काठमाडौं । आफ्ना प्राध्यापकले गोप्य रूपमा एआई टुल प्रयोग गरी नोट तयार गरेको थाहा पाएपछि अमेरिकाको एक विश्वविद्यालयकी विद्यार्थीले शिक्षण शुल्क फिर्ता गर्नुपर्ने माग राखेकी छिन् । नर्थइस्टर्न विश्वविद्यालयबाट यसै वर्ष स्नातक गरेकी एला स्टेपलटनले ‘बिजनेस’ विषयका प्राध्यापकको लेक्चरमा शङ्का लागेपछि औपचारिक उजुरी दर्ता गराएकी हुन् ।

स्टेपलटनका अनुसार उनले प्राध्यापकले तयार पारेको नोटमा एआईले लेखेको सामग्रीका स्पष्ट सङ्केत देखेकी थिइन् । त्यसको सन्दर्भ सूचीमा ‘च्याटजीपीटी’ को उद्धरण, बारम्बार देखिने टाइप त्रुटि र अतिरिक्त अङ्ग भएका तस्बिर थिए । उनले उक्त घटना थाहा पाउने बित्तिकै कक्षाकी एक साथीलाई टेक्स्ट म्यासेज गरेर नोटको बारेमा तत्कालै जानकारी दिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।
“के तिमीले क्यानभासमा राखेको नोट हेर्यौ ? प्राध्यापकले त त्यो च्याटजीपीटीबाट बनाउनु भएको रहेछ,” स्टेपलटनले साथीलाई टेक्स्टमार्फत जानकारी दिएकी थिइन् । त्यसको जवाफमा साथीले भनेकी थिइन्, “हे भगवान्, के हो यो ?”
प्रतिष्ठित विश्वविद्यालयको महँगो शुल्कका बावजुद आफूले उच्चस्तरीय शिक्षा नपाएकोमा आक्रोशित स्टेपलटनले विश्वविद्यालयको बिजनेस स्कुलमा औपचारिक उजुरी दर्ता गरिन् । सो उजुरीमा एआईको प्रयोगका साथै प्राध्यापकको शिक्षण शैलीमा अन्य समस्या भएको उल्लेख गरिएको थियो । यसरी प्रध्यापकले एआई टुल प्रयोग गरेको भन्दै ती विद्यार्थीले शिक्षण शुल्क लगभग आठ हजार अमेरिकी डलर (करिब १० लाख रुपैयाँ) फिर्ता पाउनुपर्ने माग राखेकी थिइन् ।

“उहाँले हामीलाई च्याटजीपीटी प्रयोग नगर भन्नुहुन्छ अनि आफैँ प्रयोग गर्नुहुन्छ,” स्टेपलटनले भनिन् । तर, धेरै छलफलपछि नर्थइस्टर्न विश्वविद्यालयले स्टेपलटनको माग अस्वीकार गरेको बताइएको छ । एआई नोटका पछाडि रहेका प्राध्यापक रिक एरोउडले आफूले च्याटजीपीटी, पर्प्लेक्सिटी एआई सर्च इन्जिन र एआई प्रेजेन्टेसन तयार पार्ने टुल गामा प्रयोग गरेर लेक्चर तयार पारेको स्वीकार गरे ।
“अहिले फर्केर हेर्दा मलाई लाग्छ मैले त्यसलाई अझ राम्रोसँग ध्यान दिएर हेर्नुपर्ने रहेछ । यदि मेरो अनुभव अरूका लागि सिक्ने अवसर बन्यो भने म त्यसलाई खुसीको कुरा मान्छु,” उनले न्युयोर्क टाइम्सलाई भने । नर्थइस्टर्नको एआई नीति अनुसार कुनै पनि फ्याकल्टी मेमेबर वा विद्यार्थीले ‘एआई सिस्टम प्रयोग गरी सामग्री तयार पार्दा उचित श्रेय दिनुपर्छ’ ।
सन् २०२२ मा सार्वजनिक भएको च्याटजीपीटीले विश्वभर एआई क्षेत्रमा क्रान्ति ल्याएको छ । सुरुवाती समयमा विद्यार्थी नै यस टुलका प्रयोगकर्ता भएपनि थुप्रै स्कुल तथा क्याम्पसले यसको प्रयोग सीमित गरेका छन् । केहीले भने च्याटजीपीटी लगायतका एआई टुलको प्रयोगलाई पूर्ण रूपमा रोक लगाएका छन् ।
पछिल्लो अध्यावधिक: जेठ ३, २०८२ १२:२३
सामाग्री श्रोत :
टेक पाना