२०८२ श्रावण २६ आईतवार
२०८२ श्रावण २६ आईतवार

काठमाडौँ । फिल्म शुटिङ, खेलकुदको उद्घाटन, सवारीसाधन सार्वजनिकदेखि विपदमा परेकाको उद्धारसम्म, यी सबै काममा ड्रोनको प्रयोग सामान्य भइसक्यो । तर, यस्ता विशेष कामका लागि आवश्यक पर्ने शक्तिशाली र कस्टमाइज्ड ड्रोन नेपालमै बन्छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।

अनिल प्रधान र उनको टिमले नेपालको भूगोल र आवश्यकताअनुसार विभिन्न प्रकारका ड्रोन निर्माण तथा एसेम्बल गर्दै आएका छन् । सामान्य मनोरञ्जनका लागि प्रयोग हुने साना ड्रोनदेखि २०-२५ किलोसम्मको भार बोकेर उड्न सक्ने शक्तिशाली ‘सिने लिफ्टर’ र विपद् उद्धार ड्रोनसम्म उनीहरूले नेपालमै तयार पारेका छन् ।

नक्खु बाढीको दुःखद घटनाले जन्मायो ‘उद्धार ड्रोन’

यो ठुलो र शक्तिशाली ड्रोन बनाउनुको पछाडि एउटा दुःखद घटना जोडिएको छ । गत वर्ष काठमाडौँको नक्खु खोलामा आएको बाढीले मानिसहरूलाई बगाइरहेको तर तत्काल उद्धार हुन नसकेको घटनाले अनिललाई छोयो ।

“त्यतिबेला मानिसहरू बाढीको बीचमा फसेका थिए । तर हेलिकप्टर पनि पुग्न सकेन । यदि हामीले ड्रोनमार्फत लाइफ ज्याकेट वा डोरी मात्रै पनि खसालिदिन सकेको भए कसैको ज्यान बच्थ्यो कि भन्ने लाग्यो,” अनिल भन्छन्, “त्यही घटनाले हामीलाई यस्तो ड्रोन बनाउन प्रेरित गर्‍यो ।”

यो ड्रोनले १२ किलोसम्मको वजन सजिलै बोक्न सक्छ र २० देखि २५ किलोसम्मको भार उठाएर उड्ने क्षमता राख्छ । यसमा सामान खसाल्न मिल्ने विशेष ‘ड्रप मेकानिजम’ जडान गरिएको छ । जसले गर्दा बाढी वा अन्य विपदमा फसेकाहरूलाई लाइफ ज्याकेट, डोरी, औषधि वा खानेकुरा जस्ता अत्यावश्यक सामग्री पुर्‍याउन सकिन्छ ।

फुटबल मैदानदेखि हात्ती आतंकसम्म ड्रोनको प्रयोग

अनिल र उनको टिमले बनाएका ड्रोनहरूको प्रयोग विविध क्षेत्रमा भइसकेको छ । केही समयअघि सम्पन्न केपी ओली गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटनमा ड्रोनबाटै फूल बर्साइएको थियो । त्यस्तै, प्रोटोन कम्पनीको नयाँ विद्युतीय गाडी सार्वजनिक गर्दा ड्रोनले नै पर्दा उचालेर अनावरण गरेको थियो ।

यति मात्र होइन । झापा र मोरङका स्थानीय तहसँगको सहकार्यमा हात्ती आतंक नियन्त्रणका लागि पनि ड्रोन प्रयोग गरिएको छ । ड्रोनमा जडान गरिएको शक्तिशाली साइरन बजाएर हात्तीलाई मानव बस्तीबाट जंगलतिर धपाउने काममा समेत यो प्रविधि सफल भएको अनिल बताउँछन् ।

के साँच्चै ‘मेड इन नेपाल’ हो ?

अनिलका अनुसार ड्रोनका मोटर, प्रोपेलर, इलेक्ट्रोनिक कम्पोनेन्ट जस्ता मुख्य पार्टपुर्जाहरू विदेशबाटै आयात गर्नुपर्छ । तर, ड्रोनको डिजाइन, फ्रेम कटिङ, थ्रीडी प्रिन्टिङ र नेपालको आवश्यकताअनुसारको कस्टमाइजेसनको काम भने उनीहरूको टिम ‘जीबीएस’ले नेपालमै गर्छ ।

“हामीले नेपालको भूगोल र वातावरण सुहाउँदो ड्रोन बनाउँछौँ । कुनै सरकारी वा निजी निकायले आफ्नो आवश्यकता बताएमा हामी त्यहीअनुसारको ड्रोन डिजाइन र निर्माण गरेर दिन सक्छौँ,” उनी अगाडि भन्छन् ।

चुनौतीसँगै भविष्यको योजना

नेपालमा ड्रोन प्रविधिमा काम गर्न सजिलो भने छैन । कस्टमाइज गरिएका ड्रोनको सिरियल नम्बर नहुने हुँदा दर्ता प्रक्रियामा कानुनी अड्चन छ । ब्याट्रीजस्ता सामग्री आयातमा निकै कठिनाइ छ । काठमाडौँ उपत्यकाभित्र विमानस्थलको निकटताले परीक्षण उडानका लागि समेत बाहिर जानुपर्ने बाध्यता छ ।

यी चुनौतीका बाबजुद अनिल र उनको टिम भविष्यप्रति आशावादी छन् । उनीहरू कृषि क्षेत्रमा मल र विषादी छर्ने, सुरक्षा निकायका लागि निगरानी गर्ने, ड्रोन ज्याम गर्ने (एन्टी-ड्रोन) प्रविधि विकास गर्नेदेखि ड्रोन लाइट शो जस्ता मनोरञ्जनात्मक कार्यमा समेत काम गर्ने योजनामा छन् ।

अनिलले नेपाली सेनासँग उपकरण विकासमा समन्वय गरिरहेका छन् र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले पनि ड्रोन प्रयोग गरिरहेका छन् । रातिको समयमा निगरानीका लागि थर्मल इमेजिङ क्यामेरा जडान गरिएका ड्रोनको आवश्यकता र हाइब्रिड (V-TOL) ड्रोन जस्ता उन्नत प्रविधिमा अनुसन्धान भइरहेको उनी सुनाउँछन् ।

यस्ता सामाजिक कामलाई निरन्तरता दिन प्रधानको ड्रोन स्टार्टअप एफपीभी मार्टले अन्य व्यवसायिक काम पनि गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असार ७, २०८२ २२:५५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ह्वाट्सएप च्यानल सुरु गरेका छन् । आमनागरिकसँग सहज सञ्चार गर्ने योजनासहित ओलीले शनिबारदेखि ह्वाट्सएपमा उपस्थिति जनाएका हुन् । 

च्यानलमा जोडिएका प्रयोगकर्ताले ओलीका विचार, अभिव्यक्ति, कार्यक्रम तथा राजनीतिक गतिविधिहरूबारे नियमित अपडेट पाउने बताइएको छ ।

फेसबुकमा एक पोस्ट राख्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई आफ्नो च्यानलमा जोडिन आह्वान गरेका छन् । यो समाचार तयार पार्दासम्म उनको च्यानलमा तीन हजार ७०० बढी मेम्बर जोडिएका छन् ।

पछिल्लो अध्यावधिक: असार ७, २०८२ २२:६





सामाग्री श्रोत :
टेक पाना

 

काठमाडौँ । प्रविधि क्षेत्रमा पुनः एकपटक ठुलो संख्यामा रोजगारी कटौती भइरहेको छ । तर यसपटक न कम्पनीले सार्वजनिक घोषणा गरेका छन्, न त हल्ला नै फैलिएको छ  । गत वर्षहरूमा देखिएको एकैपटक सामूहिक कर्मचारी हटाउने परिपाटी अहिले ‘शान्त र रणनीतिक’ तरिकाले बदलिएको छ । जसमा कर्मचारीहरूलाई ‘स्वेच्छिक अवकाश’ योजनामार्फत जागिर छोड्न प्रेरित गरिँदैछ  ।

गुगल, अमेजन, माइक्रोसफ्ट लगायत ठुला प्रविधि कम्पनीले हालै आफ्ना कर्मचारीहरूलाई स्वेच्छिक बहिर्गमन प्याकेजको प्रस्ताव गर्दै क्रमशः जनशक्ति कटौती गरिरहेका छन् । यी प्याकेजअन्तर्गत कर्मचारीले निश्चित समयको तलब, स्टक भेस्टिङ सुविधा र स्वास्थ्य बीमा लाभ पाउँछन् ।

उदाहरणका लागि, गुगलले आफ्ना कर्मचारीलाई १४ हप्ता बेसिक तलबका साथै सेवा वर्ष अनुसार थप तलबसहित बिदाइ प्याकेज दिएको छ ।

यो नयाँ प्रवृत्तिले कम्पनीहरूले ‘मिसएलाइन’ (misaligned) कर्मचारी हटाउँदै लागत घटाउने रणनीति अपनाइरहेका छन् । एकातर्फ जनशक्ति घटाउन सजिलो र कम कानुनी जोखिम हुने उपाय भएको, अर्कोतर्फ कम्पनीको प्रतिष्ठामा पनि असर नपर्ने भएकोले यो तरिका रोजिएको हो ।

माइक्रोसफ्टले कमजोर प्रदर्शन गर्ने कर्मचारीलाई १६ हप्ताको तलबसहित बिदा दिने योजना ल्याएको छ भने अमेजनले अफिस फर्कन नचाहने कर्मचारीलाई तीन महिनाको तलबसहित बिदा गरेको रिपोर्टहरूमा उल्लेख छ ।

एआईको दबाब र बदलिँदो वर्कफोर्स

एआई प्रविधिको तीव्र विकाससँगै परम्परागत प्रविधि भूमिकाहरूको माग घट्दै गएको छ । कम्पनीहरूले उच्च दक्षतायुक्त एआई प्रतिभाका लागि बजेट व्यवस्थापन गर्न पुराना कर्मचारीहरूलाई स्वेच्छिक रूपमा बिदा गरिरहेका छन् । गुगलको एक आन्तरिक नोट अनुसार अब यो कम्पनी एआई केन्द्रित कार्य रणनीतिमा अगाडि बढ्न चाहन्छ, र एआईमैत्री हुन नसक्ने कर्मचारीलाई बिदाइ प्याकेजमार्फत बाहिर पठाइँदैछ ।

२०२५ को पहिलो छ महिनामा मात्रै १४१ प्रविधि कम्पनीहरूले करिब ६२ हजार ८०० भन्दा बढी कर्मचारी हटाएका छन् । यो संख्या Layoffs.fyi ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हो । तर यी कटौती पहिलेझैं एकैपटक नभई बिस्तारै र गोप्य रूपमा गरिएको देखिन्छ ।

नयाँ परिदृश्यको संकेत

प्रविधि उद्योगमा देखिएको यो ‘शान्त कटौती’ प्रवृत्तिले अबको भविष्य ‘लिन हाइब्रिड वर्कफोर्स’ (lean hybrid workforces) तर्फ उन्मुख भएको संकेत गर्छ । स्थायी जागिरको संख्या घट्दै जानु, पुनः तालिम र एडाप्टिलिबिटीको आवश्यकता बढ्नु र कर्मचारी मूल्यांकनको मापदण्डमा आमूल परिवर्तन आउनु यसको संकेत हुन् ।

साथै, उच्च दक्षता भएका कर्मचारीका लागि स्टार्टअप वा अन्य अवसरतर्फ जाने बाटो खुलिरहेको छ, तर  थोरै अनुभव भएका कर्मचारीका लागि प्रतिस्पर्धी बजारमा टिक्न चुनौती देखिन्छ ।

यस्तो रणनीतिक कटौतीले कम्पनीहरूलाई खर्च घटाउने र कार्यक्षमता बढाउने अवसर दिए पनि एआई प्रतिभा आपूर्ति कम भयो भने उनीहरूले फेरि रिटेन्सन प्याकेजमार्फत कर्मचारी सम्हाल्नुपर्ने अवस्था आउन सक्छ ।

द इन्डियन एक्सप्रेसको सहयोगमा

पछिल्लो अध्यावधिक: असार ७, २०८२ २०:३६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– इरान–इजरायल युद्ध जारी छ । ९ दिनदेखि दुई देशबीच युद्ध जारी छ । यसअवधिमा दुवै देशले एक अर्कामाथि मिसाइलहरु प्रहार गरिरहेका छन् । आजसम्मको अवस्था हेर्दा इजरायली आक्रमणमा परी इरानका ११ जना परमाणु वैज्ञानिक मारिएका छन् । इरानभन्दा भौगोलिक रुपमा निकै सानो इजरायलले नवौं दिनसम्म आइपुग्दा इरानमाथि धेरै आक्रमण गरेको छ । 

दुवै देशमध्ये धेरै जनधनको क्षति इरानमा भएको छ । मिडिया रिपोर्टस अनुसार इरानमा हालसम्म ६ समय भन्दा बढीको मृत्यु भएको छ । जसमा धेरै जसो  सैन्य अधिकारीहरु रहेका छन् । त्यो पनि मुख्य भूमिकामा रहेकाहरु छन् । यस्तै मुख्य परमाणु वैज्ञानिकहरु पनि मारिएका छन् । 

यता इरानी आक्रमणमा परी अहिलेसम्म इजरायलमा ४० जनाको मृत्यु भएको बताइएको छ । दुवै देशले एक अर्काविरुद्ध सम्झौता नगर्ने बताएका छन् । 

इजरायली आक्रमणमा मारिएका वैज्ञानिकहरु

१. डा. फरीदून अब्बासी–दवानी

जिम्मेवारी : इरानको परमाणु ऊर्जा संस्था (एईओआई)का पूर्व प्रमु्ख, नतान्ज केन्द्रका सिनियर साइन्टिस्ट

ब्यागग्राउन्ड : परमाणु भौतिक शास्त्रमा विद्यावारिधि । १९६९ मा आईआरजीसीमा सहभागी

२. डा. मोहम्मद मेहदी ताहराँची

जिम्मेवारी : परमाणु भौतिक वैज्ञानिक र इस्लामिक आजाद युनिभर्सिटी (इरानको सबैभन्दा ठूलो निजी विश्वविद्यालय) का अध्यक्ष

ब्यागग्राउन्ड:  परमाणु कार्यक्रमसँग सम्बन्धित परियोजनाको रेखदेख गर्थे

३. अब्दुल हमीद मिनुचेहर

जिम्मेवारी : शाहिद बेहिश्ती यु्निभर्सिटीमा न्युक्लियर इन्जिनियरिङ विभागका डीन

ब्यागग्राउन्ड : न्युक्लियर प्लान्टको कार्यक्षमता र सुरक्षामा काम गर्थे

४. अहमदज रजा जोलफ गारी

जिम्मेवारी : शाहिद बेहिश्ती यु्निभर्सिटीमा न्युक्लियर इन्जिनियरिङका प्रोफेसर

ब्यागग्राउन्ड : रिएक्टर डिजाइन र सुरक्षा सम्बन्धित अनुसन्धानकर्ता

५. अमीर हुसैन फगीही

जिम्मेवारी : एईओआईका पूर्व उपाध्यक्ष, परमाणु विज्ञान एवं प्रोधिगिकी संस्थानका प्रमुख 

ब्यागग्राउन्ड : परमाणु विज्ञानको कार्यक्रमको नेतृत्व गरेका थिए 

Ncell 2
Ncell 2

६. मोत्तालेबजादेह [पूरै पहिचान अज्ञात]

जिम्मेवारी : एक अज्ञात परमाणु वैज्ञानिक

ब्यागग्राउन्ड : उनको पहिचान अस्पष्ट छ । उनको मृत्युबारे इरानी रिपोर्टमा मात्र उल्लेख 

७. अली बखूई कातिरीमी

जिम्मेवारी : इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित मेकानिक्स एक्सपर्ट

ब्यागग्राउन्ड : सेन्ट्रीफ्यूज मेसिनको प्राविधिक सञ्चालनमा महत्त्वपूर्ण भूमिकामा कार्यरत थिए

८. सईद बर्जी 

जिम्मेवारी : पदार्थ इन्जिनियरिङ र फिजिक्स एक्सपर्ट

ब्यागग्राउन्ड : बर्जी परमाणु संयन्त्रमा प्रयोग हुने विशेष पदार्थको चेकजाँचमा कार्यरत थिए

९. मन्सुर असगरी

जिम्मेवारी : रिएक्टर फिजिक्सका एक्सपर्ट

ब्यागग्राउन्ड : परमाणु रिएक्टरको सञ्चालन, सुरक्षा र प्लुटोनियम उत्पादनसँग सम्बन्धित प्रविधिमा योगदान दिँदै आएका थिए

१०. मोहम्मद काजमी

जिम्मेवारी : आरजीसीको खुफिया संगठनका प्रमुख । देशको सुरक्षा तय गर्नु । इस्लामी नियम पालना गराउने

ब्यागग्राउन्ड : २०२२ मा महसा अमीनीको हत्यापछि विरोधीहरुलाई कडाइका साथ कारबाही गर्थे

११. इसार तबातबाई–कम्शेह

जिम्मेवारी : अहिलेसम्म स्पष्ट भइसकेको छैन 

ब्यागग्राउन्ड : इरानी मिडियाले उनको नाम मात्र उल्लेख गरेका छन् । परमाणु कार्यक्रमसँग सम्बन्धित भए/नभएको अष्पस्ट । 

जर्मन साइकलिस्ट पक्राउ

इरानले पहिलोपटक जर्मन साइकलिस्टलाई जासूसीको आरोपमा हिरासतमा लिएको स्वीकारेको छ । आरोपीको पहिचान मारेक कफम्यानका रुपमा गरिएको छ । 

उनको दोहोरो नागरिकता रहेको र उनी यहुदी पर्यटकसम्म रहेको इरानले बताएको छ । इरानी सेनासँग सम्बन्धित मेहर न्यूज एजेन्सीले शुक्रबार साइकलिस्टको एक भिडियो जारी गरेको थियो । 

उक्त भिडियोमा इरानको सेनाको ठेगानाको फुटेट रेकर्ड गरेको कुरा स्वीकारेका छन् । इरानले कफम्यान अमेरिकी यहुदी कमान्डोसँग सम्पर्कमा रहेको र उनलाई कहाँ जाने भन्ने कुरा निर्देशन दिइने गरिको पाइएको दाबी गरेको छ । 

यस्तै शनिबार इजरायली आक्रमणबाट इरानको बन्दर–ए–महशहर क्षेत्रलाई निशाना बनाइएको छ । उक्त क्षेत्रमा इरानी सैन्य ठेगानामा आक्रमणको कारण धेरै क्षति पुगेको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा नेपालले १९ लाख ७५ हजार ५१३ थान स्मार्टफोन आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार जेठ मसान्तसम्म ३२ अर्ब आठ करोड रुपैयाँ बराबरका स्मार्टफोन नेपाल भित्रिएका हुन् ।

पछिल्लो ११ महिनाको यो आयात अघिल्लो आव ०८०/८१ को पूरै वर्षको तुलनामा बढी हो । गत आवमा १८ लाख ३९ हजार थान स्मार्टफोन आयात हुँदा २८ अर्ब ६६ करोड रुपैयाँ खर्च भएको थियो ।

स्मार्टफोन आयात वृद्धिसँगै सरकारले चालु आवमा पाँच अर्ब ९८ करोड रुपैयाँभन्दा बढी भन्सार राजस्व संकलन गरेको छ ।

नेपाली बजारमा हाल २० हजारदेखि ३० हजार रुपैयाँसम्मका मोडेलहरूको माग उच्च रहेको छ ।

 

पछिल्लो अध्यावधिक: असार ७, २०८२ १९:३५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताएकी छन् । 

नेपाल र चीन बिच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौमा शनिबार आयोजना गरिएको “अ विन्डो टु चाईना सिजाङ” कार्यक्रमलाई सम्बोधन गर्दै एक चीन निती प्रतिको प्रतिबद्धता दोहोर्‍याएकी हुन् । 

Ncell 2
Ncell 2

उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति चीनको निःशर्त सम्मानको नेपालले कदर गर्ने बताइन् । 

तिब्बत आफैंमा चित्रकला त्यसमा पनि बौद्ध धर्म सम्बन्धी कला सामग्रीहरू, मौलिक र परम्परागत तिब्बती लोकसंगीत, नृत्यका कारण धनी रहेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले यो कार्यक्रमले हिमाली सौन्दर्य, परम्परा र परिवर्तन जस्ता विषयवस्तुका बारेमा सबैलाई जानकारी गराउन तथा  तिब्बतलाई नजिकबाट बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । 

उनले नेपालकी राजकुमारी भृकुटी र तिब्बती राजा सोंछेन गम्पोबीचको विवाहले नेपाली कला र संस्कृतिलाई तिब्बतमा प्रवाह गरेको बताउँदै तिब्बत केवल चीनको आँखी झ्याल नभइ सांस्कृतिक, धार्मिक र मानवताको एउटा अनुपम विरासत भएको बताइन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । तपाईंले मोबाइलमा गर्ने हरेक कल, पठाउने प्रत्येक मेसेज र प्रयोग गर्ने हरेक बाइट डेटाको पछाडि एउटा अदृश्य ‘पावर हाउस’ले २४ सै घण्टा काम गरिरहेको हुन्छ । त्यो यस्तो ठाउँ हो, जहाँ तपाईंको डेटा कहिल्यै सुत्दैन र त्यसलाई चलाउने पूर्वाधार पनि एक सेकेन्डका लागि बन्द हुँदैन । यही डिजिटल संसारको मुटु कस्तो हुन्छ भनेर टेकपानाले हालै एनसेलको नख्खुस्थित अत्याधुनिक डेटा सेन्टरको भ्रमण गरेको छ ।

बाहिरबाट हेर्दा सामान्य देखिने भवन, तर भित्र प्रवेश गर्दा सुरक्षाको तह-तह पार गर्नुपर्छ । बायोमेट्रिक प्रणाली र कडा सुरक्षा जाँचपछि हामी डेटा सेन्टरको भित्री करिडोरमा पुग्यौँ । तर त्यसअघि एउटा अनौठो नियम पालना गर्नुपर्‍यो- जुत्ता खोल्ने । “भित्रका संवेदनशील उपकरणहरूमा धुलोका कणले असर नगरोस् भनेर यसो गरिएको हो,” एनसेलका टेक्नोलोजी तथा आईटी युनिट हेड मदन कुमार घिमिरेले सुरुमै प्रस्ट्याए ।

सेतो करिडोर हुँदै भित्र पस्दा विभिन्न कक्षहरू देखिन्छन्, जहाँ पावर, ब्याट्री, कुलिङ र सर्भरहरूलाई छुट्टाछुट्टै राखिएको छ । यो डेटा सेन्टर विश्वप्रसिद्ध ‘अपटाइम इन्स्टिच्युट’ द्वारा ‘टियर-थ्री’ स्तरको प्रमाणित रहेको उनले सुनाए । उनका अनुसार यसले ९९.९८२% अपटाइमको ग्यारेन्टी दिन्छ । अर्थात्, वर्षमा जम्मा १.६ घण्टाभन्दा कम समय मात्र बन्द हुन सक्ने सम्भावना रहन्छ ।

कहिल्यै नजाने बत्ती: तीन तहको पावर ब्याकअप

डिजिटल सेवाको मेरुदण्ड भनेकै निरन्तर पावर सप्लाई हो । एनसेलले यसका लागि तीन-पत्रे फलामे किल्ला जस्तै मजबुत व्यवस्था गरेको जनाएको छ ।

सरकारी लाइन: लगनखेल सबस्टेसनबाट ११ केभीका दुई ओटा छुट्टाछुट्टै भूमिगत लाइनबाट बिजुली ल्याइएको छ । “यो हाम्रो आफ्नै डेडिकेटेड लाइन हो, अरू कसैसँग शेयर गरिएको छैन,” एनसेल डेटा सेन्टरका टिम हेड हरि चौलागाईंले भने, “एउटा लाइनमा समस्या आए, अर्कोबाट तुरुन्तै बिजुली आपूर्ति हुन्छ ।”

शक्तिशाली जेनेरेटर: यदि दुवै सरकारी लाइनमा समस्या आए ५०,००० लिटर इन्धन क्षमताको भूमिगत ट्यांकसँग जोडिएका १२५० केभीएका पाँचओटा शक्तिशाली जेनेरेटरहरू छन्। यीमध्ये दुई ओटाले नै हालको लोड धान्छ भने तीन ओटा जगेडामा रहन्छन् । चौलागाईंका अनुसार, यो इन्धनले डेटा सेन्टरलाई पाँच दिनसम्म लगातार चलाउन सक्छ ।

ब्याट्री र यूपीएस: सरकारी लाइन जानु र जेनेरेटर चल्नुबीचको ३०-४५ सेकेन्डको ग्यापमा सेवा अवरुद्ध हुन नदिन विशाल ब्याट्री र यूपीएस (Uninterruptible Power Supply) कक्ष छ । यसले बिजुली गएको थाहै नपाई सेवालाई निरन्तरता दिन्छ ।

“हामीले उपकरणलाई मात्र होइन, कुलिङ प्रणालीलाई पनि यूपीएस ब्याकअप दिएका छौं,” घिमिरेले भने, “जसले गर्दा कुनै पनि हालतमा जेरो ल्याटेन्सी (शून्य ढिलाइ) मा काम हुन्छ ।”

डेटा सेन्टरलाई आगलागीबाट बचाउन ‘नोभेक १२३०’ नामक ग्यासमा आधारित फायर सप्रेसन सिस्टम जडान गरिएको छ । यसले उपकरण र मानव स्वास्थ्यलाई असर नगरी तुरुन्तै आगो निभाउँछ । त्यस्तै, नेपालको भूकम्पीय जोखिम (सिस्मिक जोन-४) लाई ध्यानमा राखेर यो डेटा सेन्टर डिजाइन गरिएको छ, जसले गर्दा ठुलो भूकम्पमा पनि सुरक्षित रहन्छ ।

कसका लागि हो यो डेटा सेन्टर ?

एनसेलको यो डेटा सेन्टर साना तथा मझौला उद्योग (SMEs), ठुला कर्पोरेट हाउस, बैंक, वित्तीय संस्था, फिनटेक र ई-कमर्स कम्पनीहरूका लागि बनाइएको हो । “हामीले समग्रमा सबै उद्योगलाई लक्षित गरेका छौं,” एनसेलका सिनियर इन्जिनियर (बिजनेस सलुसन्स) विकाश कर्णले भने ।

एनसेलले हाल ‘इन्फ्रास्ट्रक्चर एज अ सर्भिस’ (IaaS) अन्तर्गत सर्भर राख्ने ठाउँ (कोलोकेसन) र म्यानेज्ड सर्भिस दिइरहेको छ । “हामी छिट्टै नै ‘प्लेटफर्म एज अ सर्भिस’ (PaaS) र ‘सफ्टवेयर एज अ सर्भिस’ (SaaS) मोडेलमा पनि जाँदैछौं,” कर्णले थपे ।

भविष्यको तयारी

नेपालको बढ्दो डिजिटल आवश्यकता र ‘डिजिटल नेपाल फ्रेमवर्क’ को यात्रालाई यो डेटा सेन्टरले बलियो आधार दिएको छ । “हामी क्लाउड-रेडी छौं,” एनसेलका चिफ बिजनेस अफिसर डिओन एसेन्सियोले भने, “नेपालमा डिजिटल कमर्स र पूर्वाधार तीव्र गतिमा बढिरहेको छ, त्यसका लागि हामी पूर्ण रूपमा तयार छौं ।”

एनसेलले भविष्यमा एज कम्प्युटिङको अवधारणामा समेत काम गरिरहेको छ, जहाँ ग्राहकको नजिकै साना डेटा सेन्टरहरू राखेर सेवालाई अझ छिटो र प्रभावकारी बनाइनेछ । “हामीसँग उत्कृष्ट पूर्वाधार मात्र होइन, यसलाई चलाउने दक्ष जनशक्ति पनि छ,” एनसेलका प्रमुख प्राविधिक तथा सूचना अधिकृत अमिर अलीले भने, “हाम्रो लक्ष्य भनेको भविष्यका हरेक डिजिटल चुनौतीको लागि तयार रहनु हो ।”

हेर्नुहोस् भिडि‌ओ

पछिल्लो अध्यावधिक: असार ७, २०८२ १७:५६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको व्यवस्था परिवर्तन भएसम्म भ्रष्टाचार अन्त्य नहुने बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित विद्यार्थीसँग जनप्रतिनिधि : विचार विमर्श कार्यक्रममा लिङ्देनले अहिलेको व्यवस्थाका कारण मुलुकमा भ्रष्टाचार व्याप्त भएको भन्दै व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य नहुने बताएका हुन् । 

Ncell 2
Ncell 2

अख्तियार लगाएत राज्यका महत्वपूर्ण निकायमा प्रमुख राजनीतिक दलको भागवण्डाबाट पदाधिकारी नियुक्ति हुने गरेकाले उनीहरुबाट भ्रष्टाचारीलाई कारबाही हुने सम्भावना कम रहेको उनले बताए । 

लिङ्देनले अहिलको संविधान र व्यवस्था ल्याउने नेताहरुमा समेत समस्या रहेको धारणा राखे । अहिले मुलुकमा कहाँ भ्रष्टाचार छ भन्ने नभइ कहाँ भ्रष्टाचार छैन भन्ने अवस्था आएको उनको भनाइ छ ।

त्यस्तै लिङ्देनले मुलुक संघीय संरचनामा गइसकेपछि जनप्रतिनिधिको संख्या धेरै भएको र उनीहरुलाई सुविधा दिन विदेशीसँग ऋण लिनुपर्ने अवस्था देखिएको जिकिर गरे ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । लोकप्रिय ग्राफिक्स डिजाइन प्लेटफर्म क्यान्भामा​ समस्या देखिएको छ । हाल क्यान्भा लोड गर्दा टाइमआउट हुने त्रुटि (timeout errors) देखिएको छ ।

क्यान्भाले नेपाली समय अनुसार शनिबार अपरान्ह ५:२१ मा एक सूचना जारी गर्दै समस्या पहिचान गरिएको जानकारी दिएको छ । कम्पनीका अनुसार प्रयोगकर्ताले क्यान्भा खोल्न खोज्दा टाइमआउट देखिने समस्या आइरहेको छ ।

“हामी समस्याको बारेमा जानकार छौँ । हाम्रो इन्जिनियरिङ टोली समाधानका लागि सक्रिय रूपमा काम गरिरहेको छ,” क्यान्भाले सूचनामा भनेको छ ।

हालसम्म यो समस्या कुन-कुन देश वा क्षेत्रका प्रयोगकर्तामा बढी प्रभाव परेको छ भन्ने खुलाइएको छैन । तर, प्लेटफर्ममा प्रत्यक्ष पहुँच नहुँदा डिजाइन र प्रेजेन्टेसन निर्माणमा निर्भर व्यावसायिक प्रयोगकर्ता बढी प्रभावित भएका छन् ।

प्रविधि सेवा मनिटर गर्ने डाउनडिटेक्टर पनि क्यान्भासँग सम्बन्धित समस्या रिपोर्टहरू बढेको छ । पछिल्लो २४ घण्टामा सामान्य समयको तुलनामा अत्यधिक रिपोर्ट गरिएका छन् । यसमध्ये ​६३ प्रतिशत प्रयोगकर्ताले वेबसाइट लोड नहुने समस्या रिपोर्ट गरेका छन् भने २० प्रतिशतले सर्भर कनेक्सनमा समस्या र १६ प्रतिशतले एपमा समस्या देखिएको उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: असार ७, २०८२ १७:५३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले देशका लागि काम गरिरहेको बताएका छन् । 

विश्व योग दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफूले सुशासन र विकासका लागि काम गर्दा गाली आइरहेको सुनाए ।

Ncell 2
Ncell 2

उनले आफूलाई गाली गर्न मिसन चलाउनेहरू देख्दा माया लाग्ने बताए ।

उनले भने, ’ मलाई गाली गरिराखेका हुन्छन् । मिसन छ गाली गर्ने, त्यो कुरा म बुझ्छु । माया लाग्छ गाली गर्नेहरूप्रति, तर म प्रशन्न रहन्छु । किनभने मैले उसलाई बुझाउन सकिनँ, त्यतिमात्रै कुरा हो । मेरो बुत्ताभन्दा सायद बाहिरको कुरा हो । म कतिलाई बुझाउन सक्छु, कतिलाई सम्झाउन सक्छु, कतिलाई भेट्न सक्छु, सबैलाई बुझाउन सक्दिनँ ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट