काठमाडौँ । लुम्बिनी प्रदेशमै पहिलो पटक एमटेक इन आईटी (इन्फर्मेसन टेक्नोलोजी) र एमटेक इन सीएस (कम्प्युटर साइन्स) अध्यापनको तयारी पूरा भएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालयले बाँकेको नेपालगन्जस्थित विश्वविद्यालय क्याम्पसमा अध्यापन सुरु गर्न लागेको हो ।

विश्वविद्यालयका उपप्राध्यापक एवं बीटेक इन आईटी कार्यक्रम संयोजक चतुर्भुज भट्टका अनुसार विद्यार्थीहरू कैलाली, सुर्खेत, बाँके, बर्दिया, दाङ, प्युठान लगायतबाट समेत आएका छन् । असारको अन्तिम सातामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने र साउनको पहिलो सातादेखि कक्षा सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
उनका अनुसार अन्य विश्वविद्यालयका विभिन्न कोर्सहरू लुम्बिनी प्रदेशमा उपलब्ध भएपनि एमटेक इन आईटी र एमटेक इन सीएस हालसम्म पढाइ भएका छैनन् । प्रदेशमा नै यस्ता विषय आएपछि स्नातकोत्तरका लागि भारत वा काठमाडौँ जाने बाध्यता हटेको उनले बताए ।
सुरुमा विश्वविद्यालयले दुई कार्यक्रममा स्नातकोत्तरका लागि १५-१५ गरेर ३० कोटा निर्धारण गरेको थियो । त्यसपछि १७ जेठमा लिइएको प्रवेश परीक्षाका लागि ३८ विद्यार्थीले फारम भरे ।

“हामीले सोचेभन्दा धेरै विद्यार्थीले चासो देखाउनुभयो । त्यसपछि प्रत्येक विषयमा २०-२० गरेर ४० कोटा बनायौँ ।” उनका अनुसार, प्रवेश परीक्षामा ३५ जना विद्यार्थी सहभागी भएको र हालसम्म ३२ जनाले भर्ना गरिसकेका छन् ।
स्नातक तहमा विद्यार्थीहरूले पढेका विषयहरूबाट वस्तुगत र विषयात्मक प्रश्नहरू सोधिएको थियो । साढे दुई घण्टाको परीक्षा सञ्चालन गरेको उनले जानकारी दिए । उपप्राध्यापक भट्टले थपे, “धेरै विद्यार्थीले प्रवेश परीक्षामा सहभागी हुन नपाएको भनेर अहिले पनि कल गरिरहनु भएको छ । धेरै इच्छुक हुनुभयो भने फेरि एक पटक प्रवेश परीक्षा लिन सकिन्छ ।”
विश्वविद्यालयले यी कार्यक्रम सन्ध्याकालीन समयमा अध्यापन गराउने छ । “विद्यार्थीहरूसँग पढ्ने समय मात्र हुँदैन । त्यसैले दिनभर काम गरेर साँझमा पढ्न सजिलो होस् भनेर सन्ध्याकालीन समयमा पढाउने निर्णय गरेका हौँ । विद्यार्थीहरूको माग पनि यही छ ।” यस्तै बुधबारदेखि शनिबारसम्म पढाउने र अन्य तीन दिन बिदा दिने तयारी गरिएको उनले जानकारी दिए ।
एमटेक इन सीएस र एमटेक इन आईटी दुवै कार्यक्रमका विद्यार्थीहरूलाई पहिलो सेमेस्टरमा एउटै कक्षामा सँगै राखेर पढाइने छ । बाँकी सेमेस्टर भने छुट्टाछुट्टै पढाउने योजना छ । सेमिनार, रिसर्च, प्रोजेक्ट वर्कका साथै प्रत्येक सेमेस्टरमा इन्क्युबेसनसँग सम्बन्धित कम्तीमा दुई ओटा प्रोफेसनल कोर्सहरू पढाइने छ ।
यस्तै अध्ययनपछि इन्टर्नशिपका लागि निजी कम्पनीहरूसँग साझेदारी भइरहेको छ । भट्टका अनुसार हालसम्म इन्टर्नशिपका लागि स्थानीय र काठमाडौँका ६ कम्पनीसँग समझदारी भइसकेको छ ।
दुवै विषयमा स्नातकोत्तर तह पूरा गर्न दुई लाख ३० हजार रुपैयाँ शुल्क तोकिएको छ । यस्तै प्रवेश परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति र सेमेस्टर टपरलाई नयाँ सेमेस्टरमा ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको छ ।
२०७९ सालदेखि नेपालगन्जमा सञ्चालनमा आएको यस विश्वविद्यालयले स्नातक तहमा चार शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसअन्तर्गत बिटेक इन आईटी, बिटेक इन कम्प्युटर साइन्स एन्ड एआई, बिटेक इन आईटी इन्जिनियरिङ र बिटेक इन सिभिल इन्जिनियरिङ कार्यक्रम रहेका छन् ।
पछिल्लो अध्यावधिक: असार १२, २०८२ १४:५३
सामाग्री श्रोत :
टेक पाना