काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। गभर्नर बनेको एक महिनापछि उनले बुधबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा गभर्नर पौडेलको परिवारसँग झन्डै १८ करोड बराबरको सम्पत्ति रहेको देखिएको छ।यसमध्ये धेरैजसो सम्पत्ति श्रीमती प्रतिभा शर्माको नाममा रहेको विवरणमा उल्लेख छ।
राष्ट्र बैंकका अनुसार गभर्नर पौडेलले विभिन्न कम्पनीमा १४ करोड ५ लाख ६७ हजार रुपैयाँको सेयर लगानी गरेका छन्।
सानिमा बैंक, सानिमा माइ हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर र चितवन इनर्जीमा उनको सेयर लगानी छ।

गभर्नर पौडेलकी श्रीमती प्रतिभा शर्माको नाममा ४४ लाख रुपैयाँ मूल्यको सुजुकी कार रहेको छ। यस्तै, उनकी श्रीमती शर्माको नाममा नवलपरासी र ललितपुरमा १ करोड ५५ लाख रुपैयाँमा खरिद गरेको जग्गा रहेको छ।
त्यस्तै, गभर्नर पौडेल र उनकी श्रीमतीको नाममा विभिन्न तीनवटा बैंकमा बचत रहेको सम्पत्ति विवरणमा उल्लेख छ। सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकको नाममा २० लाख ६८ हजार रुपैयाँ र सानिमा बैंकको डलर खातामा चार हजार भन्दा बढी अमेरिकी डलर रहेको व्यहोरा उनले खुलाएका छन्।
गभर्नर पौडेल र उनकी श्रीमतीको नाममा सानिमा बैंकमा रहेको डलर खातामा ४ हजार ५१३ अमेरिकी डलर रहेको छ। जसको आजको दर अनुसार ६ लाख २२ हजार २५६ रुपैयाँ हाराहारी हो।
सम्पत्ति विवरणमा उल्लेख गरे अनुसार गभर्नर पौडेलसँग १५ लाख रुपैयाँ बराबरको हिराको गहना रहेको छ। त्यसबाहेक उनीसँग ४५ तोला सुन रहेको छ। जसको आजको भाउ अनुसार ८६ लाख ४० हजार रुपैयाँ बराबरको हुन आउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ