काठमाडौँ । गएको बुधबार । साथीहरूसँग रमाइलो गर्न र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेलाडीलाई नजिकबाट नियाल्ने रहरले आधा दिनको बिदा लिएर कार्यालयबाट निस्किएकी २७ वर्षीया कमाक्षी देवी अब यो संसारमा छैनन् । उनको ल्यापटप अमेजन अफिसको टेबलमा जस्ताको तस्तै छ । तर, त्यो टेबलमा बसेर काम गर्ने उनी अब कहिल्यै फर्किने छैनन् ।

भारतको बेङ्गलुरुस्थित चिन्नास्वामी स्टेडियम बाहिर आरसीबीको विजय उत्सवमा भएको भागदौडमा परी अमेजनकी क्वालिटी स्पेसलिस्ट कमाक्षी देवीको दुःखद निधन भएको हो ।
“उनी आरसीबी र विराट कोहलीकी ठुलो समर्थक थिइन्,” उनकी साथीले टाइम्स अफ इन्डियालाई भनिन्, “आरसीबीले चिन्नास्वामी स्टेडियममा प्रवेशका लागि टिकेट बाँडिरहेको छ भन्ने थाहा पाएपछि उनी त्यहीं पुगेर टिकेट लिन उत्सुक थिइन् ।”
कमाक्षीका साथीका अनुसार उनले पहिले अनलाइनबाट टिकेट लिन पनि खोजेकी थिइन् । तर, टिकेट सकिएपछि स्टेडियमबाटै लिने योजना बनाएकी थिइन् ।

कमाक्षीका काकाका छोरा वीरबाहु टीकाले भारतीय सञ्चार माध्यमलाई बताए अनुसार उनी आफ्ना तीन सहकर्मीसँग बुधबार आधा दिनको बिदा लिएर आरसीबीको कार्यक्रममा गएकी थिइन् । “उनीहरू स्टेडियमको गेट नम्बर ७ सर्वसाधारणका लागि खोलिएपछि भित्र पस्ने प्रयास गर्दै थिए । त्यहीबेला एक्कासि भिड अनियन्त्रित भयो र उनीहरू छुट्टिए । उनका साथीहरूले कमाक्षीको मृत्युबारे पछि मात्र थाहा पाए,” वीरबाहुले भारतीय सञ्चार माध्यमलाई भने ।
टाइम्स अफ इन्डियाका अनुसार कमाक्षी तमिलनाडुको कोयम्बटुर निवासी एस मूर्तिकी छोरी हुन् । उनले आफ्नो गृहनगरबाट इलेक्ट्रोनिक्स एन्ड इन्स्ट्रुमेन्टेसनमा बीटेक गरेकी थिइन् । त्यसपछि बेङ्गलुरु आएर अपरेसन म्यानेजमेन्ट र बिजनेस एनालिटिक्समा विशेषज्ञतासहित एमबीए पूरा गरिन् ।
टाटा ट्रेन्टमा केही समय काम गरेपछि उनी अमेजनमा आबद्ध भएकी थिइन् । विगत पाँच वर्षदेखि अमेजनमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी उनको अन्तिम पद क्वालिटी स्पेसलिस्टको थियो ।
पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ १६:२७
सामाग्री श्रोत :
टेक पाना