काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको हो । बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ ।

सङ्घीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ । यस्तै, सांसदहरूले राखेको खर्च कटौतीको प्रस्ताव समेत पेस हुनेछ ।
यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्नेछन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउनुहुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
रास्वपा र राप्रपाले विनियोजन विधेयकमाथिको छलफल बहिस्कार गर्दै आएका छन् । गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै उनीहरुले संसदमा विरोध जनाउँदै आएका हुन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ