काठमाडौँ । एप्पलले आफ्ना प्रमुख एपहरूमा ठुलो डिजाइन परिवर्तन ल्याउने तयारी गरेको छ । आगामी सोमबारदेखि हुने डब्लूडब्लूडीसी कन्फ्रेन्समार्फत कम्पनीले ‘फोन’ (Phone) ‘क्यामेरा’ (Camera), सफारी (Safari) जस्ता एपमा नयाँ डिजाइन ल्याउने तयारी गरेको हो ।

ब्लुमबर्गको रिपोर्ट अनुसार, फोन एपमा अब प्रयोगकर्ताले फेभरेट कन्ट्याक्टहरू, रिसेन्ट कलहरू र भ्वाइसमेलहरू एउटै स्क्रोल गर्न मिल्ने विन्डोमा हेर्न सक्नेछन् । यो नयाँ इन्टरफेस वैकल्पिक हुनेछ, जसलाई प्रयोगकर्ताले सेटिङबाट पुरानै स्वरूपमा फिर्ता गर्न सक्नेछन् ।
सफारी ब्राउजरमा पनि अझै पारदर्शी र ग्लासी एड्रेस बार ल्याउने तयारी छ । यो भिजन ओएस (visionOS) शैलीसँग मिल्दोजुल्दो हुनेछ । कम्पनीले क्यामेरा एपलाई समेत थप सरल बनाउने योजना बनाएको छ । ‘Messages’ एपमा पोल राख्न मिल्ने फिचर र सबै डिभाइसमा ब्याकग्राउन्ड इमेज सिङ्क हुने सुविधा पनि थपिने भएको छ ।
एप्पलले ‘Preview’ एपलाई आईप्याडओएस र आईओएसमा ल्याउने तयारी समेत गरेको छ । यसबाट मोबाइलमै पीडीएफ हेर्न र एनोटेसन गर्न सकिनेछ । साथै, नयाँ ‘Games’ एपमा होम, आर्केड, प्ले टुगेदर, लाइब्रेरी र सर्च ट्याबहरू समावेश हुने अनुमान गरिएको छ । एप आइकनहरूमा ठुलो परिवर्तन नहुने र ती हालजस्तै नै रहने ब्लुमबर्गले जनाएको छ ।

यसपटकको डब्लूडब्लूडीसी अपरेटिङ सिस्टमकै रूपान्तरणमा बढी केन्द्रित हुने चर्चा छ । यद्यपि, फोन कल र टेक्स्टहरूमा लाइभ ट्रान्सलेट जस्ता केही एआई फिचरहरू भने प्रस्तुत हुनेछन् । सिरीको पूर्ण एआई संस्करण भने आगामी कुनै अर्को कार्यक्रममा मात्र देखिने सम्भावना रहेको ब्लुम्बर्गले उल्लेख गरेको छ ।
डेभलपर कन्फ्रेन्स एप्पलको सफ्टवेयर अपडेट र नयाँ सुविधाहरू प्रस्तुत गर्ने एउटा महत्त्वपूर्ण वार्षिक कार्यक्रम हो । विगतमा यस्तै कार्यक्रमबीच भिजन प्रो र एप्पल सिलिकन जस्ता हार्डवेयर समेत घोषणा भएका थिए ।
तर यस वर्षको डब्लूडब्लूडीसी २०२५ पूर्ण रूपमा सफ्टवेयर लक्षित हुने अनुमान गरिएको छ । नयाँ आईफोनको प्रतीक्षामा रहेकाहरूले यस कार्यक्रममा केही नयाँ देख्ने छैनन् । किनभने आईफोन लन्च कार्यक्रम सामान्यतया सेप्टेम्बरमा हुने गर्दछ ।
यस वर्षको डब्लूडब्लूडीसीको आकर्षण
द वायरका अनुसार यो डेभलपर कन्फ्रेन्समार्फत एप्पलको अपरेटिङ सिस्टममा महत्त्वपूर्ण परिवर्तनहरू सार्वजनिक हुन सक्छन् । कम्पनी आईओएस १८ बाट आईओएस १९ मा नगई सिधै आईओएस २६ मा जाने अपेक्षा गरिएको छ । यो नयाँ नामाकरणले आउँदा वर्षहरू (२७, २८, २९) का लागि पनि सोही बाटो पछ्याउनेछ ।
त्यस्तै एप्पलको सफ्टवेयरको लुक्समा ठुलो परिवर्तन आउने अनुमान गरिएको छ । भिजुअलमा आउने ती परिवर्तनले एप्पलका विभिन्न उपकरणहरूको इन्टरफेसमा एकरूपता ल्याउनेछ । यो लुक्स भिजन प्रोको अपरेटिङ सिस्टममा आधारित हुन सक्ने सम्भावना छ । यद्यपि मिक्स रियालिटीका लागि बनाइएको डिजाइन स्मार्टफोन र स्मार्टवाच जस्ता अन्य उत्पादनहरूमा कसरी समावेश गरिएला भन्ने स्पष्ट छैन ।
एप्पलले सोसल गेमिङको दिशामा पनि प्रयास गर्न सक्छ । कम्पनीले सन् २०१० मा सुरु गरेको आफ्नो हालको गेम सेन्टर बन्द गरी आईफोन, आईप्याड, म्याक, र एप्पल टिभी डिभाइसहरूमा नयाँ, प्रि-इन्स्टल गेमिङ एप ल्याउन सक्नेछ ।
यसैगरी थर्ड-पार्टी सफ्टवेयर विशेषज्ञहरूले आईफोन एपहरू भित्र एआई फिचर सिर्जना गर्न सक्ने डेभलपर किटमा पहुँच पाउने सम्भावना छ । यसका लागि एप्पलका लार्ज ल्याङ्वेज मोडेल प्रयोग गरिनेछ । एप्पल इन्टेलिजेन्स फिचरहरू सुरुमा लन्च हुँदा आईफोन लक स्क्रिनमा त्रुटिपूर्ण सारांशहरू देखिएका थिए । प्रयोगकर्ताहरूका साथै बीबीसी जस्ता मिडियाहरूले त्यसको आलोचना भएको थिए ।
केके आउँदैछ नयाँ ?
कम्पनीका नयाँ स्मार्टफोन र अन्य ग्याजेटहरू यस वर्ष पछि हुने कार्यक्रममार्फत घोषणा गरिने सम्भावना छ । यस सम्मेलनअघि कुनै पनि नयाँ एप्पल डिभाइसको बारेमा जानकारी बाहिरिएको छैन, त्यसैले हार्डवेयर उत्पादनहरू सार्वजनिक हुने सम्भावना कम छ ।
कम्पनीले यो कार्यक्रम मार्फत सफ्टवेयर सम्बन्धी कुनै सरप्राइज भने दिन सक्छ । तैपनि नयाँ सिरीको घोषणा हुने सम्भावना भने कमै रहेको बताइएको छ । एप्पलले आफ्नो भ्वाइस असिस्टेन्टका लागि जेनेरेटिभ एआईमा काम गरिरहेको छ ।
एआई सम्बन्धी घोषणा प्रायः डेभलपर-केन्द्रित टुलहरूसँग सम्बन्धित हुनेछन् । आईफोनको ब्याट्री लाइफ विस्तार गर्न मद्दत गर्ने एआईमा आधारित ट्रयाकरको बाहेक यस वर्षको डेभलपर कन्फ्रेन्स उपभोक्ताहरूका लागि एआईमा केन्द्रित हुने अपेक्षा गरिएको छैन ।
कसरी हेर्ने एप्पलको इभेन्ट ?
यस वर्षको डेभलपर कन्फ्रेन्सका लागि एप्पलको किनोट ९ जुन, सोमबार राति १०ः४५ बजेको समयमा लाइभ स्ट्रिम गरिनेछ । यो सिधै एप्पलको वेबसाइट वा कम्पनीको युट्युब च्यानलमार्फत हेर्न सकिनेछ ।
पछिल्लो अध्यावधिक: जेठ २४, २०८२ १८:४५
सामाग्री श्रोत :
टेक पाना