काठमाडौँ । नेपाली आईटी कम्पनीहरूले विदेशमा पनि लगानी गर्न पाउने सरकारको निर्णयलाई आईटी व्यवसायीहरूले स्वागत गरेका छन् । नेपाल राष्ट्र बैंकले ‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा चौथो संशोधन गरी यस्तो कानुनी बाटो खोलिदिएको हो ।

नयाँ व्यवस्थाअनुसार विगत तीन आर्थिक वर्षदेखि निरन्तर सूचना प्रविधि सेवा निर्यातबाट विदेशी मुद्रा आर्जन गर्दै आएका कम्पनीहरूले विदेशमा लगानी गर्न पाउनेछन् । उनीहरूलाई कम्पनीको पछिल्ला तीन वर्षको औसत आम्दानीको ५० प्रतिशत वा अधिकतम १० लाख अमेरिकी डलरसम्मको लगानी गर्न स्वीकृति दिइने व्यवस्था छ ।
संशोधित व्यवस्थाले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्न खोजिरहेका नेपाली आईटी कम्पनीहरूका लागि ठुलो अवरोध हटाएको नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (न्यास -आईटी) ले जनाएको छ ।
राष्ट्र बैंकको यो निर्णयलाई ऐतिहासिक नीतिगत सुधार भन्दै न्यास -आईटीले स्वागत गरेको छ । संस्थाले विगत केही वर्षदेखि सरकार र नियामक निकायहरूसँग निरन्तर संवाद गर्दै यो खालको व्यवस्था आवश्यक रहेको माग गर्दै आएको थियो ।

यसअघि सरकारले गएको २९ पुसमा ‘आर्थिक तथा व्यापारिक वातावरण सुधार तथा लगानी अभिवृद्धि सम्बन्धी अध्यादेश’ मार्फत प्रविधि क्षेत्रसम्बन्धी विभिन्न ऐनमा संशोधन गरेको थियो । अध्यादेशले विदेशी विनिमय ऐन, कम्पनी ऐन र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा आवश्यक सुधार गर्दै प्रविधि कम्पनीहरूलाई विदेशमा लगानीको कानुनी आधार तयार पारेको हो ।
न्यास-आईटीले यो व्यवस्थाले नेपाललाई भविष्यमा एक प्रतिस्पर्धी आईटी हबका रूपमा स्थापित गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।
पछिल्लो अध्यावधिक: असार १०, २०८२ १७:४९
सामाग्री श्रोत :
टेक पाना