काठमाडौं । माइक्रोसफ्टले हालै कर्मचारी कटौती गरेको छ। रिपोर्टका अनुसार कम्पनीले ६ हजार कर्मचारीलाई निकालेको छ। यसरी निकालिने कर्मचारीमा ठूलो संख्यामा सफ्टवेयर इन्जिनियरहरू छन् । ब्लूमबर्गको विश्लेषण अनुसार वासिङ्टनमा हटाइएका कर्मचारीमध्ये ४० प्रतिशत कर्मचारी सफ्टवेयर इन्जिनियरहरू हुन्।

रिपोर्टका अनुसार केही महिना अघि कम्पनीले इन्जिनियरहरूलाई एआई उपकरणहरूको प्रयोग बढाउन भनेको थियो। जागिरबाट निकालिएका केही इन्जिनियरहरू पनि यसमा सामेल थिए। कम्पनीले उनीहरूलाई एआईमा निर्भरता बढाउन आग्रह गरेको थियो। पछि, यही एआईका कारण उनीहरूले आफ्नो जागिर गुमाए।
द इन्फर्मेसनको रिपोर्ट अनुसार माइक्रोसफ्टका उपाध्यक्ष जेफ हुल्सेले आफ्नो टोलीलाई ५० प्रतिशत कोडहरू जेनेरेट गर्न ओपनएआईद्वारा संचालित च्याटबटहरू प्रयोग गर्न भनेका थिए । उनको टोलीमा जम्मा ४०० कर्मचारी थिए । केही महिनापछि कर्मचारी कटौती गर्दा तिनै व्यक्तिहरू सबैभन्दा बढी प्रभावित भए।
माइक्रोसफ्टका सीईओ सत्य नाडेलाले एआईको बारेमा खुलेर कुरा गरेका छन्। उनले कम्पनीका धेरै प्रोजेक्टहरूमा एआईले लगभग दुई तिहाइ कोडहरू लेखिरहेको स्वीकार गरेका छन् । कर्मचारी कटौती केवल जुनियर कोडरहरूमा मात्र सीमित छैनन्। उत्पादन व्यवस्थापन र प्राविधिक कार्यक्रम व्यवस्थापन जस्ता विभागमा पनि कर्मचारी कटौती भइरहेको छ । माइक्रोसफ्टमा यो कटौतीको कारण एआईमा बढ्दो निर्भरता हो। कम्पनीले व्यवस्थापन तहहरू घटाएर सञ्चालनलाई सुव्यवस्थित गरिरहेको बताएको छ।

हालैका कर्मचारी कटौतीले कोडरहरूलाई मात्र नभई अन्य विभागहरूलाई पनि असर गरेको छ। जनवरी-मार्च त्रैमासिकमा राम्रो आम्दानी भए पनि कम्पनीले कर्मचारी कटौती गरिरहेको छ। यसले माइक्रोसफ्टको एआई निर्देशक गाब्रिएला डे क्विरोजलाई पनि असर गरेको छ। उनले यसबारे लिंक्डइनमा पनि लेखेकी छिन् ।
उनले लेखिन्, ‘तीतो र मीठो खबर बाँड्दै। माइक्रोसफ्टको पछिल्लो कर्मचारी कटौतीबाट म प्रभावित छु। के मैले यो अपेक्षा गरेकी थिएँ ? सायद यी दिनहरूमा तपाईंले जतिसुकै कडा परिश्रम गरे पनि, आफ्नो कम्पनीको लागि जतिसुकै वकालत गरे पनि वा जतिसुकै भिजिबिलिटी ल्याए पनि – यी मध्ये कुनै पनि कुराले तपाईंलाई पुनर्संरचनाबाट मुक्त गर्दैन।”
सामाग्री श्रोत :
आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो