काठमाडौँ । मेक्सिकोमा डेटिङ एपमार्फत अपहरणका घटनाहरू बढेपछि अमेरिकी सरकारले आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेको छ । पछिल्ला महिनाहरूमा मेक्सिकोको पुएर्तो भायार्ता र नुएभो नायरित क्षेत्रमा अमेरिकन नागरिकहरू डेटिङ एपमार्फत भेटिएका व्यक्तिमार्फत अपहरणमा परेका पुष्टि भएपछि यस्तो चेतावनी जारी गरिएको हो ।

ग्वाडालाजारास्थित अमेरिकी महावाणिज्यदूत कार्यालयले जारी गरेको सूचनामा लेखिएको छ, “पीडितहरू डेटिङ एपमा भेटिएका व्यक्तिहरू मार्फत अपहरणमा परेका छन् । यी घटनाहरू विशेष क्षेत्रसम्म सीमित छैनन् ।”
सुरक्षा चेतावनीमा उल्लेख गरिएको छ कि अपहरणपछि पीडित तथा उनीहरूको परिवारलाई ठूलो रकम फिरौती स्वरूप तिर्न बाध्य पारिएको छ ।
पिउ रिसर्च सेन्टर (Pew Research Center) को तथ्याङ्कअनुसार हाल अमेरिकामा तीनमध्ये एक व्यक्तिले कुनै न कुनै डेटिङ एप प्रयोग गरेका छन् । डिजिटल युगमा डेटिङ एपहरू लोकप्रिय बन्दै गइरहे पनि ठगी, जबरजस्ती र अपहरणका घटनाहरू पनि क्रमशः बढ्दै गएका छन् ।

कार्यालयले डेटिङ एपमार्फत मेक्सिकोमा कसैसँग भेट्न जाँदा अत्यधिक सावधानी अपनाउन सुझाव दिएको छ । “यात्रा गर्दा सावधानी अपनाउनुहोस्, र स्थानीय सुरक्षा नियमहरूबारे जानकारी लिनुहोस्,” कन्सुलेटको चेतावनीमा भनिएको छ।
साथै अपरिचितसँग सार्वजनिक स्थानमा मात्र भेट्न, होटल कोठा वा एकान्त स्थानहरूमा नजान, भेटघाटको योजना, गन्तव्य र भेट्ने व्यक्तिको विवरण आफ्ना नजिकका साथी वा आफन्तलाई जानकारी दिन, शंका लागेमा तत्काल त्यहाँबाट टाढा हुन लगायतका सुझाव पनि दिइएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २५, २०८२ ११:७
सामाग्री श्रोत :
टेक पाना