२०८२ असार ८ आईतवार
LATEST NEWS
२०८२ असार ८ आईतवार

भिजिट भिसा प्रकरण: नेपाली युवा साइबर स्क्याम सेन्टरमा बन्धक, करेन्ट लगाई यातना दिइन्छ- सुमना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले भिजिट भिसाको दुरुपयोग गरी नेपाली युवाहरूलाई विदेशका साइबर स्क्याम सेन्टरहरूमा बन्धक बनाएर दाससरह किनबेच गर्ने गरिएको दाबी गरेकी छन् । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बारम्बार यो विषय उठाउँदा पनि सरकार मौन बसेको भन्दै चर्को आक्रोश पोखिन् । 

सांसद श्रेष्ठले शुक्रबारमात्रै रोजगारीको खोजीमा रहेका युवाहरूलाई कसरी संगठित मानव तस्करहरूले आफ्नो जालमा पार्छन् भन्ने डरलाग्दो प्रमाण फेला परेको बताएकी थिइन् । उनका अनुसार लिंक्डइन जस्ता व्यावसायिक सामाजिक सञ्जालमार्फत प्रतिष्ठित कम्पनीमा अन्तर्वार्ताका लागि अनुरोध पठाउँदै आकर्षक जागिरको प्रलोभनमा युवाहरूलाई विदेश पठाई साइबर स्क्याम सञ्चालन गर्ने सेल्स सेन्टरहरूमा बन्धक बनाउने गरेको उल्लेख गरिन् । 

“त्यहाँ पुगेपछि युवाहरूलाई दिइएको टार्गेट पूरा नगरे चरम यातना दिइन्छ,” सांसद श्रेष्ठले भनिन्, “कुटपिट गर्ने र करेन्ट लगाउनेसम्मका अमानवीय व्यवहार हुन्छ । यो आधुनिक दासप्रथा हो, जहाँ नेपाली युवाहरूलाई वस्तुसरह किनबेच गरिन्छ ।”

उनले आक्रोशित हुँदै थपिन्, “हामीले सुनेका थियौँ, नेपालमा दासप्रथा छैन । तर दासप्रथा रहेछ । आफ्नै अगाडि आफ्नो मोल राखेर मालिकले हाम्रा युवालाई किनबेच गरिरहेको छ । के हामी यसको विरुद्ध होइनौँ ?”

यो संगठित अपराधमा राज्य संयन्त्रकै मिलेमतोको आशंका गर्दै उनले प्रश्न गरिन्, “भिजिट भिसामा नेपाली युवा कसरी यस्तो नर्कमा पुग्छन् ? क-कसले घुस लिएर यो काम गरिरहेका छन् ? आफ्नो पक्ष वा पार्टीलाई कति पैसा आयो भनेर हिसाबकिताब गर्न सफ्टवेयर नै बनाइएको कुरा आएको छ ।”

शनिबार संसद बैठक नियमित कार्यसूचीमा जानु पहिले पार्टीका तर्फबाट धारणा राख्दै श्रेष्ठले यो विषय सदनमा पटकपटक उठाउँदा पनि सरकारले संसदीय छानबिन समिति वा उच्चस्तरीय आयोग गठन गर्न चासो नदेखाएकोमा आपत्ति जनाइन् । “सरकार कसको लागि हो ? निर्बल, दुर्बलको लागि कि शक्ति भएकाहरूको लागि ?” उनले प्रश्न गरिन् । 

“जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने ? सरकारले जनताको आवाजको सुनुवाइ गरेको छैन,” श्रेष्ठको भनाइ थियो ।

युवाहरूमा व्याप्त निराशाका कारण उनीहरू यस्तो जोखिम मोल्न बाध्य भएको बताउँदै उनले भनिन्, “हाम्रा युवा एक करोड खर्च गरेर अमेरिका जान तयार हुन्छन्, किन ? यो खुला आकाश उनीहरूका लागि गोलघर जस्तो किन भइरहेको छ ?,” उनले भनिन्, “यो समस्याको गहिराइमा नपुगी हामी अगाडि बढ्न सक्दैनौँ ।”

पछिल्लो अध्यावधिक: असार ७, २०८२ १३:५८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट