काठमाडौं । आकर्षक तलब हुने काममा वैदेशिक रोजगारीमा विभिन्न मुलुकहरुमा पठाइदिने नाममा ठगी गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाल्पा रम्भा गाउँपालिका–५ का ५८ वर्षीय शिरबहादुर बराल, काठमाडौँ तारकेश्वर नगरपालिका–४ की ३३ वर्षीया सरस्वती देवकोटा, ललितपुर महालक्ष्मी नगरपालिका–५ का ३९ वर्षीय सम्पूर्ण केसी र काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–३ का २९ वर्षीय सुजन गिरी रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार पक्राउ परेका मध्ये शिरबहादुरले दक्षिण कोरिया पठाइदिने नाममा सात लाख ५० हजार र सरस्वतीले संयुत्त, अरव ईमिरेट्स (युएई) पठाइदिने नाममा एक लाख लिएर सम्पर्कविहीन भएको उजुरी परेको छ ।
यसैगरी सम्पूर्णले बेलायत पठाइदिने भन्दै ३५ लाख र सुजनले पनि बेलायत पठाइदिने नाममा नै २६ लाख ६५ हजार उठाएरको उजुरी परेको छ । सोही उजुरीका आधारमा प्रहरीले उनीहरुलाई काठमाडौंका विभिन्न ठायँबाट पक्रेको हो । पक्राउ परेकाहरुलाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
सामाग्री श्रोत :
deshparadesh

