२०८२ जेष्ठ ६ सोमबार
२०८२ जेष्ठ ६ सोमबार

आफ्नो चकलेट प्रचार गर्न युट्युबर मिस्टर बिस्टले माया पिरामिडको दुरुपयोग गरेको आरोप

काठमाडौं । मेक्सिकोले अमेरिकी युट्युबर जिम्मी डोनाल्डसन ऊर्फ मिस्टर बिस्टमाथि प्राचीन माया पिरामिडको दुरुपयोग गरेको आरोप लगाएको छ । मिस्टर बिस्टले व्यावसायिक लाभका लागि माया पिरामिडको भिडिओ बनाएको भन्दै सरकारले उनको भिडिओ निर्माता कम्पनी ‘फुल सर्कल मिडिया’सँग क्षतिपूर्ति माग गरेको हो ।

बिस्टले १० मे २०२५ मा ‘मैले २००० वर्ष पुरानो प्राचीन मन्दिरको अन्वेषण गरेँ’ शीर्षकको भिडिओ अपलोड गरेका थिए । मेक्सिको सरकारका अनुसार उनले सो भिडिओ अनुमति लिएर खिचेका थिए । भिडिओमा मिस्टर बिस्ट प्राचीन माया सहरहरू घुमेको देखाइएको छ । तर, एक हप्तामा छ करोडभन्दा बढी पटक हेरिएको उक्त भिडिओको एक अंशमा उनले आफ्नो चकलेटलाई ‘माया डेजर्ट’ भन्दै प्रचार गरेका छन् ।

बीबीसीका अनुसार मेक्सिकाका अधिकारीले पुरातात्त्विक स्थलमा छायाङ्कनको अनुमति दिए पनि त्यसलाई व्यावसायिक वा नाफामूलक प्रयोजनका लागि प्रयोग गर्न अनुमति नदिएको स्पष्ट पारेका छन् । मिस्टर बिस्टका एक प्रतिनिधिले भने उक्त आरोप अस्वीकार गर्दै आईएनएएच (राष्ट्रिय मानवशास्त्र तथा इतिहास संस्थान) ले निरीक्षण गरिएका कुनै पनि पुरातात्विक स्थलमा विज्ञापन सामग्री छायाङ्कन नगरिएको दाबी गरेका छन् । “आईएनएएचले निरीक्षण गरेका कुनै पनि पुरातात्त्विक स्थलमा विज्ञापन सामग्री छायाङ्कन गरिएको थिएन,” ती प्रतिनिधिले बीबीसीलाई भने ।

उनका अनुसार चकलेटको प्रचार युट्युबरको क्याम्पिङ स्थलमा खिचिएको थियो भने भिडिओको उद्देश्य ‘मेक्सिकोका बहुमूल्य माया स्थललाई उजागर गर्नु’ थियो ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाउमले छायाङ्कन अनुमति दिँदाका सर्तहरूबारे अनुसन्धान गर्न गत बुधबार निर्देशन दिएकी थिइन् । मिस्टर बिस्टले भिडिओको क्याप्सनमा मेक्सिकाली पर्यटन तथा सरकारी अधिकारीलाई धन्यवाद दिँदै आफ्नो चकलेट उत्पादनको लिङ्क पनि समावेश गरेका छन् ।

भिडिओमा मिस्टरबिस्ट र उनको टिमले कालाकमुल र चिचेन इत्जा जस्ता माया सहरका प्रतिबन्धित क्षेत्रमा घुमेको, हेलिकप्टरबाट पिरामिडमा ओर्लिएको र प्राचीन प्रि-हिस्पानिक मास्क समातेको देखाइएको छ । एक ठाउँमा उनले ‘सरकारले हामीलाई यो गर्न दिइरहेकोमा म विश्वास गर्न सक्दिनँ’ समेत भनेका छन् ।

तर, आईएनएएचले यी दाबीलाई ‘गलत’ र ‘युट्युबरको नाटकीयता’ को संज्ञा दिएको बीबीसीले उल्लेख गरेको छ । सो संस्थानका अनुसार मिस्टरबिस्टले कहिल्यै वास्तविक प्रि-हिस्पानिक मास्क समातेका थिएनन् र हेलिकप्टरको दृश्य जस्ता अंशहरू एडिट गरी थपिएका हुन् ।

मेक्सिकोकी संस्कृति सचिव क्लाउडिया कुरिएल डे इकाजाले छायाङ्कनको अनुमति दिए पनि गलत सूचना प्रकाशन वा सम्पदा स्थलका फोटोको ट्रेडमार्क विज्ञापनका लागि प्रयोग गर्न कहिल्यै अधिकार नदिएको बताइन् । उनले बीबीसीलाई भनिन्, “पुरातात्विक स्थलहरूको मूल्यलाई विकृत गर्ने कुनै पनि व्यावसायिक गतिविधिलाई हामी अस्वीकार गर्दछौं जुन हाम्रा आदिवासी संस्कृतिहरूको विरासत र हाम्रो राष्ट्रको गौरव पनि हो ।”

उनले आईएनएएचले अनुमति लिने कम्पनी ‘फुल सर्कल मिडिया’ विरुद्ध ‘प्रशासनिक प्रतिबन्ध’ लगाउनेबारे विचार गरिरहेको जानकारी दिइन् । ‘युट्युबका बादशाह’ उपनामले चिनिने मिस्टरबिस्टका प्लेटफर्ममा ३९ करोड ५० लाखभन्दा बढी फलोअर छन् । विवादित माया पिरामिड सम्बन्धी भिडियो यो सामग्री तयार पार्दासम्म छ करोड ८६ लाख बढी भ्युज छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८२ १२:३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट