काठमाडौँ –पाकिस्तानको कराचीस्थित मलिर जिल्ला जेलबाट भूकम्पका धक्कापछि दुई सय १६ कैदी फरार भएका छन् । सिन्ध प्रान्तका गृहमन्त्री जिया–उल–हसन लन्जरका अनुसार सोमबार राति भूकम्पको त्रासमा कैदीहरूलाई ब्यारेकबाट बाहिर निकाल्दा उनीहरूले सुरक्षाकर्मीमाथि आक्रमण गरी हतियार खोसेर मुख्य ढोका तोडेर भागेका थिए ।

कुल दुई सय १६ फरार कैदीमध्ये ८० जना पक्राउ परिसकेका छन्, तर एक सय ३० भन्दा बढी अझै फरार छन् । भाग्ने क्रममा एक कैदीको मृत्यु भएको छ भने तीन सुरक्षाकर्मी र एक जेल कर्मचारी घाइते भएका छन् । ‘भूकम्पको कारण कैदीहरूमा त्रास फैलिएको थियो,’ लन्जरले भने ।
जेल अधीक्षक अरशद शाहले छ सयभन्दा बढी कैदीलाई भूकम्पका बेला बाहिर निकालिएको र त्यही बेला उनीहरू भागेको बताए । उनले यो घटनालाई प्राकृतिक प्रकोपको परिणाम मानेर सुरक्षामा चुक नभएको दाबी गरे । तर, सिन्धका मुख्यमन्त्री मुराद अली शाहले कैदीहरूलाई बाहिर निकाल्ने निर्णय गलत भएको भन्दै जेल प्रमुख नजिर अहमदसहित दुई अधिकारीलाई बर्खास्त गरिएको बताए ।
पाकिस्तानका जेलहरू भीडभाड, जीर्ण पूर्वाधार र अपर्याप्त सुरक्षाका कारण बदनाम छन् । मलिर जेलमा एक हजार पाँच सय ९१ कैदी अटाउने क्षमता भए पनि चार हजारभन्दा बढी कैदी थिए । धेरैजसो भागेका कैदी साना अपराध, विशेषगरी लागूऔषधसँग सम्बन्धित मुद्दामा थुनामा थिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, कराचीमा पछिल्ला २४ घण्टामा २.६ देखि ३.४ रिक्टर स्केलका १६ वटा हल्का भूकम्प गएका छन् । घटनापछि कराचीमा उच्च सतर्कता अपनाइएको छ । प्रहरीले भागेका कैदीलाई पक्रन छापा मारिरहेको छ र सहरमा चेकपोस्टहरू बढाइएका छन् ।
सिन्धका प्रहरी प्रमुख गुलाम नबी मेमनले कुनै पनि फरार कैदी आतङ्ककारी सङ्गठनसँग सम्बन्धित नभएको बताए । लन्जरले कर्मचारीको लापरबाहीको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिएको र दोषीमाथि कडा कारबाही हुने जनाए । सामाजिक सञ्जालमा कैदीहरू सडकमा भागिरहेको भिडियो भाइरल भएको छ, जसले सुरक्षा कमजोरी र प्राकृतिक प्रकोपमा जेल व्यवस्थापनको कमजोरी उजागर गरेको छ । एजेन्सी ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ