काठमाडौं– रसुवा भन्सार नाकाबाट करिब ७ किलो सुन बरामद भएको छ । केरुङबाट स्याउ लिएर आएको कन्टेनरमा उक्त परिमाणको सुन बरामद भएको हो ।

रसुवा भन्सार कार्यालय प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार ७ वटा बिस्कुट र केही साना टुक्रामा सुन बरामद भएको हो ।
बरामद भएको सुनको तौल करिब ७ किलो ६ सय ग्राम रहेको भन्सार कार्यालयले जनाएको छ । सीमावर्ती चिनियाँ बजार केरुङबाट सुन आइरहेको छ भन्ने सुराकीका आधारमा नाकामा खानतलासी गर्दा सुन बरामद भएको उनले बताए । चालकको सिटनजिकै फल्स बटम बनाएर सुन राखिएको उनको भनाइ छ ।
चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप जाँचका लागि सुन बैंकमा लगिएको पनि भन्सार कार्यालयले जनाएको छ । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ हुन थालेपछि सुन तस्करीका लागि तस्करहरूले उत्तरी नाका प्रयोग गर्न थालेका छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ