काठमाडौँ । एलन मस्कको कम्पनी स्पेस एक्स स्टारशिप सुपर हेभी रकेटको नवौं परीक्षण उडानको तयारीमा जुटेको छ । यो परीक्षण नेपाली समय अनुसार भोलि बुधबार बिहान ५:१५ बजे अमेरिका टेक्सासस्थित बोका चिका बिच नजिकैको स्टारबेस प्रक्षेपण केन्द्रबाट गरिने छ ।

यस उडानलाई स्टारशिप फ्लाइट-९ नाम दिइएको छ । यो मिसन विशेष यसकारण पनि हो कि पहिलोपटक सुपर हेभी बुस्टरलाई पुन: प्रयोग गरिँदैछ । यसले स्पेस एक्सको पूर्ण रूपमा पुन: प्रयोग गर्न मिल्ने हेभी लिफ्ट लन्च सिस्टम निर्माणको लक्ष्यमा महत्त्वपूर्ण प्रगति ल्याउने अपेक्षा गरिएको छ ।
यसपटक प्रयोग गरिने बुस्टर यसअघि फ्लाइट ७ मा उडिसकेको हो । अघिल्ला प्रयासहरूमा बुस्टरलाई लन्च टावरका रोबोटिक आर्मद्वारा समात्ने कोशिश गरिँदै आएको थियो । तर यो उडानमा बुस्टरलाई गल्फ अफ मेक्सिको मा ‘स्प्ल्यासडाउन’ गरिनेछ ।
परीक्षण उडानमा ३३ ओटा र्याप्टर इन्जिनको एकसाथ प्रज्वलन, हट स्टेजिङ विधिबाट स्टेज सेपरेशन र विभिन्न इन-फ्लाइट परीक्षणहरू गर्ने कार्यक्रम छ । उडान क्रममा स्टारशिपको माथिल्लो भागले आफ्ना लक्ष्य कक्षसम्म पुग्ने प्रयास गर्नेछ भने स्टारलिंक स्याटेलाइटको सिमुलेटरहरू प्रयोग गरेर परीक्षण गरिनेछ । त्यसपछि यसलाई भारतीय महासागरमा स्प्ल्यासडाउन गराइनेछ ।

प्रक्षेपणको क्रममा जनसुरक्षा सुनिश्चित गर्न सकियोस् भनेर स्थानीय प्रशासनले मे २९ सम्मका लागि सडक बन्द गर्ने निर्णय लिएको । यसअघि यस वर्ष दुईपटक परीक्षण असफल भइसकेको अवस्थामा स्पेस एक्सलाई यो नवौं उडानले सफलताको नयाँ ढोका खोल्ने आशा गरिएको छ । यस परीक्षणपछि भविष्यमा मानवसहितको अन्तरिक्ष यात्रा तथा ग्रहमैत्री मिसनहरूतर्फ अगाडि बढ्न सहज हुने कम्पनीको विश्वास छ ।
पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ ९:३९
सामाग्री श्रोत :
टेक पाना