काठमाडौँ । एसुस नेपालको गेमिङ ब्रान्ड रिपब्लिक अफ गेमर्स (रग) ले आफ्नो २०२५ को नयाँ ‘रग स्ट्रिक्स’ ल्यापटप सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘रग स्ट्रिक्स स्कार १६’ (ROG Strix Scar 16) र ‘स्ट्रिक्स जी१६’ (ROG Strix G16)मोडेलहरू समावेश गरिएको यो नयाँ लाइनअपमा अत्याधुनिक पर्फर्मेन्स, नयाँ चेसिस डिजाइन र प्रयोगकर्ताका लागि सहजै अपग्रेड गर्न मिल्ने जस्ता नयाँ विशेषता रहेको कम्पनीले जनाएको छ ।

१६ इन्च डिस्प्ले सहितका ल्यापटपमा इन्टेलको पछिल्लो पुस्ताको कोर अल्ट्रा नाइन प्रोसेसर २७५एचएक्स र एनभिदियाको जिफोर्स आरटीएक्स ५० सिरिज जीपीयू प्रयोग गरिएको छ । यसअन्तर्गत स्ट्रिक्स स्कार १६ मा आरटीएक्स ५०८० टीआई (१६ जीबी) र स्ट्रिक्स जी१६ मा आरटीएक्स ५०७० टीआई जीपीयू (१२ जीबी) उपलब्ध छ ।
स्ट्रिक्स स्कार १६ मा ३२ जीबी डीडीआर फाइभ र्याम, २ टीबी एनभीएमई एसएसडी स्टोरेज उपलब्ध हुँदा स्ट्रिक्स जी१६ मा १६ जीबी र्याम र १ टीबी स्टोरेज पाउन सकिन्छ ।
ल्यापटप तातिने समस्यालाई समाधान गर्न यस सिरिजमा ‘ट्राइ-फ्यान टेक्नोलोजी’ सहितको नयाँ कुलिङ सिस्टम राखिएको छ । जसले २४० वाटसम्मको पावरमा पनि ल्यापटपलाई चिसो र शान्त राख्न मद्दत गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका अनुसार ल्यापटपको डिजाइनमा पनि परिवर्तन गरिएको छ । प्रिमियम र आकर्षक देखाउन ल्यापटपको वरिपरि ‘फुल-सराउन्ड आरजीबी लाइटबार’ जडान गरिएको छ । स्ट्रिक्स स्कार १६ मा ‘एनिमे भिजन’ डिस्प्ले पनि छ, जसमा ८१० ओटा एलईडीहरू मार्फत प्रयोगकर्ताले आफू अनुकूल प्रकाश प्रभाव (lighting array)हरू देखाउन सक्छन् ।
डिस्प्लेको गुणस्तरलाई अझै सुधार गर्न ‘नेबुला एचडीआर डिस्प्ले’ मा एसीआर (एम्बियन्ट कन्ट्रास्ट रेसियो) प्रविधि थपिएको छ । यसले स्क्रिनमा हुने परावर्तनलाई ५५ प्रतिशतले घटाउने र कन्ट्रास्टलाई ४.५ गुणाले बढाउने बताइएको छ ।
ल्यापटपको सबैभन्दा आकर्षक विशेषतामध्ये एक ‘टुल-लेस अपग्रेड’ सुविधा हो । प्रयोगकर्ताले अब कुनै पनि औजार (स्क्रु-ड्राइभर) बिना नै ल्यापटपको पछाडिको प्यानल खोलेर सजिलैसँग र्याम र एसएसडी अपग्रेड गर्न सक्छन् । गेमिङ ल्यापटपको दुनियाँमा यो पहिलो पटक प्रस्तुत गरिएको सुविधा भएको बताउँदै कम्पनीले सामान्य प्रयोगकर्तालाई पनि आफ्नो ल्यापटप अपग्रेड गर्न सहज हुने विश्वास लिएको छ ।
रग स्ट्रिक्स स्कार १६ र स्ट्रिक्स जी१६ ल्यापटपहरू नेपालभरका एसुस आधिकारिक स्टोरहरूका साथै विभिन्न ईकमर्स प्लेटफर्ममा उपलब्ध भइसकेको छ । यसमा प्रयोगकर्ताको सुरक्षा र सुविधा ध्यानमा राख्दै २ वर्षको अन्तर्राष्ट्रिय वारेन्टी र १ वर्षको ‘पर्फेक्ट वारेन्टी’ (दुर्घटनावश भएको क्षति कभर हुने) उपलब्ध छ । साथै, ब्याकलिट किबोर्ड, रग ब्याकप्याक, माउस, हेडसेट जस्ता गेमिङ एक्सेसोरिजसमेत प्याकेजमा समावेश छन् ।
मोडेल | स्पेक्स | मूल्य (NPR) |
---|---|---|
ROG Strix G16 (2025) | (G615LR) Intel Core Ultra 9 275HX, RTX 5070 Ti, 16GB RAM, 1TB SSD, 16″ WQXGA Display | 416,900 |
ROG Strix Scar 16 (2025) | (G635LW) Intel Core Ultra 9 275HX, 32GB RAM, 2TB NVMe SSD, 16.0″ WQXGA 240Hz, RTX 5080 (16GB) | 649,900 |
पछिल्लो अध्यावधिक: असार ४, २०८२ १३:३७
सामाग्री श्रोत :
टेक पाना