काठमाडौँ । सानादेखि ठुला सबै प्रकारका व्यवसायलाई डिजिटल रूपमा व्यवस्थित गर्न सघाउने उद्देश्यसहित ओपन सोर्स ईआरपी सफ्टवेयर ओडू (Odoo) नेपालमा सञ्चालनमा आएको छ । ओडूको नेपालस्थित आधिकारिक सेवा प्रदायक स्मार्टेन टेक्नोलोजीजले यो सफ्टवेयरको दुई भर्सन भित्र्याएको हो । यसअन्तर्गत कम्युनिटी भर्सन निःशुल्क छ भने इन्टरप्राइज भर्सन सशुल्क रहेको छ ।

स्मार्टेनका अनुसार कम्युनिटी भर्सन साना व्यवसाय र स्टार्टअपका लागि उपयुक्त मानिन्छ । यसमा अकाउन्टिङ, इन्भेन्ट्री, किनबेच जस्ता कोर मोड्युलहरू निःशुल्क प्रयोग गर्न सकिन्छ । इन्टरप्राइज भर्सनमा एडभान्स रिपोर्टिङ, भीओआइपी इन्टिग्रेसन, हेल्प डेस्क, एआई फिचर लगायतका सुविधा छन् ।
इन्टरप्राइज प्रयोगकर्ताले कुनै पनि एउटा एप निःशुल्क प्रयोग गर्न सक्छन् । तर दुई वा बढी एपहरू प्रयोग गर्नुपर्ने खण्डमा शुल्क लाग्ने व्यवस्था छ ।
कम्युनिटी भर्सनका प्रयोगकर्ताले आफ्नै सर्भरमार्फत सेवा सञ्चालन गर्नुपर्ने हुन्छ भने इन्टरप्राइज प्रयोगकर्ताले ओडूको ‘Odoo.sh’ वा अनलाइन होस्टिङ प्रयोग गर्न सक्छन् । इन्टरप्राइज सेवामा सुरक्षा, नियमित अपडेट र प्राविधिक सहयोग पनि प्रदान गरिने कम्पनीको भनाइ छ ।

स्मार्टेन टेक्नोलोजीजले ओडूको नाममा हुने ठगीबारे व्यवसायीलाई सचेत रहन आग्रह गरेको छ । कम्पनीका अनुसार कतिपय व्यक्तिले आफूलाई आधिकारिक सेवा प्रदायक बताउँदै निःशुल्क सेवा सशुल्क रूपमा बिक्री गरिरहेका छन् । त्यस्ता ठगीमा ‘Odoo.com’ बाहिरबाट भुक्तानी माग्ने, सस्तो मूल्यमा आजीवन लाइसेन्स दिने प्रलोभन देखाउने, अधिकारिक बिल वा लाइसेन्स नदिने लगायतका धन्दा हुने गरेको कम्पनीको दाबी छ ।
यस्ता जोखिमबाट जोगिन ओडू इन्टरप्राइजको लाइसेन्स सधैं Odoo.com वा प्रमाणित पार्टनरबाट मात्र किन्न आग्रह गरिएको छ । साथै, प्रमाणित कोटेसन र बिल माग गर्न तथा प्रमाणित विक्रेताहरूको सूची अनलाइनबाट जाँच गर्न कम्पनीले सुझाव दिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८२ १९:३
सामाग्री श्रोत :
टेक पाना