२०८२ बैशाख २७ शनिबार
२०८२ बैशाख २७ शनिबार

ह्वाट्सएपमा आएको अपरिचित कलले यसरी क्षणभरमै डुबायो ७ लाख

काठमाडौँ । धनगढीका २७ वर्षीय किशोर रिमाल (नाम परिवर्तन) पेसाले एक आईटी व्यवसायी हुन् । विगत पाँच वर्षदेखि उनी कम्प्युटर, सीसीटिभी क्यामेरा, प्रिन्टर लगायतका सामग्री बिक्री गर्दै आएका छन् । उनी बिहान र बेलुकाको समय छुट्याएर कक्षा ११/१२ का विद्यार्थीलाई कम्प्युटर साइन्स पनि पढाउँछन् । 

उनै रिमाललाई दुई हप्ताअघि ह्वाट्सएपमा एउटा फोन आयो । नम्बर अपरिचित थियो । झट्ट ख्याल गर्न पनि भ्याएनन् । आफूले बिक्री गर्दै आएका सामानको अर्डर आउँदा त्यसरी नै अपरिचित नम्बरबाट कल आउने भएकाले उनलाई त्यो कल अनौठो लागेन । र, उठाए । 

ह्वाट्सएप कलः हेलो रिमाल दाइ नमस्ते, सञ्चै हुनुहुन्छ ? चिन्नुभयो ?

रिमाल अलमल्ल परे । सेभ नभएको नम्बर छ । त्यो पनि ह्वाट्सएपमा आएको कल, कसरी चिन्नु ? 

रिमालः नमस्ते हजुर ! खै नम्बर नै सेभ रहेनछ । मैले चिनिनँ । 

ह्वाट्सएप कलः म दुई वर्ष अगाडि तपाईंको पसलमा आउँदा चिनजान गरेको थिएँ । नम्बर पनि साटासाट गरेको, बिर्सिनुभयो क्यारे ! 

रिमालः खै हुनसक्छ । 

ह्वाट्सएप कल गर्ने व्यक्तिले दुई वर्ष अघिको घटना सम्झाउन खोजे । हरेक दिन सयौं ग्राहकसँग सङ्गत गर्नुपर्ने रिमाललाई ह्वाट्सएपमा बोल्ने व्यक्तिसँग पनि कुनै समय चिनजान भयो होला भन्ने लाग्यो । कुरा गर्दै ह्वाट्सएपमा कल गर्ने ती व्यक्तिले आफूलाई दिपेश नामले चिनाए । र, सँगै काम गर्नुपर्छ भन्ने कुरा गरे । 

त्यसको दुई दिनपछि दिपेशले पुनः सम्पर्क गरे र कामको कुरा गरे । “मलाई उसले दोस्रो पटक कल गरेर कामको कुरा गर्‍यो,” दिपेश भन्ने व्यक्तिसँगको संवाद सम्झिँदै रिमाल भन्छन्, “उसले मलाई भन्यो ‘दाइ मेरो मामा चीनको सिमानामा भरिया हो । एकपटक एउटा व्यक्तिको भारी बोक्दिनु पर्ने भएछ । त्यही क्रममा भारी भएको मान्छे नदी पारी, मामा वारी हुनुहुँदो रहेछ । पारी गएको मान्छे त्यहीँ पक्राउ पर्‍यो । यता मामा झोला बोकेर बस्नुभएको रहेछ । त्यो व्यक्ति पक्राउ पर्नासाथ मामा झोला लिएर भाग्नु भएछ’ भन्यो ।”

दिपेशले रिमाललाई फोनमा मामाको उक्त झोलामा ३५ हजार ६०० अमेरिकी डलर भएको बताए । मामालाई डलरको कारोबारबारे केही थाहा नभएको र साट्न सहयोग गरिदिनुपर्ने भएकाले आफू सहयोग गर्न लागेको दिपेशले सुनाए । एकाएक लाखौं रुपैयाँ हुने डलरको अफर दिएपछि रिमाललाई शंका लाग्यो । उनले फोटो पठाउन अनुरोध गरे । दिपेशले ह्वाट्सएपमा डलर गन्दै गरेको, फिजाएको भिडिओ पठाए । भिडिओमा डलर सक्कली देखिन्थे । 

“दाइ, म धनगढी नै आउँछु भनेको, मामाले मान्नुभएन,” दिपेशले रिमाललाई थप विश्वस्त बनाउँदै भने, “मामालाई भाग्छ भन्ने लाग्यो, क्यारे ! मान्नु भएन ।”

रिमालले पनि दिपेशको कुरा पत्याए । रिमाललाई काठमाडौं आउने प्रस्ताव आयो । अफर गज्जबको थियो । साढे ३५ हजार डलर साट्दा कम्तीमा पनि ४५-४६ लाख हुन्थ्यो । मामालाई दुई लाख रुपैयाँ दिने र २५ प्रतिशत कमिसन दिपेशलाई दिंदा रिमालको भागमा कम्तीमा पनि थप १९-२० लाख रुपैयाँ पर्थ्यो । दिपेशले यही लोभ देखाउँदै रिमाललाई काठमाडौं आउने प्रस्ताव राखेका थिए ।

आफ्नो कम्पनीको काम मिलाउनु पर्ने, पढाउनु पर्ने सबै काम छोडेर रिमाल काठमाडौं आउन तयार भए । रिमालको योजना छुट्टै थियो । काठमाडौं आउने, डलर लिने, उसलाई कमभन्दा कम कमिसन रकम दिने, सकेसम्म कत्ति पनि नदिने ।

“मान्छे (रिमाल) बाठो हो । सबै रकम आफै लिन्छु । प्रमाण पनि हुँदैन । त्यो सबै डलर हत्याउन सकिन्छ भन्ने उसलाई लाग्यो,” रिमाललाई रकम सापटी दिने दिने उनका दाइ सुनाउँछन् । 

रिमाल २४ वैशाखमा बुद्ध एयरको जहाज चढेर साथीसँगै काठमाडौं आए । दिपेशले आफू तत्काल बाहिर निस्किन नपाएकाले अर्को एक दाइलाई डलर दिएर पठाउन लागेको कुरा सुनाए । रिमाललाई मान्छेसँग के सरोकार । उनलाई डलर जो चाहिएको थियो । 

त्यसपछि रिमाल दिपेशले पठाएका व्यक्तिले बोलाएको ठाउँ अर्थात् काठमाडौं बुढानीलकण्ठ वडा नम्बर १३ मा पर्ने गाम्चा चुनिखेल नजिकको फुटसलमा पुगे । ठाउँ खाली चौरजस्तो थियो । डलर ल्याएर आएका व्यक्तिले ५० अमेरिकी डलर भएको गड्डीका डलर देखाए । “मैले कसरी पत्याउने यो सक्कली हो भनेर,” रिमालले शङ्का व्यक्त गरे ।

दिपेशका दाइ भन्ने व्यक्तिले डलरको गड्डी देखाउँदै भने, “यो गड्डीबाट एउटा नोट जहाँसुकैबाट निकाल्नु । अनि, गएर बैंक वा एक्सचेन्ज सेन्टरमा साट्नु । साटियो भने पत्याउनु नत्र किन साट्नु र ?”

ती व्यक्तिको कुरा पनि रिमाललाई जायज नै लाग्यो । त्यत्रो गड्डी देखेपछि उनलाई शङ्का लागे पनि जुनसुकै नोट निकालेर साट्नु, साटिन्छ भन्ने चुनौती दिएपछि रिमालले एउटा नोट निकाले । र, बैंकतिर लागे ।

बैंकले तत्काल डलर साट्न नमानेको उनी सुनाउँछन् । त्यसपछि उनी एक्सचेन्ज सेन्टरमा गए । र, घर जानुपर्ने तर आफूसँग ५० डलर बाहेक रकम नै नभएकाले साटिदिनुपर्ने भन्दै एक्सचेन्ज सेन्टरमा गुहार मागेपछि एक्सचेन्ज सेन्टरले रकम साटिदियो । ५० डलर लिएर गएका रिमालले १३३.२ का दरले हिसाब गर्दा हुने ६४५० रुपैयाँ पाए ।

त्यसपछि उनी झनै विश्वस्त भए । तर, उनीसँग तत्काल नगद दुई लाख रुपैयाँ मात्र थियो । उनले आफू कारोबार गरिरहने काठमाडौंकै एक दाइलाई फोन गरेर थप पाँच लाख मागे । “दाइ, म ठेक्का हाल्दैछु । सबै काम भइसक्यो, अब सात लाख रुपैयाँ बुझाउनुछ, दुई घण्टामा रकम फिर्ता गर्छु भनेर भाइले भन्यो,” रिमालको कुरा उद्धृत गर्दै उनका दाइले भने, “इमानदार भाइ । सधैं भनेकै समयमा रकम दिइहाल्ने मान्छे । तर, एकाएक ठेक्काको बाहानमा रकम माग्यो भनेर मलाई लागेको थियो ।”

रिमालले आफू काठमाडौंमै भएको बताएपछि उनका दाइलाई थप शङ्का लागेको थियो । काठमाडौंमा विभिन्न किसिमले मान्छे ठगीमा पर्ने समाचार सुनिरहेका उनका दाइले रिमाललाई त्यसबारे पनि सुनाए । “होइन दाइ, ठेक्का नै हो । म दुई घण्टामा तपाईंको रकम फिर्ता गर्दिन्छु । कस्तो नपत्याउनु भएको,” रिमालले दाइलाई भनेका थिए । 

उनको आवाजले शङ्का व्यक्त गरिरहेको थियो । दाइलाई पनि रकम दिने कि नदिने भन्ने द्विविधा थियो । “ठेक्काको लागि हो । राम्रै मार्जिन हुन्छ । म थप रकम पनि पठाउँछु । अहिले आपत छ,” रिमालले दाइलाई थप विश्वस्त बनाए । 

बुझेको मान्छे, लाखौंको कारोबार गर्ने भाइ । यति भनिसकेपछि उनका दाइलाई पनि विश्वास गर्न कर लाग्यो । र, उनको बैंक खातामा पाँच लाख रुपैयाँ हालिदिए । उता खातामा रकम आउनासाथ रिमाल बैंकमा गएर त्यसलाई नगद बनाए । र, दिपेशलाई फोन गरे । दिपेशले अघि भेटेकै ठाउँतिर बोलाए । पहिले चौरतिर भेटेका ती व्यक्ति पछि रकम हाताहात गर्ने भन्ने भएपछि चोक र धेरै भिड भएको ठाउँतिर भेट्न खोजे । र, त्यहीं भेटे ।

दिपेशले पठाएका व्यक्तिले डलर रुमालमा बाँधेर ल्याएका थिए । र, त्यो रुमालले बाँधेको डलर रिमालको हातमा थमाए । उता रिमालले आफूसँग भएको सात लाख रुपैयाँ दिपेशले पठाएको व्यक्तिलाई दिए । 

दिपेशले पठाएका व्यक्तिले दिएको डलर राखिएको रुमालका गाँठा यति कसिला थिए कि रिमाललाई दाँतले खोल्नु पर्‍यो । यता रिमालले रुमालको गाँठो खोलिसकेपछि हेर्दा त्यहाँ सबै कागज मात्र थिए । दिपेशले पठाएको व्यक्ति हेर्दा त्यहाँबाट उनी भागिसकेका थिए । भागेको थाहा पाउनासाथ खोज्न दौडिए । 

“हामीले झन्डै दुई घण्टा खोज्यौं । तर, भेटिएन । मास्क लगाएको मान्छे थियो । कसरी चिन्नु । न नाम थाहा छ । त्यही फोन नम्बर बाहेक केही प्रमाण छैन,” रिमाल दुखेको पोख्दै भन्छन् । 

काठमाडौंमा बसेर ठगी गर्ने खुङ्खार ठग, कहाँ धनगढीबाट त्यही दिन आएका रिमालले भेट्न सक्नु । केही नलागेपछि त्यहाँ कहाँ-कहाँ सीसीटिभी क्यामेरा छन् भन्ने खोज्न थाले । ती व्यक्तिले यस्तो ठाउँमा बोलाएका थिए जहाँ बाक्लो मान्छेको भीड थियो । सीसीटिभीको प्रत्यक्ष निगरानी हुने अवस्था थिएन । ती व्यक्तिले सबै काम आफ्नो योजना अनुरूप गरे । तर, १९-२० लाख रुपैयाँ थप आउने आश बोकेका रिमाल ठगिए । त्यहाँ भएका केही ठाउँबाट सीसीटीभीको फुटेज पनि सङ्कलन गरेका छन् । तर, भेटिने आश उनलाई भने लागेको छैन । 

त्यही दिन प्रहरी वृत्त महाराजगञ्जमा आफ्ना सबै पीडा पोखेर निवेदन लेखे र बुझाए । ठगिएपछि उनलाई ती व्यक्तिले बोलाएको ठाउँ शंका लाग्यो । कतै क्याफेतिर भेट्नुपर्ने जस्तो लाग्यो । चिया पिउँ अनि रकम साटौंला नि भन्नुपर्ने रहेछ जस्तो लाग्यो । १९-२० लाखको लोभले दाइसँगको विश्वास गुमाए ।

अनलाइनबाट मान्छे कसरी ठगिन्छ भन्दै आफ्ना विद्यार्थीलाई सिकाउने रिमाल नराम्ररी आफै ठगिँदा आत्मग्लानीले पिरोलिए ।

फर्किनेबेला उनलाई ती ठगले दिएको ५० डलरबाट साटिएको छ हजार रुपैयाँ काम लाग्यो । आउँदा उत्साह बोकेर दुई घण्टामै काठमाडौं पुगिने विमानमा आएका उनी फर्किंदा १८ घण्टाभन्दा बढी लाग्ने बसमा चढेर जाँदै थिए । उनी आफूसँगै तमाम पीर, आत्मग्लानी, अपार ज्ञान र अनुभव बोकेर जाँदै थिए ।

पाँच लाख सापटी मागेका दाइलाई रिमालले छुट्टिनुअघि दुखे पोखे । “के गर्नु दाइ ! लोभमा परियो । त्यही सात लाख डुबाउन काठमाडौं आएको रहेछु । इमानदारीका साथ कमाएर तिरुला हजुरको पैसा । अहिले बसको कन्डक्टरले बोलाउँदैछ । गएँ है दाइ,” रिमालले दाइसँग निन्याउरो मुहार लगाउँदै बिदा मागे । 

पछिल्लो अध्यावधिक: बैशाख २७, २०८२ ९:५१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट