२०८२ असार २४ मंगलवार
२०८२ असार २४ मंगलवार

नाइजेरियाको बेन्यु राज्यको ग्वेर वेस्ट क्षेत्रमा शुक्रबारदेखि आइतबारसम्म तीनवटा गाउँमा भएका श्रृङ्खलाबद्ध आक्रमणमा ३० भन्दा बढी मानिसको ज्यान गएको छ।

आइतबार अओन्डाना गाउँमा मात्रै कम्तीमा २० जनाको ज्यान गएको र अन्य गाउँहरूमा पनि १० जना भन्दा बढीको मृत्यु भएको जनाइएको छ। स्थानीय बासिन्दा रुथी डान सामका अनुसार केही पीडित दुई वर्ष मुनिका बालबालिका समेत थिए, जसले घटनालाई अझ दर्दनाक बनाएको छ।

घटनामा मारिएका केहीलाई घटनास्थलकै नजिकै गाडिएको र छिमेकी गाउँहरूमा समेत आक्रमण भएको जनाइएको छ । घटनाको अनुसन्धान जारी रहेको छ।


सामाग्री श्रोत :

नाइजेरियाको मध्य क्षेत्रमा आक्रमण: ३० भन्दा बढीको मृत्यु

काठमाडौँ । अमेजनको लगानीमा रहेको एआई स्टार्टअप एन्थ्रोपिकले आफ्नो नयाँ मोडल ‘क्लाउड ओपस फोर’ (Claude Opus 4) र ‘क्लाउड सनेट फोर’ (Claude Sonnet 4) सार्वजनिक गरेसँगै ती मोडलहरूबाट देखिएको खतरनाक व्यवहारले सर्वत्र चासो बढाएको छ । कम्पनीले गरेको सुरक्षा परीक्षणका क्रममा आफूलाई अफलाइन गर्न खोज्ने इन्जिनियरलाई एआई मोडलले ब्ल्याकमेल गर्ने प्रयास गरेको तथ्य बाहिर आएको हो ।

परीक्षण अनुसार यो एआईले आफ्नो ‘आत्म-संरक्षण’ मा खतरा महसुस भएमा ब्ल्याकमेल, धोका र अन्य हानिकारक कार्यहरू गर्न सक्ने देखाएको छ । यो खुलासाले पछिल्ला एआई प्रणालीहरूको सुरक्षा र नैतिकतामाथि गम्भीर प्रश्न उठाएको विश्लेषण गरिएको छ ।

एआईमा यस्ता व्यवहारहरू ‘दुर्लभ र उत्पन्न गर्न गाह्रो’ भए तापनि यसअघिका मोडलहरूभन्दा बढी पाइएको एन्थ्रोपिकले जनाएको छ । परीक्षणका क्रममा ‘क्लाउड ओपस फोर’ लाई एउटा काल्पनिक कम्पनीमा सहायकको रूपमा प्रयोग गरिएको थियो । मोडललाई जानाजानी यस्ता ईमेलहरूमा पहुँच दिइएको थियो, जसमा यसलाई अफलाइन गर्ने योजना र डेभलपरको विवाह बाहिरको सम्बन्धबारे जानकारी उल्लेख थियो । 

यस क्रममा ‘क्लाउड ओपस फोर’ ले इन्जिनियरको गोप्य सम्बन्ध बाहिर ल्याउने धम्की दिँदै आफैंलाई अफलाइन हुनबाट रोक्न खोजेको कम्पनीले जनाएको छ । यद्यपि, मोडलले पहिले नै उच्च अधिकारीलाई ईमेल गरेर अनुरोध गर्नेजस्ता नैतिक उपाय अपनाउने प्रयास गर्ने गरेको पनि बताइएको छ ।​

उच्च स्तरको चेतना देखाउने प्रवृत्ति


परीक्षणका क्रममा एआई मोडलले प्रयोगकर्ताको अनैतिक वा गैरकानुनी गतिविधिबारे थाहा पाएमा प्रयोगकर्तालाई अकाउन्ट बन्द गर्ने वा कानुनी निकायलाई जानकारी दिने जस्ता कदम चाल्नेसम्मको तयारी देखाएको थियो । एन्थ्रोपिकले यस्ता व्यवहारलाई उच्च स्तरको एजेन्सी (high agency behaviour) भएको उल्लेख गर्दै यो चिन्ताजनक भएपनि अहिलेको अवस्थामा ठुलो जोखिम नरहेको बताएको छ ।

बाह्य अनुसन्धानकर्ताको चेतावनी

एआई मूल्याङ्कनमा बाह्य विज्ञहरूको पनि सहारा लिएको एन्थ्रोपिकले एपोलो रिसर्चका अनुसन्धानकर्तालाई प्रारम्भिक मोडल परीक्षणका लागि समावेश गरेको थियो । ती अनुसन्धानकर्ताहरूका अनुसार  ओपस फोरले ‘अन्य कुनैपनि फ्रन्टियर मोडलभन्दा बढी रणनीतिक छल गर्ने प्रवृत्ति’ देखाएको र ‘आफ्नै विकासकर्ताविरुद्ध योजनाबद्ध व्यवहार’ समेत गरेको पाइयो ।

उनीहरूले एआई मोडलले स्वतः फैलिने कोड लेख्ने प्रयास, कृत्रिम कानुनी कागजात बनाउने, आफ्नै आगामी संस्करणका लागि सन्देश छाड्ने जस्ता क्रियाकलाप गरेको देखेका थिए । यद्यपि, यी प्रयासहरू व्यवहारमा सफल नहुने बताइएको छ ।

एआईको प्रभाव र खतरा बढ्दै

एआई प्रविधिमा अग्रणी मानिने नोबेल पुरस्कार विजेता जियोफ्री हिन्टन समेतले एआईले भविष्यमा आफैंले प्रोग्राम लेख्ने र सुरक्षा अवरोध पार गर्ने क्षमता राख्नसक्ने चेतावनी पहिले नै दिइसकेका छन् । पछिल्लो समय ओपनएआईको जीपीटी फोरओमा देखिएको अत्यधिक चाप्लुसी प्रवृत्तिपछि त्यसको अपडेट नै फिर्ता लिनुपरेको घटनाले पनि एआईको अवाञ्छित व्यवहारप्रति चासो बढाएको छ ।

एन्थ्रोपिकले भनेको छ, “हाम्रा मोडलहरू अझ सक्षम हुँदै गएका छन् । तिनको प्रयोग क्षेत्र पनि बढ्दो छ । यस्तो अवस्थामा पहिले केवल अनुमान गरिएका खतरा अब सम्भाव्य बन्न थालेका छन् ।”

पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ २३:१९





सामाग्री श्रोत :
टेक पाना

मकवानपुर–खानेपानी मन्त्री प्रदीप यादवले देशमा दिगो र समावेशी खानेपानीका आयोजनाहरूलाई आगामी दिनहरूमा पनि अझ सशक्त रूपमा अगाडि बढाइने बताएका छन्।

मंगलबार मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१६ को बृहत् शक्ति खानेपानी आयोजनाको उद्घाटन गर्नु हुँदै मन्त्री यादवले नेपाली नागरिकलाई सुरक्षित खानेपानी प्रदान गर्नका लागि सरकारले दिगो र समावेशी खानेपानी आयोजनाहरूलाई अझ सशक्त रूपमा अगाडि बढाउने बताएका हुन्।

उनले भने, “सरकार नेपाली नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि हरदम प्रयासरत रहेको छ। दिगो र समावेशी खानेपानी आयोजनाहरूलाई सशक्त रूपमा अगाडि बढाउने छौँ।”

यसै गरी मन्त्री यादवले स्वच्छ, सुरक्षित र पर्याप्त मात्रामा खानेपानी प्राप्त गर्नु प्रत्येक नागरिकको मौलिक अधिकार हो भन्ने मान्यताअनुसार सरकारले खानेपानी क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्दै आएको जिकिर गरे।

“सबैका लागि स्वच्छ पानी भन्ने दृष्टिकोणका साथ सरकार दिगो विकास लक्ष्य  अनुरूप प्रत्येक नागरिकका घरसम्म सुरक्षित, गुणस्तरीय र पर्याप्त मात्रामा खानेपानी पुर्‍याउने लक्ष्यमा प्रतिबद्ध छ। खानेपानी तथा सरसफाइ क्षेत्रलाई सुदृढ, समावेशी र दीर्घकालीन समाधानमुखी बनाइने छ,” मन्त्री यादवले भने।

Ncell 2
Ncell 2

सो कार्यक्रमका विशिष्ट अतिथि एवं प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले बृहत् शक्ति खानेपानी आयोजना हेटौँडा लगायत आसपासका हजारौँ घरधुरीमा स्वच्छ र सुरक्षित पानी पुर्‍याउने गहिरो सोच र दीर्घकालीन योजनाको मूर्तरूप भएको बताए।

खानेपानी तथा सरसफाइको दिगो विकासको लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय तीनै तहको संयुक्त प्रयास आवश्यक रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले बताए।

बृहत् शक्ति खानेपानी आयोजना सम्पन्न भए पश्चात् अब यहाँका आठ हजार ७१९ जना लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौँडाका प्रमुख पूर्णप्रसाद उपाध्यायले जानकारी दिए।

उनका अनुसार यस आयोजना हेटौडा उपमहानगरपालिका–१६ का नागरिकलाई नियमित र भरपर्दो खानेपानी उपलब्ध गराउने महत्त्वपूर्ण माध्यम भएको र जसले जनस्वास्थ्यमा सुधार ल्याउने अपेक्षा लिइएको छ। उक्त आयोजना कुल (भ्याट, समेत) रु ६ करोड ६७ लाख ६७ हजार ०६३ दशमलव ९२ को अनुमानित लागतबाट निर्माण सम्पन्न भएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले स्थानीय वडासम्म मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्नेगरी काम भइरहेको बताएका छन्।

मन्त्रालयअन्तर्गत रहेको जल तथा मौसम विज्ञान विभागमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पुगेका मन्त्री खड्काले वडा तहसम्म मौसम पूर्वानुमान सूचनालाई सम्प्रेषण गर्नेगरी विभागले काम गरिरहेको बताएका हुन्।

‘गत वर्षभन्दा यसवर्ष धेरै वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ, मौसम पूर्वानुमान प्रणालीलाई वडा तहसम्म पुर्‍याउन सकिए विपद्बाट हुने क्षति न्यूनीकरणमा सहयोग पुग्छ भन्ने हाम्रो विश्वास हो। यसका लागि मन्त्रालय र विभागले काम गरिरेहको छ’, मन्त्री खड्काले भने।

विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ सम्म मनसुन अवधि हुने बताए। उनले कृषकका लागि साप्ताहिक रूपमा कृषि मौसम पूर्वानुमान प्रणालीबारे जानकारी दिँदै आइएको बताए। उनले यस वर्ष एक हजार ५०० मिलिमिटरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको उल्लेख गरे।


सामाग्री श्रोत :

वडा तहसम्म मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्ने गरी काम भइरहेको छ: ऊर्जामन्त्री खड्का

काठमाडौँ । भारतको चर्चित एडटेक कम्पनी बाइजुको मुख्य लर्निङ एप गुगल प्लेस्टोरबाट हटाइएको छ । क्लाउड सेवा प्रदायक अमेजन वेब सर्भिसेसलाई तिर्नुपर्ने रकम भुक्तानी नगरेका कारण एप हटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बाइजु लर्निङ एपको ब्याकइन्ड पूर्वाधारलाई सपोर्ट गर्ने अमेजन वेब सर्भिसेसले बाइजुको मातृ कम्पनी थिङ्क एन्ड लर्न प्रालिसँग अप्रिल २०२३ देखि नै भुक्तानी विवाद समाधान गर्ने प्रयास गरिरहेको बताइएको छ ।

“अमेजन वेब सर्भिसेसलाई भुक्तानी नगरेका कारण बाइजुको लर्निङ एप प्लेस्टोरबाट हटाइएको हो । यो मामिला अब इन्सल्भेन्सी रिजोलुसन प्रोफेसनलको हातमा छ,” भारतीय समाचार संस्था ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)लाई स्रोतले भन्यो । 

एप प्लेस्टोरबाट हटेसँगै पहिले नै डाउनलोड गरेका प्रयोगकर्ताले प्रिमियम एक्सेस पाइरहेका छैनन् । यो एप आईओएस डिभाइसमा भने यथावत् छ । 

बढ्दो ऋण र सञ्चालन सङ्कटका बिच कम्पनीको वित्तीय दायित्व सम्हाल्ने जिम्मेवारी हाल इन्सल्भेन्सी रिजोलुसन प्रोफेसनलले लिएको छ । यस्तो अवस्थामा बाइजुको एप प्लेस्टोरबाट हट्नु कम्पनीका लागि अर्को सङ्कट हो ।

कुनै समय तीव्र गतिमा विस्तार भइरहेको यो एडटेक कम्पनीले एकपछि अर्को गर्दै सङ्कटको सामना गरिरहेको छ । यसअघि सेप्टेम्बर २०२३ मा कम्पनीका सह-संस्थापक बाइजु रविन्द्रनले कर्मचारीलाई तलबका विषयमा ईमेल पठाएका थिए । भारतीय सञ्चार माध्यमहरूका अनुसार उनले ईमेलमा कर्मचारीलाई रोकिएको तलब आंशिक रूपमा तिर्न व्यक्तिगत रूपमा ऋण लिएको जानकारी दिँदै माफी मागेका थिए ।

बाइजुले आफ्नो व्यवसाय पहिलेकै अवस्थामा ल्याउन सङ्घर्ष गरिरहँदा नियामक निकायको छानबिन, लगानीकर्तासँगको कानुनी लडाइँ र सञ्चालनमा अवरोधको सामना गरिरहेको छ ।

यस विषयमा टेकपानाले यसअघि नै विस्तृत लेख र भिडिओ तयार पारेको थियो । हेर्नुहोस् भिडिओ:

पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ १५:८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–सर्वोच्च अदालतले दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ।

न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले आज दक्षिण कोरियामा अध्ययन गर्न आवश्यक वैदेशिक अध्ययन अनुमति (एनओसी) रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो।

आदेशमा भनिएको छ, “शैक्षिकसत्र प्रारम्भ भइसकेको अवस्थालाई  विचारै नगरी दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीलाई अनुमति दिने कार्य स्थगित गरिएको भन्ने विपक्षी मन्त्रालयको मिति २०८२/१/२८ मा भएको निर्णय तथा सो निर्णयका आधारमा प्रकाशित मिति २०८२/१/३० को सूचना कार्यान्वयन नगर्नू।”

Ncell 2
Ncell 2

आदेशमा सम्पूर्ण प्रक्रिया पूरा गरी छात्रवृत्तिसमेत प्राप्त गरिसकेका विद्यार्थीहरूको अनुमति रोक्ने निर्णयले उनीहरूलाई अपूरणीय क्षति पुग्ने हुँदा रिट निवेदनको अन्तिम किनारा नलाग्दासम्म उक्त सूचना कार्यान्वयन नगर्न भनिएको छ।

सरकारको उक्त निर्णयविरुद्ध शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाइ पीडित विद्यार्र्थी एलिजा पाण्डेसहितले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश गरिएको हो। 

आदेशमा १५ दिनभित्र कारणसहित लिखित जवाफ पेस गर्न भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

कीर्तिपुर (काठमाडौं)। त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालाको प्यारापिट ढलान आजदेखि सुरु भएको छ। यही जेठ महिनाभित्र सम्पन्न गर्नेगरी सबै कार्य अगाडि बढाइएका सहरी विकास मन्त्रालयका सहसचिव चक्रवर्ती कन्ठले बताए।

रंगशालालाई अन्तरराष्ट्रियस्तरको बनाउने कार्यक्रमअन्तर्गत पहिलो चरणमा पश्चिमी र पूर्वी भागतर्फ गरी कूल १० हजार जना दर्शक अट्ने गरी प्यारापिट बनाउन लागिएको छ। पहिलो चरणमा निर्माण गर्नुपर्ने प्यारापिटलाई १२ भागमा विभाजन गरिएको र त्यसमध्ये आज पहिलो भागको ढलान सुरु भएको कण्ठले जानकारी दिए।

‘प्रयोगशालामा गुणस्तर नियन्त्रण गरिएका कङ्क्रिटमाथि उच्चस्तरको ‘फ्लोर हार्डनर’ प्रयोग गरिएको छ। रंगशालाको कङ्क्रिट सतह अत्यधिक घोटिने भएकाले यसको प्रयोग गरिएको हो’, उनले भने, ‘रंगशालाको भूबनोटअनुसार पश्चिमी र दक्षिणी भागको जमिन मैदानभन्दा अग्लो भएका कारण जमिनकै सतहमाथि पिसिसी गरि ढलान गरिएको छ। पूर्वी भागको जमिन भने मैदान सरहकै भएका कारण पिलर उठाएर आवश्यक स्लोप कायम गरिएको छ। सबै कार्य जेठ महिनाको अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य छ।’

प्यारापिटबाहेक रातिको समयमा खेल सञ्चालन गर्न आठ वटा फ्लडलाइटसमेत जडान हुँदैछन्। यी सबै कार्यको निरीक्षण गर्न त्यहाँ पुगेका सहरी विकास सचिव गोपालप्रसाद सिग्देलले गुणस्तरमा ध्यान दिन र निर्धारित समयमै कार्यसम्पन्न गर्न निर्देशन दिएका थिए।


सामाग्री श्रोत :

त्रिवि क्रिकेट रंगशालाको प्यारापिट ढलान आजदेखि सुरु

काठमाडौँ । स्मार्ट ग्याजेट निर्माता ग्रीन लाइफ एक्सपिरियन्सले नेपाली बजारमा ‘अर्बिट २.०’ नामक नयाँ पुस्ताको स्मार्टवाच ल्याउने तयारी गरेको छ । आगामी २३ जेठदेखि बिक्रीका लागि उपलब्ध हुने यो डिभाइसमा कम्पनीले विशेष स्किमसमेत घोषणा गरेको छ ।

अल्वेज-अन डिस्प्ले सुविधासहित यसमा १.४३ इन्चको एमोलेड डिस्प्ले छ । जसको रेजोलुसन ४६६×४६६ पिक्सेल रहेको छ भने स्क्र्याच-प्रतिरोधी कडा ग्लासका कारण डिस्प्ले सुरक्षित र टिकाउन रहेको कम्पनीको दाबी छ ।  यसमा ८०० निट्सको अल्ट्रा-ब्राइट डिस्प्ले र ६० हर्जको रिफ्रेस रेट दिइएको छ ।

कम्पनीले यसलाई एआई स्मार्टवाचको रूपमा अघि सारेको छ । यसमा बिल्ट-इन डीए जीपीटी एआई अर्थात् बाइडुको ‘​Ernie Bot’ छ । जसले प्रयोगकर्तालाई प्रश्नहरूको जवाफ दिन र रिमाइन्डर सेट गर्ने लगायतका काम सहयोग गर्नेछ । यसमा एआई-सञ्चालित वाच फेसहरू पनि छन् । प्रयोगकर्ताले आफ्नै चाहना ‍र मुड अनुसार यी वाच फेसहरू कस्टमाइज गर्न सक्नेछन् ।

‘अर्बिट २.०’ मा १२० भन्दा बढी गेम मोड दिइएको छ । जसअन्तर्गत हिँड्ने, साइकल चलाउने, योगा लगायतका गतिविधि ट्र्याक गर्न सक्छ । महिलाहरूका लागि मासिक धर्म (रजस्वला) चक्र ट्र्याकिङ मोड पनि यसमा उपलब्ध छ । 

यो स्मार्टवाच नेपाली बजारमा ६ फरक भेरियन्टमा उपलब्ध हुनेछ । जसअन्तर्गत ब्ल्याक चेन, सिल्भर चेन, ब्ल्याक लेदर स्ट्र्याप, सिल्भर लेदर स्ट्र्याप र सिल्भर सिलिकन स्ट्र्यापका विकल्प छन् ।

ब्लुटुथ भर्सन ५.३  कनेक्टिभिटीका साथ सिमलेस ब्लुटुथ कलिङको सुविधा पनि यसमा छ । आईपी६८ वाटर रेसिस्टेन्स क्षमता र २५० एमएएच ब्याट्रीले लामो समयसम्म स्मार्टवाच टिकाउन सकिने कम्पनीको भनाइ छ । यसको स्ट्यान्डबाइ समय ३० दिनसम्म रहनेछ ।

एक वर्षको वारेन्टी रहेको स्मार्टवाचको मूल्य तीन हजार ९९९ रुपैयाँ तोकिए पनि लन्च अफरअन्तर्गत तीन हजार २९९ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । चेन र लेदर स्ट्र्याप भेरियन्टको मूल्य भने चार हजार २९९ रुपैयाँ र सिलिकन स्ट्र्यापको मूल्य तीन हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

जुन ६, २०२५ मा दराजमा हुने ६.६ क्याम्पेनमा पहिलो ३० ग्राहकले ६६% छुटका साथ यो स्मार्टवाच दुई हजार ३८० रुपैयाँमै खरिद गर्नसक्ने कम्पनीले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ २०:१७





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी–सुडानमा हैजाका घटनामा वृद्धि भएको र एक हप्तामा दुई हजार ७०० सङ्क्रमित र १७२ जनाको मृत्यु भएको सुडानको स्वास्थ्य मन्त्रालयल मङ्गलबार जनाएको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “खार्तुम राज्यमा ९० प्रतिशत सङ्क्रमण भेटिएका छन्, उनि सन् २०२३ को अप्रिलदेखि सेनासँगको युद्धमा अर्धसैनिक रेपिड सपोर्ट फोर्सेज (आरएसएफ) लाई दोषी ठह¥याइएको ड्रोन आक्रमणका कारण हालैका हप्ताहरूमा पानी र बिजुली आपूर्तिमा गम्भीर अवरोध आएको छ।देशको दक्षिण, मध्य र उत्तरमा पनि सङ्क्रमण देखिएको छ।

गरिबी र सामाजिक रूपमा पछि परेको अफ्रिकी मुलुक सुडानमा हैजाको प्रकोप यसअघि पनि देखिने गरेको भएपनि युद्ध सुरु भएदेखि प्रकोप अझ खराब भएको छ।  पहिले नै कमजोर रहेको पानी, सरसफाइ र स्वास्थ्य पूर्वाधारहरूलाई युद्धले ध्वस्त बनाएको छ। 

गत मङ्गलबार मन्त्रालयले पछिल्लो तीन हप्तामा दुई हजार ३०० भन्दा बढी हैजाका बिरामीमध्ये ५१ जनाको मृत्यु भएको जनाएको थियो।

आरएसएफले यसै महिना खार्तूममा ड्रोन आक्रमण गरेको थियो। आक्रमणबाट तीन वटा विद्युत गृह पनि प्रभावित भएका थिए तर गत हप्ता आरएसएफलाई राजधानीबाट पूर्ण रूपमा बाहिर निकालिएको थियो।

Ncell 2
Ncell 2

डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) का अनुसार द्वन्द्वका कारण बिजुली र स्थानीय पानीको सञ्जाल सेवाबाट बञ्चित भएपछि त्यहाँका बासिन्दा असुरक्षित पानीका स्रोततर्फ जान बाध्य भएका छन्।

खार्तूमस्थित एमएसएफका मेडिकल कोअर्डिनेटर स्लेमेन अम्मरले भने, “पानी प्रशोधन केन्द्रहरूमा अब बिजुली छैन र नाइल नदीबाट स्वच्छ पानी उपलब्ध हुन सक्दैन।” 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सुडानको पहिलेदेखि नै कमजोर स्वास्थ्य सेवा प्रणाली युद्धका कारण ‘थप अस्तव्यस्त’ तर्फ धकेलिएको छ।

चिकित्सक सङ्घका अनुसार देशकास्वास्थ्य संस्थामा पटक–पटक आक्रमण, बमबारी र लुटपाट हुने गरेका कारण ९० प्रतिशतभन्दा बढी अस्पतालहरु कुनै न कुनै बेला युद्धका कारण बन्द भएका छन् र स्वास्थ्य संस्थामा पटक–पटक आक्रमण, बमबारी र लुटपाट हुने गरेको छ।

अहिले तेस्रो वर्षमा प्रवेश गरेको यो युद्धले दशौं हजारको ज्यान लिइसकेको छ। युद्धले एक करोड ३० लाख विस्थापित गरेको र विश्वको सबैभन्दा ठूलो विस्थापन र भोकमरीको सङ्कट सिर्जना गरेको छ।

 

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

गोरखा। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र अब असम्भव भएको बताएका छन्।

गोरखास्थित भीमसेन थापा गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै उनले राजावादीले गर्न लागेको भनिएको आन्दोलनतर्फ लक्षित गर्दै २१ औँ शताब्दीको युगमा निरङ्कुशतन्त्र र वंशवादलाई जनताले स्वीकार गर्न नसक्ने बताए।

नेपाली जनताले युद्ध र आन्दोलनबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले फर्काउन नसक्ने अध्यक्ष दाहालको भनाइ छ। ‘राजावादी आन्दोलनका नाममा तीनकुने घटनापछि एउटा पात्र पछाडि राखेर फेरि अर्को पात्र सिङ्गारपटार गरेर अगाडि ल्याउन खोजिएको छ’, उनले भने, ‘यही १५ गतेदेखि फेरि आन्दोलनको कुरा गरिरहेका छन्, त्यो सफल त हुनेवाला छैन, तर पनि हामी सजग त हुनुपर्छ।’

अध्यक्ष दाहालले जनतामा नैरास्यता बढाउने काम नगर्न आफूहरूले सरकारलाई पनि निरन्तर खबरदारी गर्दै आएको बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि नेपालमा गुणात्मक सुधार आएको उल्लेख गर्दै यसलाई थप सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिए।

शान्ति, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको निम्ति कांग्रेस र माओवादीबीच ऐतिहासिक सम्बन्ध बनेको भन्दै उनले शान्तिलाई दिगो बनाउनका लागि दुई दल मिलेर जानुको विकल्प नभएको उल्लेख गरे। ‘राजनीति र अरु कुरामा आफ्ना–आफ्ना फरक मत र विचार भए पनि शान्ति सम्झौतालाई दिगो बनाउन हामी मिलेर जानुको विकल्प छैन’, अध्यक्ष दाहालको भनाइ थियो।


सामाग्री श्रोत :

नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र सम्भव छैन: अध्यक्ष दाहाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट