
कास्की। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ राष्ट्रिय एकताको अभियान बन्न पुगेको बताएका छन्।
अभियानका क्रममा पोखरा आइपुगेका अवसरमा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले आज साँझ पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बैतडीदेखी सुरु भएर पोखरासम्म आइपुग्दा राष्ट्रिय एकताको अभियान बनेको बताए।
अध्यक्ष दाहालले भने, ‘स्थानीय तहमा नेपाली कांग्रेस तथा नेकपा (एमाले) का सरकार भएका ठाउँमा समेत अभियानको स्वागत, अभिनन्दन र अभियान सफलताको शुभकामना व्यक्त गरिएको छ। सयौँ ठाँउमा प्रत्यक्ष सहयोग समेत भएको छ। यो माओवादीको मात्र अभियान नभएर राष्टिय एकताको अभियान र देशमा राजनीतिक अस्पष्टता र अराजकताको समाधानको अभियान बन्न पुगेको पुगेको छ।’
मध्यपहाडी लोकमार्ग केन्द्रीत जनजागरण अभियानको पहिलो चरण शनिबार पोखरामा सभा आयोजना पछि सम्पन्न हुने अध्यक्ष दाहालले जानकारी दिए। उनले जनताले राखेका मागहरु सरकारलाई बुझाइने र आगामी बजेटमा सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाए।
सामाग्री श्रोत :
जागरण अभियान राष्ट्रिय एकताको अभियान बन्न पुग्यो: अध्यक्ष दाहाल
काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी एक वर्षभित्र निक्षेप र कर्जाको ब्याजदर निश्चित सीमामा कायम गर्नुपर्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गरेको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना अनुसार केन्द्रीय बैंकले तोकिएको अवधिमा निक्षेपको वास्तविक ब्याजदर धनात्मक र कर्जाको ब्याजदर एकल उच्च अंक वा न्यून दोहोरो अंक कायम गर्नुपर्ने भएको हो ।
उच्चस्तरीय वित्तीय सुधार सुझाव आयोगले दिएको प्रतिवेदनका आधारमा प्रधामन्त्री कार्यालयले तयार गरेको कार्ययोजनाले वित्तीय क्षेत्रको ब्याजदरमा विशेष चासो दिएको देखन्छि । कार्ययोजनाले ऋणपत्र बजार चलायमान बनाउने, कर्जा निक्षेपको ब्याजदर अन्तर घटाउने गरी काम गर्न केन्द्रीय बैंकलाई निर्देशन दिएको छ ।
कार्ययोजना अनुसार केन्द्रीय बैंकले मौद्रिक व्यवस्थापनका लागि ब्याजदर करिडोर प्रभावकारी कार्यान्वयन गर्दै अन्तरबैंक ब्याजदर नीतिगत दर नजिक राख्ने काम निरन्तर गर्नुपर्ने छ । साथै, केन्द्रीय बैंकले ब्याजदर करिडोरको ब्यान्डलाई क्रमशः कम गर्दै लैजाने जिम्मेवारी तोकिएको छ ।
हाल ब्याजदर करिडोरको माथिल्लो बिन्दु ६.५ र तल्लो बिन्दु ३ प्रतिशत छ । केन्द्रीय बैंकले कार्ययोजना अनुसार काम गरे/नगरेको अनुगमन तथा सहजीकरण अर्थ मन्त्रालयले गर्ने छ । केन्द्रीय बैंकले यो काम निरन्तर गर्नुपर्ने छ । यसले अन्तरबैंक ब्याजदर र नीतिगत ब्याजदरबीच अन्तर काम भएको अपेक्षा गरिएको छ ।
त्यसैगरी केन्द्रीय बैंकले तरलता व्यवस्थापन थप प्रभावकारी बनाउँदै ब्याजदर उतारचढाव कम गर्नुपर्ने छ । यसले ब्याजदर उतारचढाव कम गर्ने अपेक्षा कार्ययोजनाको छ । मौद्रिक नीत उद्देश्यसँग तादात्म्यता कायम हुने गरी विदेशी विनिमय व्यवस्थापन र नियामकीय व्यवस्था कायम गर्न पनि केन्द्रीय बैंकलाई तोकिएको छ । राष्ट्र बैंकले यसो गर्दा मौद्रक नीतिको उद्देश्य विनिमय व्यवस्थापन एवं नियामकीय व्यवस्थाबीच तादात्म्यता कायम भएको कार्ययोजनाको दाबी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
तानसेन (पाल्पा)। यहाँको तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला परेका छन्। बिहीबार दिउँसो जिल्लाको तिनाउ गाउँपालिका–३ तिनाउखोला ड्यामसाइडमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतको महाराजगञ्ज नौतनहवाका १८ वर्षीय सोयव अन्सारी आज मृतावस्थामा फेला परेका हुन्।
नेपाल प्रहरी, नेपाली सेनाको तालिम प्राप्त टोलीले ड्यामसाइडबाट शव निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पवनकुमार भट्टराई बताए। ‘अन्सारी चार जना साथीहरूसँग घुम्न आएका थिए। साथीहरू भने सकुशल छन्’, उनले भने।
वैशाख र जेठमा तिनाउखोलामा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय सरकार र प्रहरीचौकी दोभानको समन्वयमा दुर्घटना सम्भावितस्थलका लागि निषेध गरे पनि आफूखुसी पौडी खोल्ने क्रम बढेकाले दुर्घटना भएको उनको भनाइ छ। हरेक वर्ष गर्मी मौसममा पौडी खेल्न जाने र खोलाको तस्वीर लिनेहरू लडेर ज्यान गुमाउने गरेका प्रउ भट्टराईले बताए।
यस क्षेत्र पर्यटकका लागि आकर्षणस्थल भए पनि त्यसको उचित सुरक्षा प्रबन्ध नहुँदा धेरैले ज्यान गुमाउनुपरेको हो। उक्त खोलामा आन्तरिक तथा बाह्य पर्यटक बढी जाने गरेका भन्दै सुरक्षाको उचित प्रबन्ध नहुँदा दुर्घटना हुने गरेको स्थानीय बताउँछन्।
खोला किनार तथा सम्भावित जोखिम भएका क्षेत्रमा जाँदा सुरक्षाका उपाय अपनाउन जिल्ला प्रहरी कार्यालयले स्थानीय, आगन्तुक तथा सरोकार भएका सबैलाई आग्रह गरेको छ। पछिल्ला केही दिनयता भारत, रुपन्देहीलगायत तराईका जिल्लाबाट गर्मी छल्न तिनाउखोलामा पौडी खेल्न पुग्नेको सङ्ख्या बढ्दै गएकाले उच्च सर्तकता अपनाउन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको हो।
सामाग्री श्रोत :
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एप्पललाई अमेरिकामै आईफोन उत्पादन गर्न दबाब दिएका छन् । शुक्रबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले हाल अमेरिकामा बिक्री हुनुअघि सबै आईफोन भारत वा अन्य देशमा नभई अमेरिकामै बन्नुपर्ने अडान राखेका छन् ।
“मैले धेरै अगाडि एप्पलका टिम कुकलाई अमेरिकामा बिक्री हुने आईफोन भारत वा अन्य देशमा नभई अमेरिकामै बनेको हुनुपर्छ भनेर सुचित गरेको थिएँ,” ट्रम्प्ले लेखेका छन्, “यदि त्यसो भएन भने उनीहरूले अमेरिकामा बेचिने आईफोनमा कम्तिमा पनि २५ प्रतिशत कर तिर्नुपर्ने हुन्छ ।”
गत हप्ता मध्यपूर्व भ्रमणका क्रममा ट्रम्पको भेट एप्पलका सीईओ टिम कुकसँग भएको थियो । त्यस क्रममा उनले अमेरिकामा बिक्री गरिने आईफोन भारतको प्रडक्सन प्लान्टमा उत्पादन गर्ने एप्पलको योजनाप्रति आफू असन्तुष्ट रहेको बताएका थिए ।
ट्रम्पको चेतावनीपछि शुक्रबार एप्पलको शेयर तीन प्रतिशतले घटेको छ । गत महिना ट्रम्पले चेतावनी दिएपछि एकैदिन कम्पनीको शेयर ३०० अर्ब डलरले घटेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।
विगत केही वर्षदेखि एप्पलले आफ्नो उत्पादन क्षमतालाई विस्तार गरिरहेको छ । कम्पनीले केही आईफोनको उत्पादन पहिल्यै भारतमा सारिसकिएको थियो । यसै महिनाको सुरुमा लगानीकर्तासँगको छलफलका क्रममा कुकले ‘अमेरिकामा बिक्री हुने अधिकांश आईफोनको उत्पादन भारतमा हुने’ अपेक्षा भएको बताएका थिए ।
फाइनान्सियल टाइम्सका अनुसार अमेरिकामा हरेक वर्ष छ करोड बढी आईफोन बिक्री हुँदै आएका छन् ।
पछिल्लो अध्यावधिक: जेठ ९, २०८२ २१:४३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेलाई थुनामा बाहिरै रहेर कानूनी प्रक्रिया अघि बढाउन दिन अस्वीकार गरेको छ ।
न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत, तुल्सीपुर बुटवल इजलासको आदेश सदर गरेको हो ।
लामिछानेले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक हुनुअघिबाटै उनी कम्पनीको आर्थिक कारोबारमा संलग्न रहेको देखिएको भनेको छ ।
‘लामिछानेले आफू मिति २०७७/०९/३० मा मात्र कम्पनीमा प्रबन्ध निर्देशकका रुपमा नियुक्ति लिएको पाएकाले सो अगाडिको आर्थिक कारोबारमा आफ्नो कुनै संलग्नता नरहेको भन्ने जिकिर लिएको भए तापनि…’, आदेशमा भनिएको छ, ‘निजले कम्पनीमा प्रबन्धक निर्देशकको पदमा नियुक्ति पाउनु अगाडि नै मिति २०७७/०७/०२ को सञ्चालक समितिको बैठकमा कार्यकारी निर्देशकको हैसियतले उपस्थित भएको देखिन्छ र सो बैठकले ग्लोबल आईएमई बैंकको कालोपुल शाखामा खाता सञ्चालन गर्ने निर्णय गरेको देखिन्छ ।’
त्यो खातामा जिबी राई, छविलाल जोशी वा रवि लामिछानेमध्ये कुनै एकको हस्ताक्षरबाट खाता सञ्चालन गर्ने भनी निर्णय गरेको देखिएको समेत भनिएको छ ।
‘सोही निर्णय बमोजिम खोलिएको कम्पनीको खातामा सहकारी संस्थाबाट पटकपटक रकम आएको देखिँदा सहकारी संस्थाबाट रकम लैजाने गरी भएको आर्थिक कारोबारमा यी निवेदक प्रबन्ध निर्देशक हुनुपूर्वदेखि नै संलग्न भएको देखिन आयो’, आदेशमा भनिएको छ ।
हाल लामिछाने जिल्ला कारागार रुपन्देहीमा थुनामा छन् । यसअघि जिल्ला अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो । तर, पछि उच्च अदालतले जिल्लाको आदेश उल्ट्याउँदै थुनामा पठाउने आदेश गरेको थियो । त्यसपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर भैरहवा लगिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। लामिछानेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले उनलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको हो।
न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछाने पत्नी निकिता पौडेलले रिहा गर्न माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गर्दै उनलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो।
गत मंगलबारदेखि सुरु भएको सुनुवाईमा शुक्रबार रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध जाहेरी दिएका कानुन व्यवसायीले बहस गरेका थिए। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले शुक्रबार बहस गरे थिए। लगत्तै रवि र छविका कानुन व्यवसायी अधिवक्ता सुशीलकुमार पन्त, रमनकुमार श्रेष्ठ र सतिषकृष्ण खरेलले जवाफी बहस गरेका थिए।
सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर लामिछानेलाई थुनामा पठाएको थियो।
गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उच्च अदालतको आदेशविरुद्ध लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन्। त्यसका साथै लामिछानेले उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखेर अर्को निवेदन पनि दर्ता गराएका थिए।
सामाग्री श्रोत :
काठमाडौँ । सामाजिक सञ्जालका विभिन्न माध्यममा यतिबेला एउटा भिडिओले चर्चा पाइरहेको छ । जसमा बन्जी जम्प तथा स्विङ गर्ने प्लेटफर्म नै भत्किएर मानिसहरू दुर्घटनामा परेको देखाइएको छ । इन्स्टाग्राम रिल्स, युट्युब शर्ट्स, टिकटक, फेसबुक लगायतका माध्यममा यो भिडिओ शेयर भइरहेको छ ।
विशेषगरी भारतीय मिडिया र सामाजिक सञ्जालमा यसले ठुलो चर्चा पाएको छ । नेपालमा पनि केही सामाजिक सञ्जाल पेज तथा प्रयोगकर्ताले यो भिडिओ शेयर गरिरहेका छन् । भिडिओमा ‘The Cliff’ लेखिएको देखेर पर्वतको कुश्मास्थित ‘द क्लिफ रिसोर्ट’ मा घटना भएको आशंकामा उनीहरूले यो भिडिओ भाइरल बनाएका छन् ।
भिडिओमा दुई व्यक्तिहरू बन्जी जम्प गर्ने प्लेटफर्ममा उभिएको देखिन्छ । उनीहरू बन्जी जम्प गर्नै लाग्दा क्लिफको प्लेटफर्म अचानक भत्किएर उनीहरूसँगै एक क्रु मेम्बर (कर्मचारी) समेत तल खसेको दृश्य देखिन्छ । भिडिओ अत्यन्तै डर त्रास फैलाउने शैलीमा प्रस्तुत गरिएको छ । तर, टेकपाना फ्याक्टचेकको अनुसन्धानमा उक्त भिडिओ वास्तविक दुर्घटना नभई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि प्रयोग गरेर तयार पारिएको र सामाजिक सञ्जाल तथा मिडियामा भ्रामक रूपमा प्रस्तुत गरिएको पुष्टि भएको छ ।
दाबी
इन्स्टाग्राममा योगेश शर्मा (युजर आईडी yogesh.sharma.7374) नामका प्रयोगकर्ताले मे २०, २०२५ मा ‘Bungee jumping broke down in Rishikesh’ (ऋषिकेशमा बन्जी जम्प भत्कियो) भन्दै यो भिडिओ शेयर गरेका छन् । उनले यो भिडिओ भारतको ऋषिकेशमा भएको दुर्घटना भनेर दाबी गरेका छन् । हेर्नुहोस् ओरिजिनल लिक र आर्काइभ लिक
इन्स्टाग्राममा @travelfails युजर आईडीको अकाउन्टमा यही भिडिओ पोस्ट गर्दै अंग्रेजीमा क्याप्सन लेखिएको छ । जसको आशय यस्तो हुन्छ: “भारतमा भएको बन्जी जम्प दुर्घटनाले इन्जिनियरिङ मापदण्ड बिना गरिने साहसिक खेलकुद कति खतरनाक हुन सक्छ भन्ने स्पष्ट सन्देश दिएको छ । इन्जिनियरिङ प्रशिक्षणको स्तर कमजोर रहेका देशहरूमा यस्ता साहसिक आकर्षणहरूमा सहभागिता गर्दा जोखिमको सम्भावना झनै बढ्छ । मनोरञ्जन छनोट गर्दा यस्तो पक्षलाई पनि ध्यानमा राख्नु अत्यन्त जरुरी छ ।” यो पोस्टले पनि यसलाई वास्तविक दुर्घटनाका रूपमा प्रस्तुत गरेको छ ।
इन्स्टाग्राम प्रयोगकर्ता योगेश शर्मा र ट्राभल फेल्सले अपलोड गरेको भिडिओलाई पछ्याउँदा इन्स्टाग्राममा उही ओरिजिनल साउन्ड प्रयोग गरी हालसम्म ३० भन्दा बढी रिल्स शेयर भएको पाइयो । अधिकांश भिडिओमा फरक-फरक ठाउँमा बन्जी दुर्घटना भएको दाबी गरिएको देखिन्छ ।
केही समाचार माध्यमले यस घटनालाई भारतस्थित ऋषिकेशकै भन्दै प्रकाशित गरेका छन् । भारतको चर्चित मिडिया जी न्युज (ZEE NEWS) ले हिन्दीमा लेखेको समाचारको आशय यस्तो छ- “सोसल मिडियामा एक डर लाग्दो भिडिओ तीव्र रूपमा भाइरल भइरहेको छ, जहाँ बन्जी जम्पिङ गर्ने क्रममा अचानक प्लेटफर्म भाँचिँदा एक जोडी र त्यहाँ कार्यरत एक कर्मचारी समेत तल खसेका देखिन्छन् । यो घटना ऋषिकेशको भएको बताइएको छ । यो भयानक दृश्य हेरेर धेरैको रौं जुरुक्क उठेको छ । तपाईं पनि हेर्नुहोस् यो भिडिओ……..” । हेर्नुहोस् जी न्युजको लेखेको समाचार- ओरिजिनल लिंक र आर्काइभ लिंक
भिडिओमा ‘The Cliff’ को लोगो देखिएकाले नेपालका केही सामाजिक सञ्जाल प्रयोगकर्ताले यसलाई पर्वतस्थित ‘द क्लिफ’ मा भएको दुर्घटना हुनसक्ने आशङ्काले विभिन्न माध्यममा शेयर तथा कमेन्ट गरिरहेका छन् ।
अनुसन्धान
भाइरल भिडिओलाई ध्यानपूर्वक हेर्दा ‘द क्लिफ’ नेपालमा सञ्चालित क्यानोन स्विङ (Canyon Swing) को प्लेटफर्मसँग मिल्छ कि भनेर जाँच गरियो । वास्तविक क्यानोन स्विङमा व्यक्तिलाई तल झार्नका लागि प्लेटफर्म त्यसरी नै अगाडि ढल्किने (टिप ओभर) गरी डिजाइन गरिएको हुन्छ । तर त्यो संरचना भत्किने गरी तल झारिँदैन । भिडिओमा मानिसहरू खस्ने तरिका, प्लेटफर्मको गति र केही फ्रेमहरूमा देखिने विवरणहरू (जस्तै, मानिसहरूको आकृतिमा आउने अस्पष्टता, पृष्ठभूमिमा देखिने केही वस्तुको कृत्रिमता) अलि अस्वाभाविक र एआई-निर्मित जस्ता देखिन्छन् । केही फ्रेमहरूमा प्रकाश र छायाँको संयोजन पनि प्राकृतिक देखिँदैन, जुन एआई-निर्मित भिडिओहरूमा देखिने सामान्य कमजोरी हो ।
यस भिडिओको तथ्यजाँचका लागि सबैभन्दा पहिला त भिडिओको विभिन्न किफ्रेम निकालेर गुगल रिभर्स इमेजमा गएर हेर्यौँ । यस क्रममा भाइरल भिडिओ सम्बन्धी दर्जनौं रिजल्ट देखापरे ।
यसमध्ये सबैभन्दा पुरानो पोस्ट @quakeskyfall नामको अकाउन्टबाट युट्युब शर्ट्समा मे ३, २०२५ मा ‘Bungee Jump Turns Into CHAOS as Platform Crashes’ शीर्षकमा ७ सेकेन्डको भिडिओ अपलोड भएको पाइयो । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा एक लाख ४३ हजार लाइक, चार करोड २० लाख बढी भ्युज र एक हजार ४६३ कमेन्टहरू आएका छन् ।
भिडिओको क्याप्सनमा पर्वतको ‘द क्लिफ’ नाम नतोकिए पनि पृष्ठभूमिमा ‘THE CLIFF’ को लोगो प्रष्ट देखिन्छ भने अन्य दृश्यहरूले पनि यो पर्वतकै ‘द क्लिफ’ भएको अड्कल गर्न सकिन्छ । भिडिओमा बन्जी जम्पको तयारी गरिरहेका दुई जना यात्रु र एक जना क्रु मेम्बरसहित प्लेटफर्म तल खसेर दुर्घटना भएको जस्तो देखाइएको छ ।
टेकपाना फ्याक्टचेक अनुसन्धानले यस भाइरल भिडिओको मूल स्रोत युट्युब च्यानल @quakeskyfall नै भएको पत्ता लगायो । उक्त च्यानलले भिडिओ अपलोड गर्दा डिस्क्रिप्सनमा स्पष्ट रूपमा “This is AI edited by me and created by me, no harm was done to no one, everyone is safe.” (अर्थात्: यो मैले एआईद्वारा सम्पादन र सिर्जना गरेको हुँ, कसैलाई कुनै हानि भएको छैन, सबैजना सुरक्षित छन्) भनी डिस्क्लेमर राखेको पाइयो । उक्त च्यानलले यस्तै प्रकृतिका अन्य एआई-निर्मित दुर्घटनाका भिडिओहरू पनि सोही डिस्क्लेमरसहित राख्ने गरेको छ । यसकारण यो भिडिओ एआई-निर्मित भएको सबैभन्दा बलियो प्रमाण हो ।
यो भिडिओ वास्तविक नभई सम्पादित वा एआई-निर्मित हो भनेर युट्युबर स्वयंले प्रष्ट पारेका छन् । यसमा प्रमाणित हुने थप केही आधारहरू पनि छन् । पहिलो त, बन्जी जम्पजस्तो उच्च जोखिमयुक्त गतिविधिमा क्रु मेम्बरले अनिवार्य रूपमा हार्नेस (बेल्ट), सेफ्टी रोप, क्यारबिनर लगायतका सुरक्षा उपकरण प्रयोग गर्छन् । तर भिडिओमा यस्तो कुनै सुरक्षा उपकरण प्रयोग गरिएको देखिँदैन, जसले यसको विश्वसनीयतामाथि शंका उठाउँछ ।
दोस्रो, भिडिओलाई जुम गर्दा ती व्यक्तिहरूको औंला अस्वाभाविक देखिन्छ । र, प्लेटफर्म खस्ने क्रममा मानिसको शरीरका अंगहरू विशेषगरी हात अस्पष्ट भएर फरक स्वरूपमा देखा पर्ने दृश्य देखिन्छ । प्रायः एआईले बनाएको वा सम्पादित भिडिओमा यस्तो विशेषता देखिन्छ । यी दृश्यहरू वास्तविकताभन्दा कृत्रिमता झल्काउने भएकाले यो भिडिओमा देखाइएको घटना त्यसैपनि पत्यारलाग्दो देखिँदैन ।
त्यसैगरी, ‘द क्लिफ नेपाल’ को आधिकारिक वेबसाइट वा सामाजिक सञ्जालमा यस्तो कुनै दुर्घटनाबारे हालसम्म कुनै जानकारी दिइएको छैन । यदि साँच्चिकै यस्तो घटना भएको भए सञ्चारमाध्यममा मुख्य समाचार बन्नुपर्ने थियो । तर हालसम्म नेपालका कुनै पनि समाचार मिडियाले यस्तो विषयमा कुनै सामग्री प्रकाशित/प्रसारित गरेका छैनन् ।
‘द क्लिफ’ रिसोर्टका सञ्चालक राजु कार्कीले हालसम्म यस्तो दुर्घटना नभएको पुष्टि गरेका छन् । २०१९ अक्टोबरदेखि सञ्चालनमा आएको उक्त सेवामा अहिलेसम्म कुनै मानवीय र भौतिक क्षति नभएको उनले उल्लेख गरे । सामाजिक सञ्जालमा यसबारे व्यापक रूपमा चर्चा चलिरहेकाले भ्रामक सामग्रीबाट सचेत रहन उनले सबैलाई आग्रह समेत गरेका छन् ।
भाइरल भइरहेको यस भिडिओ एआई निर्मित हो भनेर भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले समेत फ्याक्टचेक गरेको छ । हेर्नुहोस् इन्डिया टुडेको समाचार ।
दाबी
पर्वतको द क्लिफमा बन्जी जम्पको प्लेटफर्म खसेर भयानक दुर्घटना भयो ।
दाबीकर्ता
सामाजिक सञ्जाल प्रयोगकर्ता र केही सञ्चारमाध्यम (yogesh.sharma.7374, travelfails, जी न्युज लगायत) ।
तथ्य
भाइरल भिडिओ पर्वतको ‘द क्लिफ’ को भएपनि त्यहाँ कुनै दुर्घटनाको भएको छैन । यो भिडिओ एआई प्रविधि प्रयोग गरेर बनाइएको हो । जसको पुष्टि भिडिओ अपलोड गर्ने च्यानल @quakeskyfall ले नै डिस्क्लेमरमार्फत गरेको छ । द क्लिफ नेपालका प्रतिनिधिले पनि हालसम्म त्यस्तो कुनै दुर्घटना नभएको पुष्टि गरेका छन् ।
निष्कर्ष
सामाजिक सञ्जालमा बन्जी जम्पको प्लेटफर्म खसेर दुर्घटना भएको भन्दै भाइरल बनाइएको भिडिओ पूर्ण रूपमा भ्रामक हो । टेकपाना फ्याक्टचेकले यो भिडिओलाई वास्तविक दुर्घटना नभई एआईद्वारा तयार पारिएको पुष्टि गरेको छ । उक्त भिडिओमा भ्रामक शीर्षक र सन्दर्भ प्रयोग गरी सामाजिक सञ्जालका विभिन्न माध्यममार्फत त्रास फैलाउने र गलत सूचना प्रवाह गर्ने कार्य भइरहेको छ । भिडिओ तयार पार्ने पक्षले समेत यसलाई एआई-निर्मित भएको स्वीकारेको छ । यद्यपि, अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सत्यतथ्य नबुझी निरन्तर शेयर गरिरहँदा मिथ्या सूचना फैलिएको छ ।
प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य-जाँच गर्नुपर्ने विषय पठाउन सक्नु हुनेछ । तथ्य-जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: जेठ ९, २०८२ २०:५३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेद्वारा दायर बन्दी प्रत्यक्षीकरणको निवेदन जारी गर्न अस्वीकार गरेको छ ।
न्यायाधीद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गरेको निर्णय कानुनसम्मत भएकाले उल्ट्याउन नपर्ने आदेश गरेको हो ।
गत वैशाख ७ गते लामिछानेका तर्फबाट पत्नी निकिता पौडेलले दिएको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै न्यायाधीद्वय सुवेदी र ढकालको संयुक्त इजलासले शुक्रबार लामिछानेलाई थुनामुक्त गर्न नपर्ने आदेश दिएको हो ।
बुटवलको सुप्रिम सहकारीसम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने रुपन्देही कारागारमा छन् । सो मुद्दामा गत माघ १३ मा रूपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको थियो ।
उक्त आदेशविरुद्ध रुपन्देही सरकारी वकिलको कार्यालयले रिट दर्ता गरेको थियो । सोही मुद्दामा सुनुवाइ गर्दै उच्च तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । बालगायिका आँचल बसेलको ‘मेरो हिमाल क्या मिठो हाँसेको…’ बोलको राष्ट्रभक्तिपूर्ण गीत सार्वजनिक भएको छ। डा. केएन स्वामी (डा. केशवानन्द गिरि) को रचना रहेको भिडियोको शुक्रबार बसेलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
गीतमा नेपालको हिमालदेखि तराईसम्मका सौन्दर्यको बयान गरिएको छ। यसैगरी तराईका माथि चढ्नुपर्ने र हिमालका तल झर्नुपर्ने सन्देश गीतमा पाइन्छ। परदेश गएकालाई फर्कन आग्रह गर्दै स्वदेशमै श्रम गरेमा मोती फल्न सक्ने भाव गीतले दिएको छ।
स्वदेशको महिमा समेटिएको यो गीति विद्यालयका बालबालिकाले गुनगुनाउन सक्ने गरी मिठो भाकामा प्रस्तुत गरिएको छ। गीतमा संगीत सच्चिन्द्र पौडेलले दिएका छन् भने संगीत संयोजन राजेन्द्र बाइबाले गरेका हुन्। भिडियोमा गायिका बसेल, एलेक्सा गिरि, अदिति खनालले अभिनय गरेका छन्। नृत्य निर्देशन चाँदनी शाहीले गरेकी हुन् भने भिडियोको निर्माण देवराज बसेलले गरेका हुन्।
१२ वर्षीया आँचल भ्वाइस अफ किड्सको सिजन ३ मा सेमिफाइनलसम्म पुगेकी थिइन्। उनी डा. केएन स्वामीसँगको सान्निध्यमा रहेर संस्कृतका विभिन्न विधा अध्ययन गरिरहेकी छन्। अस्ट्रेलियामा जन्मिएर नेपाल आएकी आँचल आफ्नो कलासंस्कृति र सभ्यता सिक्नकै लागि स्वदेश आएको बताउँछिन्।
सामाग्री श्रोत :
काठमाडौँ । माइक्रोसफ्टले नोटप्याडमा एआई प्रयोग गरी टेक्स्ट तयार पार्ने फिचरको परीक्षण थालेको छ । कम्पनीले विन्डोज ११ को नयाँ अपडेटमार्फत उपलब्ध गराउन ‘राइट’ नामक नयाँ फिचरको परीक्षण थालेको हो ।
द भर्जका अनुसार सुरुवाती चरणमा यो फिचर विन्डोज इनसाइडरको क्यानरी र डेभ च्यानलमा कोपाइलट प्लस पीसी भएका प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छ । यस अपडेटमा नोटप्याडका बाहेक पेन्ट एपका लागि स्टिकर तयार पारिदिने नयाँ एआई फिचर आएको छ भने स्निपिङ टुलमा सुधार गरिएको छ । स्निपिङ टुलले अब तपाईंले छानेको कन्टेन्टलाई विश्लेषण गरी त्यसैका आधारमा स्क्रिनशट लिई स्वतः क्रप र रिसाइज गर्न सक्नेछ ।
विन्डोज इनसाइडर ब्लगका अनुसार एआईद्वारा सञ्चालित नोटप्याडको यो नयाँ फिचर प्रयोग गर्दा तपाईंले प्रम्प्ट दिनुपर्ने हुन्छ । त्यसपछि त्यही प्रम्प्टका आधारमा एआई टुलले टेक्स्ट तयार पारिदिन्छ ।
त्यसबाहेक आफूले लेखेका सामग्रीलाई मिलाएर राख्न पनि यो फिचर प्रयोग गर्न सक्नुहुन्छ । त्यसैगरी तपाईंले लेखिसकेको कन्टेन्टमा पनि केही सुधार गर्नुपर्यो वा केही थप्नुपर्यो भने तपाईंले एआई टुल प्रयोग गर्न सक्नुहुन्छ ।
विन्डोजको कोपाइलट मेनुमा रहेको नयाँ ‘राइट’ फिचर छानिसकेपछि एउटा प्रम्प्ट देखा पर्छ । त्यसमा आफूले दिन चाहेको निर्देशन प्रम्टका रूपमा राख्न सकिन्छ । त्यसपछि एआईले तयार पारेका शब्दहरू देखा पर्नेछन् । ती शब्द चित्त नबुझेको खण्डमा रद्द गर्न वा थप प्रम्प्ट राखेर त्यसलाई सुधार गर्न सकिने जनाइएको छ ।
यसअघि माइक्रोसफ्टले नोटप्याडमा ‘समराइज’ र ‘रिराइट’ जस्ता फिचर ल्याएको थियो । समराइजले डकुमेन्टमा भएको टेक्स्टको सारांश तयार पार्न सक्छ भने रिराइटले शब्दलाई परिमार्जन गरी प्रयोगकर्ताको आवश्यकता अनुसार शब्दलाई छोटो, लामो वा पुनर्लेखन गर्न सक्छ ।
माइक्रोसफ्ट पेन्टमा यसअघि जेनेरेटिभ फिल (फोटोमा खाली ठाउँ भर्ने), जेनेरेटिभ इरेज (फोटोको अनावश्यक वस्तु हटाउने), शब्दकै भरमा फोटो तयार पार्ने कोक्रियट टुल परीक्षण भएका थिए । अब कोपाइलट मेनुमा भएको नयाँ बटनमा क्लिक गर्नासाथ एउटा प्रम्प्ट बक्स खुल्छ । त्यसमा तपाईंले आफूले बनाउन चाहेको स्टिकरको प्रम्प्ट राख्न सक्नुहुन्छ । त्यसपछि पेन्टले तपाईंको प्रम्प्टको आधारमा स्टिकर तयार पारिदिन्छ । त्यस्ता स्टिकरलाई नयाँ क्यान्भासमा पेस्ट गर्न वा अन्य एपमा पेस्ट गरेर आवश्यकता अनुसार प्रयोग सक्नुहुन्छ ।
पेन्टमा नयाँ ‘अब्जेक्ट सेलेक्ट’ टुल आउने भएको छ । उक्त टुलले एआई प्रयोग गरी फोटोको कुनै वस्तु सेलेक्ट गर्न सक्छ । त्यसलाई सेलेक्ट गरिसकेपछि आवश्यका अनुसार एडिट गर्न सकिन्छ । अन्य टुलको तुलनामा यसले सटीकताका साथ वस्तु पहिचान गर्ने कम्पनीको दाबी छ ।
त्यस्तै विन्डोज ११ को स्निपिङ टुलमा ‘पर्फेक्ट स्क्रिनसट’ नामक नयाँ बटन आउने भएको छ । यसको सहायताले तपाईंले आफूलाई आवश्यक परेको भाग तत्कालै स्क्रिनशट गर्न र एडिट नगरेरै आवश्यक पर्ने ठाउँमा शेयर गर्न सक्नुहुन्छ । यसका लागि प्रयोगकर्ताको आवश्यकता के हो भन्ने पहिचान गर्न उक्त टुलले एआई प्रयोग गर्ने जनाइएको छ ।
नोटप्याडको नयाँ ‘राइट’ फिचर प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो माइक्रोसफ्ट अकाउन्टमा साइन इन गर्नुपर्ने हुन्छ । यो फिचर परीक्षणका चरणमा निःशुल्क उपलब्ध भइरहेको छ । यो फिचर पूर्ण रूपमा सार्वजनिक भइसकेपछि निःशुल्क उपलब्ध हुन्छ वा शुल्क लाग्छ भन्नेबारे कम्पनीले कुनै जानकारी दिएको छैन । त्यसबाहेक यो फिचर सबै प्रयोगकर्ताका लागि कहिले उपलब्ध हुन्छ भन्ने विवरण पनि हालसम्म बाहिरिएको छैन ।
पछिल्लो अध्यावधिक: जेठ ९, २०८२ १४:३१
सामाग्री श्रोत :
टेक पाना