काठमाडौँ । मेटाले ओक्लीसँगको सहकार्यमा स्मार्ट ग्लास (चस्मा) सार्वजनिक गर्ने भएको छ । सोमबार सार्वजनिक प्रोमो भिडिओ मार्फत कम्पनीको नयाँ स्मार्ट ग्लास यही २० जुनमा लन्च हुने सङ्केत मिलेको हो ।

मेटाका सीटीओ एन्ड्रयू बोसवर्थले मेटा र ओक्लीको लोगो देखाउँदै एउटा प्रोमो भिडिओ सामाजिक सञ्जालमा शेयर गरेका छन् । सँगसँगै ओक्ली मेटा नामक इन्स्टाग्राम अकाउन्टमा ‘द नेक्स्ट इभोलुसन इज कमिङ अन जुन २०’ भनेर उल्लेख गरेको छ ।
ओक्लीका नयाँ स्मार्ट ग्लासहरू खेलाडी र साइक्लिङ गर्नेहरूलाई लक्षित गरी बनाइएको चर्चा छ । यसअघि मेटाले रे-बानसँगको सहकार्यमा स्मार्ट ग्लास बजारमा ल्याएको थियो । त्यसमा क्यामेरा चस्माको छेउमा रहेको थियो । तर ओक्लीसँगको सहकार्यमा आउने नयाँ चस्मामा भने फ्रेमको केन्द्रमा क्यामेरा समावेश गरिएको उल्लेख छ ।
यी चस्माहरू ओक्लीको स्फेरा (Sphaera) मोडेलमा आधारित हुने कुराको सङ्केत विभिन्न लिकहरूले दिएका छन् । ब्लुमबर्गले जनवरीमै मेटा र ओक्लीबिचको सम्भावित सहकार्यको समाचार प्रकाशित गरेको थियो ।

यस्ता छन् सम्भावित फिचर
-
क्यामेरा केन्द्रित डिजाइन: ओक्ली मेटा स्मार्ट ग्लासमा क्यामेरा फ्रेमको बीचमा राखिने अपेक्षा गरिएको छ । यो डिजाइन परिवर्तन एथ्लेटिक भिडिओ रेकर्ड गर्ने प्रयोगकर्ताहरूका लागि उपयुक्त हुने ठानिएको छ ।
-
खेलाडी र साइकल चालकहरूका लागि लक्षित: रे-बान मेटा ग्लास दौडँदा राम्रोसँग फिट नभएको गुनासो आएकोमा, ओक्ली मेटा स्मार्ट ग्लासको डिजाइन एथ्लेटिक गतिविधिहरूका लागि बढी उपयुक्त हुने अपेक्षा गरिएको छ । यसले गोप्रोलाई एक्सन स्पोर्ट्स बजारमा चुनौती दिन सक्ने सम्भावना पनि छ ।
-
रेकर्डिङ क्षमता: रे-बान मेटा स्मार्ट ग्लासले उच्च गुणस्तरको फोटो र भिडिओ खिच्न सक्छ । ओक्ली भर्सनमा पनि यसै प्रकारको रेकर्डिङ क्षमता हुने अपेक्षा गरिएको छ । ‘हे मेटा, टेक अ भिडिओ’ भन्दै चस्माबाट ह्यान्ड्स-फ्रि फोटो र भिडिओ खिच्न सकिनेछ । साथै यसमा अडियो प्लेब्याक जस्ता फिचर समेत समावेश हुनेछन् ।
-
एआई असिस्टेन्ट: रे-बान मेटा स्मार्ट ग्लासमा एआई असिस्टेन्टको सुविधा छ । यसले अडियो र भिडिओ प्रम्प्टहरू प्रोसेस गर्न र टेक्स्ट वा अडियो आउटपुट उपलब्ध गराउन सक्छ । यसमा ‘लुक एन्ड आस्क’ फिचर समावेश छ, जसले प्रयोगकर्ताहरूलाई फोटो खिचेर त्यसको बारेमा प्रश्न सोध्न अनुमति दिन्छ । ओक्ली भर्सनमा पनि यस्तै एआई फिचरहरू समावेश हुने अपेक्षा गरिएको छ ।
-
अडियो गुणस्तर: यसमा स्पिकर र माइक्रोफोन समावेश हुनेछन् । अडियो गुणस्तर उत्कृष्ट हुने र त्यसले हेडफोनको विकल्पको रूपमा काम गर्न सक्नेछ । फोन कलको लागि माइक्रोफोनको गुणस्तर राम्रो रहेको र ब्याकग्राउन्ड आवाजलाई राम्रोसँग अलग गर्न सक्ने बताइएको छ ।
-
ब्याट्री लाइफ: स्मार्ट ग्लासमा ब्याट्री र अन्य इलेक्ट्रोनिक्स उपकरण फ्रेमका हातहरूमा (arms) राखिएको हुन्छ । सामान्य प्रयोगमा यसको ब्याट्री लाइफ ४ देखि ६ घण्टासम्म रहेको र चार्जिङ केसबाट थप ब्याट्री लाइफ प्राप्त हुन सक्छ ।
-
मूल्य: हार्डवेयरमा खासै अपग्रेडको अपेक्षा नगरिएकाले ओक्ली मेटा ग्लासको मूल्य हाल उपलब्ध रे-बान मेटा ग्लासकै हाराहारीमा हुनसक्छ । जसको मूल्य करिब २९९ अमेरिकी डलरबाट सुरु हुने अनुमान छ ।
पछिल्लो अध्यावधिक: असार ३, २०८२ १३:९
सामाग्री श्रोत :
टेक पाना