काठमाडौँ । डोङफेङ नामीले उत्पादन गरेको विद्युतीय सवारी मोडेल जेएफ-एस थ्री (JF-S3) ले हालसम्म १२,००० भन्दा बढी युनिट ४० भन्दा बढी देश तथा क्षेत्रहरूमा निर्यात गर्न सफल भएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै आफ्नो विश्वव्यापी रणनीतिक विस्तार उल्लेखनीय रूपमा सफल भएको दाबी गरेको छ ।

कम्पनीका अनुसार, सन् २०२४ को डिसेम्बरदेखि युरोपमा डेलिभरी सुरु भएसँगै जेएफ-एस थ्रीले युरोपेली बजारमा उल्लेखनीय उपस्थिति जनाउँदै आएको छ । सन् २०२५ को जनवरीमा नेदरल्याण्डमा चिनियाँ ब्रान्डमध्ये जेएफ-एस थ्री सबैभन्दा धेरै बिक्री भएको विद्युतीय सवारी बनेको थियो । त्यस अवधिमा करिब ३०० युनिट डेलिभर गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विद्युतीय सवारीको प्रयोग विश्वमै भएको देश नर्वेमा यो मोडेलले पहिलो महिनामै १०० भन्दा बढी अर्डर प्राप्त गरेको कम्पनीले जनाएको छ । चिसो मौसममा समेत यसले देखाएको उत्कृष्ट प्रदर्शनका कारण यसले व्यापक प्रशंसा पाएको कम्पनीको दाबी छ ।
जेएफ-एस थ्रीलाई मेक्सिको सिटीमा शेयर्ड मोबिलिटी प्रोभाइडरहरूका लागि आधिकारिक सवारीको रूपमा प्रयोग गरिएको छ भने बैंककमा यसलाई मोबाइल कफी वर्कशपको रूपमा प्रयोग गरिएको छ ।

उत्पादन क्षमताको विस्तारका सन्दर्भमा डोङफेङ नामीले विश्वव्यापी संरचना निर्माणमा तीव्र प्रगति गरिरहेको जनाएको छ । कम्पनीले युरोपमा इन्टेलिजेन्ट सवारी तथा कनेक्टिभिटी प्रविधिमा केन्द्रित अनुसन्धान केन्द्र निर्माण गर्दैछ भने दक्षिणपूर्वी एसियामा एसेम्ब्ली प्लान्ट परीक्षण चरणमा पुगिसकेको छ । त्यहाँ यही वर्षको मध्यदेखि उत्पादन सुरु हुने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २१, २०८२ २२:४०
सामाग्री श्रोत :
टेक पाना