धरान । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानमा आधारित सङ्घीयता सशक्त समावेशी र न्यायपूर्ण नेपाल निर्माणका लागि अनिवार्य रहेको बताए।

धरानमा आज जनता समाजवादी पार्टी लिम्बुवान् राष्ट्रिय समिति एकताको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा अध्यक्ष यादवले विविधतामा एकता बोकेको नेपालको सफल भविष्य सुनिश्चित गर्न सबै जातजाति, भाषाभाषी र समुदायको समान सहभागिता आवश्यक रहेको धारणा राखे।
शासन प्रणाली, शिक्षा, प्रशासन र न्यायालयजस्ता राज्यका अङ्गहरुमा विविध समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने उल्लेख गर्दै समान अवसर र समावेशितामा आधारित शासन व्यवस्था नै सुदृढ लोकतन्त्रको जग रहेको बताए।
अझै पनि खस भाषाको एकाधिकार सरकारी कार्यालय र शिक्षण संस्थानमा कायम रहँदा सीमावर्ती अल्पसङ्ख्यक र ऐतिहासिक रुपमा पछाडि पारिएका समुदायको समुन्नति सुस्त भइरहेको जिकिर गर्दै उनले यसलाई समावेशी र पहिचानमूलक संरचनाबाट मात्र सुधार गर्न सकिने स्पष्ट पारे। अध्यक्ष यादवले किरात लिम्बुवान् क्षेत्रको ऐतिहासिक पृष्ठभूमि नेपालको वर्तमान सीमाङ्कनभन्दा पुरानो रहेको उल्लेख गरे।

उनले भने, ‘राज्यको नीति तथा निर्णय प्रक्रियामा विविध समुदायका प्रतिनिधि उपस्थित हुनुपर्छ। जबसम्म सबै समुदायको आवाज प्रतिनिधत्व हुँदैन तबसम्म लोकतन्त्र अधुरो हुन्छ।’
सामाग्री श्रोत :
पहिचानमा आधारित सङ्घीयता समावेशी र सशक्त राष्ट्र निमार्णको आधार होः अध्यक्ष यादव