२०८२ असार ३ मंगलवार
२०८२ असार ३ मंगलवार

नेपालमा ‘भिओ ३’ एआई टुलको दुरुपयोग बढ्दै, आउन थाले अश्लील र अपाच्य भिडिओ

काठमाडौँ । गुगलले सार्वजनिक गरेको भिडिओ बनाउने एआई टुल ‘भिओ ३’ (Veo 3) को नेपालमा दुरुपयोग बढेको छ । टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जालमा भाइरल हुने होडमा केही प्रयोगकर्ताले अश्लील र अपाच्य संवाद प्रयोग गरी भिडिओ बनाइरहेका छन् । 

गुगलले गत २० मे २०२५ मा आफ्नो भिडिओ क्रियसन एआई टुल ‘भिओ ३’ सार्वजनिक गरेको थियो । यसअघि बजारमा शब्दबाट भिडिओ बनाउने सयौँ टुल भए पनि ‘भिओ ३’ ले भिडिओसँगै त्यसमा उपयुक्त हुने अडियो र संवादसमेत तयार पार्ने सुविधा दिएको छ ।

गुगल डिपमाइन्डका सीईओ डेमिस हासाबिसले यसलाई ‘भिडिओ जेनेरेसनको शान्त युगको अन्त्य’ भनी टिप्पणी गरेका थिए । उनले किन पनि यसो भनेका थिए भने यसअघिका टुलहरूले आवाज बिनाका भिडिओ मात्र बनाउँथे । ‘भिओ ३’ले भिडिओमा देखिने पात्रको ओठको चाल (लिप सिङ्क) समेत दुरुस्तै मिलाउन सक्छ । त्यसैले पनि यो अन्य भिडिओ क्रियसन एआई टुलभन्दा पृथक छ । 

सुरुवातमा मासिक २५० डलरको महँगो शुल्कमा उपलब्ध यो टुललाई गुगलले पछि मासिक १९.९९ डलरमा विश्वव्यापी रूपमा उपलब्ध गरायो । एक महिनाको निःशुल्क परीक्षण (ट्रायल) अवधिका कारण यसको प्रयोगकर्ता ह्वात्तै बढेका हुन् । यही सुविधाको फाइदा उठाउँदै नेपालमा पनि यसको प्रयोग व्यापक बनेको छ ।

नेपालमा यस टुलको सकारात्मक प्रयोग पनि भइरहेको छ । प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा प्रचलित चुट्किला तथा व्यङ्ग्यलाई भिडिओमा उतारेर मनोरञ्जन प्रदान गरिरहेका छन् ।

चुनावी अभियानमा परम्परागत भोट माग्ने शैलीलाई व्यङ्ग्य गर्दै राम्रो, योग्य र इमानदार व्यक्तिलाई भोट गर्न प्रेरित गर्ने किसिमका भिडिओ भाइरल भइरहेका छन् । त्यस्तै सार्वजनिक यातायातका समस्यालाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएका भिडिओ लोकप्रिय छन् ।

उदाहरणका लागि एक भाइरल भिडिओमा ‘यति’ काठमाडौँको बसमा चढ्छ जहाँ सहचालकले सिट खाली छ भन्दै बोलाउँछ । तर भित्र खुट्टा राख्ने ठाउँसमेत हुँदैन । ‘फेरि झुक्यायो नि मलाई’ जस्ता संवादले भिडिओलाई रोचक बनाएको छ । यसमा हिमालमा पाइने भनिएको मिथक प्राणी ‘यति’को प्रयोग गरिएको छ । त्यसले पनि प्रयोगकर्तलाई रमाइलो अनुभव दिइरहेको छ । त्यस्तै वर्षा याममा बाटोको अवस्था बिग्रिँदा सर्वसाधारणलाई पर्ने असरबारेका भिडिओ पनि भाइरल भइरहेका छन् ।

सडक छेउमा पत्रकारले त्यहाँको अवस्थाको जानकारी दिंदै गरेको बेला सवारी, सर्वसाधारण ठुलो खाल्डोमा परेका भिडिओ त्यस्तै भाइरल भइरहेका छन् । यस्ता भिडिओ नेपालमा मात्र नभए विश्वव्यापी रूपमा भाइरल भइरहेका छन् । भिडिओ वास्तविक जस्तै देखिने भएकाले यसले सामाजिक सञ्जाल प्रयोगकर्तामा पार्ने असरबारे पनि चर्चा भइरहेका छन् । यद्यपि केहीले यस्ता भिडिओको सहायताले देशको वास्तविक अवस्था दर्साइरहेको भन्दै चर्चा पनि गरेका छन् ।  

सकारात्मक पक्षसँगै यसको दुरुपयोगले विकराल रूप लिने जोखिम पनि बढेको छ । छिटो भाइरल हुने आशमा केही प्रयोगकर्ताले समाजमा पचाउन नसकिने, छाडा र अश्लील संवाद राखेर भिडिओ बनाइरहेका छन् । मोटे यति नामक टिकटक अकाउन्टले त्यस्तै अश्लील आशय लाग्ने भिडिओ राखेको छ । भिडिओमा यतिलाई बसपार्कमा यौन व्यवसायीले प्रस्ताव राखिरहेको देखाइएको छ । यसमा प्रयोग गरिएको संवादले पनि भिडिओ अपाच्य किसिमको बनाएको छ । यस भिडिओमा एक लाख बढी भ्युज छ । त्यही अकाउन्टबाट यति काठमाडौँको ठमेलमा आएर भ्लग बनाएको देखाइएको छ । त्यसमा पनि अपाच्य किसिमका संवाद प्रयोग गरिएको देखिन्छ ।

त्यसैगरी ‘यति भ्लग्स नेपाल’ नामक टिकटक अकाउन्टबाट पनि त्यस्तै अपाच्य शब्दसहितको डायलग राखिएको छ । सो भिडिओमा १४ लाख बढी भ्युज र झन्डै एक लाख लाइक छ । यस अकाउन्टबाट अपलोड हुने अधिकांश भिडिओमा छाडा र अश्लील अर्थ लाग्ने नेपाली डायलग प्रयोग गरिएको देखिन्छ । ती भिडिओमा लाखौं भ्युज र लाइक आएको देखिन्छ । 

अङ्ग्रेजी भाषामा सन्दर्भमा छाडा वा अश्लील अर्थ लाग्ने संवाद राख्दा टुलले पहिचान गर्छ र भिडिओ बनाउँदैन । तर, नेपाली भाषा त्यसमा पनि मौलिक मानिने शब्द प्रयोग गरेर प्रयोगकर्ताले त्यस्ता अश्लील र छाडा अर्थ लाग्ने भिडिओ बनाइरहेको देखिन्छ । त्यसैगरी वर्षाका कारण बाढी आएर गाउँ नै सोत्तर भएको देखाउने भिडिओ, उद्घाटन नै नभएको ग्वार्को फ्लाइओभरको उद्घाटन भएर सञ्चालनमा आइरहेको भन्दै बनाइएको भिडिओले मिथ्या सूचना फैलाइरहेका छन् । 

यस्ता सामग्रीले सामाजिक सञ्जालको वातावरण दूषित बनाउनुका साथै सामाजिक सञ्जाल प्रयोगकर्ता, बालबालिका तथा किशोरकिशोरीमा नकारात्मक असर पार्ने सम्भावना पनि उत्तिकै छ ।

पछिल्लो अध्यावधिक: असार ३, २०८२ ९:४३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट