जनकपुरधाम- मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले मधेश प्रदेशको स्वास्थ्य सेवामा सुधार ल्याउन आफूहरुले काम गरिरहेको बताएका छन्। मधेश प्रदेशको राजधानी जनकपुरधाममा शुक्रबारदेखि संचालनमा आएको प्रादेशिक बायोमेडिकल व्यवस्थापन इकाइको उद्घाटनमा बोल्द उनले यस्तो बताएका हुन्।
उनले भने, ‘हामीले स्वास्थ्य क्षेत्रको सुधारका लागि काम गरिरहेका छौं। स्वास्थ्य सेवा प्रणालीलाई गुणस्तरीय बनाउन आजबाट सञ्चालनमा आएको बायोमेडिकल व्यवस्थापन इकाइले ठूलो सहयोग पुर्याउने अपेक्षा गरेका छौं।’
मन्त्री सिंहले उपकरणको प्रभावकारी व्यवस्थापनले रोग निदान र उपचारको प्रक्रियालाई गुणस्तरीय बनाउने भन्दै यसले बिरामीलाई सही समयमा उपचार प्राप्त गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित सचिव राजेश मिश्र, प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा जामुन पण्डित लगायत सहभागी थिए।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरधामसँग सहकार्य गरी निक साइमन्स इन्सच्युटले मधेश प्रदेशमा प्रादेशिक बायोमेडिकल व्यवस्थापना इकाइ स्थापना गरेको हो। इकाइमा प्रदेशभित्र रहेका स्वास्थ्य संस्थामा प्रयोग गरिने बायोमेडिकल उपकरणको मर्मत, सम्भार र जाँच गरी मर्मत चक्रलाई सुनिश्चित गर्नुका साथै बायोमेडिकल उपकरणको उचित व्यवस्थापन गरिनेछ।
सामाग्री श्रोत :
swasthyakhabar

