काठमाडौँ । राजधानीको जडिबुटीमा भएको आगलागीको भिडिओलाई सामाजिक सञ्जाल एक्समा भारत-पाकिस्तानबिच मिसाइल आक्रमण भएको भ्रामक दाबीसहित फैलाइएको छ । शनिबार ‘कर्नेल हाथी’ नामक अकाउन्टबाट पोस्ट गरिएको उक्त भिडिओलाई एक्सको एआई ‘ग्रोक’ले समेत सुरुमा वास्तविक जस्तै भएको भन्दै पुष्टि गरेको थियो । तर पछि प्रयोगकर्ताहरूले वास्तविकता औंल्याएपछि आफ्नो भनाइ सच्याएको छ ।

‘कर्नेल हाथी’ नामक एक्स अकाउन्टबाट शनिबार पोस्ट गरिएको भिडिओमा हिन्दी भाषामा लेखिएको थियो, “भारतले पाकिस्तानमाथि केवल ड्रोन हमला गरेको थियो । तर, बदलाको आगोमा जलिरहेको पाकिस्तानले हामीमाथि मिसाइल हान्यो । हाम्रो मिडिया यही आगो र रगतको खोला चाहन्थ्यो जुन उसलाई मिल्यो । तर यो विनाशलाई भारतीय जनताका आगामी २ पुस्ताले पनि मेटाउन सक्ने छैनन् ।”
यसको साथमा एउटा भवनमा आगो लागिरहेको र दमकलले निभाउँदै गरेको भिडिओ राखिएको थियो । वास्तवमा उक्त भिडिओ १५ चैतमा राजावादी समर्थकले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा जडिबुटीस्थित जडिबुटी प्रशोधन कम्पनी लिमिटेडमा भएको आगलागीको हो । भिडिओमा प्रदर्शनकारीले “शान्तिपूर्ण आन्दोलन हो यो हाम्रो । यिनीहरूले दमन नगरेको भए यस्तो हुँदैनथ्यो। यिनीहरूले गोली हाने त्यही भएर…” भनेको स्पष्ट सुनिन्छ । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा २४ लाख बढी भ्युज, ११ हजार बढी लाइक, ३५०० पोस्ट र ४५०० बढी कमेन्ट आएका छन् ।
यही भ्रामक पोस्टमाथि प्रश्न गर्दै हुसेन युसफाजी नामक एक्स प्रयोगकर्ताले भिडिओको वास्तविकता के हो भनी ‘ग्रोक’लाई सोधेका थिए । जवाफमा ‘ग्रोक’ले भिडिओ वास्तविक जस्तो देखिने र यो मे २०२५ मा भएको भारत-पाकिस्तान द्वन्द्वसँग सम्बन्धित हुनसक्ने बताएको थियो । ग्रोकले पाकिस्तानको ‘अपरेसन बुन्यानुल मरसूस’ अन्तर्गत उधमपुर वायुसेना स्टेसनलाई निशाना बनाइएको र रोयटर्स तथा द गार्डियन जस्ता सञ्चारमाध्यमले समेत उधमपुरमा हमला भएको पुष्टि गरेको दाबी गरेको थियो ।

उसले थपेको थियो, “यद्यपि वास्तविक स्थान पूर्ण रूपमा प्रमाणित नभए पनि सन्दर्भ र समय रिपोर्ट गरिएका घटनासँग मिल्दोजुल्दो छन् । सम्भावित भ्रामक सूचनाका कारण यसलाई केही सावधानीका साथ लिनुहोला ।”
एक अर्का प्रयोगकर्ताले ‘समस्यामा पर्नुभन्दा अगाडि आफ्नो भनाइ सच्याऊ’ भनी चेतावनी दिँदा पनि ‘ग्रोक’ले आफ्नो सुरुवाती गलत विश्लेषणलाई नै दोहोर्याएको थियो । तर, पछि अन्य प्रयोगकर्ताले भिडिओमा बोलिएको भाषा, देखिएको स्थानको नाम र प्रहरीको उपस्थितिजस्ता थप प्रमाण उल्लेख गरेपछि भने ‘ग्रोक’ले उक्त भिडिओ नेपालको भएको स्वीकार गर्दै आफ्नो सुरुवाती जानकारी गलत भएको उल्लेख गरेको छ ।
ग्रोकलाई सामाजिक सञ्जाल एक्समा तथ्यजाँचका लागि प्रयोग गर्न सकिने भन्दै चर्चा हुँदै आएको छ । विशेषगरी त्यहाँ फैलने भ्रामक सूचनालाई एआई टुलले विभिन्न स्रोतबाट विश्वसनीय जानकारी उपलब्ध गराउने भएकाले त्यसलाई तथ्यजाँच टुलका रूपमा लिन सकिने बताइएको थियो । तर, अहिले भने भारत-पाकिस्तान द्वन्द्वका समयमा तीव्र रूपमा फैलिएको भ्रामक भिडिओलाई ग्रोकले सही भन्दै जोड दिएपछि यसको विश्वसनीयतामाथि प्रश्न उठिरहेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २८, २०८२ १७:३९
सामाग्री श्रोत :
टेक पाना