काठमाडौं- सरकारको ओएन्डएम सर्वेलाई लिएर सरकारी प्रयोगशालाकर्मी संघ, नेपाल (गोलान)ले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ। उक्त ज्ञापनपत्रमा हाल प्रस्तावित संगठन संरचना तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम)मा मेडिलक ल्याब टेक्निसियन समूह अन्तर्गत निर्धारण गरिएका दरबन्दी संख्यालाई त्रुटिपूर्ण र वैज्ञानिक आधारविहीन भएको भन्दै आपत्ति जनाइएको छ।
ज्ञापनपत्रमा जनस्वास्थ्य नियमावली, २०७७ को अनुसूची–३ र अनुसूची–७, साथै स्वास्थ्य संस्था संचालन मापदण्ड, २०७७ को प्रावधानहरु उल्लेख गर्दै प्रयोगशाला सेवा अनिवार्य, भरपर्दो र गुणस्तरीय हुनुपर्ने कानुनी दायित्वमा जोड दिइएको छ। तर, वर्तमानमा अधिकांश प्रयोगशालाहरु करार, अस्थायी वा ज्यालादारी कर्मचारीहरूमार्फत सञ्चालन भइरहेका छन्, जुन दीर्घकालीन रूपमा विश्वसनीय सेवाको बाधक बन्ने संघको ठम्याइ छ।
‘हाल कायम गरिएका दरबन्दी संख्या अस्पतालमा बढ्दो बिरामी चाप र आवश्यक सेवाको दायरा अनुसार वैज्ञानिक ढंगबाट निर्धारण गरिएको छैन,’ ज्ञापनपत्र बुझाउँदै भनिएको छ,’ मे.ल्या.टे. समूह अन्तर्गतका उपसमूह र विभिन्न पदहरुमा माथिल्लो तहमा पदोन्नति हुने संरचनाको अभावले कर्मचारीहरुको पेशागत विकासमा समेत बाधा पुगिरहेको छ।’
संघले मन्त्रालयलाई ज्ञापनमार्फत ध्यानाकर्षण गराउँदै यस किसिमको त्रुटिपूर्ण संरचना प्रयोगशाला सेवा प्रणालीलाई कमजोर पार्नेमात्र नभइ दीर्घकालीन रूपमा स्वास्थ्य प्रणालीकै गुणस्तर र जनविश्वासमा असर पार्ने बताइएको छ।
संघले बिरामी चाप, सेवा दायरा, प्रविधि र जनशक्ति आवश्यकताको वैज्ञानिक विश्लेषणका आधारमा दरबन्दी पुनःनिर्धारण गर्न माग गर्दै हालको प्रतिवेदनलाई यथास्थितिमा स्वीकृत नगर्न मन्त्रालयसँग आग्रह गरेको छ। हालको दरबन्दी संरचना परिमार्जन बिना गुणस्तरीय प्रयोगशाला सेवा सुनिश्चित गर्न नसकिने संघले जनाएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

