको पक्ष वा विपक्षमा कुनै टिप्पणी गर्न वा यस परिच्छेद विपरीत हुने गरी कुनै कुरा व्यक्त गर्न हुँदैन।”

पारित उक्त विधेयकलाई तत्कालीन सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले प्रतिनिधि सभामा २१ फागुन २०८० मा दर्ता गराएकी थिइन् । उक्त प्रस्ताविक विधेयक प्रतिनिधि सभाबाट पास हुनुभन्दा पहिले विधेयकमा १२४ जना सांसदहरूको संशोधन प्रस्ताव स्वीकृत भएको थियो । जहाँ १५८३ वटा संशोधन प्रस्तावमा छलफल भएको थियो । 

तर, दफा ८९ मा कुनै पनि सांसदले संशोधन प्रस्तावना गरेका थिएनन् । जस कारण दर्ता भएको विधेयकको उक्त दफा कुनै पनि संशोधन बिना नै पारित भएको छ । 

अब विधेयक राष्ट्रिय सभामा पठाइनेछ । राष्ट्रिय सभाबाट पारित भएर पुन प्रतिनिधिसभामा फिर्ता पठाइनेछ । त्यसपछि सभामुखले प्रमाणित गरेर राष्ट्रपति समक्ष पेस गर्नेछन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै उक्त विधेयक कार्यान्वयनमा आउनेछ ।

 

पछिल्लो अध्यावधिक: असार १६, २०८२ १८:४०





सामाग्री श्रोत :
टेक पाना

तेहरान– इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा इरानमा कम्तीमा ९३५ जनाले ज्यान गुमाएको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ । युद्धविराम लागू भएको करिब एक सातापछि यो विवरण सार्वजनिक गरिएको हो ।

‘सियोनवादी शासनद्वारा हाम्रो देशमाथि थालिएको १२ दिने युद्धको क्रममा हालसम्म ९३५ जना सहिदको पहिचान गरिएको छ,’ न्याय परिषद्का प्रवक्ता असगर जहाङ्गीरलाई उद्धृत गर्दै सरकारी समाचार संस्था इरनाले जनाएको छ ।

मृतकमध्ये १३२ जना महिला र ३८ जना बालबालिका रहेका छन् ।

इरानका अनुसार जुन १३ गते इजरायलले इरानका सैनिक शिविर, आणविक अनुसन्धान स्थल र आवासीय क्षेत्रहरूलाई लक्षित गरी बम आक्रमण शुरु गरेको थियो । ती आक्रमणमा उच्चपदस्थ सैनिक अधिकृतहरू र वैज्ञानिकहरूको मृत्यु भएको उल्लेख गरिएको छ ।

इरानले पनि जवाफी कारबाहीस्वरूप मिसाइल र मानवरहित विमान प्रयोग गरी इजरायलका प्रमुख सहरहरूमा आक्रमण गरेको थियो । इजरायली अधिकारीहरूका अनुसार ती कारबाहीमा २८ जनाको मृत्यु भएको थियो । दुवै देशबीच जुन २४ गते युद्धविराम लागू भएको हो ।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । सामसङले आफ्नो नयाँ इयरबड्स ‘ग्यालेक्सी बड्स कोर’ नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ । जुलाई १ देखि ग्राहकका लागि उपलब्ध हुने यी बड्सहरू दैनिक उपयोगका लागि डिजाइन गरिएको कम्पनीको दाबी छ । 

कालो र सेतो रंगमा उपलब्ध ग्यालेक्सी बड्सकर नेपालभर सामसङका आधिकारिक बिक्रेताहरू बाट बिक्री हुनेछ । एनसी (ANC) र कल न्वाइज रिडक्सन (Call Noise Reduction) को साथमा, प्रयोगकर्ताहरूले धेरै हल्ला भएको ठाउँमा पनि स्पष्ट सँग कुरा गर्न सक्ने बताइएको छ । यसमा तीनवटा माइक प्रणाली जडान गरिएको छ, जसले गर्दा फोन कल गर्दा होस् वा गीत सुन्दा अथवा कुनै व्यावसायिक मिटिङमा बस्नुपर्दा यो इयरबड्स उपयुक्त हुने कम्पनीको दाबी छ । 

यो इयरबड्सको एक प्रमुख फिचर हो ‘ग्यालेक्सी एआई इन्टरप्रिटर’, जसले आमने सामने कुराकानीको क्रममा दुईतर्फी रियल-टाइम अनुवाद प्रदान गर्छ । तपाईं आफ्नै भाषामा बोल्नुहोस्, र इयरबड्सले तुरुन्तै अनुवादित उत्तर प्रदान गर्नेछ । 

सात हजार ३९९ रुपैयाँ मूल्य रहेको यो इयबड्स सस्तो भए पनि फिचर भने प्रिमियम रहेको कम्पनीको भनाइ छ ।  

पछिल्लो अध्यावधिक: असार १६, २०८२ २०:२७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई करिब ११ वर्ष कैद सजाय भएको छ । यस्तै ३१ करोड १८ लाख ६२ हजार १ सय ७८ रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र अर्का न्यायाधीश रामबहादुर थापाको इजालासले गत असार ६ मा बस्नेतलाई दोषी ठहर गरेकामा सोमबार सजाय निर्धारण गरेको हो । दोषी ठहर बस्नेत २०७४ र २०७९ को स्थानीय निर्वाचनमा कांग्रेसबाट मेयर निर्वाचित भएका थिए ।

सजाय निर्धारण गर्दै विशेषले व्यापारीबाट घुस लिएको कसुरमा उनलाई २ करोड ३० लाख ६१ हजार ५ सय ८ रुपैयाँ जरिवाना र ८ वर्ष कैद सजाय सुनाएको हो । मेयरको पद दुरुपयोग गरेकामा थप ३ महिना कैद सजाय गरिएको छ । यस्तै सम्पत्ति शुद्धीकरणतर्फ उनलाई १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो कायम भएकामा बिगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ जरिवाना सुनाइएको हो ।

सम्पत्ति शुद्धीकरणतर्फ अदालतले थप ३ वर्ष कैद सजाय तोकेको हो । यस्तै अदालतले २ करोड ६२ लाख ५४ हजार ६सय ६ रुपैयाँ ४६ पैसा पनि थप जरिवानाबापत सजाय निर्धारण गरेको हो ।

यस्तै बस्नेतबाट अपराधपीडित राहत कोषमा १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ जम्मा गर्न पनि अदालतले आदेश दिएको छ । बस्तेलाई घुस दिएको कसुरमा पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्टका अध्यक्ष राजुप्रसाद कँडेल तथा उनको संस्थाबाट जनही ९ लाख २२ हजार ४ सय ६० रुपैयाँ अपराधपीडित राहत कोषमा जम्मा गर्न आदेश गरिएको छ ।

पद्मा कोलोनीका सञ्चालक कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३३ रुपैयाँ घुस लिएको र उक्त घुस प्रतिवादी बस्नेतले शुद्धीकरण गरेको भन्दै विशेषले गत असार ६ मा दोषी ठहर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर बस्नेत र व्यापारी कँडेलसहितलाई प्रतिवादी बनाएर १४ पुस २०८१ मा विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो । सोही मुद्दाको किनारा लगाउँदै विशेषले दुबैजनालाई दोषी ठहर गरेको हो । विशेषले सजाय निर्धारणका लागि भने असार १६ गतेलाई पेसी तोकेको छ । घरजग्गा कारोबारी राजुप्रसाद कँडेलबाट घूसबापत रकम लिएर त्यसलाई शुद्धीकरण गरेको अभियोगमा अख्तियारले बस्नेत, पत्नी उर्मिलासहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । विशेषले उर्मिला बस्नेतलाई भने सफाई दिएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्ना प्रयोगकर्ताका लागि दुई ओटा नयाँ एआई फिचर सार्वजनिक गरेको छ । बिहीबार एक ब्लग मार्फत कम्पनीले भिडिओ सजिलै फेला पार्न र भिडिओको सामग्रीबारे सिधै प्रश्न सोध्न मद्दत गर्ने दुई फिचर सार्वजनिक गरेको हो । 

यी मध्ये अधिकांश फिचरहरू हालका लागि प्रिमियम (पैसा तिर्ने) प्रयोगकर्तालाई लक्षित गरी परीक्षणका रूपमा उपलब्ध गराइएको कम्पनीले जनाइएको छ । पहिलो फिचरले प्रयोगकर्ताले खोजेको विषयसँग सम्बन्धित भिडिओलाई अझ व्यवस्थित र उपयोगी तरिकाले सर्च रिजल्टमा देखाउँछ । जब प्रयोगकर्ताले कुनै ठाउँ, किनमेल वा कुनै स्थानमा गर्न सकिने गतिविधिका बारेमा सर्च गर्छन् त्यतिबेला युट्युबले सान्दर्भिक भिडिओ क्लिप र जानकारी सहितको क्यारोसेल देखाउनेछ । उदाहरणका लागि यदि कुनै प्रयोगकर्ताले ‘ह्वाईका उत्कृष्ट समुद्री तट’ भनेर खोज्यो भने एआईले विभिन्न भिडिओबाट प्रयोगकर्ताले खोजे अनुसारका क्लिप हाइलाइट्सका रूपमा देखाउँछ । प्रत्येक क्लिपमा एआईले नै तयार पारेको शीर्षक र विवरण पनि हुन्छ । यसले गर्दा भिडिओ प्रयोगकर्ताको सर्चसँग किन सान्दर्भिक छ भनेर देखाउँछ । यो फिचर हाल अमेरिकाका प्रिमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ ।

त्यस्तै युट्युबले ‘आस्क’ नामक अर्को कन्भरसेन्सल एआई फिचर पनि परीक्षण गरिरहेको छ । भिडिओको तल रहेको ‘शेयर’ बटनको छेउमा उपलब्ध हुने यो फिचरमा ट्याप गरेपछि एउटा च्याटबक्स खुल्छ । उक्त च्याटबक्समा प्रयोगकर्ताले चलिरहेको भिडिओको विषयवस्तुबारे आफ्ना जिज्ञासा राख्न सक्छन् । 

एआईले सोही भिडिओको सामग्रीको आधारमा प्रयोगकर्ताका प्रश्नको जवाफ दिने प्रयास गर्नेछ । यसले ज्ञानवर्द्धक भिडिओबाट जानकारी लिन वा कुनै विषयलाई अझ गहिरोसँग बुझ्न मद्दत पुग्ने विश्वास गरिएको छ । कम्पनीका अनुसार यो फिचर प्रिमियम प्रयोगकर्ताका साथै अमेरिकाका केही साधारण प्रयोगकर्ताका लागि पनि परीक्षणका रूपमा विस्तार गरिँदैछ ।

यी दुवै फिचर अहिले परीक्षणको चरणमा रहेकाले भविष्यमा थप प्रयोगकर्तामाझ विस्तार गरिने युट्युबले बताएको छ ।

पछिल्लो अध्यावधिक: असार १६, २०८२ १९:२९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– शिक्षामन्त्री रघुजी पन्तको आग्रह स्वीकार गर्दै प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक स्थगित गरिएको छ । अर्को बैठक कहिले बस्छ भन्ने टुंगो नभएकाले बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

समितिको आजको बैठकबाटै विद्यालय शिक्षा विधेयक टुंग्याउने तयारी भए पनि शिक्षामन्त्रीले बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

शिक्षामन्त्रीको आग्रहपछि अहिलेसम्मको सहमतिबाट ब्याक नहुने गरेर बैठक स्थगित गरिएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।

‘अहिलेसम्मका सहमतिबाट ब्याक नहुने गरेर अर्को सूचना नआएसम्म बैठक स्थगित गरेका छौं,’ सभापति थापाले भने ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले परिस्थिति जटिल बनेको भन्दै केही दिन विद्यालय शिक्षा विधेयक पारित नगरी छलफलका लागि समय माग्दै बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

समितिसमक्ष त्यस्तो माग गर्नुअघि उनले प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । त्यसपछि सत्तागठबन्धनमा थप छलफल आवश्यक परेको भन्दै उनले बैठक स्थगितको माग गरेका थिए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा विद्युतीय (साइबर) अपराधसम्बन्धी मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले पाठकले आफ्नो युट्युब च्यानलमार्फत एक व्यक्तिको चरित्रहत्या गरेको र घृणा फैलाएको आरोप लगाउँदै विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत सजायको माग दाबीसहित अभियोग पत्र दर्ता गरेको हो ।

पाठकले सञ्चालन गरेको ‘टफ टक विथ दिलभूषण पाठक’ (TOUGH talk With Dil Bhusan Pathak) नामक युट्युब च्यानलमा ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा एक भिडियो प्रकाशन गरेका थिए । उक्त भिडियोमा पाठकले पूर्वप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाका छोरा जयवीर सिंह देउवाको फोटो राखेका थिए । 

पीडित परिवर्तित नाम ‘साइबर ब्युरो ५९ (२०८१/०८२) ले आफ्नो चरित्रहत्या भएको, घृणा र द्वेष फैलाइएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए । प्रहरी अनुसन्धानले उक्त युट्युब च्यानलका सञ्चालक/प्रस्तोता दिलभूषण पाठक नै भएको र उनले भिडियोमार्फत पीडितको सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पारेको निष्कर्ष निकालेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले पाठकविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिमको कसुरमा सजायको माग गरेको छ । उक्त दफामा कसुर प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । साथै, पीडितलाई उचित क्षतिपूर्ति भराउन र कसुरदारबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन पनि माग गरिएको छ ।

अभियोग पत्रमा प्रेस काउन्सिल नेपालले पाठकको उक्त युट्युब च्यानललाई आधिकारिक सञ्चारमाध्यमका रूपमा सूचीकृत नगरेको जानकारी दिएको पनि जनाइएको छ ।

मुद्दामा प्रमाणका रूपमा भिडिओसहितको डीभीडी, स्क्रिनसट र साक्षीको बयानलाई आधार मानिएको छ । अभियोग पत्रमा पाठकलाई ‘फरार’ देखाई अदालतबाट पक्राउ पुर्जी जारी गर्न पनि माग गरिएको छ । यो मुद्दा सहायक जिल्ला न्यायाधिवक्ता पूर्णेन्द्र पाण्डेयले १६ असारमा अदालतमा दर्ता गराएका हुन् ।

सम्बन्धित समाचारः

सञ्चारकर्मी दिलभूषण पाठकलाई साइबर ब्युरोले भन्यो- अनुसन्धानका लागि यथाशीघ्र उपस्थित हुनुहोस्

दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

साइबर अपराधको आरोपमा पक्राउ पुर्जी जारी भएपछि सञ्चारकर्मी पाठक उच्च अदालत पुगे

युट्युब भिडिओलाई लिएर पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

पछिल्लो अध्यावधिक: असार १६, २०८२ १८:५५





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट