काठमाडौँ । सार्वजनिक यातायात बन्दको मौका छोपी अफलाइन राइडमार्फत यात्रुसँग मनपरी भाडा असुल्ने राइड शेयरिङ चालक कारबाहीमा परेका छन् । सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अफलाइन राइड गरेको र हैरान पारेको आरोपमा २७८ जनालाई कारबाही गरेको हो ।

त्यस्तै ६० जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । यातायात व्यवसायीले राइड शेयरिङको विरोध गर्दै सार्वजनिक सवारी साधन बन्द गरेको मौकामा ती चालकले सडकमा यात्रु पर्खेर सवारी आवागमनमा अवरोध पुर्याएको ट्राफिक प्रहरीले जनाएको छ । साथै उनीहरूले यात्रुसँग अत्यधिक भाडा लिने, अफलाइन बार्गेनिङ गर्ने र अनावश्यक दुःख दिने गरेको पाइएको थियो ।
यसरी नियम विपरीत गतिविधि गर्नेमध्ये ६० जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि विभिन्न प्रहरी वृत्तमा बुझाइएको छ । बाँकी २१८ जनालाई भने यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही गरी छाडिएको कार्यालयले जनाएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ २१:१६

सामाग्री श्रोत :
टेक पाना