काठमाडौँ । सरकारले ‘केरा गणतन्त्र’ नामक डिजाइनको टिसर्टको प्रचारप्रसार तथा बिक्रीमा रोक लगाएको छ । नेपाल प्रहरीको साइबर ब्युरोको आग्रहपछि टिसर्ट निर्माता कम्पनी आईडीएस वेयर्सले उक्त डिजाइनसहित आफ्ना सबै उत्पादनको नयाँ अर्डर लिन अस्थायी रूपमा बन्द गरेको छ ।

इनडेप्थ स्टोरी तथा आईडीएस वेयर्सले एक विज्ञप्ति जारी गर्दै सरकारले उक्त डिजाइनले ‘मुलुकको शान्ति सुरक्षा, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानमा खलल पुग्ने’ भन्दै यसको बिक्रीमा रोक लगाउन निर्देशन दिएको जनाएको छ । आफूहरूले ‘केरा गणतन्त्र’ को अर्थ र ऐतिहासिक सन्दर्भबारे प्रस्ट्याउन खोजे पनि प्रहरीले नबुझेको वा बुझ्न नचाहेको कम्पनीका संस्थापक सुदिपभाइ सुवेदीले बताए ।
उनका अनुसार यस विषयमा साइबर ब्युरोमा बोलाएर माफीनामामा हस्ताक्षर गर्न लगाइएको थियो । ‘हेलो सरकार’मा उजुरी परेपछि प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय हुँदै उक्त विषय ब्युरोसम्म पुगेको रहेछ । आजै (मंगलबार) बाट प्रचारप्रसार बन्द नगरे कानुनी प्रक्रियामा जानुपर्ने हुन्छ, यदि माफीको पत्र लेख्नुहुन्छ भने आजै छाडिदिन्छौं भनेपछि हस्ताक्षर गर्न लगाइयो,” उनले भने ।
हस्ताक्षरपछि ‘केरा गणतन्त्र’ टिसर्टको प्रचारप्रसार र बिक्री गर्न नपाउने गरी छाडिएको उनले बताए ।

‘केरा गणतन्त्र’ (Banana Republic) राजनीतिक रूपमा अस्थिर, भ्रष्टाचारग्रस्त र बाह्य शक्तिमा निर्भर मुलुकलाई व्यङ्ग्यात्मक रूपमा वर्णन गर्न प्रयोग हुने शब्दावली हो । आईडीएस वेयर्सको घटनापछि सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले अभिव्यक्ति स्वतन्त्रता र रचनात्मकतामाथि सरकारले अंकुश लगाउन खोजेको भन्दै टिप्पणी गरेका छन् ।
आईडीएस वेयर्सले हाललाई सम्पूर्ण डिजाइनको अर्डर रोके पनि पहिले नै अर्डर गरिसकेका ग्राहकलाई भने यो हप्ताभित्र टिसर्ट वितरण गरिने जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार ११, २०८२ १०:४५
सामाग्री श्रोत :
टेक पाना