काठमाडौँ । अब आकस्मिक बाहेकका सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइको काम सुरक्षा मुद्रण केन्द्रबाट हुने भएको छ । गत जेठमा यातायात व्यवस्था विभाग र केन्द्रबिच भएको सम्झौता अनुसार लाइसेन्स छपाइको काम केन्द्रबाट पनि हुने भएको हो ।

आकस्मिक लाइसेन्स छपाइको काम भने यातायात व्यवस्था विभागबाट नै हुने विभागका सूचना अधिकारी गणेशमान सिंह राईले बताए । “अहिले दैनिक ४०० देखि ५०० सम्म आकस्मिक लाइसेन्स छापिरहेका छौँ । तर, विभागले करिब ३० लाख जति लाइसेन्स छाप्न बाँकी नै छ,” उनले भने । बाँकी लाइसेन्स छपाइका लागि केन्द्रसँग सैद्धान्तिक सहमति भएको उनले जानकारी दिए ।
उनका अनुसार सुरक्षा मुद्रण केन्द्रबाट लाइसेन्स छपाइका लागि तयारी भइरहेको छ । लाइसेन्स छपाइका लागि केन्द्रलाई यातायात विभागले डेटा पठाउन बाँकी रहेको बताउँदै उनले भने, “हामीले उपलब्ध गराएको डेटा अनुसार उहाँहरूले छाप्नुहुन्छ । अहिलेसम्म डेटा माइग्रेट गरिएको छैन ।” असार मसान्तसम्म केन्द्रबाट केही प्रति लाइसेन्स छापेर विभागलाई उपलब्ध गराउने गरी काम भइरहेको उनले बताए ।
यस्तै, केन्द्रबाट छापिने लाइसेन्समा चिप्सको सट्टा क्यूआर कोड राखिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत जेठमा ‘सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४’ संशोधन गर्दै स्मार्ट सवारी चालक अनुमतिपत्रमा चिप्सको सट्टा क्यूआर कोड पनि राख्न सकिने व्यवस्था गरेको छ । त्यसपछि लाइसेन्समा चिप्स वा क्यूआर कोड दुवै राख्न सकिने कानुनी बाटो खुलेको थियो । सोही संशोधन अनुसार केन्द्रले छाप्ने लाइसेन्समा क्यूआर कोडको प्रयोग गर्न लागिएको उनले जानकारी दिए ।

चिप्सभन्दा क्यूआर कोड बढी उपयोगी हुने भन्दै उनले भने, “विभागले छाप्ने लाइसेन्समा चिप्स राखिएको छ, तर यो टेक्नोलोजी फ्रेन्ड्ली भएन । हामीले यसको अधिकतम सदुपयोग गर्न सकेनौँ ।”
चिप्स राखिएका लाइसेन्स छपाइका लागि लागत पनि धेरै पर्ने भएकाले प्रदेशबाट छापिने लाइसेन्समा पनि क्यूआर कोड राख्न लागिएको उनले बताए । तर, यातायात विभागबाट छापिने लाइसेन्स भने चिप्ससहित नै छापिने छन् ।
अब आउने नयाँ लाइसेन्सहरू प्रदेश सरकारले नै छाप्ने गरी काम समेत भइरहेको उनको भनाइ छ । उनले भने, “आफैँले छाप्ने गरी सातै प्रदेशले लाइसेन्स छपाइको तयारी गरिरहेका छन् ।”
पछिल्लो अध्यावधिक: असार ६, २०८२ १६:४५
सामाग्री श्रोत :
टेक पाना